सपोर्ट लघुवित्तको अध्यक्षमा महेशकुमार पोखरेल
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन् । फागुन १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा सञ्चालक पोखरेललाई नियुक्त गरेको हो । यसअघि संस्थाको अध्यक्षमा प्रदीप अधिकारी थिए । उनले दिएको राजीनामा फागुन १० गतेदेखि नै लागू हुने गरी स्वीकृत भइसकेको बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बराल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ । रासस
बीमा सर्भेयर संघको अध्यक्षमा ढकाल पुनःनिर्वाचित
ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित भएका छन् । संघको हालै सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल आगामी दुई वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका छन् । यसैगरी संघका सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट रहेका छन् । एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटक कार्यसमितिमा उपाध्यक्ष तथा एक कार्यकाल अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेका छन् ।