येनको अत्यधिक उतारचढावले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी

जापान । जापान कुनैपनि समय अस्थिर मुद्रा चालहरू विरुद्ध उपयुक्त कदम चाल्न तयार रहेको देशको शिर्ष मुद्रा कूटनीतिज्ञले बताएका छन् । येन अमेरिकी डलरको तुलनामा १६० रेखाको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय मामिलाका लागि उप अर्थमन्त्री मासातो कान्डाले येनको अत्यधिक उतारचढावले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिए । कुनैपनि समयमा उपयुक्त कारबाही गर्न तयार रहेको बताए । बैंक अफ जापानले यस महिनाको जुलाईको बैठकसम्म बन्ड खरीद प्रोत्साहन घटाउने निर्णय गरेपछि येनको कमजोरी कायम छ । येन सोमबार प्रारम्भिक व्यापारमा प्रतिअमेरिकी डलर १५९.९४ मा कमजोर भयो । यो अप्रिल २९ पछिको सबैभन्दा कम हो । कान्डाले डलरको तुलनामा येनको मूल्य १६० मा आएको गिरावटले येन खरिद गर्ने, डलर बेच्ने कार्यको अर्को चरण आउन सक्ने भन्दै बजारमा सतर्कता बढाएको बताए । जापानी अधिकारीहरूले कहिले हस्तक्षेप गर्ने भन्ने बारे कुनै खास येन स्तरहरू दिमागमा नभएको कुरालाई ध्यानमा राख्दै कान्डाले मुद्रा चालहरू स्थिर हुनुपर्ने बताए । अप्रिल २९ मा जब येनले प्रतिअमेरिकी डलर १६०.२४५ को ३४ वर्षको न्युन बिन्दुमा पुगेको बताए ।

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरिक्त करबारे छलफल सुरु

बेल्जियम । युरोपेली संघ (ईयू) र चीनका व्यापार प्रमुखबीच चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे शनिबार ‘स्पष्ट र रचनात्मक’ वार्ता भएको र दुवै पक्षले थप छलफल गर्ने ईयूले आइतबार जानकारी गराएको छ । ईयूले जुलाईदेखि चिनियाँ विद्युतीय कार आयातमा ३८ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा यसै महिना गरेको थियो । ईयूका प्रवक्ताले युरोपेली व्यापार आयुक्त भाल्डिस डोम्ब्रोवस्कीस र चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओबीच शनिबार ‘चीनमा उत्पादित ब्याट्री विद्युतीय सवारी साधनमा इयूको अनुदान विरोधी अनुसन्धानबारे स्पष्ट र रचनात्मक कुराकानी भएको’ बताएका छन् । प्रवक्ता ओलोफ गिलले भने, ‘ईयू पक्षले आफ्नो अनुसन्धानको लागि वार्ताको कुनै पनि परिणाम हानिकारक अनुदानलाई सम्बोधन गर्न प्रभावकारी हुनुपर्छ भन्ने कुरामा जोड दिएको छ ।’ उनले भने,’दुवै पक्षले आगामी हप्तामा सबै तहमा सहकार्य जारी राख्नेछन् ।’ चिनियाँ वाणिज्य मन्त्रालयले एक्समा जनाएअनुसार दुवै पक्ष वार्ताको क्रममा ‘परामर्श सुरु गर्न सहमत भएका छन् । ईयूले चिनियाँ आयातको वृद्धिको सामना गरिरहेका समय युरोपेली उत्पादकहरूको रक्षा गर्न अनुसन्धान सुरु गरेर बेइजिङलाई चिढ्याएको थियो । यूरोपेली आयोगले अहिले चिनियाँ कार उत्पादकहरूमाथि अस्थायी रूपमा कर वृद्धिको प्रस्ताव गरेको छ । आयोगले बीवाईडीको लागि १७.४ प्रतिशत, जिलीको लागि २० प्रतिशत र एसएआईसीको लागि ३८.१ प्रतिशत कर वृद्धिको प्रस्ताव गरेको छ । ईयूले यो रकम फर्महरूले प्राप्त गर्ने राज्य अनुदानको स्तरमा निर्भर रहेको बताएको छ । चीनमा ईयूसँग सहकार्य गर्ने विद्युतीय कार उत्पादकहरूले २१ प्रतिशतको अतिरिक्त करको सामना गर्नु पर्नेछ भने सहकार्य नगर्नेहरूले ३८.१ प्रतिशत शुल्कको अधीनमा हुनेछन् । यो हालको १० प्रतिशतको आयात शुल्कको उच्चतम विन्दु हुनेछ । शुल्क जुलाई ४ देखि अस्थायी रूपमा लागू हुनेछ र त्यसपछि नोभेम्बरदेखि लागू हुनेछ । ईयूले चीनसँग छलफल गर्ने आफ्नो योजना सार्वजनिक गर्दै अनुदानसम्बन्धी समस्या समाधानका लागि सम्भावित उपायको खोजी गर्ने प्रतिबद्धता जनाएको छ । इयूको कर उच्च भए पनि संयुक्त राज्य अमेरिकाले गत महिनादेखि चिनियाँ विद्युतीय कारहरूमा लगाएको १०० प्रतिशत अतिरिक्त कर दरभन्दा कम हो । युरोपको अटोमोटिभ क्षेत्र यसको औद्योगिके गहना हो । विद्युतीय कार उत्पादनमा चीनको हेड–स्टार्ट सहित खतराहरूको सामना गर्नुपर्दा मर्सिडीज र फेरारीजस्ता प्रतिष्ठित ब्रान्डहरूको घमण्ड तोडिएको छ । ब्रसेल्सले युरोपका सवारी साधन (कार) हरूलाई कमजोर पार्ने अनुचित अभ्यासहरू भएको दाबी गरेको छ । यसले दहन इन्जिन कारहरूको नयाँ बिक्री चरणबद्ध गर्न सन् २०३५ को समयसीमाको सामना गर्नुपर्नेछ । रासस

