दुई अर्ब लगानी थप्दै क्वेष्ट फर्मास्यूटिकल्स, प्रिमियम मूल्यमा आईपीओ ल्याउने

काठमाडौं । व्यापार र सेवा मूलक व्यवसायको तुलनामा उद्योग चलाउनु नेपालको सन्दर्भमा निकै कठिन काम हो । तर संघर्षशील उद्यमीहरु पछि हटेका छैनन् । नयाँ नयाँ उद्योग खोल्ने, भएको उद्योगको क्षमता विस्तार गर्ने कार्य जारी राखेका छन् । यस्तै उद्योग मध्ये एक हो क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि । औषधि उत्पादक कम्पनीहरु मध्ये अब्बल उद्योगको रुपमा स्थापित यो उद्योगले विरगञ्जमा नयाँ प्लान्टहरु लगाउँदै छ । ‘हामी इन्जेक्टएवल औषधि उत्पादमा जोड दिदैछौं’ क्वेष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठ भन्छन्–‘हामी नेपालमै अहिलेसम्म उत्पादन नै नभएका थप ५/६ ओटा नयाँ उत्पादनहरु ल्याउने तयारी गरिरहेका छौं ।’ गर्भनिरोधकको औषधि, दमको औषधि, थाइराइडको औषधि, सेक्स हर्मोन, पेड्नीसोलोन, अंकोलोजी तथा एन्टी क्यान्सर लगायत नेपालमा उत्पादन नहुने र पूर्ण रुपमा विदेशमा भर पर्नुपर्ने औषधिहरु उत्पादन गर्ने कम्पनीको तयारी छ । नयाँ उत्पादन ल्याउन कम्तिमा २०० करोड रुपैयाँ थप लगानी हुने कम्पनीको प्रारम्भिक अनुमान छ । नयाँ योजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । श्रेष्ठले औषधि उद्योगमा काम गरेको ४२ वर्ष भयो । उमेरले ६ दशक छोएको छ तर उनको जोश र जाँगरमा कमी छैन । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्–‘महासंघको काममा पनि त्यत्तिकै दौडधुप हुन्छ । पहिला जस्तो धेरै काम गर्न सकिदैन । तर, हामीले युवा पुस्तालाई जिम्मेवारी दिईसकेका छौं । जो दैनिक १२/१४ घण्टा खटेर काम गर्छन् । दे वर्क भेरी हार्ड ।’ उमेशलाल श्रेष्ठ क्वेष्टमा हाल करिव ६०० जना कर्मचारी छन् । २० वर्षको इतिहास बोकेको यस कम्पनीमा कर्मचारीले कहिल्यै हड्ताल गरेका छैनन् । ‘हामी प्रोफेशनली काम गर्छौ । कर्पोरेट कल्चर छ । युवाहरुले नयाँ नयाँ आईडिया ल्याउँछन् । हामी त्यसलाई रिफाइन गरेर कार्यान्वयनमा लैजान्छौं’ कम्पनीको कार्यशैलीबारे उनले संक्षेपमा बताए । ‘हामीले म्यानेजम्याट युथलाई ह्याडओभर गरिसक्यौँ । स्वामित्व त त्यसै पनि हस्तान्तरण भईहाल्छ’ उनले भने–हामी ५ वर्ष भित्रमा पब्लिकमा जान्छौ ।’ प्रिमियम मूल्यका सेयर निष्काशन गरिने ‘कम्पनीको ड्यूडेलिजेन्स अडिट गर्ने तयारी भईरहेको र डीडीए रिर्पोटको आधारमा प्रिमियम मूल्य तय गरि साधारण सेयर सार्वजनिक निष्काशन गर्छौ’ श्रेष्ठले भने–‘मलाई यस कम्पनीको नेटवर्थ थाहा छ । तर यसको ब्राण्ड भ्यालु मूल्यङ्कन गर्न कठिन छ । यसको लामो विधि हुन्छ । हुनसक्छ यसको ब्राण्ड भ्यालु ५ सय करोड वा १ हजार करोड वा २ हजार करोड रुपैयाँ बराबर आउँला ।’ कम्पनीको हालको पुँजी, नाफासहितको ब्यालेन्ससिटबारे उनी खुलेनन् । तर प्रष्ट वक्ताको स्वभाव उनले देखाईहाले । ‘क्वेष्टको ब्यालेन्ससिट २/३ वटा छैन । कर कार्यालयबाट लिनुहोस् । मैले कति कर तिरेको छु, त्यो पनि हेर्न सक्नुहुन्छ, मेरो कम्पनीहरुले कति कर तिर्छ, त्यो पनि हेर्न सक्नुहुन्छ । गर्नुपर्ने ठाउँमा मैले रिपोर्टिङ गरेको छु । जहाँ जरुरी छैन त्यहाँ किन भन्ने ? पब्लिक भएपछि तपाईले नमागे पनि हामी सार्वजनिक गर्छौै ।’ कम्पनीको व्यापार वृद्धि हरेक वर्ष २५ प्रतिशतभन्दा माथि रहेको उनले बताए । ‘सुरुसुरुमा हाम्रो ग्रोथ १५०/२०० प्रतिशत पनि थियो । पछिल्लो वर्षमा हाम्रो प्रतिवर्ष २५ प्रतिशतले वृद्धि भहिरहेको छ’ उनले भने–‘चालु आर्थिक वर्षमा करिव २०० करोड रुपैयाँ बराबरको कारोबार हुनसक्छ । सन् २०२६ सम्ममा वार्षिक कारोबार १३ सय करोड पुर्याउने कम्पनीको लक्ष्य छ ।’ हाल नेपालको औषधि बजार करिब ४ हजार ५ सय करोडको छ । नेपाली औषधि उत्पादकहरुले बजारको ५० प्रतिशत हिस्सा लिएका छन् । केही उद्योगहरुले औषधि निर्यात पनि थालेका छन् । ‘हामी अहिले नै निर्यात गर्छौ भनेर भन्दैनौं । तर हामीले बनाउँदै गरेका नयाँ फ्याक्ट्रीहरु लरतरो छैन, कुनै पनि बेला निर्यात गर्न सक्ने क्षमताका उद्योग हुनेछ’ उनले आफ्नो चाहाना र क्षमता दुबै व्यक्त गरे । क्वेष्टले तत्कालका लागि कम्पनीले निर्यातभन्दा पनि देश भित्रकै बजार हिस्सा बढाउने योजना बनाएको छ । जुन जुन औषधिमा नेपाल ओभर डिपेन्डेन्ट छ त्यहि त्यहि औषधि उत्पादनलाई कम्पनीले प्राथमिकतामा राखेको छ । उद्योग विस्तारपछि किन पुँजीबजारमा ? सामान्यतय कुनै पनि कम्पनीले क्षमता विस्तार तथा बजार विस्तारको लागि सेयर निष्काशन गर्छ र बजारबाट पुँजी संकलन गर्छ । तर क्वेष्टले उद्योगको क्षमता विस्तारपछि सेयर निष्काशनको तयारी गरेको छ । किन ? हामीले प्रश्न गर्यौं । ‘बैंक, बीमा कम्पनीको आईपीओमा जस्तो उद्योगको आईपीओमा सर्वसाधारण लगानीकर्ताको भीड हुन्न । त्यसैले हामी राम्रो उद्योग चलाएर, पब्लिकको पूर्ण विश्वास जितेर सेयर निष्काशन गर्छौं’ उनले भने–‘केही उद्योगहरुले सर्वसाधारणलाई सेयर बेचेर भागे । त्यसका नकारात्मक असर नयाँ उद्योगलाई परिरहेको छ ।’ आफू समेत प्रमोटर भएको फ्ल्योर हिमालयन कम्पनी लिमिटेडको सेयर निष्काशन गर्दा ८० प्रतिशत मात्र बिक्री भएको तितो अनुभव पनि उनले सुनाए । ‘१०० को सेयर ९००मा बेच्न सकियो भने १०० करोडको सेयर निष्काशन गर्दा ९० करोड पैसा आउँछ । यस्तो पुँजीले उद्योगलाई वित्तीय रुपमा बलियो बनाउँछ’ पुँजी बजारमा जान चाहानुको अर्को उदेश्यबारे उनले प्रष्ट पारे । पुँजी थपिएपछि फेरी उद्योगको क्षमता विस्तार गर्न सकिने उनको भनाई छ । गत वर्षको बजेटमा १०० करोडभन्दा धेरै पुँजी भएका प्राइभेट कम्पनीहरुलाई पब्लिकमा जान प्रेरित गर्ने सरकारी नीति आयो । हालका प्राइभेट कम्पनी पब्लिक भएमा त्यस्तो कम्पनीलाई आयकरमा १० प्रतिशत फिर्ता दिने सरकारको नीति छ । सरकारले नयाँ नीति ल्याउनुपूर्व नै कम्पनीको बोर्डमा पब्लिक कम्पनी बन्ने विषयमा छलफल भएको उनले बताए । ‘सरकारले ट्याक्समा १० प्रतिशत रिबेट दिने भनेपछि लोभले हामी पब्लिक बन्न खोजेको होइनौं । हामी मोर ट्रास्परेन्ट हुन