ललितपुरमा शुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा पाँच दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७४ शुरु भएको छ । मेला बुधबारदेखि सुरु भएको हो । मेलाको एक समारोहकाबीच प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा उनले प्रदेशको आर्थिक विकास गर्न लगानी मैत्री वातारण बनाउने, निर्यात बढाउने र औद्योगिक र भूउपयोग नीति कडाईसाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार र निजी क्षेत्रको सहकार्यलाई अघि बढाउने उनको जोड छ । संघकाले सरकार एवं निजी क्षेत्रको संयुक्त पहलमा समग्र जिल्लालाई नै हस्तकला क्षेत्रको रुपमा घोषणा गर्नुपर्नेमा जोड दिएको छ । हस्तकलाको प्रवद्र्धन गरी ललितपुर नमूना हस्तकला ग्राम निर्माण गर्नु पर्ने, जसको माध्यमबाट ललितपुर जिल्लालाई पर्यटन प्रवद्र्धनको रुपमा विस्तार गर्न सकिने संघको भनाइ छ । मेलामा पाकिस्तान, बंगलादेश, भारत लगायतको २२ र स्वेदशी ५८ गरी ८० वटा स्टलहरु राखिएको आयोजकको भनाइ छ ।

पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी चितवनमा, चैत २३ देखि शुरु

काठमाडाै‌ । भरतपुर महानगरपालिका स्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा चैत २३ देखि २७ गतेसम्म पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ हुने भएको छ । उक्त प्रदर्शनी नेपाल उद्योग परिसंघको संस्थागत सदस्य संस्था चितवनले आयोजना गर्ने भएको हाे । परिसंघको अध्यक्ष हरिभक्त शर्माले प्रदर्शनीमा विभिन्न उद्योगबाट उत्पादित सामानहरुलाई प्रदर्शन हुनको साथै क्रेतासँगको प्रत्यक्ष भेटघाट, छलफल र अन्तरक्रिया हुने बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त औद्योगिक प्रदर्शनी बारे उनले जानकारी दिएका थिए । ‘दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन’ नारासहित सञ्चालन हुन लागेको सो प्रदर्शनी बारे प्रकास पार्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्रको द्रुततर विकासबाट मात्र देश आर्थिक रुपमा समुन्नत हुने बताए । प्रदर्शनी स्थानीय उद्योग र उत्पादनको प्रवद्र्धन गर्दै भरतपुर क्षेत्रलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने लक्ष्य लिएर गर्न लागिएको उनको भनाइ थियो । आयोजकका अनुसार प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, हस्तकला, मुर्तिकला लगायत वस्तुहरुको स्टल रहनेछन् । २५० भन्दा बढी स्टलहरु रहने सो प्रदर्शनीमा लाखौ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको लिएकाे छ ।

अब संसारभर नेपाली चियाको एउटै ब्राण्डः नेपाल टी क्वालीटी फ्रम द हिमालयज

काठमाडौं । नेपालमा उत्पादन हुने चियालाई ब्रान्डीङ गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुटै पहिचान छ । पछिल्लो समय माग समेत बढेको भन्दै सरकारले नेपाली चियालाई ब्रान्डीङ गर्न लागेको हो । चैत तेस्रो साता सञ्चानल हुने अन्तर्राष्ट्रिय चिया महोत्सव-२०१८ को जानकारी गराउन बुधबार राजधानीमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डको कार्यकारी निर्देशक शेषकान्त गौतमले तत्कालै नेपाली चियाको ब्राण्ड घोषणा गर्ने बताए । उनले चैत २३ गतेदेखि २५ गतेसम्म हुने महोत्सवमा ‘नेपाल टी क्वालीटी फ्रम द हिमालयज’को रुपमा नेपाली चिया बजारमा विधिवत रुपमा उद्घाटन गरिने जानकारी दिए । ‘अहिलेमम्म अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आफ्नै ब्राण्ड हुन नसक्दा बजार विस्तार गर्न गाह्रो थियो,’ उनले भने ‘त्यसैले नेपाली चियाको अन्तर्राष्ट्रिय बजार निर्यात गर्नको लागि सरकारले आफ्नै ब्राण्ड बनाउने भएको हो ।’ ब्राण्ड बनेसँगै चियाको बजार पनि बढ्ने उनको विश्वास छ । उनका अनुसार नेपाली चिया कोलकोत्ताको बजारमा दार्जिलिङको चियाको माध्यमबाट बिक्री भइरहेको छ । तेस्रो मुलुकमा समेत ब्यक्तीगत फर्मको नाममा नेपाली चियाको निर्यात हुदै आएको छ । अहिलेसम्म नेपाली चियाको छुट्टै लोगो बन्न सकेको छैन । अब आफ्नै लोगो भएपछि चिया निर्यात गर्न समेत गौरव हुने उनको बुझाइ छ । ‘उक्त ब्राण्डको नाममा देश विदेशमा नेपाली चिया बिक्री हुनेछ,’ उनले भने ‘त्यसका लागि कार्यविधि बनिसकेको छ ।’ महोत्सवका संयोजक उदय चापागाईले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष महत्व राखेको बताए । त्यस्तै उनले नेपाली चियाको युरोपियन देशहरुले अत्यधिक मनपराएको जानकारी दिए । पूर्व राज्यमन्त्री तथा कञ्चनजंगा टी स्टेटका सञ्चालक दिपक बास्कोटाले नेपालको आफ्नै चियाको ब्राण्ड हुनु नेपालको लागि खुसीको कुरा भएको बताए । उक्त चिया राष्ट्र अन्तर्राष्ट्रिय बजारमा पुग्ने उनको विश्वास छ । यद्यपि नेपालमा चियाको अझै पनि समवद्र्धन तथा प्रवद्र्धन तथा बजारीकरण हुन नसकेको उनको गुनासो छ । बोर्डको अनुसार देशभर २८ हेक्टर जमिनमा चिया खेती गरिन्दै आएको छ । सबैभन्दा बढी नेपालको पूर्वी भागमा चियाको खेति गरिन्छ । वार्षिक २ करोड ४० लाख किलो चिया उत्पादन हुदै आएको छ ।