विराटनगर जुटमिल २५ महिनादेखि बन्द
मोरङ, ३० असोज । विराटनगर जुट मिलमा विद्युत् आपूर्तिको व्यवस्था प्रभावकारी नहुँदा विगत २५ महिनादेखि बन्द अवस्थामा छ । देशकै पहिलो जुट मिलमा ११ केभिएको लाइनको मात्र सुविधा भएकाले मिल चल्न नसकेको हुँदा मिल बन्द गरिएको हो । विल्सन इन्टरनेसनलका नेपाल प्रतिनिधि श्याम पौडेलका अनुसार लामो समयदेखि बन्द हुँदै चल्दै आएको विराटनगर जुट मिल साढे तीन वर्षअघि भारतीय कम्पनी विल्सन इन्टरनेसनलले वार्षिक एक करोड ३५ लाख रुपैयाँ सरकारलाई दिनेगरी २५ वर्षका लागि भाडामा लिएको थियो । सो कम्पनीले ३३ केभिएको डेडिकेटेड लाइन जडान गरिदिन सञ्चालक समितिलाई आग्रह गर्दा जडान नगरिदिएपछि बन्द भएको हो । मिल सञ्चालक समिति र भाडेदारबीचको सम्झौतापत्रमा सञ्चालक समितिले ३३ केभिएको डेडिकेटेड लाइन जडान गरिदिने भन्ने प्रष्ट रूपमा उल्लेख गरेको थियो । तर बन्द भएको २५ महिना बितिसक्दासमेत लाइन जडान हुन सकेको छैन । मिल सञ्चालक समितिका अध्यक्ष नीलहरि काफ्लेले विद्युत्को समस्याका कारण मिल बन्द नभएको बताए । उनले भने – “मिल जसरी भए पनि चलाएरै छाड्छौँ । सो मिलको स्थापना वर्ष विसं १९९३ मा भएको हो । रासस
अपरमादीले कात्तिकदेखि जलविद्युत उत्पादन थाल्ने, ५ अर्ब लगानीमा २५ मेघावाट क्षमताको जलविद्युत गृह निर्माण
पोखरा, २२ असोज । कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश काम सकिएकाले परीक्षण उत्पादनको अन्तिम तयारीमा लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए । आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएकोे छ । विद्युत् लाइनलाई लेखनाथ नगरपालिकास्थित सवस्टेसनसम्म जोड्नका लागि ३२ वटा विद्युत् टावर निर्माण गरिसकिएको र त्यसमा तार तान्ने काम पनि सम्पन्न भएको छ । टावरमुनि पर्ने जङ्गलमा रहेका रुख काट्न वन तथा भू–संरक्षण विभागबाट स्वीकृत आइसकेको र कात्तिक १५ गतेसम्म ती रुख पनि काटिसक्ने बताइएको छ । आयोजनाले परीक्षण उत्पादन गरेपछि त्यसमा केही कमी कमजोरी भए एक महिनाभित्र सुधार गर्ने र मङ्सिर महिनाको अन्तिमतिरबाट नियमित उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने को–अर्डिनेटर बरालले बताए । करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, विनोशकारी भूकम्प र सुरुङ खन्ने क्रममा पहिरो गएकाले लागत बढेर रु आठ अर्ब पुग्न गएको बताइएको छ । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा विसं २०६९ को पुस महिनाबाट आयोजना सुरु गरिएको थियो । आयोजना सुरु भएको ३० महिनामा सक्ने लक्ष्य राखिए पनि विविध कारणले ४८ महिनामा आयोजना सकिन लागेको बताइएको छ । रासस
जगदम्बा स्टिल्स्ले पायो नेपाल गुणस्तर अवार्ड २०१५
काठमाडौं, १८ असोज । जगदम्बा स्टिल्स् प्रा.लिले नेपाल गुणस्तर अवार्ड २०१५ प्राप्त गरेको छ । उच्च गुणस्रीय उत्पादन तथा व्यवस्थापनका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले हरेक वर्ष प्रदान गर्न ‘एनएस क्वालिटी अवार्ड २०१५ यस पल्ट जगदम्बा स्टिल्स्ले पाएको हो । विभागले आयोजना गरेको १७ औं गुणस्तर समारोहमा उक्त अवार्ड उद्योगमन्त्री नविन्द्रराज जोशिले कम्पनीका प्रवन्धक सञ्चालक साहिल अग्रवाललाई प्रदान प्रदान गरेका छन् । यस अवार्ड ग्रहण गरे पछि कम्पनीले आफ्नो उत्पादलाई नेपालकै सर्वोत्कृष्ट गुणस्तर पाएकोमा सम्पूर्ण ग्राहकहरु तथा शुभचिन्तकहरुलाई धन्यवाद दिंदै भविष्यमा अझ बढी गुणस्तरप्रति सजग भई कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।