चाहान्छौं । बिजनेसलाई मोर प्रोफेसनल बनाउँदैछौ । नेपाली औषधि उद्योगलाई अन्तराष्ट्रिय स्तरको उद्योग बनाउन चाहान्छौं’ उनले भने । विदेशीसँगको साझेदारीको प्रयास कम्पनीले विदेशी साझेदारीमा एन्टी क्यान्सर तथा अंकोलोजी प्रडक्ट तयार गर्न चाहेको छ । ‘नेपाल जस्तो सानो बजार भएको देशमा वित्तीय साझेदारी भित्र्याउन सजिलो छैन । हामी टेक्निकल पार्टनरसीप खोजिरहेका छौं । रोयल्टी तिरेर ५/१० वर्ष उत्पादन गर्ने, त्यसपछि आफैले नयाँ ब्राण्ड बनाउने विधि पनि हुनसक्छ’ उनले आफ्नो सोच सुुनाए । ‘हामी जनरल प्रडक्टहरु कम बनाउँछौ । मैले जति सक्दो विश्वमा आएको नयाँ प्रडक्टहरु ल्याउने प्रयास गरिरहेको छु । मैले पुराना प्रडक्टहरुलाई थोरैमात्र राख्ने गरेको छु । विषेश गरी डाइबेटिजका, बल्डप्रेसर, कोलेस्टरल निरोधका औषधिहरु बनाउँछौं । जटिल प्रकारका रोग निरोधका औषधि उत्पादन गर्न ठूलो पुँजी र नयाँ प्रविधिको आवश्यक हुन्छ’ उनले भने । नेपालको औषधि उत्पादनमा चीन र भारतको तुलनामा २५देखि ३० प्रतिशत उत्पादन लागत बढी छ । ‘कच्चा पदार्थ, भाडा र नदेखिने खर्चहरु धेरै हुन्छन् । विदेशमा ३ दिनमा काम हुने फाइल नेपालमा ६ महिनासम्म अडकेर बस्छ । यो थाहा पाएपछि विदेशी भाग्छ’ विदेशी साझेदारी भित्र्याउन गरेको प्रयासबारे अनुभव सुनाए । भारतमा औषधि उत्पादकलाई ३५ शीर्षकमा अनुदान दिएको छ । नेपालमा यस्तो सुविधा छैन । तर नेपाल सरकारले औषधिका कच्चा पदार्थ र मेसिन लगायतका बस्तु आयातमा करिब २ प्रतिशत मात्र कर लगाएकोमा उनी खुशी छन् । ‘जे जे भएपनि नेपालमा बन्ने औषधिको गुणस्तर पनि राम्रो छ र मूल्य पनि सस्तो छ’ उनले भने ।

जेष्ठ महिनाभरि खाद्य मेला हुने, विभागको तयारी तिव्र

काठमाडौं । नेपालमा ११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा जेष्ठ महिना भरि खाद्य मेला हुने भएको छ । नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग महानिर्देशक संजीवकुमार कर्णका अनुसार नेपालको खाद्यान्नको गुणस्तरमा प्रश्न चिन्ह उठिरहँदा यस खाद्यले मेलाले सहयोग पुराउँने बताए । विश्व संयुक्त राष्ट्र संघीय हरेक वर्ष जुन ७ तारिखमा पहिलो पटक विश्व खाद्य स्वच्छता दिवस मनाउने भएको छ । “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ खाद्य श्रृंखलाका विभिन्न चरणमा स्वच्छता र गुणस्तर कायम राख्ने कोसिस गर्दै आएको विभागका महानिर्देशक कर्णले जानकारी दिए । नेपालमा पहिलो खाद्य स्वच्छतालाई भव्यताका साथ समापन गर्न विभागका महानिर्देशक कर्णको संयोजकत्वमा विभिन्न सरकारी निकाय, उद्योग वाणिज्य क्षेत्र, उपभोक्तावादी संघसंस्था, पत्रकारहरुका संघसंस्थाबाट प्रतिनिधित्व हुने गरिएको मूल समिति र विभिन्न २१ वटा उपसमिति मार्फत कार्य भईरहेको छ । यस्ता छन् विभागकाे तयारी विभाग परिसर सरसफाइ घुम्ती खाद्य प्रयोगशाला समेतको प्रयोग गरी सडक किनारा बिक्री हुने खानेकुरा, होटल, रेष्टुरेण्ट खाद्य व्यवसायहरुको विशेष अनुगमन, खाद्य