निर्माण सामग्रीको उत्पादन घटाएर मूल्य बढाउँदै उद्योगी, सकसमा निर्माण र जलविद्युत उद्यमी

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको वृद्धि र त्यसले निम्त्याएको आपूर्तिको समस्याले नेपालका निर्माणाधीन पूर्वाधार आयोजनाहरूमा गम्भीर धक्का पुगेको छ । विशेषगरी जलविद्युत् र सडक निर्माण क्षेत्रमा आवश्यक पर्ने सिमेन्ट, डण्डी, बिटुमिन र प्लास्टिकजन्य सामग्रीको मूल्य आकाशिएपछि अर्बौंका आयोजनाहरू अन्योलमा परेका हुन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाका अनुसार इन्धनको मूल्य बढ्ने बित्तिकै ढुवानी लागतमा वृद्धि हुन्छ । यसले गर्दा हरेक निर्माण सामग्रीको मूल्य बढेको छ ।  एबीपी इनर्जी लिमिटेडका सञ्चालकसमेत रहेका खतिवडा भन्छन्, ‘इन्धनको मूल्य बढ्दा समग्र निर्माण लागतमा करिब १० प्रतिशतले वृद्धि हुन्छ । अहिले सिमेन्ट र डण्डीको मूल्य दैनिक रूपमा परिवर्तन भइरहेको छ, जसले गर्दा भोलि के हुन्छ भन्ने आँकलन गर्न समेत गाह्रो छ ।’ मूल्यवृद्धिको मात्र समस्या नभएर आगामी दिनमा निर्माण सामग्रीको नियमित आपूर्तिमा पनि समस्या त हुने हो कि भन्ने चिन्ताले पनि व्यवसायीहरूलाई सताएको छ । समयमै निर्माण सामग्री नपाइँदा आयोजनाको लागत मात्र नभई सम्पन्न हुने समय पनि लम्बिँदै गएको छ । हाइड्रोमा ठूलो जोखिम अहिले नेपालमा करिब ३५ हजार मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । तर, पछिल्लो मूल्यवृद्धिले यी आयोजनाहरूको अनुमानित लागत वृद्धि भइसकेको छ । इप्पानका उपमहासचिव प्रकाश दुलालका अनुसार सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँभन्दा बढीले वृद्धि भएको छ भने फलामको डण्डीमा प्रतिकिलो ५ रुपैयाँसम्म वृद्धि भएको छ ।  ‘डिजेल र निर्माण सामग्रीको मूल्य यसरी बढ्यो कि अब कुन आयोजना कति लागतमा निर्माण सम्पन्न हुन्छ भन्ने अनुमान नै गर्न सकिने अवस्था छैन,’ दुलालले गुनासो गर्दै भने ।  उनका अनुसार डन्डी र सिमेन्ट उद्योगीहरूले सिन्डिकेट खडा गरेर उत्पादन घटाउने र मूल्य बढाउने नीति लिएका छन् । उनले भने, ‘युद्धको बाहना बनाएर बजारमा सामान लुकाउने र कालोबजारी गर्ने प्रवृत्ति मौलाएको छ ।’  प्रकाश दुलालको फेदीखोला जलविद्युत आयोजना ४.३ मेगावाट र बलराम खतिवडाको ताँदी घ्याङफेदी जलविद्युत आयोजना ८ मेगावाट अहिले निर्माणाधीन अवस्था छन् । व्यवसायीहरूले यसबारे बजारमा सरकारले अनुगमन र नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन् । साथै आयोजना स्थलसम्म विद्युत् लाइन पुर्‍याउन सके डिजेलको खपत घटाएर केही हदसम्म लागत कम गर्न सकिने उनीहरुको तर्क छ । यसैगरी सिमेन्ट उद्योगीहरूले भने सिमेन्टको मूल्य अझै बढ्ने बताउँदै आएका छन् ।  नेपाल सिमेन्ट उत्पादक संघका अनुसार अहिले बजारमा सिमेन्टको मूल्य ५० रुपैयाँले बढेको छ । संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्टको मूल्य ५० रुपैयाँले बढेको विकासन्युजलाई जानकारी दिए ।  