जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरूको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । बुधवार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो माग गरेका हुन् । उनले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भीर क्षति पुर्याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराए । उनले भने, ‘आगामी दिनमा जुन सुरक्षा दिने कुरा छ, यो एकदमै महत्त्वपूर्ण छ । जबसम्म सुरक्षाको इन्स्योरेन्स हुँदैन तबसम्म लगानीको सम्भावना छैन । अहिले भएको आगजनी तथा तोडफोडको निष्पक्ष ढंगले छानविन गरेर कारबाही गर्नुपर्छ । २०४६ यताका सबै प्रकारका आन्दोलनमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’ महासंघले उद्योग व्यवसाय सञ्चालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । अध्यक्ष ढकालले निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।
शहीदको सपना र नयाँ नेपालको यात्रामा लेमिनार टायल्सको प्रतिज्ञा
काठमाडौं । नेपालको युवापुस्ता ‘जेनजी’ को साहस र नेतृत्वले राष्ट्रको इतिहासमा नयाँ अध्याय सुरु भएको भन्दै लेमिनार टायल्सले शहीदहरूको बलिदानलाई स्मरण गर्दै परिवर्तनलाई स्वागत गरेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी सबै नेपालीसँग मिलेर यो परिवर्तनलाई स्वागत गर्दछौं । यो यात्राले अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो कामना छ।’ लामिनार टायल्सले प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई दिंदै नेपाललाई उज्ज्वल भविष्यतर्फ अघि बढाउन उनलाई सबैको सद्भाव र समर्थन मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ । स्वदेशी ब्रान्डका रूपमा लामिनार टायल्सले पुन: निर्माण, प्रगति र सबैका लागि अझै राम्रो भोलिको यात्रामा निरन्तर योगदान दिने प्रतिबद्धतासमेत जनाएको छ ।
रौतहटमा प्राइम सिरामिकको १.३ मेगावाट सौर्य ऊर्जा परियोजना कार्यान्वयन सुरु
काठमाडौं । हरित टाइल उत्पादक प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनतर्फ थप कदम चालेको घोषणा गरेको छ । कम्पनीले रौतहटस्थित आफ्नै कारखानामा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना स्थापना गर्ने कार्य सुरु गरेको हो । यस प्लान्टबाट वार्षिक १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । यसले करिब ८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण गर्नेछ भने हरेक वर्ष २१ हजार रुख बचत गर्ने बराबरको योगदान पुग्ने कम्पनीले जनाएको छ । उत्पादित स्वच्छ ऊर्जा प्रत्यक्ष टाइल उत्पादन प्रक्रियामा प्रयोग हुने भएकाले यसले प्राइम टाइल्सको वातावरणीय योगदानलाई थप उच्च स्तरमा पुर्याउने विश्वास गरिएको छ । 'दिगोपनासँग घर फर्कनुहोस्... आफ्नो घरलाई प्राइम टाइल्सले सजाउनुहोस्' भन्ने मूल नारासहित कम्पनीले यस परियोजनाबाट हरित प्रवर्द्धनमा अग्रणी भूमिका खेल्ने लक्ष्य लिएको छ। सौर्य ऊर्जा परियोजनाको कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले डीकेटीआइ कार्यक्रमअन्तर्गत वित्तीय सहयोग उपलब्ध गराएको छ । सहयोग सम्झौता कार्यक्रममा एइपिसीका कार्यक्रम अधिकृत निरज सापकोटा, कार्यकारी निर्देशक नवराज ढकाल, प्राइम सिरामिकका अध्यक्ष आशिष गर्ग, प्राइम रिन्यूएबल्सका वरिष्ठ प्रबन्धक सञ्जय शाह र प्राइम सिरामिकका वरिष्ठ प्रबन्धक गोपाल मिश्राको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।