इन्टरनेसनल सिमेन्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल नियुक्त
काठमाडौं । इन्टरनेसनल सिमेन्टले अभिनेता राजेश हमाललाई आफ्ना उत्पादनहरुको ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनी र अभिनेता हमालबीच शनिबार सो सम्बन्धी अनुबन्ध पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनी सञ्चालक विमल अग्रवाल र हमालले हस्ताक्षर गरेका छन् । अब इन्टरनेसनल सिमेन्टका उत्पादनहरुको प्रवद्र्धन अभियान तथा प्रचार सामग्रीमा अभिनेता हमाल सामेल हुनेछन् । वीरगन्जस्थित इन्टरनेसनल सिमेन्टले ओम, ज्योति र रुद्राक्ष, ब्रान्ड नाममा सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनी सञ्चालक अग्रवालले हमालको सहभागिताबाट आफ्ना ब्रान्डको बजार प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
दुग्ध क्षेत्रबाट दैनिक ३ करोड सहरबाट गाँउ पस्छ
काठमाडौं । पछिल्लो समय मुलुकका विभिन्न जिल्लाहरु दुधमा आत्मानिर्भर भएका छन् । दैनिक ३ करोड भन्दा बढी रकम सहरबाट गाउँमा जाने गरेकाे एसोशिएसनको अध्यक्ष सुमित केडियाले जनाएका छन् । नेपाल डेरी एसोशिएसनको अनुसार अहिले मुलुकमा १५ अर्ब रूपैयाँ भन्दा बढी दुग्ध क्षेत्रमा उद्योग स्तरको लगानी रहेको छ । उनका अनुसार मुलुकको ‘एजीडीपी’मा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत छ । ४ लाख ५० हजार कृषक परिवार दुग्ध क्षेत्रको रोजगारीमा आवद्घ छन् । २० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाइरहेको छ । एसोशिएसनले १९ औं वार्षिक साधारण सभा एवम ७ औं राष्ट्रिय महाधिवेशनको पूर्वसध्यामा गरेको कार्यक्रममा अझै पनि मुलुकमा दुग्ध क्षेत्रको विकासको लागि विभिन्न नीतिगत सुधार हुन पर्ने औल्याएको छ । एसोशिएसनको अनुसार समय सापेक्ष मुल्य समायोजन गरिनु पर्ने, लागत खर्च र कच्चा दुधको गुणस्तरमा थप सुधार गरिनु पर्ने, कुशल उत्पादन प्रणाली, प्रशोधन प्रणाली जस्ता सिद्घान्तहरुलाई किसान र उद्योग तहमा व्यापकता दिनुपर्ने लगायत छन् । मुलुकमा हाल ४८ लाख ५० हजार लिटर दुध उत्पादन हुन्छ । जसमध्ये औपचारिक रुपमा १५ प्रतिशत आर्थात ७ लाख २७ हजार ५ सय लिटर दुध उपलब्ध छ । त्यस्तै अनौपचारिक क्षेत्रबाट ३५ प्रतिशत आर्थात १६ लाख ९७ हजार ५ सय लिटर दुध उपलब्ध छ छ । कृषक स्वयमले ५० प्रतिशत अर्थात २४ लाख २५ हजार दुध उपभोग गर्दै आइरहेको एसोशिएसनको भनाइ छ ।
विराटनगर जुट मिल्सको अनियमितता छानबिन गर्न माग
विराटनगर । विराटनगर जुट मिल्स रानीको स्वामित्वमा रहेको पुराना मेशिनलगायतका सामग्री बिक्री वितरणमा अविलम्ब रोक्नुपर्ने मिलका पूर्व कर्मचारी एवम् स्थानीय नागरिकले माग गरेका छन् । विराटनगर जुट मिल्स बचाउ अभियान समिति विराटनगर–१६ द्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जुट मिल सञ्चालक समितिका अध्यक्षले अनियमित रुपले मिल्सको मेशिन र पार्टपुर्जा बेचबिखन गरेको, जग्गा प्लटिङ गरी बिक्री गर्न खोजेकाले अविलम्ब रोक्नुपर्ने बताएका छन् । अभियानका अध्यक्ष धर्मानन्द सञ्जेलले कानुनीरुपमा बेचिएको मिल्सको शेयर अविलम्ब खारेज गरी सरकारको साबिक ६८ प्रतिशत शेयर कायम गर्नुपर्ने, जुट मिल्सको चलअचल सम्पत्तिको संरक्षण र दीर्घकालीन रुपमा उद्योग सञ्चालन गर्नुपर्ने, हाल कार्यरत कामदार कर्मचारीको बाँकी रहेको रकम भुक्तानी हुनुपर्ने र मिल्समा हाल भइरहेको अनियमिमताका छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने चारबुँदे माग पूरा हुनुपर्ने बताए पत्रकारसम्मेलनमा अभियानका उपाध्यक्ष प्रकाश साहले मिल्स नेपाल सरकारले सञ्चालन गर्नुपर्ने अन्यथा उक्त क्षेत्रमा जुट सङ्ग्रहालय र औद्योगिक क्षेत्र कायम गरी निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने बताए। अभियानका सचिव हिमाल शेर्पाले राखेको माग पूरा हुनु नभए शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रमको घोषणा गर्ने पत्रकारलाई जानकारी दिए। रासस