लगानी बोर्डको सदस्यमा सिएनआई अध्यक्ष हरिभक्त शर्मा नियुक्त

काठमाडौं, १२ साउन । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा नियुक्त भएका छन् । लगानी बोर्डको हालै बसेको बैठकबाट उनी उक्त बोर्डको सदस्यमा नियुक्त भएका हुन् । परिसंघका अध्यक्ष शर्मा व्यवसायिक रुपले उद्योगपति भएपनि पूर्वाधार विकास, औद्योगिकीकरण र समष्ठिगत अर्थतन्त्रका बारेमा गहन अध्ययन गर्ने प्राज्ञिक व्यक्तित्व पनि हुन् । उक्त बोर्डमा अध्यक्ष शर्माको प्रतिनिधित्वबाट निजी क्षेत्रको प्रवद्र्धन, प्रत्यक्ष बैदेशिक लगानीको आकर्षण, मुलुकको पूर्वाधार विकास र विस्तारमा थप सहयोग पुग्ने परिसंघले जनाएको छ ।

इपिएस कोरियाको परीक्षाफल प्रकाशित, तीन हजार ५१७ कोरिया जान पाउने

काठमाडौँ, १२ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाली भाषा परिक्षामा तीन हजार ५१७ परीक्षार्थी उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उतिर्ण सबैले कोरिया जाने अवसर प्राप्त गर्नेछन् । कृषि तथा पशुपालनका क्षेत्रमा दुई हजार १४० तथा निर्माणका क्षेत्रमा एक हजार ३७७ परीक्षार्थी उत्तीर्ण भएका हुन । कोरियामा काम गर्न जान छनोट हुनका लागि भाषा परीक्षामा ६० हजार ६२६ परीक्षार्थीले आवेदन दिए पनि ५७ हजार १२० जना सहभागी थिए । कोरियाले नेपालबाट दक्ष तथा अनुभवी कामदार आफ्नो मुलुकमा लैजान भाषा परीक्षा लिएर योग्य उम्मेदवारलाई छनोट गर्दै आएको छ । यस वर्षसम्म सातौ पटक परीक्षा लिइएको थियो । (नतिजा हेर्न यहाँ क्लिक गर्नु होस)http://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en

ग्रामीण विकास बैंकले सीईओ माग्यो, तलव वार्षिक १७ लाख रुपैयाँ

काठमाडौं, १२ साउन । नेपाल ग्रामीण विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नयाँ नियुक्ती गर्ने प्रक्रिया अगाडि बढाएको छ । पाँच वटा क्षेत्रीय विकास बैंक मर्ज हुनुपूर्व भएको सम्झौता अनुसार नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाएको हो । पाँच वटा विकास बैंक मर्ज गर्दा मर्जपछि एक वर्षभित्र साधारणसभा गरेर सञ्चालक समिति चयन गर्ने, त्यसपछि खुला प्रतिस्पर्धाको आधारमा सीईओ नियुक्ती गर्ने सहमति अनुसार नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाएको वर्तमान सीईओ धर्मराज पाण्डेले विकासन्युजलाई जानकारी दिए । मर्ज भएका पाँच ग्रामीण विकास बैंक मध्ये नाफामा रहेको एक मात्र पश्चिमाञ्चल ग्रामीण विकास बैंकको सीईओ पाण्डेलाई मर्जपछिको नेपाल ग्रामीण विकास बैंकमा सीईओ बनाईएको थियो । नयाँ सीईओको लागि स्नातक पास गरेको, बैंक तथा वित्तीय क्षेत्रमा कम्तिमा ५ वर्ष कार्यकारी पदमा काम गरेको, ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । नयाँ सीईओको लागि वार्षिक १७ लाख रुपैयाँ बराबरको तलव र अन्य सुविधा हुने जनाईएको छ । भदौ ८ गतेसम्म आवेदन खुला गरिएको र आवेदक मध्येबाट पाँच जनालाई सर्ट लिस्टङ गरी अन्तरवार्तामा बोलाईने बैंकले जनाएको छ ।