हप्तादिनमै रजिष्ट्रारको कार्यालयले बनायो दुई नियम, कम्पनीहरुले अनिवार्य लागू गर्नुपर्ने–होमेगाँई
काठमाडौं। हप्तादिनको अन्तरमा कम्पनी रजिष्ट्रारको कार्यालयले दुई ओटा नियम बनाएको छ । कार्यालयले आफ्नो कार्य तथा दिदै आएको सेवा सुबिधालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ती नियमहरु बनाएको हो । कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख गीता कुमारी होमेगाँईले कम्पनीको कामकाजलाई सहज र सुरक्षित बनाउन हप्दानिको अन्तरालमा कानुन अनुसार दुई ओटा नियम लागु गरेको बताइन् । उनका अनुसार कार्यालयमा पेश गर्ने कागजात नेपाली भाषमा अनुवाद गरी पेश गर्नु पर्ने र कम्पनी सचिव र अख्तियारवलाहरुले अनिवार्य परिचयपत्र ल्याउन पर्ने नियम राखिएको छ । उनका अनुसार यसअघि कम्पनीहरुले मनपरी ढङ्गले विभिन्न भाषामा कागजातहरु ल्याउने गरेका थिए । ‘विशेषगरी अङ्ग्रजी लगायतका आफुलाई पायक पर्ने चाइनिज भाषामा कागजातहरु ल्याउथे,’ उनले भनिन् ‘त्यसलाई नियन्त्रण गर्न कार्यालयमा पेश गर्ने आवश्यक काजजात अनिवार्य नेपालीमा हुन पर्ने नियम बनाएका हौं ।’ कम्पनीले माघ १४ गतेदेखि सो नियमलाई लागु गरिसकेको बताएको छ । कम्पनीहरुले कार्यालयमा कम्पनीको साधारण सभाको निर्णय पुस्तिका वा निर्णय उतार, सञ्चालन समितिको निर्णय, शेयर लागत, शेयर खरिद बिक्री सम्बन्धी कागजात लगायत नियमित कागजातरु अनिवार्य रुपमा नेपाली भाषामा पेश गर्नु पर्ने हुन्छ । त्यस्तै विभिन्न कम्पनीहरुबाट कार्यालयको लागि कामको सिलसिलामा आएका कम्पनी सचिव तथा आधिकारिक अख्तियारवालाहरुले अनिवार्य कम्पनीबाट जारी भएको आधिकारीक परिचयपत्र लगाउन पर्ने अर्को नियम रहेको रजिष्ट्रार कार्यालयका प्रमुख होमेगाँईले बताइन् । उनका अनुसार कम्पनीमा अनावश्यक मानिसहरु आउन सक्ने, कागजात तथा फाइलहरु हराउन सक्ने लगायत जोखिमलाई मध्यनजर गर्दै कम्पनी सचिव तथा अख्तियारवलाले आधिकारीक परिचयपत्र लागाउन पर्ने नियम राखिएको हो । जसबाट कार्यालयमा रहेको फाइलको सुरक्षा हुने, भिडभाड घट्ने लगायत कार्र्यमा सहयोग मिल्ने उनको बुझाइ छ । केही दिन अघिदेखि मात्रै उक्त नियम राजिस्ट्रारको कार्यालयमा लागु गरिएको हो ।
नापतौल कार्यालयद्धारा १० उद्योगलाई पत्राचार, तीन दिनभित्र उपस्थित हुन निर्देशन
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले ललितपुरका १० उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ । कार्यालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई यही पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेपछि तीन दिनभित्र उपस्थित हुन पत्र काटेको हो । कार्यालयले शुक्रबार नेपलिज हेण्डिक्राफ्ट, केबी पेट, विजु प्लास्टिक उद्योग प्राली, बैकुण्ठ कलात्मक काष्ठ उद्योग, स्ट्रक्चर नेपाल प्राली, ताम्राकार युटेन्सिल उद्योग, सुपर क्वालिटी प्लास्टिक उद्योग, पूर्ण उड कार्भिङ्ग, विरा फर्निचर र उड कार्भिङ्ग उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ । क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले तौलने यन्त्र नियमित गराउन जानकारी गराएकोमा एक महिनासम्म पनि नियमित गराउने कार्य नगराएपछि उपस्थित हुन पत्र काटिएको जानकारी दिए । पत्रमा उपस्थित नहुनुको कारणसहित खुलाउन समेत अनुरोध गरिएको छ । रासस
तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान, हेरौँ क-कसले पाए ?
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ । विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । विभागले उक्त ग्यास उद्योगमा दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये हालसम्म चारवटा उद्योगले मात्र गुणस्तर प्रमाणपत्र लिई सञ्चालन गरेका छन् । बिहीबार थप तीनवटालाई गुणस्तर प्रमाणपत्र प्रदान गरेपछि सो संख्या सात पुगेको छ । अठचालीस ग्यास उद्योगले अहिलेसम्म गुणस्तर प्रमाणपत्र लिएका छैनन् । गुणस्तर प्रमाणपत्र लिनेमा मनोज ग्यास उद्योग वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग धादिङ र नेपाल ग्यास उद्योग बालाजु रहेका छन् । गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दुई महिनाभित्र सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको बताए । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची-२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ । रासस