नवलपरासीका ७० उद्योग खारेज, बढी पर्यटन उद्योग

परासी । घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५/०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् । औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ तर अहिले खारेज भएका उद्योग उद्योगी स्वयंको आग्रहमा खारेज गरिएको कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताएका छन् । कार्यालयका अनुसार गत एक वर्षको अवधिमा जिल्लामा एक हजार ७५ लघु तथा साना उद्योग पनि थपिएका छन् । कच्चा पदार्थ उपलब्ध हुने भएकाले ती उद्योगतर्फ लगानीकर्ता आकर्षित देखिएको कार्यालयले जनाएको छ । पछिल्लो समय औद्योगिक वातावरण बन्दै जानुका साथै सानो पूँजीबाट राम्रो आम्दानी हुने गरेपछि जिल्लामा साना उद्योगको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । विशेषगरी लगानीको वातावरण जिल्लामा राम्रो रहेको र विदेशबाट फर्किने धेरैले साना उद्योगमा लगानी गर्न थालेका छन् । थोरै लगानीबाट आम्दानी पनि राम्रै हुने भएकाले यसतर्फ आकर्षण बढेको देखिन्छ । भुसालका अनुसार हाल जिल्लामा १०७ लघु उद्योग र छ हजार ६११ साना उद्योगसहित कूल छ हजार ६४८ साना उद्योग सञ्चालनमा छन् । गत आवमा दर्ता भएका उद्योगमा चार हजार ५८२ ले रोजगारी पाएका छन् । रासस

