‘मेक इन नेपाल’ अभियान: हरेक वर्ष एक हजार उद्योग संचालनमा, साढे एक लाखलाई रोजगारी
काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल-स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडी बढाई रहको छ । आज(फागुन १७ गते) परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई उनीहरुको कार्यकक्षमा भेट गरी ‘मेक इन नेपाल-स्वदेशी’ अभियानका सम्बन्धमा छलफल गरेको छ । परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल-स्वदेशी’ अभियान शुरू गरेको बताए । परिसंघको यस अभियानमा नेपाल सरकारकोसाथ र सहयोग हनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताए । यस अभियानमा सरकाले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने धारणा राखे । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले स्वामित्व लिई तुरुन्त यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताए । यो लोगो परिसंघ, निजी क्षेत्र, सरकार विशेषको नभई देशकोनै हुनु पर्ने माग राखे । यसको लागि संयुक्त प्रयास र सहभागिता हनुुपर्ने उनको धारणा थियो । मन्त्रीसँगको छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले तयार पारेको अवधारणाका सम्बन्धमा प्रस्तुति गरेका थिए । उनले परिसंघले अगाडी सारेको अवधारणा केहि महत्वकांक्षी देखिए पनि परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बालाई बढी प्राथमिकतामा राखेको बताए । विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने महान लक्ष्य लिएको छ । परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले अगाडी सारेको अवधारणा राम्रो रहेको बताउँदै समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनको लागि अन्तरसंवादलाई निरन्तरता दिनुपर्ने धारणा राखे । यस अभियानमा नीजि क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलोर परिपूरक बनाउनुपर्ने बताए । आगामी बजटमा यसलाई मूर्तरुप प्रदान गर्नको लागि सरकारको तर्फबाट आवश्य सहयोग उपलब्ध गराउने धारणा राखे । अर्थमन्त्री पौडेलले यो अभियानमा प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु र निजी क्षेत्रका अन्य संघसंस्थाहरुलाई पनि सँगै लिएर अगाडी बढ्नु पर्ने विचार व्यक्त गरे । छलफलमा परिसंघको तर्फवाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाल लगायतको उपस्थिति थियो ।
व्यवसाय प्रवर्धनका लागि चितवनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ल्यायाे अनलाइन सेवा
चितवन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा आइतबार यहाँ आयोजित ‘नेपाल व्यापार सूचना पोर्टल’सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवद्र्धन गर्नका लागि सरकारले प्रक्रिया शुरु गरेको जानकारी दिइएको हो । स्वदेशमा उत्पादित सामग्रीलाई विदेशमा निर्यात गर्न सहज होस् भन्ने उद्देश्यका साथ सरकारले पोर्टल सञ्चालन गर्न लागेको केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोगलले जानकारी दिए । स्वदेशी उत्पादनका सामग्रीको जानकारी रहने सो पोर्टलमा वार्षिकरुपमा हुँदै आएको व्यापार घाटालगायतका विषयमा जानकारी लिन सकिने छ । उनले भने, ‘यो पोर्टलमार्फत व्यवसाय प्रवर्धन गर्न चाहनेका लागि आफ्नो उद्योगबाट उत्पादित १० वस्तुलाई निःशुल्क राख्न सकिने छ ।’ यसमा निर्यातका लागि आवश्यक जानकारीसहित उद्योग दर्ता र लगानीका विषयमा समेत जानकारी दिइने छ । पहिलोपटक चितवनबाट यसको जानकारी दिन थालिएको जनाउँदै उनले भने, ‘नेपाली उत्पादनका लागि विदेशी बजारको अवस्थाका बारेमा समेत यहाँ जानकारी दिइने छ ।’ आयात र निर्यातका विषयमा यस पोर्टलबाट जानकारी दिइने भएकाले यसले नेपालका उद्योगलाई बजारको व्यवस्थापनका लागि सहयोग पुग्ने उनले बताए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले उत्पादित सामग्री विदेशी बजारमा निर्यात गर्न नसक्दा व्यापार घाटा बढेकाले सरकारले यो अनलाइन सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । निर्यातलाई प्रवद्र्धन गर्दै आयातलाई प्रतिस्थापन गर्नका लागि यो पोर्टल प्रभावकारी हुने उनको भनाइ थियो । उनले भने, ‘विदेशीले नेपालको उत्पादनलाई कस्तो सुविधा दिएका छन् भन्ने विषयमा जानकारी दिनु यसको महत्वपूर्ण काम रहने छ ।’ उद्योग र उद्यमीलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको उनको भनाइ छ । उद्योग सङ्घका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसङ्घ प्रदेश नम्बर २ का अध्यक्ष नरेश दास, चेम्बर अफ कर्मश चितवनका उपाध्यक्ष गोपाल भट्टराई, उद्योग वाणिज्य सङ्घ रत्ननगरका वरिष्ठ उपाध्यक्ष शङ्कर गिरी, उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेललगायतले यस अनलाइनले आयातलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादनको बजार प्रवर्धन टेवा पुग्ने विश्वास व्यक्त गरे । रासस