निरीक्षकहरुलाई अभिमुखीकरण, विद्यालय स्तरीय खाद्य स्वच्छता तथा पोषण शिक्षा, प्रसोधित दूध, प्रसोधित पिउने पानी तथा खानेतेल उद्योगमा असल उत्पादन अभ्यास लागू गर्न उद्यमी व्यवसायीहरुलाई प्रशिक्षणस पानी, दूध तथा तेल उद्योगहरुको अनुगमन प्रयोगशाला सम्बन्धी तालीम, उपभोक्ता भेला, मुद्दा अनुसन्धान तथा अभियोजन सम्बन्धमा खाद्य निरीक्षकहरुका लागि प्रशिक्षणस विभिन्न ९ उपभोक्ता संघ संस्थासँगको सहकार्यमा ९ स्थानमा जनचेतनामूलक उपभोक्ता मास भेला सञ्चालन गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु विराटनगर, जनकपूर, हेटौंडा, भैरहवा, नेपालगञ्ज तथा धनगढीमा कार्यालय परिसर सरसफाइ, पत्रकार भेटघाट, वक्तृत्वकला प्रतियोगिता, विद्यालय शिक्षा, उपभोक्ता भेला, माइकिङ्ग तथा पर्चा पम्पलेट जस्ता सूचनामूलक सामग्री वितरण गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिने छ ।

लामो समयदेखि बन्द रहेका पाँचवटा उद्योगलाई कारवाही गरिने

काठमाडौं । विगत लामो समयदेखि बन्द राखेका पाँचवटा उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ । उद्योगका लागि सेड भाडामा लिएर पनि लामो समयदेखि सञ्चालन नगरेको र भाडावापतको रकम समेत नतिरेको भन्दै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ती उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाएको हो । सेड भाडामा लिएर वर्षैदेखि उद्योग सञ्चालन नगर्ने र भाडावापतको रकम समेत नबुझाउने प्रवृति बढेपछि कृष्णा खाद्य उद्योग, पदमा ज्योति प्लाष्टिक उद्योग र टि एण्ड कफी सेन्टरको नाममा लिएको सेड खाली गराइएको छ भने महालक्ष्मी खाद्य उद्योग र एस एण्ड इलेक्ट्रोनिक्स उद्योगको सेड खाली गराउने प्रक्रिया अघि बढाएको औद्योगिक क्षेत्र व्यवस्थापना कार्यालयका प्रमुख दीपक आचार्यले जानकारी दिए । खाली गराइएका सेडमा नयाँ उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया समेत शुरु गरिसकेको प्रमुख आचार्यले बताए । औद्योगिक क्षेत्रमा अहिले मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्ड्रष्ट्रीज र कोशी पोलिमर्स प्रालि सञ्चालनमा रहेका छन् भने कान्तिपुर प्लाष्टिक इण्डष्ट्रिज र उषा जल उद्योग केही महीनाभित्रै सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । यस्तै बन्द रहेको माँ भगवती कृषि सहकारी संस्था लिमिटेडको टमाटर प्रशोधन उद्योगले भाडावापतको बाँकी बक्यौता रकम बुझाएर सञ्चालन गर्न लागेको जनाएको छ । शान्ति सुरक्षा, खानेपानी, बिजुली लगायतको समस्या झेल्दै आएको औद्योगिक क्षेत्रमा उद्योग प्रवर्द्धन गर्नका लागि सरकारले पहिलो पटक यसवर्ष पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेकाले ती समस्या समाधान हुने प्रमुख आचार्यको भनाइ छ । कूल २९४ रोपनी (साढे २२ बिघा) मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत् टेलिफोनलगायत सम्पूर्ण सुविधा सम्पन्न १० वटा घरेलु उद्योग सञ्चालन गर्नसक्ने क्षमता छ । रासस