सेढाइलाई चेम्बरको सम्मान
काठमाडौं। ६६ औं अन्तर्राष्ट्रि भन्सार दिवसको संघारमा नेपाल चेम्बर अफ कमर्शले भन्सार प्रशासनमा उत्कृष्ट काम गरेबापत सुख्खा बन्दरगाह वीरगञ्जका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईलाई सम्मान गरेको छ । बिहीबार राजधानीमा चेम्बरले गरेको एक कार्यक्रममा उनलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमाण–पत्र प्रदान गरी सम्मान गरेका थिए । कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धिको लागिअघि बढाउने बताए । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारको सहजीकरणमा विशेष जोड दिनुपर्ने बताए । आधुनिक प्रविधिको विकाससँंगै घरबाटै राजश्व तिर्न सक्ने गरी ईकमर्सको व्यवस्था हुनु पर्नेमा उनको जोड थियो । सवै व्यवसायीलाई एउटै नजरले हेरेर सरकारले व्यवहार गर्न नहुने भन्दै राम्रोलाई प्रोत्साहन गर्नु पर्ने उनकोे भनाइ थियो । कार्यक्रममा अर्थ राज्य मन्त्री उदय शमशेर राणा, राजश्व सचिव शिशिर कुमार ढंगाना, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी, नेपाल चेम्वर भन्सार विभागका सभापति निरज राईलगायतले विविध पक्षबारे चर्चा गरेका थिए ।
युनाइटेड सिमेन्ट्सद्धारा धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । यस सिमेन्ट्सले धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पुर्याउने उद्देश्यले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग प्रदान गरेको हो । साथै, सोही कार्यक्रममा युनाइटेड सिमेन्ट्सले एम्बुलेन्स सञ्चालनको निमित्त एक लाख एक हजार रुपैयाँपनि हस्तान्तरण गरेको छ । युनाइटेड सिमेन्ट्सको यो सहयोगले सो स्थानका बिरामीले समयमै उपचार प्राप्त गरी अकालमा ज्यान गुमाउनु नपर्ने हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले जानकारी गराए । कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल अति उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, यस युनाइटेड सिमेन्टले विगतमा पनि समाज प्रतिको उत्तरदायित्वलाई पुरा गर्ने हेतुले विभिन्न कार्य गर्दै आएको छ र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट बाँकेमा स्थापना, ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने
नेपालगन्ज । बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २०० लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने सञ्चालक गौरव श्रेष्ठले बताए । एच ओ अक्सिजन इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको प्लान्टले आजदेखि विधिवत् उत्पादन शुरु गरेको छ । करिब १० करोडको लागतमा स्थापना गरिएको सो प्लान्ट सञ्चालनमा आएपछि नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्यास र लिक्विड उपलब्ध हुने बताइएको छ । बिरामीको संख्यामा वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पताल र व्यक्तिगत जीवनका साथै बजार आवश्यकताको अध्ययन गरेर काठमाडौँ बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको सञ्चालक श्रेष्ठले बताए । हरि ओम ग्रुपको लगानी रहेको एच ओ अक्सिजन इन्ड्रष्ट्रिज नेपालमा सबैभन्दा धेरै उत्पादन क्षमता भएको अक्सिजन ग्यास प्लान्ट भएकाे बताइएकाे छ । रासस