उनले भने, ‘अमेरिका र इरानको युद्धका कारण डिजेलको भाउ महँगो भयो । त्यसकारण मूल्य बढेको हो ।’ केही दिनअघि सिमेन्टको मूल्य कम थियो । त्यतिबेला बजारमा ओपिसी सिमेन्ट प्रतिबोरा ६८० रूपैयाँ र पिपीसी सिमेन्ट ७८० रूपैयाँमा पाइन्थ्यो । तर, अहिले दुवै प्रकारको सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ बढेर क्रमशः ७५० र ८५० रूपैयाँ पुगेको छ ।  बिटुमिनमा ‘कृत्रिम अभाव’ सडक निर्माणका लागि अत्यावश्यक मानिने बिटुमिनको अवस्था झन् भयावह छ । व्यवसायीहरूका अनुसार बिटुमिनको मूल्य पछिल्लो समय प्रतिब्यारेल करिब १४ हजार रुपैयाँसम्मले बढेको छ । भारतीय आयल कर्पोरेसनले नै मूल्य बढाएका कारण नेपालमा पनि यसको प्रत्यक्ष असर परेको हो । अहिले बिटुमिनको मूल्य केजीमा ५२ रुपैयाँले बढेको एक बिटुमिन तथा ब्यारेल उद्योगले बताएको छ । स्रोतका अनुसार एकसाता अघि मात्रै बिटुमिन केजीमा २६ रुपैयाँ रहेको थियो । बिटुमिनको मूल्य मार्च १ मा मात्रै १ सय ३० रहेकोमा मार्च ५ मा २ हजार पुगेको थियो । मार्च १६ मा २ हजार ५ सय ६० रुपैयाँ पुगेको थियो । यो मूल्य बढेर अप्रिल १ मा १३ हजार ९ सय १० रुपैयाँ पुगेको छ । यसको मूल्य अझै बढ्ने सक्ने उद्योगीहरूले बताएका छन् ।  केही बिटुमिन सप्लायरहरूले मूल्यवृद्धिसँगै बजारमा कृत्रिम अभाव सिर्जना गरिरहेको समेत पाइएको छ । सप्लायरहरूले आफ्ना पुराना र नियमित ग्राहकलाई मात्र सामान दिने र अन्यलाई सामान छैन भन्दै फर्काउने गरेको पाइएको छ ।  यसले गर्दा निर्माण कार्य अगाडि बढाउन चाहने व्यवसायीहरू समेत महँगो मूल्य तिर्न बाध्य छन् वा काम रोकेर बस्नुपर्ने अवस्थामा छन् । गुप्ता ऊर्जा प्राइभेट लिमिटेड, बालाजी टाइल्स हाउस नेपाल, विजय दुर्गा इन्टरप्राइजेज प्राइभेट लिमिटेड, सार्थक इम्पेक्स, सिद्धार्थ हार्डवेयरलगायतले अहिले कृत्रिम अभाव सिर्जना गरिरहेका छन् । यसैगरी, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडकको निर्माण कार्य प्रभावित हुने देखिए आयोजनाले बताएको छ । आयोजनाका अनुसार निर्माण कार्यमा प्रयोग हुने बिटुमिन अर्थात् अलकत्रा सिमेन्ट, डन्डी र इन्धनको मूल्यमा आएको भारी गिरावटका कारण निर्माण व्यवसायीहरू ठूलो आर्थिक जोखिममा परेका छन् ।  हाल नारायणघाट–बुटवल सडकको बहुवर्षीय ठेक्का अन्तर्गत काम भइरहे तापनि मूल्यवृद्धिका कारण आयोजना अघि बढाउन चुनौती थपिएको छ ।  आयोजनाका सूचना अधिकारी विकास खनालका अनुसार ठेक्का सम्झौता गर्दा नेपाल राष्ट्र बैंकको इन्डेक्स र बिटुमिन ब्यारेल उद्योगको दररेटलाई आधार मान्ने गरिएको छ । ४९ दिन अगाडिको दररेट अनुसार भुक्तानी हुने भए तापनि हालको एक्कासी भएको मूल्यवृद्धिलाई ठेक्काको प्रारम्भिक शर्तहरूले सम्बोधन गर्न नसक्ने अवस्था सिर्जना भएको छ । ‘ठेक्का सम्झौता गर्दाको समयमा फ्रिज भएको रेट र अहिलेको बजार मूल्यबीच ठूलो खाडल छ,’ उनले भने ।  निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिलाई नियन्त्रण बाहिरको परिस्थिति मान्दै निर्माण व्यवसायीहरूले आयोजनालाई नोटिफाई गरिसकेका छन् । हालसम्म साइटमा काम नरोकिए पनि मूल्यवृद्धिका कारण हुने घाटाको मूल्यांकन गरी क्षतिपूर्तिको दाबी गर्ने तयारी ठेकेदार कम्पनीले गरेको छ । चैत र वैशाख महिना सडक निर्माणका लागि सबैभन्दा उपयुक्त र फुल फेजमा काम हुने समय हो ।  तर, इन्धन र सामग्रीको अभावले गर्दा मौज्दात सकिँदै गएको र महँगोमा सामान किनेर घाटामा काम गर्न नसकिने निर्माण व्यवसायीहरूको भनाइ छ । मेसिनरी चलाउन आवश्यक पर्ने डिजेलको अभाव र बिटुमिनको बढ्दो मूल्यले गर्दा निर्माणको गति सुस्त हुन सक्ने आयोजनाले जनाएको छ ।  के गर्दैछ वाणिज्य विभाग ? वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी नरहरि तिवारीले विभागले अहिले बजारको सूक्ष्म अनुगमन गरिरहेको जानकारी दिए । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १५ देखि ३० रुपैयाँसम्म र हवाई इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण ढुवानी लागत महँगो भएको तिवारीले बताए ।  उनले भने, ‘पेट्रोलियमको मूल्य वृद्धिको अनुपातमा अन्य सामग्रीको मूल्य बढ्नुलाई स्वाभाविक मान्न सकिए पनि त्योभन्दा बढी मूल्यवृद्धि भएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’ तिवारीका अनुसार हाल बजारमा निर्माण सामग्रीको मूल्य वृद्धि भएको छ । बजारमा व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरेको भन्ने गुनासोबारे विभागले अनुसन्धान गरिरहेको र दोषी पाइएमा तुरुन्त कारबाही गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । अर्थशास्त्री दिलनाथ दङ्गालले मध्यपूर्वको तनावले नेपालको निर्माण क्षेत्र र समग्र अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी दिएका छन् । निर्माण सामग्रीका कच्चा पदार्थ, प्रविधि र श्रमिक सबै ढुवानीसँग जोडिएकाले तेलको मूल्य बढ्नासाथ यसको प्रत्यक्ष असर निर्माण लागतमा पर्ने उनको विश्लेषण छ । दङ्गालले भने, ‘अहिलेको परिस्थिति हेर्दा विदेशबाट आउने सामग्रीको मूल्य दोब्बर हुनेसम्मको जोखिम छ । यसले निर्माण क्षेत्रमा मात्र नभई श्रमिकहरूको व्यवस्थापन र रोजगारीमा समेत समस्या ल्याउँछ ।’ उनले मध्यपूर्वमा रहेका करिब २० लाख नेपाली श्रमिकहरूको रोजगारी र त्यसबाट आउने रेमिट्यान्समा पर्न सक्ने असरले नेपालको अर्थतन्त्रलाई नै थप चुनौतीपूर्ण बनाउन सक्ने बताए । नेपालमा सिमेन्ट उत्पादन भए तापनि त्यसका लागि आवश्यक क्लिंकर र अन्य कच्चा पदार्थ वैदेशिक आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपाली बजारलाई सिधै प्रभाव पार्ने गरेको उनको भनाइ छ ।  विश्व बजारमा तेलको अभाव र युद्धको स्थिति लम्बिँदै गएमा नेपालको निर्माण क्षेत्र थप सुस्त हुने र आयोजनाहरूको लागत बढ्ने उनी बताउँछन् । अहिलेको मूल्यवृद्धिको अनुपात हेर्दा धेरै आयोजनाहरू कोल्याप्स अर्थात् ठप्प हुने जोखिम बढेको छ । 

रम र भोड्का बिक्री गरेर ७ महिनामा साढे ५ अर्ब आम्दानी, नोभेम्बर-जनवरीमै हुन्छ ७० प्रतिशत खपत

