अष्ट्रेलियामा बढ्दो समुद्री सतह, १५ लाख मानिस जोखिममा

सिड्नी । जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले सन् २०५० सम्ममा १५ लाखभन्दा बढी अष्ट्रेलियाली नागरिकको घर र जीवनशैलीमा गम्भीर सङ्कट उत्पन्न गर्ने चेतावनी एक महत्वपूर्ण प्रतिवेदनले दिएको छ । सरकारका लागि स्वतन्त्र रूपमा तयार गरिएको यो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कन प्रतिवेदन अष्ट्रेलियाको जीवनशैलीमा तापमान वृद्धिले ‘सिलसिलाबद्ध, जटिल र एकैपटक असर पार्ने’ प्रभाव पार्ने उल्लेख गरिएको छ । 'हामी अहिले जलवायु परिवर्तनको प्रभाव अनुभव गरिरहेका छौं । यो अब केवल पूर्वानुमान होइन, वास्तविकता हो,' वातापरणमन्त्री क्रिस बोवेनले भने । रिपोर्ट अनुसार, सन् २०५० सम्म १५ लाख अष्ट्रेलियालीहरू समुद्री सतह वृद्धिको जोखिममा पर्नेछन्, र यो सङ्ख्या सन् २०९० सम्म दोब्बर भएर ३० लाख पुग्न सक्नेछ । विशेषगरी उत्तरी अष्ट्रेलियास्थित टोरेस स्ट्रेट टापुहरूमा समुद्री सतह औसत दरभन्दा छिटो बढिरहेको छ । एडिथ कोवान विश्वविद्यालयकी सामुदायिक समन्वयकर्ता तथा स्वदेशी समुदायकी जोएन हिलले भने, 'अब हामीले ढिला गर्न मिल्दैन । यदि तुरुन्त कदम चालिएन भने, टोरेस स्ट्रेटका टापुहरूमा बसोबास गर्ने समुदायले आफ्नो घर, संस्कृति र परम्परा गुमाउनेछन् ।' यो रिपोर्ट सार्वजनिक भएको केही दिनभित्रै अष्ट्रेलियाले पेरिस जलवायु सम्झौताअन्तर्गत नयाँ उत्सर्जन कटौती लक्ष्य सार्वजनिक गर्नेछ भन्ने अपेक्षा गरिएको छ । डरलाग्दो अवस्था रिपोर्ट अनुसार, सन् २०५० सम्म अष्ट्रेलियाली सम्पत्तिको मूल्यमा ६११ अर्ब अष्ट्रेलियन डलर बराबरको गिरावट आउन सक्नेछ, जुन सन् २०९० सम्म ७७० अर्ब डलरसम्म पुग्न सक्छ । यदि तापक्रम ३ डिग्री सेल्सियसले बढ्यो भने, सिड्नी जस्ता शहरहरूमा गर्मीका कारण हुने मृत्युहरू ४०० प्रतिशतभन्दा बढीले वृद्धि हुन सक्छ । रिपोर्टमा जलवायु परिवर्तनका कारण अष्ट्रेलियाका अनगिन्ती प्रजातिहरू लोप हुन बाध्य हुने उल्लेख गरिएको छ । जलवायु काउन्सिलकी प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले रिपोर्टलाई ‘डरलाग्दो’ भन्दै भने,“हामी अझ तीव्र र कडा रूपमा कार्बन उत्सर्जन घटाएर राम्रो भविष्य निर्माण गर्न सक्छौं । यसको पहिलो कदम भनेको सन् २०३५ सम्मको बलियो जलवायु लक्ष्य निर्धारण गर्नु र नयाँ प्रदूषक परियोजनाहरू रोक्नु हो ।” नीति र व्यवहारबीचको द्वन्द्व यद्यपि अष्ट्रेलियाले पछिल्ला वर्षहरूमा हरित ऊर्जा र नवीकरणीय स्रोतहरूको विकासमा जोड दिएको छ । हालै सरकारले उत्तर–पश्चिमी क्षेत्रमा रहेको एक प्रमुख एलएनजी परियोजनालाई ४० वर्षको म्याद थपेको छ, जसले वातावरणीय तथा स्वदेशी समुदायहरूमा आक्रोश फैलाएको छ । उक्त ‘एलएनजी’ परियोजनाबाट प्रत्येक वर्ष १० मिलियन टनभन्दा बढी एलएनजी र पेट्रोलियम उत्पादन हुन्छ । वातापरणमन्त्री बोवेनले भने ,'हरित भविष्यतर्फको यात्रा जटिल छ, तर हामीसँग विश्वकै उत्कृष्ट नवीकरणीय ऊर्जा स्रोतहरू छन् । ग्यास निकट भविष्यमा वैकल्पिक स्रोतको रूपमा आवश्यक हुनेछ ।' रासस

