बंगलादेशमा आन्दोलन निस्तेज पार्न मोबाइल इन्टरनेट बन्द

काठमाडौं । बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न सरकारले इन्टरनेट सेवा बन्द गरेको छ । यो आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै सरकारले मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको हो । बंगलादेशको सरकारी निकायमा विभिन्न क्षेत्र, समुदाय तथा वर्गलाई करिब ५० प्रतिशत आरक्षण तथा कोटा राखिएको छ । देशको स्वतन्त्रताका लागि लडेकाका छोराछोरीका लागि सरकारी जागिरमा आरक्षण दिइएको छ । केही दिनदेखि भइरहेको आन्दोलनमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने एक सय बढी मानिस घाइते भएका छन् । प्रदर्शनमा रहेका विद्यार्थीको मृत्युपछि देशभरिका विद्यालय र विश्वविद्यालय बन्द भएका छन् । अर्को आदेश नभएसम्मका लागि बन्द गरिने जनाइएको छ। सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन र आन्दोलनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै अस्थाइ रूपमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको बंगलादेशका सहायक सूचना प्रविधिमन्त्री जुनैद अहमद पालकले बताएका छन् । उनका अनुसार योअवस्था सामान्य भएपछि मोबाइल इन्टरनेट सेवा पुनः सुरु गरिने छ । एजेन्सी

अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

काठमाडौं । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो । सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ । जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्विसले विज्ञप्ति मार्फत उल्लेख गरे । समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाए । यसै गरी बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उनले उल्लेख गरे । बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च को तुलनामा १.१ प्रतिशतले कम रहेको उनले जनाए । एबीएसको तथ्यांक अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे –जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ । बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताएका छन् ।

सन् २०२५ मा ७.५ प्रतिशत पर्यटन राजस्व वृद्धि गर्ने थाइल्याण्डको लक्ष्य

काठमाडौं । थाइल्याण्डले २०२५ मा ७.५ प्रतिशत पर्यटन राजस्व वृद्धि गर्ने लक्ष्य लिएको छ । थाइल्याण्डले ३.४ ट्रिलियन भाट (लगभग ९४.१६ बिलियन अमेरिकी डलर) को राजस्व उत्पन्न गर्ने लक्ष्य राखेको हो । उच्च मूल्यको पर्यटनमा रूपान्तरणसँगै राज्यले गुणस्तरीय पर्यटकलाई राम्रोसँग समायोजन गर्न आफ्नो पर्यटन आपूर्ति शृङ्खलालाई स्तरोन्नति गर्दै आयको निष्पक्ष र समन्यायिक वितरण सुनिश्चित गर्न दिगो मापदण्ड र आकर्षक गन्तव्यहरूको प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने पर्यटन तथा खेलकुदमन्त्री सेर्मसाक पोङपानीतले पत्रकार सम्मेलनमा बताए । सोमबारदेखि लागु हुने गरी थाइल्याण्डले ९३ देश र क्षेत्रका नागरिकहरूलाई समावेश गर्न आफ्नो भिसा–मुक्त प्रवेश योजना बिस्तार गरेको छ ।