हन्दु अधिराज्य र सनातन धर्म सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न
काठमाडौं । दर्जनौं धार्मिक संघ–संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यले आयोजित हन्दु अधिराज्य र सनातन धर्म सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । योगी नरहरिनाथ टेष्ट आध्यात्मिक परिषद्को आयोजनामा शुक्रबार भएको उक्त धार्मिक अन्तक्रियात्मक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सम्पन्न गरिएको हो । स्वामी चतुर्भुजाचार्य महाराजको प्रमुख अतिथ्यता रहेको थियो भने परिषद्का अध्यक्ष शंकर पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा डा। गजमान गुरुङ्गको विशिष्ट आतिथ्यता रहेको थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सनातन धर्म, संस्कृति र परम्परा संकटमा परेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सबै धार्मिक संघ,सस्था एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । धर्म र संस्कृति देशको परिचय हुनका साथै सम्पत्ति भएको जिकीर गर्दै त्यसको संरक्षण र सम्बद्र्धनमा सबै जुट्नुपर्ने बेला आएको एक विज्ञप्ति मार्फत परिषद्ले अपिल समेत गरेको छ ।
माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो, ईपीएस ५३.९६ रुपैयाँ
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ। पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ६० लाख १९ रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४५ करोड ४८ लाख ५१ हजार रुपैयाँ थियो । कम्पनीको मुख्य आयोजनाको रुपमा रहेको ४२ मेगावाटको मिस्ट्री खोला आयोजनाको विद्युत उत्पादन २०८१ जेठ १५ देखि २०८१ साउन २० गतेसम्म बन्द रहेको थियो । बाढीका कारण मुख्य आयोजनाको उत्पादन पहिलो त्रैमासमा २० दिन बन्द हुँदा पनि कम्पनीको खुद नाफा १५.६८ प्रतिशतले बढेको छ । हाल भने ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन भईरहेको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रहेको छ । कम्पनीको रिटेन अर्निंङ १ अर्ब ३३ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख थियो । कम्पनीले आर्थिक वर्ष २०७९/८० बाट १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति सेयर आम्दानी १३.३९ रुपैयाँबाट बढेर १३.४९ रुपैयाँ पुगेको छ। वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी भने ५३.९६ रुपैयाँ हुन आउछ। कम्पनीको प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ ७७ पैसा रहेको छ।
नेपालका चार संस्था असोसियो अवार्डबाट सम्मानित
काठमाडौं । नेपालका चार संस्था असोसियो २०२४ डीएक्स अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको ‘असोसियो डिजिटल शिखर सम्मेलन २०२४’ मा यी संस्थाहरूलाई अवार्ड प्रदान गरिएको हो । यसअन्तर्गत इरासफ्ट सोलुसन प्रालिले आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड, इन्फोडेभलपर्स प्रालिले डिजिटल गभरमेन्ट अवार्ड, डाइनामिक टेक्नोसफ्ट प्रालिले एडटेक अवार्ड र नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । नेपालतर्फबाट क्यान महासंघ असोसियोको सदस्यका रूपमा रहेको छ । असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनित भएका थिए । नेपालबाट अवार्ड प्राप्त गरेका चारै संस्थालाई क्यान महासंघले सिफारिस गरेको थियो । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले असोसियोको यस प्रतिष्ठित प्लेटफर्मले नेपाली सूचना प्रविधि कम्पनीहरू र उत्पादहरूलाई विश्व मानचित्रमा मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘क्यान महासंघको उद्धेश्य नै नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नु हो । असोसियोको एक सदस्य संगठनका रूपमा नेपालका उत्कृष्ट कम्पनी र उत्पादनलाई विश्व मञ्चमा प्रस्तुत गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो,’ महासचिव अधिकारीले भने ।