बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

ढाका । बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उनका परिवारका सदस्यहरूलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ । 'आगामी संसदीय चुनावले देशभित्र र विदेशमा दुवै मतदानको सुविधा दिनेछ । विदेशमा रहेका बङ्गलादेशीहरूले अनलाइन दर्ता गर्नुपर्नेछ, जसका लागि हाल नयाँ प्रणाली विकास भइरहेको छ', निर्वाचन आयोग (इसी) का वरिष्ठ सचिव अख्तर अहमदले बुधबार भने । उनका अनुसार प्रवासीहरूले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्नेछन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता गर्न सक्नेहरूलाई मात्र मतदान गर्ने अधिकार हुनेछ । दैनिक युगान्तोरका अनुसार निर्वाचन आयोगले गत फेब्रुअरी १६ मा शेख हसिनासहित उनका १० जना परिवारका सदस्यको एनआइडी अवरुद्ध गरेको थियो । ब्लकमा परेका मध्ये उनका छोरा सजीब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना, भतिजीहरू ट्युलिप रेजवाना सिद्दीकी र अजमिना सिद्दीकी, साथै भतिजा रादवान मुजीब सिद्दीकी पनि छन् । शेख हसिना विदेशबाट मतदान गर्न पाउने हो कि भन्ने प्रश्नमा सचिव अहमदले भने, 'उहाँको एनआइडी अवरुद्ध छ । त्यसैले उहाँले मतदान गर्न सक्नुहुनेछैन ।' पूर्वप्रधानमन्त्री हसिना गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि देश छोडेर भारतमा शरण लिन पुगेका थिए । त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । युनुसले फेब्रुअरीमा राष्ट्रिय चुनाव हुने घोषणा गरिसकेका छन् । गत अगस्टमा प्रमुख सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनु अघि चुनाव सम्पन्न गर्न सबै तयारी पूरा गर्न निर्देशन दिएको थियो । मुख्य सल्लाहकारका प्रमुख सचिव एम सिराज उद्दीन मियाले मुख्य निर्वाचन आयुक्तलाई पठाएको पत्रमा निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र उत्सवपूर्ण निर्वाचन सम्पन्न गर्न आवश्यक सबै कदम चाल्न आग्रह गरेका थिए । रासस

चीनले एनभीडीयाको एआई चिप्स प्रतिबन्ध लगाएपछि सीईओ हुवाङ असन्तुष्ट

काठमाडौं । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङले चीनमा अमेरिकी प्रविधि कम्पनीले भोगिरहेको समस्याबारे प्रतिक्रिया जनाएका छन् ।  बुधवार फाइनान्सियल टाइम्सले चीनको साइबरस्पेस प्रशासनले टिकटकको मालिक कम्पनी बाइटडान्स र अलीबाबालगायतलाई एनभीडीयाको RTX Pro 6000 D चीनका लागि विशेष रूपमा बनाइएको चिप किन्न आदेश नदिएको खबर प्रकाशित गरेपछि हुवाङले आफू निराश भएको बताए । फाइनान्सियल टाइम्सको रिपोर्टबारे सोधिएको प्रश्नमा हुवाङले भने, ‘हामी केवल त्यही बजारमा सेवा गर्न सक्छौं, जहाँ त्यो देशले हामीलाई चाहन्छ ।’ ‘हामीले चीन बजारका लागि धेरै योगदान दिएका छौं, धेरै देशहरूले दिएकोभन्दा बढी । मैले देखिरहेको कुराले मलाई निराश बनाएको छ । तर चीन र अमेरिकाबीच ठूलो राजनीतिक एजेन्डा छन्, जसलाई मैले बुझ्ने प्रयास गरेको छु,’ उनले थपे । यो समाचार एनभीडीयाको चीनमा भइरहेको उतार-चढावपूर्ण व्यापारिक अवस्थापछि आएको हो । लन्डनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले सबै वित्तीय विश्लेषकलाई चीनलाई वित्तीय पूर्वानुमानमा समावेश नगर्न मार्गदर्शन दिएका छौं । यसको कारण के भने यो मुख्यतया अमेरिकी र चिनियाँ सरकारबीचको छलफलमा रहने विषय हो ।’ यसअघि अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण एनभीडीयाका एआई चिप्स चीन पठाउन प्रतिबन्ध लगाएको थियो– जसमा कम शक्ति भएको सर्भर चिप H20 पनि थियो । तर, गत अगस्टमा ह्वाइट हाउसले घोषणा गरेको थियो कि राष्ट्रपति डोनाल्ड ट्रम्प र हुवाङबीच भएको सम्झौताअनुसार एनभीडीयाले निर्यात अनुमति पाउनेछ र चीनमा बिक्री भएको H20 चिप्सको १५ प्रतिशत अमेरिकी सरकारलाई जानेछ । बुधबारको यो समाचारले फेरि एकपटक एनभीडीयाको चीन व्यवसायमा ठुलो धक्का दिएको छ । यसअघि चीनको राज्य बजार नियामक प्रशासनले एनभीडीयाले इजरायली प्रविधि कम्पनी मेलानक्स (डेटा सेन्टर र सर्भरका लागि नेटवर्क समाधान बनाउने कम्पनी) खरिद गरेको विषयमा एक एन्टिट्रस्ट (एकाधिकार विरोधी) छानबिन सुरु गरेको थियो । मंगलबार एनभीडीयाले बेलायतमा ११ अर्ब पाउण्ड (१५ अर्ब डलर) को लगानी गर्दै एआई पूर्वाधार विकास गर्ने घोषणा गर्यो । माइक्रोसफ्ट, गूगल र सेल्सफोर्सलगायत अन्य अमेरिकी प्रविधि कम्पनीहरूले पनि बेलायतमा बहुअर्ब डलरको एआई लगानी गर्ने घोषणा गरेका छन् । भू–राजनीतिक परिस्थितिका बाबजुद हुवाङले चीनको एआई बजारको महत्त्वलाई जोड दिए। ‘चिनियाँ बजार महत्त्वपूर्ण छ। यो ठूलो छ। प्रविधि उद्योग धेरै सक्रिय छ । हामी ३० वर्षदेखि यसको सेवा गर्दै आएका छौं,’ उनले भने । ‘एनभीडीयाले चिनियाँ सरकार र चिनियाँ कम्पनीलाई उनीहरूलाई चाहिने रूपमै समर्थन गर्न जारी राख्नेछ र हामी अमेरिकी सरकारलाई पनि निरन्तर समर्थन गर्नेछौं, जबसम्म यी भू-राजनीतिक नीतिहरू समाधान हुँदैनन्,’उनले थपे । एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ? चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा  