भारतकै दोस्रो धनी गौतम अडानीको तलब ९ करोड २६ लाख मात्र

काठमाडौं । भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीले ३१ मार्च २०२४ मा समाप्त हुने आर्थिक वर्षमा कुल तलब (पारिश्रमिक) ९ करोड २६ लाख रुपैयाँ पाएका छन् । यो तलब उद्योगमा उनका अन्य समकक्षीहरूको तुलनामा उल्लेखनीय रूपमा कम छ । सूचीकृत अडानी समूहका १० कम्पनीको वार्षिक प्रतिवेदनले ६१ वर्षीय अडानीले बन्दरगाहदेखि ऊर्जा क्षेत्रमा कार्यरत १० समूहमध्ये दुई कम्पनीबाट मात्रै तलब लिएको देखाएको छ । उनले समूहको प्रमुख कम्पनी अडानीनी इन्टरप्राइजेज लिमिटेड (एईएल) बाट २०२३/२४ मा तलबको रूपमा २ करोड १९ लाख रुपैयाँ तथा लाभ र अन्य भत्ताहरूका रूपमा २७ लाख रुपैयाँ प्राप्त गरेका छन् । एईएलको वार्षिक प्रतिवेदन अनुसार उनको कुल तलब २ करोड ४६ लाख रुपैयाँ अघिल्लो आर्थिक वर्ष २०२२/२३ भन्दा तीन प्रतिशत बढी हो । यसबाहेक अडानीले अडानी पोर्ट्स एन्ड सेज लिमिटेड (एपीएसईजेड) बाट ६ करोड ८० लाख रुपैयाँ तलब पाएका थिए । अडानीको तलब भारतका लगभग सबै ठूला परिवार समूहका प्रमुखहरूको भन्दा कम छ । भारतका सबैभन्दा धनी मुकेश अम्बानीले कोभिड-१९ पछि कुनै पनि तलब लिइरहेका छैनन् । यसअघि उनको तलब वार्षिक १५ करोड रुपैयाँमा सीमित थियो । अडानीको तलब टेलिकम दिग्गज सुनील भारती मित्तल (२०२२/२३ मा १६ करोड ७० लाख), राजीव बजाज (५३ करोड ७० लाख), पवन मुन्जाल (८० करोड), एलएन्डटी अध्यक्ष एसएन सुब्रमण्यम र इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सलिल एस इटको भन्दा एकदम कम छ । ‘ब्लूमबर्ग बिलियनेयर इन्डेक्स’का अनुसार अडानीको कुल सम्पत्ति १ खर्ब ६ अर्ब अमेरिकी डलर बराबर छ । उनी एसियाकै धनी व्यक्ति बन्न अम्बानीसँग प्रतिस्पर्धा गरिरहेका छन् । २०२२ मा उनी एसियाकै धनी बने । तर, अमेरिकी सर्ट सेलर हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि गत वर्ष उनको समूहका कम्पनीहरूको सेयरको मूल्य १ खर्ब ५० अर्ब डलरले घटेको थियो। यो वर्ष उनले अम्बानीलाई दुई पटक पछि पारेका छन् । तर, अहिले उनी दोस्रो स्थानमा छन् । अम्बानी १ खर्ब ११ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा १२औं स्थानमा छन् । यो सूचीमा अडानी १४औं स्थानमा छन् । वार्षिक प्रतिवेदनअनुसार अडानीका कान्छो भाइ राजेशले एईएलबाट नाफामा कमिसनको रूपमा ४ करोड ७१ लाखसहित ८ करोड ३७ लाख रुपैयाँ तलब पाए । योसँगै उनका भतिजा प्रणव अडानीले ४ करोड ५० लाख कमिसनसहित ६ करोड ४६ लाख रुपैयाँ पारिश्रमिक पाएका छन् । एजेन्सी