हिमालयन एभरेष्टको निमित्त सीईओ बनिन् अञ्जु श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले असार १३ गतेदेखि लागु हुने गरी निमित्त सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए । लामो समयदेखि बीमा क्षेत्रमा आवद्द श्रेष्ठ साविक हिमालयन जनरल इन्स्योरेन्समा विभिन्न पद रहेर काम गरेकी हुन् । उनको पुनर्बीमामा विशेष दख्खलता रहेको छ । सञ्चालक समितिले सीईओ विजय बहादुर शाहलाई पदमुक्त गरेपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो । उनी हाल नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत छिन् ।

राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी चयन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) काे पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०५१ मा कम्युटर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् ।

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री

लिस्बन । प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईँ, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यमा यज्ञप्रसाद डुम्रे, पुरन घर्ती, नवीनकुमार थापा, राजेन्द्रप्रसाद डुम्रे, राजन कार्की, सुनिल बन्जरा, सङ्गीता शर्मा सिलवाल, हेमन्त केसी, शिवसागर बुढाथोकी, कमल बस्नेत, सुमन सिलवाल, चित्रप्रसाद सुवेदी, सुरज विष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुवेदी, भक्त सिंह, माया खरेल र यामबहादुर पुर्कोटी सर्वसम्मत चयन गरेको छ । मञ्चका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, केन्द्रीय सदस्य गोविन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुङ्गाना, एनआरएनए पोर्चुगलका अध्यक्ष्य उमेश खड्कालगायतको उपस्थिति रहेको थियो ।