चीनमा उड्ने कार एक-आपसमा ठोक्किँदा एक पाइलट घाइते, एउटा कारमा लाग्यो आगो

काठमाडौं । उत्तरपूर्वी चीनमा हवाई प्रदर्शनको अभ्यासको क्रममा दुई उड्ने कार एक-आपसमा ठोक्किँदा एक पाइलट घाइते भएका छन् र एक कार जमीनमा खसेर आगो लागेको छ । अनलाइनमा भाइरल भिडियोहरू र चिनियाँ सरकारी मिडियामा देखाइएका दृश्यमा एउटा कारबाट बाक्लो धुवाँ उठिरहेको देखिन्छ, जबकि दमकल र एम्बुलेन्स घटनास्थलमा दौडिरहेका छन् । यो दुर्घटना मंगलबार अपराह्न चाङचुन, जिलिन प्रान्तमा भएको हो, जहाँ सहरले शुक्रबारबाट सुरु हुन लागेको पाँच दिने हवाई प्रदर्शनको तयारी गरिरहेको थियो । उड्ने कारहरू वा इलेक्ट्रिक भर्टिकल टेक–अफ र ल्यान्डिङ (ईभीटीओएल) सवारीसाधनहरू, चिनियाँ इलेक्ट्रिक वाहन कम्पनी एक्सपेङको सहायक कम्पनी एक्सपेङ एरोहटद्वारा विकास गरिएका हुन् । सीएनएनलाई कम्पनीले दिएको बयानमा भनिएको छ– ‘अपर्याप्त दूरी’का कारण कारहरू ठोक्किँदा एउटा सवारीसाधनको फ्युजलेज क्षतिग्रस्त भयो र अवतरणको समयमा आगो लाग्यो ।’ ‘घटनास्थलमा रहेका सबै कर्मचारी सुरक्षित छन् र स्थानीय अधिकारीहरूले व्यवस्थित रूपमा आपतकालीन उपायहरू पूरा गरेका छन्,’ बयानमा भनिएको छ । साथै अनुसन्धान जारी रहेको जानकारी दिइएको छ । कम्पनीको एक कर्मचारी, जसले नाम नखुलाउने शर्तमा सीएनएनलाई भने कि दुई सवारीसाधनहरू नजिकैको फर्मेसनमा निकै स्टन्ट प्रदर्शन गर्दै थिए ।  यसैबीच, देशभरका सहरहरूले पार्सल, खाना र मेडिकल आपूर्ति वितरणको लागि बिना चालक ड्रोन परीक्षण गरिरहेका छन् । कम्युनिष्ट पार्टीको मिडिया पिपल्स डेलीका अनुसार २०२३ सम्म चीनमा २ हजारभन्दा बढी ड्रोन निर्माताहरू र २० हजारभन्दा बढी कम्पनीहरूले बिना चालक हवाई सवारीसाधन सञ्चालन गरिरहेका थिए ।