निष्काशन बन्द गरिएको श्रीनगर एग्रीटेकको आईपीओ भर्न २ दिन समय थपियो
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने समय २ दिन थपेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई भदौ २५ गते निष्काशन बन्द गरेको थियो । तर, देशमा उत्पन्न विषम परिस्थितिले गर्दा दरखास्तमा बाधा पुगेको र उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको आग्रहलाई ध्यानमा राख्दै भदौ ३० गते र ३१ गते आवेदन दिने अवधि थप गरेको कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।
सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । सागर डिष्टिलरीले आज भदौ ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा असोज १३ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
आगजनी भएका व्यवसायमा सस्तो ब्याजमा ऋण दिएर सहयोग गर्छौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् । आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । उनले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् । उनले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताइन् । ‘व्यक्तिका घर, सम्पती, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पतीदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पति जलाउने काम भयो । उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं,' उनले भनिन्, 'कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापरीहरुले धेरै नोक्शानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’ उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन् । साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।