२० करोड लगानीमा झापामा स्थापित पहिलो रबर उद्योग सञ्चालनको तयारीमा
झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गर्नुभएको थियो । हाल झापा, मोरङ र सुनसरीमा करीव ७०० हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन् । डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरिद गर्ने जनाएको छ । उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ । किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताए । नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए । दुई महिनापछि सुलेसन र सोल उत्पादन थालिने सञ्चालक सापकोटाको भनाइ छ । त्यसपछि दोस्रो चरणमा मेडिकल क्षेत्रमा प्रयोग हुने ग्लोब र घरायसी प्रयोगमा आउने म्याट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको उनले बताए । विश्वमा रबर दुई किसिमले उत्पादन हुन्छ । पेट्रोलियम खनिज पदार्थलाई प्रशोधन गरेर र रबरको बिरुवा रोपेर रबर उत्पादन हुँदै आएको छ । बिरुवा रोपेर उत्पादन हुने रबर प्राकृतिक हुने भएको हुँदा यसको विश्वभरि उच्च माग छ । यातायातका साधन साइकलदेखि हवाइजहाजको टायर र ट्युब बनाउन पनि रबरको आवश्यकता पर्दछ । नेपालले बर्सेनि अर्बौंको रबर आयात गर्दै आएको छ । तर रबर खेती र यसमा आधारित उद्योग खुल्दै जाने हो भने ठूलो मात्रामा आयात प्रतिस्थापित हुने सम्भावना रहेको छ । गर्मी क्षेत्रमा रबरको बोट हुर्किन्छ । यसको फेदबाट दूधजस्तो चोप निकालेर सङ्कलन गरिने र सङ्कलित चोपलाई प्रशोधन गर्दा प्राकृतिक रबर उत्पादन हुने गर्दछ । नेपालमा गोरखकाली रबर उद्योगले झापामा उत्पादित केही रबर विगतदेखि खरिद गर्दै आएको थियो तर उद्योग नै धराशायी बनेपछि किसानले रबरका पाप्रा बनाएर भारतमा बेच्दै आएका थिए । कनकाई रबर इन्डस्ट्रिजले अब किसानले बगानमै उत्पादन गरेको कच्चा चोप खरिद गरी लैजाने भएको छ । झापामा उत्पादन हुने सबै चोप खरिद गरिने उद्योगका सञ्चालक सापकोटाले बताए । झापामा सामुदायिक बन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दशौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको सङ्ख्या झापामा सयौँ रहेको छ । किसानले खेती नहुने पाखो र बगर जग्गामा रबर लगाएर प्रति बिघा रु चार लाखसम्म वर्षेनी आम्दानी गर्दै आएका छन् । रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा बिक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नं ८ लाई रबर ग्राम घोषणा गर्दै नमूना रबर खेतीका लागि सहयोग पु¥याउने भएको छ । एग्रो टुरिज्मको अवधारणाबमोजिम बुद्धशान्तिमा नमूनाको रुपमा रबर ग्राम परियोजना सुरु गरिएको रबर ग्रामका सचिव सीताराम बाँस्तोलाले बताए । फाउन्डेसनले भारतबाट उन्नत जातको बिरुवा ल्याएर किसानलाई बाँड्ने र प्राविधिक सहयोग पु¥याउने उनकाे भनाइ छ । रबर ग्राममा साना किसानलाई समेटिने र लघु उद्योग सञ्चालन गरी नोट बाँध्ने रोल रबर र इरेजर उत्पादन गरिने उनले जानकारी दिए । फाउन्डेसनले लघु उद्योग सञ्चालनका लागि प्राविधिक र आर्थिक सहयोग दिलाउने भएको छ । रबर बोटमा फल्छ भन्ने हेर्नका लागिसमेत रबर ग्राममा पर्यटक आकर्षित हुने सम्भावनालाई मध्यनजर गरेर घरबास सञ्चालनका लागिसमेत फाउन्डेसनले पहल गर्ने भएको छ । झापाको बाह्रदशीमा समेत अर्को रबर उद्योग स्थापनाको तयारी भइरहेको छ । रबरको उत्पादन बर्सेनि बढ्दै गएको हुँदा प्रशोधन उद्योग खुल्ने क्रम अझ बढ्ने सम्भावना छ । नेपालमा रबर खेतीको सम्भावना छ भनी पहिलो अनुसन्धान गर्ने विज्ञ तिलक भण्डारी छन् । उनले रबर खेती शुरु भएको तीन दशकपछि झापामा उद्योग स्थापना हुनु निकै ढिलो भए ता पनि खुशी मान्नुपर्ने बताए । नेपालकै पहिलो रबर उद्योग गोरखकाली रबर उद्योग हो । गोरखामा रबर खेती नफष्टाएपछि उक्त उद्योगले झापाको कच्चा पदार्थमा निर्भर हुनुपरेको थियो । पछि विभिन्न कारणले गोरखकाली रबर उद्योग धराशायी हुन पुग्यो । ‘‘अब किसानको उत्पादनले जिल्लाभित्रै बजार पाउने भयो”, रबर खेती विज्ञ भण्डारीले भने–“झापामा खाली र बगर जग्गा थुप्रै छ, त्यहाँ खेती विस्तार गर्न सके देशकै लागि फाइदा हुन्छ ।” झापाको माइपश्चिम क्षेत्रमा राजमार्गभन्दा उत्तरी इलाकामा रहेको रतुवामाई वृक्षरोपण आयोजनामा रबर खेती लगाउने हो भने मुलुक रबरमा आत्मनिर्भर बन्न सक्ने देखिएको छ । आयोजनाको हजारौँ हेक्टर जग्गा खाली छ भने सिसौ, मसलाजस्ता कमसल रुख हुर्काउनुको साटो रबर खेती लगाउनुपर्नेमा राज्यको ध्यान आकृष्ट हुनु पर्ने कनकाई रबर इन्डस्ट्रिजका सञ्चालक बालकृष्ण सापकोटाले बताए । रासस