हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने
काठमाडौं, ६ असोज । हेटौंडा कपडा उद्योग पुनः संचालन गर्ने सम्वन्धमा वस्तुस्थितिको अध्ययन गरी १५ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्न अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ । समितिले उद्योग पुनः सञ्चालनका लागि उपयुक्त मोडालिटी, प्रक्रिया, मेशिन र पूर्वाधारको अवस्था, उद्योगमा हुन सक्ने लगानीका विकल्पहरु र उद्योगबाट हुने उत्पादनको लागि बजारको सम्भाव्यता अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ । समितिमा अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुषाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी क्षेत्रबाट रामएकबल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ सदस्य रहेका छन् । सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार हालै मात्रै रुग्ण बनेको नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालनको निर्णय गरेको सरकारले आफ्नो पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पनि पुनः सञ्चालनको तयारी थालेको हो । यो उद्योग २०५७ साल देखि बन्द छ । यस उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता छ ।
नेपाल औषधि उद्योग सञ्चालन गर्न सरकारले दियो १४ करोड, तत्काल ४८ प्रकारको औषधि उत्पादन थालिने
काठमाडौं, ३ असोज । नेपाल औषधी लिमिटेड पुन संचालनमा आउने भएको छ । यस उद्योगलाई गर्नका लागि सरकारले तत्काल १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप लगानी गर्ने भएको छ । उद्योग मन्त्रलायको प्रस्तावमा आइतबार मन्त्रिपरिषद्को बैठकले सो सम्बन्धि निर्णय गरेको हो । २०६० साल सम्म १२० प्रकारका औषधिहरु उत्पादन गर्दै आएको सो उद्योग २०६७ साल देखि पूर्ण रुपमा बन्द भएको थियो ।पहिलो चरणमा सो उद्योगले सरकारले अत्यावश्यकिय सूचिमा राखेका ४८ प्रकारका औषधिहरु उत्पादन गर्ने छ । सो उद्योगबाट उत्पादित औषधि स्वयम सरकारले खरिद गर्ने भएकाले बजारको समस्या नरहने र ऋण पनि समयमै तिर्न सकिने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । साेमबार मन्त्रालयमा अयाेजित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री जाेशीले सरकारले दिएको ऋण रकम आवश्यकता अनुसार कम्पनीको अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना एवं मेसिन, उपकरण खरिद गर्ने कार्यमा खर्च गरिने बताए । उद्योगलाई खुला प्रतिस्पर्धाबाट विज्ञहरुको छनौट गरि निश्चित अवधि तोकी व्यवस्थापन करार मार्फत संचालन गरिने छ । हाल सो उद्योगमा ९७ जना कर्मचारीहरु कार्यरत रहेका छन् । उनीहरुलाई पनि स्वेच्छिक अवकास मार्पmत कम गरी आवश्यक पर्ने १९ जना बिषय विज्ञ थप गरेर जनशक्ति व्यवस्थापन गर्ने कार्य योजना रहेको मन्त्री जोशीले बताए । नेपाल औषधि लिमिटेड पून संचालन गर्ने सम्वन्धमा सम्भाव्यता अध्ययन गरि कार्य योजना सहतिको प्रतिवेदन पेश गर्न डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ७ सदस्यिय समिति कार्यरत छ ।
गुणस्तरमा समस्या देखिएपछि पाँच वटा सिमेन्टको उत्पादन बन्द
काठमाडौं, ३० भदौ । न्युन गुणस्तरको सिमेन्ट उत्पादन तथा बिक्रि वितरण गरेपछि पाँचवटा सिमेन्ट उद्योगको उत्पादन बन्द गरिएको छ । गुणस्तर तथा नापतौल विभागले गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने पाँच उद्योगको उत्पादन बन्द गराएको हो । बाराको अरनिको सिमेन्ट, रुपन्देहीको रिलायन्स सिमेन्ट, पर्साको श्री सिमेन्ट, बाँकेको जयबागेश्वरी सिमेन्ट र जय मंगलम सिमेन्टको उत्पादनमा रोक लगाइएको हो । गुणस्तर तथा नापतौल बिभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार उत्पादन बन्द गरिएका कम्पनीले बजारमा पठाइसकेको समान समेत फिर्ता ल्याउन भनिएको छ । हालसम्म ८४ वटा सिमेन्ट उद्योग दर्ता भएका छन् । ती उद्योगमा कुल ५१ अर्ब ८७ करोड ७१ लाख २७ हजार ३ सय ३० रुपैंयाँ लगानी भएको छ । उद्योग विभागको तथ्यांक अनुसार दर्ता भैसकेका ८४ उद्योगमध्ये २ वटामा मात्रै विदेशी लगानी रहेका छन् । रुपन्देहीमा स्थापित अर्घाखाँची सिमेन्टमा एक अर्ब ९० करोड रुपैंयाँ कुल लगानी रहेको छ । सोमध्ये ८२ दशमलब ५ प्रतिशत स्वदेशी लगानी रहेको छ भने बाँकी १७ दशमलब ५ प्रतिशत लगानी विदेशी रहेको छ । ९७ करोडको लागतमा सिराहा जिल्लामा स्थापित मारुती सिमेन्टम ७९ प्रतिशत लगानी स्वदेशी छ भने बाँकी २१ प्रतिशत विदेशी लगानी रहेको छ । हाल नेपालको सिमेन्ट उद्योगमा ठुलो मात्रामा विदेशी लगानी आकर्षित भैरहेपनि पुराना उद्योगमा भने विदेशी लगानी न्युन देखिन्छ । सिमेन्ट उद्योगहरुले १० हजार ४ सय ५८ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।