कच्चा पदार्थ महँगिँदा कुलायनले बढायो चुलोको मूल्य

काठमाडौं । कुलायन होम एप्लायन्स इण्डस्ट्रिज प्रालिले इन्डक्सन चुलो (विद्युतीय चुलो) को मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय मुद्राको उतारचढावका कारण कच्चा पदार्थ खरिदमा लागत बढेपछि खुद्रा मूल्य समायोजन गर्नुपरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको प्रभावले उत्पादन लागत बढेकाले मूल्य परिमार्जन गरिएको हो । उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनअनुसार उपभोक्ताको हकहितलाई ध्यानमा राख्दै नयाँ मूल्यसूची सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मूल्यसूचीअनुसार एक मुखे इन्डक्सन चुलो र एक मुखे इन्फ्रारेड चुलोको अधिकतम खुद्रा मूल्य ६ हजार रुपैयाँ कायम गरिएको छ। त्यसैगरी दुई मुखे इन्डक्सन चुलो, दुई मुखे इन्फ्रारेड चुलो तथा इन्डक्सन र इन्फ्रारेड मिश्रित (मिक्स) दुई मुखे चुलोको मूल्य १३ हजार २ सय रुपैयाँ तोकिएको छ । कम्पनीको उत्पादन केन्द्र मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ साढे ५ करोड घाटामा

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) साढे ५ करोड रुपैयाँ घाटामा रहेको देखिएकाे छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा महासंघ ५ करोड ३९ लाख ९४ हजार रुपैयाँ खुद घाटामा रहेको देखिएकाे हाे । जबकि अघिल्लो वर्ष महासंघ ३ करोड २६ लाख ६० हजार रुपैयाँ घाटामा थियो । तर, महासंघका महानिर्देशक गोकर्ण अवस्थीले वार्षिक तथ्यांकमात्र हेरेर संस्थालाई घाटामा रहेको निष्कर्ष निकाल्न नमिल्ने जानकारी दिए । उनका अनुसार महासंघको आय संरचना तीन वर्षे चक्रमा आधारित भएकाले प्रत्येक वर्ष नाफा-घाटा फरक देखिन सक्छ । ‘हाम्रो घाटा-नाफा भन्ने हुँदैन । सदस्यकाे नवीकरण चुनावी वर्षमा गर्ने अभ्यास छ । सदस्यता नै हाम्रो मुख्य आम्दानी हो, जुन हरेक वर्ष उठ्दैन,’ उनले भने, ‘कुनै वर्ष आम्दानीभन्दा खर्च बढी देखिए पनि समग्र अवधिमा संस्था घाटामा हुँदैन ।’  महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि सदस्यता शुल्क संकलनको ढाँचाका कारण यस्तो अवस्था देखिएको हुन सक्ने बताए । ‘सदस्यता शुल्क प्रायः निर्वाचन वर्षमा एकै पटक उठ्छ । त्यसैले कुनै वर्ष घाटा र अर्को वर्ष नाफा देखिनु स्वाभाविक हो,’ उनले भने ।  तर, विगतमा महासंघ कुनै पनि वर्ष घाटामा गएको अनुभव आफूसँग नरहेको उनले सुनाए । ‘संस्थाले धान्ने गरी खर्च गर्नुपर्छ । खर्च धान्न नसक्ने हो भने कसले दिन्छ ?,’ उनले भने, ‘सामान्यतया संस्था घाटामा हुँदैन । निर्वाचनको वर्ष सबै व्यवस्थापन हुन्छ । तर, विगतमा कुनै पनि वर्ष महासंघ घाटामा थिएन ।’ उनका अनुसार महासंघका एशोसिएट सदस्य संख्या उल्लेख्य रूपमा बढेको छ र हाल करिब १ हजार ९ सय पुगेको छ । प्रतिवर्ष २० हजार रुपैयाँ सदस्यता शुल्क तिर्नुपर्ने व्यवस्था रहे पनि अधिकांश सदस्यले तीन वर्षको शुल्क एकैपटक बुझाउने गरेका छन् ।  महासंघले सदस्यता शुल्कबापत १ करोड ७९ लाख ११ हजार रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो वर्षको ८६ लाख ९० हजार रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । उत्पत्तिको प्रमाणपत्र आयबापत ३ करोड ४ लाख २९ हजार रुपैयाँ आम्दानी भएको छ भने अघिल्लो वर्ष यो २ करोड २२ लाख ७९ हजार रुपैयाँ थियो । यस्तै, अनुदान आय घटेर २ करोड ५५ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष ४ करोड ९३ लाख ९० हजार रुपैयाँ थियो । वित्तीय आम्दानी पनि घटेर १ करोड १२ लाख २३ हजार रुपैयाँमा झरेको छ । जबकि अघिल्लो वर्ष १ करोड ९० लाख ८४ हजार रुपैयाँ वित्तीय आम्दानी थियो । अन्य आम्दानी ४९ लाख ३६ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ५१ लाख ८८ हजार रुपैयाँ थियो। समग्रमा महासंघको कुल आम्दानी घटेर ९ करोड ४३ हजार रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्ष १० करोड ४६ लाख ३२ हजार रुपैयाँ थियो । खर्चतर्फ, महासंघले कर्मचारी खर्चमा ४ करोड २३ लाख ८० हजार रुपैयाँ बेहोरेको छ, जुन अघिल्लो वर्ष ५ करोड १७ लाख १८ हजार रुपैयाँ थियो । कार्यक्रम खर्च ३ करोड ६३ लाख ८४ हजार रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष ५ करोड १० लाख रुपैयाँ खर्च गरिएको थियो ।  अघिल्लो वर्ष २ करोड ६ लाख ५४ हजार रुपैयाँ रहेको प्रशासनिक खर्च गत वर्ष बढेर २ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । महासंघका अनुसार गैर-प्रशासनिक खर्च ५५ लाख ८९ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ३८ लाख ७४ हजार रुपैयाँ थियो । महासंघका अनुसार गत वर्ष विविध खर्च ५७ लाख २ हजार रुपैयाँ, प्रदेश उद्योग वाणिज्य संघतर्फ १ करोड ७ लाख १० हजार रुपैयाँ तथा बिदा व्यवस्थापनतर्फ १ करोड २७ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । समग्रमा गत वर्ष महासंघको कुल खर्च घटेको छ । गत वर्ष महासंघले १३ करोड ७७ लाख ५१ हजार रुपैयाँ कुल खर्च गरेको छ । जबकि अघिल्लो वर्ष १४ करोड ४३ लाख ९३ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  महासंघले काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा ९ लाख रुपैयाँ सेयर लगानी गरेको छ भने एनएमबि बैंकमा ३ करोड रुपैयाँ निक्षेप राखेकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

झापामा आठ महिनामा ७१७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा सात सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएका छन् । सूचना अधिकारी तिम्सिनाका अनुसार जिल्लामा चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ एक सय २५ र वाणिज्यतर्फ ८८ गरी दुई १३ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, ३३ उद्योग नामसारी, २३ उद्योगको नाम परिवर्तन तथा ३९ उद्योगले उद्देश्य थपेका छन्  । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका उनले बताए । कार्यालयले चालु आवका आठ महिनामा विभिन्न शीर्षकमा एक करोड ३५ लाख ५९ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।