सिमेन्ट उद्योगमा सिजीको आक्रामक लगानी, दैनिक १० हजार टन उत्पादन गर्ने

काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपले सिमेन्ट उद्योगमा आक्रामक रुपमा लगानी बढाएको छ । नेपालमा सिमेन्ट उत्पादनको सम्भावना धेरै रहेको र आवश्यकता पनि धेरै देखिएकोले यो क्षेत्रमा आक्रामक रुपमा लगानी बढाएको हो । चौधरी ग्रुप (सिजी) सिमेन्ट उत्पादनमा नेपालकै सबैभन्दा ठूलो उत्पादक बन्ने गरी अघि बढेको ग्रुपका प्रवक्ता मधुसुदन पौडेलले बताए । सिजीले नयाँ उद्योग स्थापना गर्नेदेखि अहिले संचालनमा रहेका उद्योगको सेयर खरिद गर्नेसम्मका कार्य गरिरहेको छ । सिजीले सन् २०२१ भित्रै उत्पादन सुरु गर्ने गरी माइनसहितको उद्योग पाल्पाको सर्देवामा स्थापना गरेको छ । सो उद्योगबाट सिजी ब्राण्डको सिमेन्ट यो वर्ष (सन् २०२१) नै उत्पादन सुरु हुने प्रवक्ता पौडेलले जानकारी दिए । पाल्पाको सर्देवामा आफ्नै माइनसहितको उद्योग स्थापनाको लागि आवश्यक काम भइरहेको छ । सीजीले सन् २०२१ भित्रै उत्पादन थाल्ने गरी काम गरिरहेकाे छ । सो उद्योगको उत्पादन क्षमता सुरुमा ४ हजार टीपीडी (४ हजार टन प्रतिदिन) रहेको छ भने त्यसलाई भविष्यमा क्षमता बृद्धि गर्ने लक्ष्य राखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण पाल्पाको उद्योग निर्माणमा केही ढिलाई भएको सिजीले जानकारी दिएको छ । कोभिड महामारीको कारण सरकारले लकडाउन, सटडाउन तथा निषेधाज्ञा जारी गरेको र सो समयमा काम अघि बढाउनको लागि जनशक्ति अभाव भएको कारण पनि केही ढिलाई भएको थियो । ‘कोभिड महामारीको कारण काममा केही ढिलाई भयो तर, यो वर्ष नै सिमेन्ट उत्पादन सुरु गर्ने गरी काम अघि बढाएका छौं, सन् २०२१ को अन्तिमसम्ममा पाल्पा प्लाण्टबाट उत्पादन सुरु हुन्छ,’ पौडेलले भने । सिजीले बनाउन लागेको पाल्पाको उद्योगबाट सिमेन्ट उत्पादन सुरु भएपछि सो उद्योग देशकै दोस्रो ठूलो उद्योग हुनेछ । चिनियाँ लगानीको होङ्सी सिमेन्ट अहिलेसम्म नेपालकै पहिलो ठूलो सिमेन्ट उद्योग हो । सिजीले पाल्पामा बनाउन लागेको उद्योगमा करिब १५ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । पाल्पाबाट उत्पादन हुने सिमेन्ट पनि सिजी ब्राण्डमै उत्पादन हुनेछ । सिजीले नवलपरासीको उद्योगबाट सिजी ब्राण्डमै सिमेन्ट उत्पादन गरिरहेको छ । सो उद्योगको उत्पादन क्षमता ३ हजार टीपीडी (३ हजार टन प्रतिदिन) छ । यस्तै, सिजीले केही समयअघि मात्रै सम्राट सिमेन्टको ३० प्रतिशत सेयर खरिद गरेको थियो । यी तीनवटै उद्योगमा गरी चौधरी ग्रुपले सिमेन्ट उद्योगमा २५ अर्ब रुपैयाँको हाराहारीमा लगानी गरेको छ । सिजीले दैनिक १० हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमताका उद्योग तत्काल संचालन गर्ने गरी आन्तरिक तयारी गरेको छ । सिजी ग्रुप फोब्र्समा सुचिकृत नेपालका एकमात्र अर्बपति विनोद चौधरीको व्यवसायिक घराना हो ।

