स्मार्ट च्वाइस टेक्नोलोजिज पीसीआइ एसएससीको दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्टान्डर्स काउन्सिल (पीसीआइ एसएससी) को दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ । यस बोर्डमा नेपालबाट चयन हुने एकमात्र संस्था एसटीसी हो । एसटीसीसँगै गुगल, नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया र युरोनेट यूएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका ठूला कम्पनीहरूले पनि यस बोर्डमा प्रतिनिधित्व गर्नेछन् । विश्वव्यापी स्तरमा भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड विकास र प्रवर्द्धन गर्दै आएको पीसीआइ एसससीले डिजिटल भुक्तानीमा देखिएका साइबर तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउँदै आएको छ । भारत–दक्षिण एशियामा पहिलोपटक गठन भएको यस क्षेत्रीय बोर्डमार्फत पीसीआइ एसएससीले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गरेको छ । एसटीसीले बोर्ड सदस्यका रूपमा भुक्तानी सुरक्षासम्बन्धी चुनौती र अवसरबारे परामर्श दिने, मापदण्ड र कार्यक्रम विकासका लागि सुझाव प्रदान गर्ने तथा दक्षिण एशियाभर पीसीआइ एसससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे सचेतना अभिवृद्धि गर्ने भूमिका निर्वाह गर्नेछ । स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले नेपालबाट यस प्रतिष्ठित मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, 'यो सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ। हामी हाम्रो विशेषज्ञता मार्फत योगदान गर्दै भुक्तानी प्रणालीलाई अझ सबल बनाउन क्षेत्रीय सहकार्यलाई मजबुत बनाउनेछौं ।'
माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर खरिदका लागि २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसअनुसार २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएका छन् भने ८ हजार २८९ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो । त्यसअनुसार १ लाख २४ हजार ८९० जनाले प्रत्येकी १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँडफाँटपछि बाँकी रहेका ४ कित्ता पुनः गोलाप्रथामार्फत वितरण गर्दा ४ जनाले थप १–१ कित्ता पाएका छन् । यसरी कुल १ लाख २४ हजार ८९४ लगानीकर्ताले माबिलुङ्ग इनर्जीको सेयर प्राप्त गरेका छन् ।
१० प्रतिशत लाभांश बाँड्ने भेन्चरको घोषणा
काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले भदौ २७ गते दिउँसो ३ बजे पानी पोखरी काठमाडौंमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले पुँजी संरचना परिवर्तन गर्ने र सो बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा शंसोधन गर्ने, संशोधनमा नियमनकारी निकायबाट निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । साथै, कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्ने प्रस्ताव गरेको छ । यस्तै, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति पुनर्गठन गर्ने प्रस्ताव पारित गर्नेछ ।