नेपाल सिमेन्टमा आत्मनिर्भर, २०७६ सालदेखि विदेशमा निर्यात गर्ने तयारीमा उद्याेगी

काठमाडौंँ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । करिब दुई खर्ब रूपैयाँ लगानी भएको र वार्षिक १५० अर्ब रूपैयाँ बराबरको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्काे वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताए ।  “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ”, थापाले भने। सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ । अध्यक्ष थापाले नेपालमा गएको वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको जानकारी दिए । उनले भने – “उत्पादन क्षमता भने एक करोड ३० लाख टन रहेको छ तर विभिन्न कारणले केही विदेशी उद्योगीका सिमेन्ट गुणस्तरका लागि पाँच प्रतिशत मात्रै गत वर्ष आयात भएको थियो ।” अबदेखि त्यो पनि आयात नहुने बताइएको छ । आगामी दिनमा आयात शून्य प्रतिशतमा जाने अपेक्षा गरिएको व्यवसायीले बताएका छन् । नेपालमा वार्षिक १० प्रतिशतले सिमेन्ट उत्पादनमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ सालदेखि नेपालमा उत्पादित सिमेन्ट निर्यात हुने जनाइएको छ । लागत मूल्य कम गर्न नसकेकाले समस्या बढी रहेको उनीहरूको भनाइ छ । विश्वमै महँगो उत्पादनका रूपमा नेपालको सिमेन्ट रहेको बताइएको छ । आगामी वर्ष एक करोड १० लाख टन माग हुने र उत्पादन भने एक करोड ७० लाख टनमा पुग्ने अनुमान गरिएको छ । “त्यसैले अब निर्याततर्फ हामी जानै पर्छ”, सङ्घका महानिर्देशक गोकुल धितालले भने । विश्वमा सिमेन्टको कूल उत्पादन चार अर्ब २० करोड टन रहेको छ। सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको थापाले जानकारी दिए । नेपालमा चुन भण्डार प्रशस्त रहेको छ । सरकार परिवर्तन भएसँगै नीतिमा आउने परिवर्तन, श्रम कानूनमा देखिएको समस्या विदेशी जनशक्ति ल्याउनुपर्ने अवस्था, खानी तथा वनसँग हुने समस्या स्थानीय तह र प्रदेशले पनि करमा हिस्सा खोज्नेलगायत समस्या रहेको व्यवसायीले बताएका छन् । नेपालमा कच्चापदार्थ र कोइला नहुँदा पनि ठूलो समस्या छ । व्यवसायीले विदेशी उद्योगीलाई प्रोत्साहनभन्दा नेपाली उद्योगलाई प्रोत्साहन गर्नु जरुरी रहेको बताएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपालमा ९२७ गुणस्तर स्वीकृत भएका उद्योगमध्ये ३७० ले अनुमति प्राप्त गरिसकेको जानकारी दिए । नेपालमा नमूना सङ्कलन गरिएका सिमेन्ट उद्योगमध्ये कम मात्रैमा समस्या रहेको भन्दै उनले पछिल्लो समयमा आधुनिक प्रविधिको प्रयोगका कारण नेपाली सिमेन्ट गुणस्तरयुक्त रहेको बताए । मातृकाप्रसाद यादव कूल १३४ ले लाइसेन्स प्राप्त गरेको पुडासैनीले जानकारी दिए । नेपालमा पूरा क्षमतामा चल्ने हो भने नेपाली सिमेन्टको बजार रु २५० अर्बको रहेको उनको भनाइ थियो । खानी तथा भूगर्भ विभागका इञ्जिनीयर जयराज घिमिरेले नेपालमा चुनखानीको प्रवद्र्धन कार्यक्रम गर्ने कार्यक्रम शुरु गरेको जानकारी दिँदै १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको उल्लेख गरे । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमातृकाप्रसाद यादवले विगतका ऐन कानून तत्कालै हटाउन नसकिने भएकाले परिवर्तन हुने चरणमा रहेको भन्दै उद्योगलाई कसरी विकास गर्न सकिन्छ भनेर सरकार लागि परेको बताए । उनी भन्छन् “सहकार्य गरौँ कहाँ कहाँ समस्या छ, छलफल गरौँ, सरकरको उद्देश्य भनेकै उद्योगको विकास गरी आर्थिक समृद्धि ल्याउने हो ।” उद्योगको विकास नगरी र निजी क्षेत्रसँग सहकार्य नगरी समृद्धि नआउने उनको भनाइ छ । रासस

