जगदम्बा सिमेन्टलाई २ वर्षसम्म लगातार एनएस क्वालिटी अवार्ड

काठमाडौं, २५ कार्तिक । जगदम्बा सिमेन्टले लगातार दोस्रो वर्ष एनएस क्वालिटी अवार्ड पाएको छ । सन् २०१४ मा एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन अवार्ड पाएको यस कम्पनीले सन् २०१५ मा पनि एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन पाएको छ । राजधानीमा विहीबार आयोजित कार्यक्रमा उद्योगमन्त्री नविन्द्रराज जोशीले उक्त अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । जगदम्बा सिमेन्टमा विश्वस्तरीय सिमेन्ट उद्योगबाट आयातीत क्लिङकर प्रयोग हुँदै आएको छ भने यसका उत्पादनहरु दक्ष प्राविधिकहरुबाट निरीक्षण र प्रमाणित गरे पश्चात मात्र बजारमा लगिने हुँदा गुणस्तरमा एक रुपता भएको र उपभोक्ताहरुले रुचाएको कम्पनीको भनाई छ । बजारमा आफ्नो उत्पादनको बढ्दो माग तथा ग्राहकहरुको विश्वासलाई आत्मसात गर्दै कम्पनीले उत्पादनलाई समेत समयानुकुल परिस्कृत एवम् परिमार्जित गर्दै लगेको जनाएको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा हालसम्म नेपाल गुणस्तरका चिन्हहरु ओपीसीमा नेपाल गुणस्तर ४९, पिपिसीमा नेपाल गुणस्तर ३८५ र पिएससीमा नेपाल गुणस्तर ३८४ सम्मान प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । कम्पनी क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ः२००८, इन्भाइरोमेन्ट म्यानेजमेन्ट सिस्टम अवार्ड आइएबओ १४००१ः२००४ लगायतबाट समेत सम्मानित भइसकेको छ । त्यसैगरी कम्पनीले व्यूरो अफ इन्डिया स्ट्याण्डर्डबाट आईएस ८११२ र पीएससीमा आईएस ४५५समेत प्राप्त गरिसकेको कम्पनीले विहीबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

चिनीया पर्यटकको आवगमन बढाउन र बढ्दो व्यापार घाटालाई न्यून गर्न राजदुत पौड्यालको आग्रह