काठमाडौं । खुकुरी रम, न्युड भोड्का लगायत ब्रान्डका मदिरा बिक्री वितरण गर्दै आएको सगरमाथा मार्केटिङ प्रालिले ७ महिनामा साढे ५ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा ५ अर्ब ५० करोड ५० लाख (अपरिष्कृत) रुपैयाँ बढी आम्दानी गरेको हो ।  गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ६ अर्ब १० करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ७७ करोड ३० लाख रुपैयाँ, आव २०७९/८० मा ५ अर्ब ५२ करोड ७० लाख, आव २०७८/७९ मा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ र आव २०७७/७८ मा ४ अर्ब ४५ करोड रुपैयाँ सञ्चालन आम्दानी भएको थियो। पछिल्ला वर्षहरूमा कम्पनीले करिब ५-६ प्रतिशत स्थिर आम्दानी वृद्धि गरेको छ, जसले सामान्य आर्थिक सुस्तीताका बाबजुद वित्तीय स्थिति सकारात्मक देखाएको छ । कम्पनीको मुख्य आम्दानी स्रोत खुकुरी त्रिपल एक्स रम हो, जसले कुल आम्दानीको करिब ८७ प्रतिशत हिस्सा छ । खुकुरी रम देशमा सबैभन्दा पुरानो र बजार अग्रणी रम ब्रान्ड मानिन्छ। सन् १९९९ मा स्थापना भएको सगरमाथा मार्केटिङ प्रालि नेपालमा विभिन्न मदिरा ब्रान्डहरूको वितरण गर्दै आएको कम्पनी हो । कम्पनीले खुकुरी रम, न्युड भोड्का, कार्डा रम र एरिस्टोक्र्याट ह्विस्की वितरण गर्दै आएको छ । यी सबै उत्पादनहरू नेपाल डिस्टिलरीज प्रालिद्वारा निर्माण गरिएका हुन् । सगरमाथा मार्केटिङ नेपाल डिस्टिलरीजका उत्पादनको राष्ट्रिय एकमात्र वितरक हो र वितरक तथा डिलर नेटवर्कमार्फत बिक्री संचालन गर्छ ।  कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको महाङ्काल क्षेत्रमा रहेको छ । सगरमाथा मार्केटिङ कम्पनीमा दुई जना मुख्य सेयरधनी रहेका छन् । प्रबन्ध निर्देशक हेमन्त राज प्रसाईंको ६० प्रतिशत स्वामित्व रहेको छ भने अध्यक्ष डाटा राम प्रसाईंको ४० प्रतिशत हिस्सा रहेको छ । कम्पनीको वार्षिक बिक्री ढाँचा अत्यधिक मौसमी छ । कम्पनीको कुल बिक्रीको करिब ६५-७० प्रतिशत नोभेम्बर-जनवरीको शीतकालीन सिजनमा मात्रै हुन्छ, किनभने रम उपभोक्ताबीच प्रायः यही अवधिमा बढी रुचाइएको हुन्छ । यस अवधिमा सञ्चालन वा बिक्रीमा कुनै असर परेमा कम्पनीको वित्तीय स्थिति अत्यधिक प्रभावित हुन सक्ने कम्पनीले जनाएको छ । नेपालमा मदिरा उत्पादनहरू सबैभन्दा उच्च कर लाग्ने वस्तु मध्ये पर्छन् । वर्षेनी एक्साइज ड्यूटीको वृद्धिले कम्पनीको आम्दानी र मुनाफामा दीर्घकालीन दबाब पार्न सक्छ । यससँगै प्रतिस्पर्धात्मक दबाब पनि कम्पनीको दीर्घकालीन वित्तीय प्रदर्शनमा प्रभाव पार्न सक्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६९ करोड रुपैयाँ ऋण लिएको छ । 

