गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् ।

सीमा नाकाको हेल्थ डेस्कका २७ जना कर्मचारी ६ महिनादेखि तलबबिहीन

महेन्द्रनगर । नेपाल-भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत छ महिनादेखि तलब पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलबबापतको बजेट उपलब्ध नगराएको हो । कोरोना कहरपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुरस्थित खग्रौला नाका, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट स्वदेश फर्किनेको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । पछिल्लो छ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका व्यक्ति हेमराज जोशीले बताए । ‘यो वर्ष बजेट कम आएकाले कर्मचारीले तलब नपाएका हुन्’, उनले भने, ‘माथि मन्त्रालयले संशोधन गरेर भए पनि बजेट पठाउने भनेको छ ।’ त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना परीक्षणका लागि किट माग गरेको लामो समय बितिसक्दा पनि उपलब्ध हुन नसकेको जोशीले बताए । ‘किट प्रदेश र सङ्घ दुवैबाट आउने पर्ने हो, लिखित पत्राचारसमेत गरेका छौँ’, जोशीले भने, ‘केही समयअघि निर्देशनालयले दुई हजार किट खरिद गरेर त्रिनगर भन्सारको डेस्कमा पठाएकोमा एक हजार प्रयोग भइसकेको छ ।’ उनले किट अभावकै कारण नाकामा कोरोना परीक्षणको काम प्रभावित भएको जानकारी दिए । सीमानाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कोरोना परीक्षणका साथै एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गुलगायतका रोगको नमुना जाँच हुने गरेको छ । त्यसबाहेक नाकामा प्राथमिक स्वास्थ्य सेवाका साथै सीमामा पर्ने स्वास्थ्य समस्याबारे सचेतना गराउँदै आएको छ । रासस

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा मिलन सिग्देल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । संस्थाको २१४औं सञ्चालक समिति बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकालका लागि सिग्देललाई प्रतिनिधि सञ्चालक नियुक्त गरिएकाे हो । यसअघि सो स्थानमा कमल खड्काले प्रतिनिधित्व गर्दै आइरहेका थिए । साथै, उनले पदका लागि शपथ ग्रहण समेत गरिसकेको कम्पनीले जनाएको छ । करीब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको मिलन सिग्डेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।