अण्डर थर्टी स्ट्रगलः पढाई र कमाई सँगसँगै

काठमाडौ । समान्यतया नेपालमा ३० बर्षसम्मको उमेर पढाईका लागि नै छुट्याउने गरिन्छ । अण्डर थर्टीका युवाहरु सुन्दर भविश्य निर्माणका लागि पढाईमा जुट्ने गर्छन् । बाबु-आमाकै खर्चमा मास्टर्ससम्मको अध्ययन गर्ने युवाहरु धेरै छन् । तर, बुटवल वेलवासमा एक युवा समूहले अण्डर थर्टीमा नै आफ्नो पढाई र कमाई सँगसँगै अघि बढाईरहेका छन् । वेलवासका ती १३ जना युवाले रोयल छोप नामक सुख्खा अचार बेचेर नै उद्यमी बन्ने बाटो समातेका छन् । तिनै मध्यका एक हुन् प्रकाश ज्ञवाली । उनै अण्डर थर्टी युवा ज्ञवालीको पढाई र कमाई सँगसँगैको यात्राका बारेमा केही जान्ने प्रयास गरेका छौँ । यसरी शुरु भयो प्रकाश ज्ञवालीको यात्रा प्रकाश बाग्लुङ्गबाट पढ्न भनेर बुटवल आएका थिए । उनले पहिला सिस्नो कुटेर त्यसको धुलो बेच्ने गरे । त्यसबाट नाफा आर्जन गर्न नसकेपछिसमूहगत रुपमा अचार बेच्न थाले । यसबाट भने राम्रै सफलता मिलेको उनले बताए । अचारको व्यापरसँगै पढाईलाई पनि निरन्तरता दिए, अहिले बिबिएको अध्ययन गरिरहेका छन् । २०५२ सालमा जन्मिएका प्रकाशले अहिलेसम्म ५ बर्षको व्यापारिक अनुभव हासिल गरिसकेका छन् । उनले अचार उत्पादन गरी बेच्न थालेकोपनि ३ बर्ष पूरा भयो । एउटा कोठा भाडामा लिएर व्यवसाय थालेपनि हाल सिङ्गै घर लिएका छन् । बजारमा पाईने अन्य अचार स्वादिलो हुने भएपनि स्वस्थ्यकालागि खासै हितकारी नहुने प्रकाशको संलग्न युवा समूहको बुझाई छ । स्वास्थ्यलाई समेत हानी नहोस् भनेर उनीहरुले बजारमा सुख्खा अचार बनाएर बेच्ने काम शुरु गरेको बताए । अण्डर थर्टी उमेरका युवाले कस्तो अचार बनाउँछन् ? रोयल टिमुरको छोप नामक अचार हाल बजारमा पाइने अर्गानिक अचार मध्ये एक हो । सो अचारमा हर्रो, बर्रो, अमला, तिल , टिमुर, पुदिना, ज्वानो, मटौरी, नुन, खुर्सानी, ल्वाङ्, सुकमेल, तुलसी, जिम्बु आदिको समिश्रण रहेको छ । यो अचारलाई युवाहरुले आफ्नो कमाई खाने भाँडो मात्र नभई स्वास्थ्यको हितकालागि समेत कार्य गरेको बताए । प्रकाश भन्छन्–व्यवसायले पढाईमा असर पारेको छैन, बरु सहयोग गरेको छ । आफ्नै कमाई पढाईमा खर्च गर्न पाइएकोमा उनले खुशी व्यक्त गरे । यसरी नै उनकै समूहका अन्य साथीले पनि पढाई र व्यवसाय दुवै सम्हाल्दै आएका छन् ।  नेपालको विभिन्न स्थानमा हुने मेला तथा महोत्सवमा रोयल छोपले स्टल राख्ने गरेको छ । बुटवलमा साधना नेपाल इन्डस्ट्रिजबाट अचारको उत्पादन हुँदै आएको छ । काठमाडौको कोटेश्वरमा रहेको एक गोदाम मार्फत विभिन्न पसल तथा बिग मार्टमा अचारको माग पूर्ति गरिंदै आएको छ । कहाँबाट ल्याइन्छ सरसामाग्री ? अचार निमार्णको लागि तील, तुल्सी, ल्वाङ, जिम्मु, ज्वानो जस्ता आवश्यक सामाग्री नेपालको हुम्ला, जुम्ला, मुगु, अघाखाँची, मुस्ताङ लगायतका ठाउँबाट ल्याउने गरेका छन् । पढाईबाट बचेको समयमा विद्यार्थी जीवनमा प्रायः फेसबुक चलाउने, सुत्ने, फिल्म हेर्ने जस्ता काम गरिन्छ । तर, यी युवाहरुले क्षणिक मनोरञ्जन त्यागेर आफ्नो सुन्दर भविष्यको बाटो तय गर्दै छन् । स्वदेशमा काम छैन भने धेरै युवा विदेशिएका छन्, तर प्रकाश र उनको समूहमा रहेका युवाले जस्तै स्वरोजगारको बाटो अपनाए जागिर पाइएन भनेर भौतारिने अवस्था रहँदैन ।

चितवनमा मापदण्ड विपरितका क्रसर उद्योग सञ्चालनमा रोक

काठमाडौं । मापदण्ड विपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो । बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनीयरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरपालिका–२९ को जुगेडी बजारमा सञ्चालन गरेको क्रसर उद्योग, २९ नं वडाकै भोर्लेस्थित महानगर बालुवा तथा क्रसर उद्योग रहेका छन् । त्यसैगरी कविलासको अस्फाल्ट उद्योग र भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा रहेको भवानी विल्डर्स कन्ट्रक्सनमार्फत सञ्चालित अस्फाल्ट उद्योग सञ्चालनमा रोक लगाइएको छ । अस्फाल्ट उद्योगले गिटी र बालुवाको प्रशोधन गर्ने गरेको थियो । मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गराइएको प्रमुख प्रशासकीय अधिकृतसुवेदीले जानकारी दिएका छन् । नारायणगढ मुग्लिन सडक निर्माणको नाममा दर्ता नगरी र कार्यविधि विपरीत चलेको सुवेदीको भनाई छ । महानगरले स्थानीय प्रहरी प्रशासनको सहयोगमा ती उद्योग बन्द गराएको हो । क्रसर सञ्चालनसम्बन्धी हालै तयार भएको प्रदेश कानुन अनुसार स्थानीय तहमा इजाजत नलिई, कर नतिरी उद्योग चलाउन नपाउने व्यवस्था छ। नदीनालाबाट वर्षायामको समयमा भारतीय सिमानाबाट तराईमा ५०० मिटर, पहाडी क्षेत्रमा ३०० मिटर, हाइटेन्सन लाइनबाट १०० मिटर, घना वन निकुञ्ज र धार्मिक क्षेत्रबाट दुई किमी टाढादेखि नदीजन्य उत्खनन गर्न पाइने कानूनमा उल्लेख छ । रासस