हेटौँडामा १०० उद्योग, बहुराष्ट्रिय उद्योगले पनि निर्यात गर्दैनन् आफ्ना उत्पादन

हेटौँडा । औद्योगिक नगरका रुपमा विकास भएको हेटौँडा उपमहानगरपालिकामा १०० भन्दा बढी उद्योग सञ्चालनमा रहे पनि उत्पादित वस्तुको निर्यात भने घट्दो क्रममा रहेको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार हेटौँडा औद्योगिक क्षेत्रबाट उत्पादित वस्तुको भारत तथा तेस्रो मुलुकमा हुने निर्यात व्यापार विगत १० वर्षको तुलनामा हाल ७७ प्रतिशतले कमी आएको हो । गत आर्थिक वर्ष २०७५/७६ मा हेटौँडाका चार वटा उद्योगले मात्र भारतमा आफ्ना उत्पादन निर्यात गरेको पाइएको छ । दशकअघिसम्म वार्षिकरुपमा करोडौँको सामान निकासी गर्ने बहुर्राष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इञ्जिनीयरिङ जस्ता उद्योग बन्द भइसकेका छन् । त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योग पनि केही वर्षअघिदेखि अस्तित्वमा नभएका कारण वस्तु निर्यात हुन नसकेको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले बताए । नेपालबाट लाखौँको साबुन भारत निकासी गर्ने महाशक्ति सोप लामो समय बन्द भई करीब छ महीनाअघिदेखि पुनः उत्पादन थाले पनि भारत तथा तेस्रो मुलुकमा निर्यात भने गर्न नसकेको अध्यक्ष अर्यालले बताए । त्यस्तै युनिलिभर नेपाल, एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता बहुर्राष्ट्रिय उद्योगले पनि पाँच वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केही वर्षअघिदेखि भारत निकासी बन्द गरेको छ । दश वर्षअघि आव २०६५/६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निकासी गरेकामा आव ०७५/७६ सम्म आइपुग्दा चार वटामा खुम्चिन पुगेको छ । आव २०६५/६६ मा जिल्लाबाट एक अर्ब रु २७ करोड १५ लाख ६५ हजारको औद्योगिक उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएकामा ०७५/७६ सम्म आइपुग्दा रु २८ करोड ३४ लाख ७६ हजारमा झरेको मकवानपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ । दशकअघि मकवानपुरका क्रसरजन्य सामग्री निकासीबाट पनि निर्यात व्यापारमा टेवा पुगेको थियो । सरकारले क्रसरजन्य उत्पादन भारतलगायत तेस्रो मुलुकमा निकासी गर्न बन्द गरेसँगै निर्यात व्यापारमा भारी गिरावट आएको देखिन्छ । दशकअघि मकवानपुरबाट करीब एक दर्जनभन्दा बढी उद्योगले करोडौँको क्रसरजन्य उत्पादन भारत निकासी गर्दै आएका थिए । मकवानपुरबाट गत वर्ष जम्मा चार वटा उद्योगले मात्र भारतमा आफ्ना उत्पादन निकासी गरेको मकवानपुर उद्योग सङ्घले जनाएको छ । बोतलको बिर्को उत्पादन गर्दै आएको सिएसआइ नेपाल प्रालिले सबैभन्दा बढी रु २५ करोड १५ लाख २२ हजारको उत्पादन भारत निकासी गरेको छ । विद्युतीय ट्रान्सफरमरको उत्पादन गर्ने नेपाल इकरात इञ्जिनीयरिङले रु तीन करोड सात लाख ४४ हजारको ट्रान्सफरमर भारत निकासी गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । मकवानपुरमा एक वर्षअघि मात्र सञ्चालनमा आएको टेन माइक्रोन्स नेपाल प्रालिले पनि ११ लाख ७० हजारको सामग्री निकासी गरेको छ भने एमएम पोलिमर्सले रु ३८ हजारको सामान मात्र भारत पठाएको देखिन्छ । आव २०७३/७४ मा झण्डै ३१ करोडको पोलिथिन र फाइबरका भाँडा बनाउने केमिकल उत्पादन गरी निकासी गरेको प्रोजियोकेम प्रालिले गत वर्ष भने कुनै उत्पादन भारत पठाएन । भारतीय ठूला उद्योगसँग प्रतिष्पर्धा गर्न नसकेकै कारण भारतमा नेपालको औद्योगिक उत्पादनको निकासी घटेको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष अर्यालको भनाइ छ । कच्चा पदार्थ आयात गर्दा र उत्पादित सामान निकासी गर्दा लाग्ने करमा सरकारले विचार नपुर्याउँदा त्यसको असर निर्यात व्यापारमा परेको उहाँको तर्क छ । सरकारले नीति राम्रो बनाउन नसक्दा मकवानपुरको मात्र हैन, देशकै निर्यात व्यापारमा ह्रास आएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको भनाइ छ । उद्योग वस्तु उत्पादनभन्दा पनि ट्रेडिङ व्यवसायतिर आकर्षित भएको बताउँदै उनले हेटौँडा औद्योगिक क्षेत्रको समग्र उत्पादन घट्दो क्रममा रहेको बताए । रासस