नेपाल उद्योग परिसंघमा कात्तिक २३ गते मंगलबार भारत र चीनका लागि नवनियुक्त राजदुत क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालसँग शिष्टाचार भेटवार्ता एवं छलफल भयो । सो भेटवार्ता मुलुकको दीगो आर्थिक विकासका लागि उदयमान छिमेकीहरु चीन र भारतसँग व्यवस्थित ढंगले आर्थिक कूटनीति सञ्चालन गर्ने विषयमा केन्द्रीत थियो । करीव एक घण्टा भएको सो भेटवार्तामा नवनियुक्त राजदूतहरुले आफ्नो क्षमताले भ्याएसम्म मुलुकको विकासका लागि कूटनीतिक तवरबाट आफूहरु कक्रिय रहने अठोट व्यक्त गरेका थिए । ‘म सरकारको नुन तेल खाएर निजी क्षेत्रको काम र उद्यम व्यवसाय विस्तारमा सहयोग गर्ने कार्यादेश लिएर जान लागेकाले तपाईहरुले आफ्नो व्यवसायिक प्रतिनिधि सरह काम लगाउन सक्नु हुन्छ,’ पौड्यालले भने । अहिले संसारमा सबैभन्दा सस्तो पूँजी र उन्नत प्रविधि चिनमा भएकाले त्यसबाट नेपाली व्यवसायीले पनि आपसी साझेदारीमार्फत लाभ लिनु पर्ने उनको भनाई थियो । व्यवसायीहरुले आफ्नो नाफा घाटा र बजारका आधारमा मात्रै अवसर र चुनौतीको विश्लेषण गरेर उचित निर्णय लिने भएकाले आफु र देशलाई नाफा हुने विषयमा सधै राजदुतावास, सरकारी अधिकारी वा नेतालाई सचेत गराई रहनु पर्ने भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायको भनाई थियो । ‘आफ्नो व्यवसाय विस्तार क्षेत्रमा व्यवसायी आफै अग्रसर लाग्नु पर्छ,’ उपाध्यायले भने, ‘हामीले त समन्वयकर्ताको भुमिका मात्र निर्वाह गर्ने हो ।’ सो अवसरमा नवनियुक्त राजदूत लीलामणि पोड्याल र दिप कुमार उपाध्यायलाई परिसंघका अध्यक्ष हरिभक्त शर्मा तथा अध्यक्ष एमिरेटस विनोद चौधरीलगायतका पदाधिकारी तथा सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । उक्त अवसरमा परिसंघका गभर्निङ काउन्सिल, पादधिकारी तथा राष्ट्रिय परिषदका सदस्य र परिसंघ आवद्ध उद्यमीहरु प्नि सहभागिता रहेको थियो । भेटवार्ताको अवसरमा अध्यक्ष हरिभक्त शर्माले भारतसँगको व्यापार घाटा कम गर्न, भारततर्फ भइरहेको निकासी वृद्धि गर्न र भारतीय उद्यमीहरुबाट नेपालमा पनि लगानी विस्तार गर्ने योजनाबद्ध ढंगले काम थाल्नु पर्ने कुरामा जोड दिनु भयो । पछिल्लो समय कोलकाता बन्दरगाहबाट नेपाली आयातकर्ताको सामान छुटाउन बढी समय लाग्ने गरेकाले यसबाट नेपाली उद्योगमा परेको प्रतिकुल प्रभावप्रति परिसंघबाट नवनियुक्त राजदुत उपाध्यायको ध्यानाकर्षण गराइएको थियो । सयौंको संख्यामा कन्टेनर रोकिदा नेपाली उद्यमीको अनुत्पादक खर्च बढ्ने, औद्योगिक उत्पादनको लागत बढ्ने र नेपालीउद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने निश्चित भइकाले कोलकाता बन्दरगाहबाट छिटोछरितो नेपाली मालसमानको क्लियरेन्स गराउने र विशाखापटनम् बन्दरगाहको व्यवहारिक ढंगले प्रयोग गर्ने सन्दर्भमा भारतका लागि नेपाली राजदुतले पहल गर्न पर्नेमा अध्यक्ष शर्माले जोड दिए । अध्यक्ष शर्माले चिनीया लगानीकर्तालाई नेपालमा आकर्षित गर्न, चिनीया पर्यटकको आवगमन बढाउन र बढ्दो व्यापार घाटालाई न्यून गर्न दुतावासको तर्फबाट थप प्रयास गर्न नवनियुक्त राजदुत पौड्याललाई आग्रह गरेका छन् । सोही अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले भारत र चिनसँगको सन्तुलित र दिगो आर्थिक संवन्ध बिना नेपालले अपेक्षित गतिमा आर्थिक उन्नती हाँसिल गर्न नसक्ने भन्दै एकलाई अर्कोको विकल्पका रुपमा नहेरी विगतमा चीन र भारतसँग भएका संधी सम्झौताको सफल कार्यान्वयन गर्न राजदुतहरुबाट ठोस पहल हुने अपेक्षा गरेका छन् ।

बन्द उद्योग खुलाउन सरकारकाे अभियान, औद्योगिकीकरणलाई पहिलो प्राथमिकता

पर्वत, २१ कात्तिक । उद्योग मन्त्री नवीन्द्रराज जोशीले बन्द रहेका उद्योग सञ्चालनका लागि सरकार लागिपरेको बताएका छन् । सदरमुकाम कुश्मामा शनिबार आयोजित अन्तक्र्रियामा उनले औँद्योगिक क्षेत्रको विकास बिना मुलुकको आर्थिक विकास नहुने भएकाले सरकारले औद्योगिकीकरणलाई पहिलो प्राथमिकतामा रोखेको बताए । मन्त्री जोशीले हैटौँडा कपडा कारखाना तथा नेपाल औषधि लिमिटेडलाई शिघ्र सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी दिए । साथै वीरगन्ज चिनी कारखाना र बुटवल धागो कारखाना सञ्चालनका लागि निजी क्षेत्रलाई दिइने भएको छ । कारखाना सञ्चालनको लागि बोलपत्र आह्वान गर्ने तयारी भएको मन्त्री जोशीको भनाइ छ । पर्वतमा लप्सी र अल्लो उद्योगको सम्भावना देखिएकाले अध्ययन गरेर उद्योग स्थापना गर्नका लागि बजेट व्यवस्था गरिने आश्वासन पनि उनले दिएका छन् । कार्यक्रममा पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले पर्वतमा औद्योगिक विकास र पर्यटन व्यवसाय विस्तारका बारेमा चर्चा गरेका थिए। उनले लप्सी र अल्लो उद्योगलाई तत्काल सञ्चालनका लागि पहल गरिदिन पनि माग गरेका थिए । रासस