कोरोनाको असर: ५ अर्ब बढीले घट्यो विदेशी लगानी प्रतिवद्धता

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा लगानी विस्तार गर्न विदेशी उद्योगीको आकषर्णमा कमि आएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार अघिल्लो आवको तुलनामा उद्योगको संख्यासगैँ लगानी प्रतिवद्धता रकममा कमि आएको छ । अघिल्लो अवको तुलनामा गत आवमा ४० उद्योग र ५ अर्ब ७८ करोड बढी लगानी रकममा कमी आएको हो । गत आवका लागि एक सय ८३ वटा उद्योगका लागि ३२ अर्ब २ करोड बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । लगानीमध्येमा ७० देखि ८० प्रतिशतसम्म लगानी प्रतिवद्धता चिनीयाँ लगानीकर्ताबाट आएको छ । यसैगरी चीनपछि भारत, अमेरिका, मलेसिया लगायतका देशवाट लगानी प्रतिवद्धता आएका छन् । विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीका अनुसार गत वर्षको तुलनामा उद्योगको संख्यासँगै लगानी रकममा कमि आएको हो । कुन उद्योगमा कति प्रतिवद्धता ? गत आर्थिक वर्षमा सबैभन्दा धेरै उद्योग र लगानी प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा १०१ उद्योगका लागि १८ अर्ब ३१ करोड बराबरको प्रतिवद्धता आएकोे हो । यस्तै, कृषि क्षेत्रमा ३ उद्योगका लागि ५२ करोड ९० लाख रुपैयाँ, उर्जा क्षेत्रमा ४ उद्योगमा एक अर्ब ५४ करोड रुपैयाँ, सूचना प्रविधि क्षेत्रमा १५ उद्योगमा २ अर्ब ९५ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रका १९ उद्योगमा २ अर्ब ८६ करोड रुपैँया र सेवामूलक क्षेत्रमा ४१ उद्योग ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको हो । उक्त प्रतिवद्धता सगैँ ५ हजार ८ सय ३३ जनालाई रोजगारी दिने प्रतिवद्धता आएको छ । २०३ स्वदेशी उद्योग दर्ता विभागमा एक वर्षको अवधिमा २ सय ३ वटा स्वदेशी नयाँ उद्योग दर्ता भएका छन् । एक खर्ब ५६ अर्ब रुपैयाँ बढीको लगानीमा उक्त उद्योग दर्ता भएका हुन । कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा ५ अर्ब ३४ करोड ८० लाख रुपैयाँ, उर्जामूलक क्षेत्रमा ३० उद्योगका लागि एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख रुपैयाँ, सूचना सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६ उद्योगमा ८० करोड रुपैयाँ, पूर्वाधारका २ उद्योगमा एक अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको स्वदेशी लगानी थपिएको छ । यस्तैगरी, उत्पादनमूलक क्षेत्रका ७० उद्योगमा १९ अर्ब ५२ करोड ४० लाख रुपैयाँ, खनिज क्षेत्रको एक उद्योगमा १२ करोड ३० लाख रुपैयाँ, सेवामूलक क्षेत्रका ३३ उद्योगका लागि ५ अर्ब ६४ करोड ५ लाख रुपैयाँ र पर्यटन क्षेत्रका ४० उद्योगका लागि १३ अर्ब ४८ करोड ५ लाख रुपैयाँ बराबरको उद्योग दर्ता भएका हुन । गत आवमा २७७ दर्ता गत आर्थिक वर्ष २०७६/०७७ मा २ सय ७७ वटा उद्योगका लागि स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । उक्त उद्योगका लागि एक खर्ब ५२ अर्ब लगानी प्रतिवद्धता आएको थियो । यस्तै, २२३ उद्योगका लागि ३७ अर्ब ८० करोड बराबरको लगानी प्रतिवद्धता आएको थियो । नयाँ व्यवस्था अनुसार ५ करोड रुपैयाँभन्दा कम लगानीमा नेपालमा विदेशी लगानीको उद्योग दर्ता हुदैँनन् । न्यूनतम रकम ५ करोड रुपैयाँ माथि तोकिएका प्रतिवद्धता रकममा बृद्धि भए तापनि उद्योगको संख्यामा कमि आएको विभागले जनाएको छ । धेरै देशले प्रतिवद्धतामा ठूलाे रकम राखेपनि थोरै रकम मात्र आउँने गरेको छ । अधिकांश विदेशी लगानीकर्ता लगानी ल्याउने प्रक्रियामै आउँदैनन् भने प्रक्रियामा आएकाहरु पनि कम्पनी दर्ता प्रक्रियाबाटै बाहिरिने गरेका छन् ।

उद्योग परिसंघका अध्यक्ष बने विष्णु अग्रवाल, पूर्व खेलाडीदेखि सफल उद्योगीसम्मको अनुभव

काठमाडौं । नेपाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हालो छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएर कार्यभार सम्हालेका हुन् । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । परिसंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यसअघि उनले परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन् । साथै उनले परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेका छन् । पूर्व फुटबल खेलाडी समेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर पनि हुन् । उनी नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक पनि हुन् । उनी एमए डब्लु इन्टरप्राइजेज, एमएडब्लु अर्थमुभर, एमएडब्लु इन्भेष्टमेन्ट कम्पनी, एमएडब्लु रेडि मिक्स कंक्रिट, एमएडब्लु इन्जिनियरिङ, भीआर होल्डिङ लगायतका दर्जन कम्पनीका अध्यक्ष हुन् । करिब २०/२१ वर्षकै उमेरमा व्यवसायमा संलग्न भएका उनी एक सफल र अनुभवी व्यवसायीका रुपमा पनि परिचित छन् । परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य समेत चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् । राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् । यसैगरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीव कुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।