टिकटकको भविष्य चीनमा निर्भर : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य अझै अनिश्चित रहेको बताउँदै अन्ततः चीनले नै यसको भाग्य निर्धारण गर्ने सङ्केत दिएका छन् । 'हुन पनि सक्छ, नहुन पनि सक्छ । हामी अहिले टिकटकसँग वार्ता गरिरहेका छौँ । हामी यसलाई बन्द गर्न सक्छौँ, वा अघि बढाउन सक्छौँ, ठ्याक्कै थाहा छैन । यो अन्ततः चीनमा निर्भर छ । यसले धेरै फरक पार्दैन । तर म यो बच्चाहरूको लागि गर्न चाहन्छु, किनभने उनीहरूलाई यो मन पर्छ', न्युजर्सीमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'स्वार्थी रूपमा भन्नुपर्दा, मैले टिकटकसँग राम्रो काम गरेँ र युवाहरूको भोट पाएँ । त्यस्तो समर्थन सङ्ख्या रिपब्लिकन पार्टीमा अरू कसैले कहिल्यै पाएन ।' न्युयोर्क टाइम्सका अनुसार टिकटकलाई यसको चिनियाँ मालिक बाइटडान्सबाट अलग गर्ने वा अमेरिकामा प्रतिबन्धको सामना गर्ने कानून लागू गर्न वा फेरि ढिलाइ गर्न ट्रम्पसँग सेप्टेम्बर १७ सम्म समय छ । उनले यसअघि नै तीन पटक कानून लागू गर्न ढिलाइ गरिसकेका छन् । गत वर्ष अमेरिकी सदनले द्विदलीय समर्थनसहित पारित गरेको कानूनअनुसार गैर–चिनियाँ मालिक नभेटिएसम्म टिकटकले देशमा सञ्चालन गर्न पाउने छैन । यसका कारण चीनसँगको सम्बन्धले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको मानिन्छ । चीनसँगको वार्ता अझै जटिल बनेको छ । अप्रिलमा ट्रम्पले चिनियाँ आयातमा एक सय ४५ प्रतिशत कर लगाएका थिए, पछि घटाएर ३० प्रतिशतमा ल्याए । त्यसको जवाफमा चीनले अमेरिकी उत्पादनमा १० प्रतिशत कर लगायो । गत शनिबार चीनले अमेरिकामा बनेका केही माइक्रोचिपहरूको निर्यातबारे अनुसन्धान सुरु गरेको घोषणा गर्‍यो । अघिल्लो दिन अमेरिकी वाणिज्य मन्त्रालयले चिनियाँ चिप कम्पनीहरूलाई व्यापारको कालो सूचीमा राख्ने जनाएको थियो । यी कदमहरूले दुवै देशबीचको वार्तामा थप दबाब बढाएको छ । अमेरिका र चीन अहिले थप कर कटौती, दुर्लभ पृथ्वी खनिज र चुम्बकको ढुवानीमा चीनले लगाएको प्रतिबन्धबारे छलफल गरिरहेका छन् । चीनले अमेरिकी कृषि उत्पादन, विशेषगरी सोयाबिन खरिद गर्न रोकेकोमा ट्रम्प प्रशासन चिन्तित छ, जसले अमेरिकी किसानहरूको जीविकोपार्जनमा ठूलो असर पारेको छ । यससँगै अमेरिकी अधिकारीहरूले चीनको अत्यधिक औद्योगिक क्षमतालाई असन्तुलित अर्थतन्त्रको कारण भन्दै आलोचना गरेका छन् र चिनियाँ पक्षलाई रुस र इरानबाट तेल खरिद नगर्न आग्रह गरेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी महिना दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन फोरममा भेट्ने तय भएको छ । साथै सीको निमन्त्रणामा कुनै समय चीन भ्रमण गर्न सक्ने सङ्केत पनि ट्रम्पले दिएका छन् । रासस

चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारी निराशाजनक

काठमाडौं । अगस्ट महिनामा चीनको अर्थतन्त्रको मन्दी अझै गहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रमुख आर्थिक सूचकाङ्कहरूले अपेक्षाभन्दा कमजोर प्रदर्शन गरे । आन्तरिक माग सुस्त रह्यो र औद्योगिक क्षमता नाघ्ने अवस्थाविरुद्धको बेइजिङको अभियानले उत्पादन घटायो । राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार अगस्टमा खुद्रा बिक्री वार्षिक आधारमा ३.४ प्रतिशत बढ्यो, जुन रोयटर्स सर्वेक्षणमा विश्लेषकहरूले अनुमान गरेको ३.९ प्रतिशतभन्दा कम हो र जुलाईको ३.७ प्रतिशत वृद्धिदरभन्दा सुस्त छ । एलएसईजीका तथ्याङ्कअनुसार औद्योगिक उत्पादनको वृद्धिदर पनि जुलाईको ५.७ प्रतिशतबाट घटेर अगस्टमा ५.२ प्रतिशतमात्र भयो, जुन अगस्ट २०२४ पछि सबैभन्दा न्यून हो । अर्थशास्त्रीहरूले भने यो दर जुलाईकै जस्तै रहने अपेक्षा गरेका थिए । स्थिर सम्पत्ति लगानी (फिक्स एसेट इन्भेस्टमेन्ट) वर्षको सुरुदेखि अगस्टसम्म जम्मा ०.५ प्रतिशतमात्र बढ्यो, जुन जनवरीदेखि जुलाईसम्मको १.६ प्रतिशत वृद्धिदरभन्दा तीव्र सुस्त हो र अर्थशास्त्रीहरूको १.४ प्रतिशत वृद्धिको अपेक्षाभन्दा पनि तल हो । यस अवधिमा रियल इस्टेट लगानी १२.९ प्रतिशत घटेको छ । उत्पादन र युटिलिटी क्षेत्रमा (बिजुली, इन्धन र पानी आपूर्ति) लगानी क्रमशः ५.१ प्रतिशत र १८.८ प्रतिशत बढेको देखियो । कन्फरेन्स बोर्डको चीन सेन्टरका प्रमुख अर्थशास्त्री युहान झाङका अनुसार स्थिर सम्पत्ति लगानी प्रायः राज्य स्वामित्वका उद्यमहरूले धानेका छन्, जबकि निजी क्षेत्रको लगानी घटेको छ ।  उनले भने, ‘उत्पादन क्षेत्रमा लगानी ’सामान्य र असमान’ देखिएको छ, मुख्यतया पूर्वाधार, उच्च प्रविधि र औद्योगिक उन्नतिमा राज्यको नीतिगत लगानीका कारण । तर, रियल इस्टेट गतिविधि कमजोर नै छ ।’ अगस्टमा चीनको सर्वेक्षण–आधारित सहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको ५.२ प्रतिशतभन्दा केही बढी हो । तथ्याङ्क ब्यूरोले यसलाई स्नातक सिजनका कारण भएको बतायो । ‘हामीलाई थाहा छ कि बाह्य वातावरणमा अझै धेरै अनिश्चितता र अस्थिरता छन्, र राष्ट्रिय अर्थतन्त्र बहुविध जोखिम र चुनौतीहरूको सामना गरिरहेको छ,’ तथ्याङ्क ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘हामीले पूर्ण रूपमा म्याक्रो नीतिहरू लागू गर्नुपर्छ, रोजगारी, व्यवसाय र बजारको विश्वास स्थिर राख्नमा ध्यान दिनुपर्छ, सुधार र खुलापन र नवप्रवर्तनलाई गहिरो बनाउनुपर्छ, जसले स्थिर र स्वस्थ आर्थिक विकासलाई प्रोत्साहन दिनेछ ।’ अगस्टमा मोटर गाडी बाहेक खुद्रा बिक्री वार्षिक आधारमा ३.७ प्रतिशत बढ्यो । ग्रामीण क्षेत्रमा खपत वृद्धि सहरी क्षेत्रमा भन्दा छिटो रह्यो, ग्रामीण खपत वार्षिक ४.६ प्रतिशत बढेको देखियो । वक्तव्यपछि पत्रकार सम्मेलनमा एनबीएसका प्रवक्ता फु लिङहुईले उपभोक्ता मुद्रास्फीति टर्निङ पोइन्टमा पुगेको हो कि होइन भन्न गाह्रो रहेको बताए । तर उनले उपभोक्ता मूल्यहरू अस्थिर रहने अपेक्षा गरे । अगस्टमा चीनको उपभोक्ता मूल्य सूचकाङ्क वार्षिक ०.४ प्रतिशत घट्यो, जुन अपेक्षाभन्दा बढी हो र उत्पादक मूल्यहरूमा डिफ्लेशन लगातार तेस्रो वर्ष कायम रह्यो। फुले आयातजन्य मुद्रास्फीतिबारे अनिश्चितता रहेको स्वीकार गरे – जहाँ आयातित वस्तुहरूको मूल्य युआन कमजोर हुनु, विश्वव्यापी वस्तु मूल्य बढ्नु वा बढी भन्सार दरका कारण बढ्न सक्छ ।  उनले ‘एन्टी–इनभोलुसन’ नीतिहरूको उल्लेख गरे जसले अनावश्यक प्रतिस्पर्धा र मूल्य युद्धलाई नियन्त्रण गर्ने प्रयास गर्छ र यसले अन्ततः उपभोक्ता मूल्यहरूमा असर गर्नेछ । सबैभन्दा बढी वृद्धि भएका वस्तुहरूमा सुन, चाँदी र गहनाका बिक्री १६.८ प्रतिशत बढे, खेलकुद तथा मनोरञ्जन सामग्रीको बिक्री १६.९ प्रतिशत र फर्निचरको बिक्री १८.६ प्रतिशत बढ्यो । सबैभन्दा कमजोर खपत पेट्रोलियम, र तमाखु तथा मदिरा सम्बन्धी उत्पादनहरूमा देखियो । सेवा खपत भने बढ्दो छ, विशेष गरी यात्रा, मनोरञ्जन र यातायातमा जसले खपत बिस्तारै सेवातर्फ सर्ने संकेत गर्छ। गोल्डम्यान साक्सका चीन अर्थशास्त्री लिसेङ वाङका अनुसार खुद्रा बिक्रीमा मन्दी मुख्यतया घरेलु उपकरण र इलेक्ट्रोनिक्सको कमजोर मागका कारण हो किनकि बेइजिङको उपभोक्ता वस्तु एक्सचेन्ज अनुदानको प्रभाव मन्द हुँदै गएको छ । वाङले भने, ‘सेप्टेम्बरदेखि खपत वृद्धि अझै सुस्त हुने अपेक्षा गरिएको छ र लक्षित तथा क्रमिक सहजता आवश्यक रहनेछ ।’ चीनको सीएसआई ३०० सूचकाङ्क तथ्याङ्क सार्वजनिक भएपछि करिब १ प्रतिशत बढ्यो। पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङले भने, ‘यो मन्दी बजारका लागि आश्चर्यजनक होइन ।’ किनकि लगानीकर्ताहरूले तेस्रो त्रैमासिकमा वृद्धि सुस्त हुने अपेक्षा पहिले नै गरेका थिए ।  ‘बेइजिङले ५ प्रतिशत वृद्धि लक्ष्य छुट्ने खतरा देखे मात्र ठूलो प्रोत्साहन प्याकेज ल्याउने सम्भावना छ, अन्यथा हालको राजस्व नीति सानो स्तरमा मात्र सहयोगी हुनेछ,’उनले थपे । गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति