गाजा किन्न र स्वामित्वमा राख्न प्रतिवद्ध छु : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा किन्न र स्वामित्वमा राख्न प्रतिवद्ध रहेको बताएका छन् । संयुक्त राज्य अमेरिकाले युद्धग्रस्त एन्क्लेभलाई मध्य पूर्वका अन्य राष्ट्रहरूलाई पुनर्निर्माण गर्न दिनसक्ने बताए । ट्रम्पले नेशनल फुटबल लिग सुपर बाउल च्याम्पियनशिपमा भाग लिन लुइसियानाको न्यु अर्लिन्स जाँदै गरेको एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै यो टिप्पणी गरेका हुन् । गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगै ह्वाइट हाउसमा ट्रम्पले संयुक्त राज्य अमेरिकाद्वारा गाजाको दीर्घकालीन स्वामित्व प्रस्ताव गरेका थिए । उनको प्रस्तावको व्यापक आलोचना भएको छ । धेरै अरब राष्ट्रहरू साथै युरोपमा रहेका अमेरिकी सहयोगीहरूले यसको विरोध गरेका छन् ।

गुगलको एआई डीपमाइन्डका सीईओ भन्छन्– डीपसीकको एआई मोडेल राम्रो तर प्रचार ‘अतिरञ्जित’

काठमाडौं । गुगलको डीपमाइन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेमिस हासाबिसले डीपसीकको एआई मोडेल चीनबाट आएको ‘सबैभन्दा राम्रो काम’ तर प्रचार ‘अतिरञ्जित’ भएको बताएका छन् । उनले डीपसीकमा कुनै नयाँ वैज्ञानिक प्रगति नदेखिएको दाबीसमेत गरे । पछिल्लो महिनामा चीनको डीपसीकले एउटा अनुसन्धान पत्र प्रकाशित गरेको थियो, जसले विश्वव्यापी बजारलाई हल्लाइदियो । उक्त पत्रमा डीपसीकले आफ्नो एआई मोडेललाई अन्य प्रमुख एआई कम्पनीहरूको तुलनामा निकै कम लागतमा र कम विकसित एनभीडीया चिपहरू प्रयोग गरेर प्रशिक्षण दिएको दाबी गरेको थियो । डीपसीक ६ मिलियन डलरभन्दा कम खर्चमा बनेको हो । जसले गर्दा अहिले ठूला प्रविधि कम्पनीहरू एआई पूर्वाधारमा धेरै खर्च गरिरहेका छन् कि भनेर व्यापक बहस चलिरहेको छ । सीईओ हासाबिसले डीपसीकको मोडेललाई ’एक प्रभावशाली काम’ भनेर प्रशंसा गरे । ‘मलाई लाग्छ यो चीनबाट आएको सबैभन्दा राम्रो काम हो,’ हासाबिसले आइतबार पेरिसमा आयोजित गुगलको कार्यक्रममा भने । यो कार्यक्रम एआई एक्शन समिटको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो । डीपमाइन्डका सीईओले डीपसीकको मोडेलले उनीहरूले ’एकदमै राम्रो इन्जिनियरिङ’ गर्न सक्ने देखाएको र यो ’भू–राजनीतिक रूपमा पनि परिवर्तन ल्याउने’ काम गर्न सक्ने बताए । तर प्रविधिको दृष्टिकोणले हेर्दा हासाबिसले यसमा ठूलो परिवर्तन नभएको दाबी गरे । ‘प्रचार भएजस्तै, यहाँ कुनै नयाँ वैज्ञानिक खोज छैन… यो पहिल्यै प्रचलित प्रविधिहरू प्रयोग गरिरहेको छ,’ उनले भने । साथै उनले डीपसीकको प्रचार ’अलिकति अतिरञ्जित’ भएको बताए । डीपमाइन्डका सीईओका अनुसार गुगलले हालै सार्वजनिक गरेको जेमिनी २.० फ्लास मोडेलहरू डीपसीकको मोडेलभन्दा बढी प्रभावकारी छन् । डीपसीकको कम लागत र प्रयोग गरिएका चिपहरूबारेका दाबीहरू विशेषज्ञहरूले प्रश्न उठाएका छन् । उनीहरूका अनुसार चिनियाँ कम्पनीले आफ्नो मोडेल विकास गर्न अनुमान गरिएकोभन्दा बढी खर्च गरेको हुनसक्छ । एजीआई ५ वर्ष टाढा एआई जगतमा वर्षौंदेखि कृत्रिम सामान्य बौद्धिकता (एजीआई) कहिले आउँछ भन्ने बहस चलिरहेको छ । एजीआई भनेको मानिसहरूभन्दा बढी बुद्धिमान एआईलाई जनाउँछ । हासाबिसका अनुसार एआई उद्योग ’एजीआई’ को मार्गतर्फ अघि बढिरहेको छ,’ जुन उनले ’मानिसहरूसँग भएको सम्पूर्ण संज्ञानात्मक क्षमताहरू प्रदर्शन गर्ने प्रणाली’ भनेर वर्णन गरे । ‘मलाई लाग्छ, अब हामी धेरै नजिक छौं । सम्भवतः त्यस्तो प्रणाली बनाउन मात्र ५ वर्ष जति बाँकी छ, जुन निकै असाधारण हुनेछ,’ हासाबिसले भने । ‘मलाई लाग्छ, समाज यसका लागि तयार हुनुपर्छ र यसले ल्याउने प्रभावहरूबारे सोच्नुपर्छ । हामीले यसको फाइदाहरू लिनुपर्छ, ताकि पूरै समाज लाभान्वित होस्, तर हामीले यसका जोखिमहरू पनि व्यवस्थापन गर्नुपर्छ,’ उनले थपे । हासाबिसका विचारहरू अन्य एआई नेताहरूका विचारसँग मेल खान्छन् । यसै वर्ष ओपनएआईका सीईओ साम अल्टम्यानले भनेका थिए कि ‘हामीले परम्परागत रूपमा बुझेअनुसारको एजीआई कसरी निर्माण गर्ने भन्ने जान्दछौं ।’ तर, धेरै विशेषज्ञहरूले एजीआईसँग सम्बन्धित विभिन्न जोखिमहरूबारे चेतावनी दिएका छन् । सबैभन्दा ठूलो चिन्ता के हो भने मानिसहरूले आफैले निर्माण गरेका प्रणालीहरूमा नियन्त्रण गुमाउन सक्छन् । एआई वैज्ञानिकहरू म्याक्स टेगमार्क र योशुआ बेन्जियो ले हालै सीएनबीसीसँग कुरा गर्दै एजीआईको जोखिमबारे आफ्नो चिन्ता व्यक्त गरेका थिए । एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ? चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’