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य सराहनीय : अध्यक्ष  ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यले लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरेका छन् ।   कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँग मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतका वर्षहरूमा महासंघ र वैदेशिक साझेदारहरूबीचको सम्बन्धले नयाँ उचाइ लिएको उल्लेख गरे । उनले नेपालको आर्थिक विकास र निजी क्षेत्रको सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय विकास साझेदार तथा कुटनीतिक निकायको सहयोग अपरिहार्य रहेको समेत बताए । ‘महासंघ र कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँगको सहकार्यले नेपालको निजी क्षेत्र सुदृढ बनाउन  महत्त्वपूर्ण भूमिका खेलेको छ । नीति संवाददेखि लगानी प्रवर्द्धन र क्षमता अभिवृद्धिसम्मका क्षेत्रमा तपाईंहरूको सहकार्यले हामीलाई अघि बढ्न ठूलो मद्दत गरेको छ । महासंघको नयाँ नेतृत्वले पनि कुटनीतिक तथा विकास साझेदारहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने छ भन्ने मेरो विश्वास छ,’ अध्यक्ष ढकालले भने । कुटनीतिक समुदायले नेपाल र विभिन्न देशहरूबीच आर्थिक सम्बन्ध विस्तार गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष ढकालले व्यापार, लगानी तथा व्यवसाय–देखि–व्यवसाय सम्बन्ध प्रवर्द्धनमा उनीहरूको योगदानले नयाँ अवसर सिर्जना गरेको बताए । उनले आफ्नो कार्यकालमा विकास साझेदारहरूसँग नजिकबाट सहकार्य गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूको मार्गदर्शन, खुलापन र रचनात्मक संवादप्रति आभार व्यक्त गरे ।   विशेषगरी विकास साझेदारहरूले नेपालको निजी क्षेत्र, विशेषतः साना तथा मझौला उद्यमहरूको विकास, उद्यमशीलता प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो । अध्यक्ष ढकालले हरित विकास, सीप विकास, नवप्रवर्तन र समावेशी व्यवसायका क्षेत्रमा भएका संयुक्त प्रयासले सकारात्मक  परिणाम देखाउन थालेको उल्लेख गरे ।   उनले नेपाल उद्योग वाणिज्य महासंघ देशको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन भएको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच पुलको रूपमा महासंघले निरन्तर काम गर्दै आएको जानकारी दिए।  उनले आफ्नो कार्यकालमा महासंघले नीति पैरवी सशक्त बनाउने, सरकारसँगको संवाद प्रभावकारी बनाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा काम गरेको जानकारी दिए । साथै स्टार्टअप, डिजिटल अर्थतन्त्र र हरित व्यवसायजस्ता उदीयमान क्षेत्रमा पनि महासंघले ध्यान केन्द्रित गरेको उनले बताए ।   अध्यक्ष ढकालले चुनौतीपूर्ण समयमा समेत अन्तर्राष्ट्रिय समुदायले नेपाललाई निरन्तर साथ दिएको उल्लेख गर्दै यसले नेपालप्रतिको विश्वास र प्रतिबद्धता झल्काएको धारणा राखे । साथै नेपाल अहिले आर्थिक विकासको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि थप लगानी प्रवर्द्धन, साझेदारी र निरन्तर सहकार्यको आवश्यकता रहेको बताए । कार्यक्रममा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदार संस्थाका तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता रहेको थियो ।