कतार चेम्बरका अध्यक्षसँग ढकालले भने- नेपालमा लगानीको अवसर छ, मिलेर काम गरौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ ।  भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायीक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए । नेपाल-कतार संयुक्त व्यवसाय परिषद् दुवै देशबीच व्यापार तथा लगानी प्रबर्द्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा उनले जोड दिए ।  नेपाल-कतार संयुक्त व्यापार परिषद् स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसरहरू रहेकोले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।  ‘नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ । म कतारी लगानीकर्ताहरुलाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि-आधारित उद्योगमा लगानीको लागि आग्रह गर्दछु,’ उनले भने । ढकालले महासंघले अघि बढाइरहेको डिजिटल रुपान्तरणलाई जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्वपूर्ण हुने उल्लेख गरे । उनले एआई-आधारित व्यवसायीक सुविधा उपकरण, ब्लकचेन-आधारित व्यापार कागजी करण प्रणाली, तथा व्यवसाय मिलान र लगानी प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्महरूमा ज्ञान आदानप्रदान गर्ने प्रस्ताव गरे । ‘उन्नत डिजिटल प्रविधि अपनाउने कतारको अनुभवबाट पाएको तपाईंहरूको समर्थनले महासंघलाई आधुनिक, प्रविधि-मैत्री संस्था बनाउन अमूल्य सहयोग पुर्याउनेछ,’ उनले भने ।  भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए । नेपालसँग आर्थिक तथा व्यवसायीक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र यस प्रकार भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष ढकालले जानकारी दिए ।  यसैबीच महासंघका अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यवसायीक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस) मा सहभागी हुन पनि आमन्त्रण गरेका छन् । दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा विशेष ‘कतार केन्द्रित लगानी सत्र’ आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए ।  ‘लगानी, नवप्रवर्तन र सहकार्यमार्फत नेपाल कतार साझेदारीलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ । नेपाली उत्पादन चिया, कफी, अलैंची, जडीबुटी तथा प्रशोधित खाद्यवस्तु जस्ता नेपाली कृषि उत्पादनहरूलाई कतारको बजारमा पहुँच बढाउन ठूलो सम्भावना रहेको छ,’ उनले भने ।  ढकालले यी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न प्रमाणीकरण, मानकीकरण तथा संयुक्त ब्रान्डिङ पहलमा सहकार्य गर्न प्रस्ताव गरे । भेटका अवसरमा चेम्बरका अध्यक्ष थानी सहित कतार चेम्बरका उच्च पदाधिकारी, व्यापारीहरू सहभागी थिए । 

एशियन थाई फुड्सले ल्यायो 'डेभील्स हट चिकेन नुडल्स'

काठमाडौं । पाँच वर्षदेखि लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता तथा २५ वर्षको सफल इतिहास बोकेको एशियन थाई फुड्सले नयाँ उत्पादन 'डेभील्स हट चिकेन नुडल्स' सार्वजनिक गरेको छ । ३० भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको कम्पनीले मसालाको सन्तुलन र स्वाद खोज्ने उपभोक्तालाई लक्षित गरी भदौ १६ गतेदेखि देशभर उपलब्ध हुने गरी यो नयाँ नुडल्स बजारमा ल्याएको हो । 'नेपालकै सबैभन्दा मिठो स्वादा, यो डेभिलीसिअस छ' भन्ने ट्यागलाइनसहित सार्वजनिक गरिएको नुडल्सले उपभोक्तालाई सन्तुलित मसालेदार स्वादको नयाँ अनुभव दिने कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक आशिष जाजुले यो साधारण तत्कालीन नुडल्स मात्र ‍नभई स्वाद खोज्ने साहसी उपभोक्ताका लागि यो एक रोमाञ्चक स्वाद चुनौती पनि रहेको बताए । व्यवस्थापकीय निर्देशक महेश जाजुले निजी लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा रूपान्तरण  भएको र आगामी आईपीओ तयारीको क्रममा रहेको जानकारी दिए । कम्पनीका अनुसार ५० रुपैयाँमा उपलब्ध यो नुडल्सको पाँच प्याकको फ्यामिली प्याक २५० मा पाइनेछ । प्रत्येक प्याकमा चकलेट वेफर समेत थपिएको छ, जसले तातो स्वादपछि मिठासको अनुभव दिनेछ । यो उत्पादन भाटभटेनीलगायत प्रमुख खुद्रा पसलहरूमा तथा दराजजस्ता अनलाइन प्लेटफर्ममार्फत नेपालका ठूला सहरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

विदेशमा रहेका नेपालीले श्रीनगर एग्रीटेकको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो ।  जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतका दरले ३ लाख ९ हजार ९३८ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।