जापानको एटीएममा अनुहार देखाएर पैसा निकाल्न सकिने

काठमाडौं । जापानको सेवन बैंकले आफ्ना ग्राहकहरूका लागि अनुहार पहिचान (फेस रिकग्निशन) प्रविधि सुरु गरेको छ । यस प्रविधिको माध्यमबाट ग्राहकहरूले देशभरिका २ लाख ६ हजार एटीएमबाट पैसा निकाल्न सक्नेछन् र साथै पैसा जम्मा पनि गर्न सक्नेछन् । यो सुविधालाई ‘फेस क्यास’ नाम दिइएको छ । यस सुविधाको माध्यमबाट ग्राहकहरूले बैंकको एटीएमबाट कार्ड वा स्मार्टफोन नभए पनि पैसा जम्मा गर्न वा निकाल्न सक्नेछन् । पहिलो पटक यो प्रविधि प्रयोग गर्नका लागि ग्राहकहरूले आफ्नो अनुहारको जानकारी दर्ता गराउनु पर्नेछ र त्यसपछि उनीहरूले पासवर्ड र कोड नम्बर प्रयोग गरेर पैसा निकाल्न सक्नेछन् । यो सेवा सेवन बैंक र टेक कम्पनी एनईसीले मिलेर विकास गरेका हुन् । यसले पहिचान चोरी गरी हुने धोकाबाट बचाउने विश्वास बैंकले लिएको छ । सेवन बैंकले अन्य बैंकहरूलाई पनि आफ्ना खाता धनीहरूका लागि फेस क्यास प्रयोग गर्न प्रोत्साहित गर्न चाहेको जनाएको छ । यसको कारण के हो भने सेवन बैंकले अन्य बैंकिङ संस्थाहरूबाट एटीएम शुल्क प्राप्त गर्छ । बैंकले यो प्रविधि धेरै सजिलो, सुविधाजनक, विश्वसनीय र सुरक्षित पनि भएको बताएको छ । सेवन बैंकको मूल कम्पनी सेवन एण्ड होल्डिङ्स कम्पनी हो । यसको मुख्यालय टोकियोको चियोदा सिटीमा छ । यसको स्थापना १० अप्रिल २००१ मा भएको थियो र यसका अध्यक्ष यासुआकी फुनातेके हुन् । यसका सहायक कम्पनीहरूमा एएक्सएम प्लेटफर्म (फिलिपिन्स) र एफसीटीआई (संयुक्त राज्य अमेरिका) समावेश छन् ।