‘रसुवा पानी’ काठमाडाैंमा सार्वजनिक, एशिया र मध्यपूर्वका देशमा निर्यात गरिने

काठमाडौं। रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको हो । रसुवा जिल्लाको गोसाईँकुण्ड–६ धुन्चेमा उत्पादन भएकाे याे पानी शुक्रबार राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले रसुवा पानीको सार्वजनिक गरेकी हुन् । हिमाली पानी विश्वका मानिसलाई खुवाउने र देशलाई चिनाउने उद्देश्यसहित ‘रसुवा’ नामकाे पानी उत्पादन थालिएकाे कम्पनीका अध्यक्ष  गणेशबहादुर भण्डारीले बताए  । यस उद्योगबाट उत्पादित पानी राष्ट्रिय बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री गर्ने याेजना रहेकाे उनले बताए । पानीकाे बजारीकरण गर्नकाे लागि कम्पनीले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलार्इ ब्राण्ड एम्बास्डर बनाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा लैजाने भएकाेले पानीकाे बाेटलकाे डिजाइन, लेबलिङ उच्चस्तरकाे बनाएकाे कम्पनीले जनाएकाे छ । कम्पनीले लाेपउन्मुख जनावर रेडपाण्डा संरक्षणमा सहयाेग गर्ने भन्दै पानीकाे बाेटलमा  रेडपाण्डा तस्विर राखेकाे छ । सफा बाेटलकाे भित्र गाेसाइँकुण्डकाे ताल र पृष्ठभूमिका हिमाल देखाएकाे छ । हाल कम्पनीले ३३० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर र १८ लिटरका बाेटलमा पानी बजारमा ल्याएकाे छ । कम्पनीले पानीकाे मूल्य भने सार्वजनिक गरेकाे छैन । साउनकाे अन्तिम सातादेखि पानी बजारमा  लैजाने तयारी भएकाे र मूल्य निर्धारणकाे लागि काम पनि भइरहेकाे भण्डारीले बताए । २ वर्ष अघिदेखि निर्माण शुरु भएको रसुवा पानी उद्योग २०७६ बैशाखमा निर्माण सम्पन्न भएको हो । उद्याेग स्थापना गर्ने क्रममा १० कराेड रूपैयाँ लगानी भएकाे र बजारीकरणकाे क्रममा थप ५ कराेड रूपैयाँ लगानी गर्न लागिएकाे उनले बताए । काठमाडौँबाट १७० किलो मिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्नेछ । उद्योगमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा करिब ७० जनाले रोजगार पाएका छन् । रसुवा पानी तत्कालै देशभरका बजारमा पुग्ने र जापान, हङकङ र चाइना पठाइने छ । आगामी दिनमा युरोप, अमेरिका, अष्ट्रेलिया लगायत विश्वभर नै बजार बिस्तार गर्ने लक्ष्य रहेको रुद्रगंगा नेचुरल वाटर प्रालिका अध्यक्ष भण्डारीले बताए । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै खानेपानी मन्त्री विना मगरले नेपालकाे पानी निर्यात गर्न सरकारले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले भने नेपाली उत्पादन निर्यात गर्ने काम निकै कठिन भएकाे बताए । छिमेकी देशहरूमा भन्दा नेपालमा कुनै पनि बस्तु उत्पादन लागत  कम्तिमा ३० प्रतिशत बढी रहेकाे, श्रमिककाे उत्पादकत्व ज्यादै कम भएकाे र पूर्वाधारकाे अवस्था नाजुक नै रहेकाे बताए । ‘फ्रान्सकाे पानी विश्वभर बिक्री हुन्छ । नेपालकाे पानी पनि विश्वभर बेच्न सकिन्छ । नेपालीहरूले जुन देशमा गए पनि नेपाली पानी किनेर पिउन पाउने अवसर मिलाेस्’ उनले शुभकामना सन्देशमा भने । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालकाे बैदेशिक व्यापार घाटा सबैभन्दा ठूलाे समस्याकाे रूपमा देखिएकाे जनाउँदै रसुवा पानी जस्ता उत्पादन निर्यात गर्न  चेम्बर अफ कमर्श सक्दाे सहयाेग गर्ने  जनाउँदै नेपाल सरकारले पनि यस्ता उत्पादन निर्यातमा सहयाेग गर्नुपर्ने बताए । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पहिला सामाजिक कार्यकाे मात्र प्रचार प्रसारमा सहयाेग गर्दै आएकाेमा अब नेपालकाे आर्थिक विकास र उत्पादन वृद्धिमा सहयाेग पुर्याउने उदेश्यले राम्रा उत्पादनकाे ब्राण्ड एम्बेस्डर बन्न लागेकाे बताए । रसुवा पानी उत्पादनकाे उदेश्य राम्राे लागेकाे र गुणस्तरीय पनि भएकाेले आफूहरूले लिनु पर्ने फि पनि नलिइ ब्राण्ड एम्बेस्डर बनेकाे आचार्यले बताए ।