गोरखकाली टायर लगायत सरकारी उद्योगलाई पुनः सञ्चालन गरिने, बजेटमा घोषणा हुने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी लगानीका बन्द अवस्थामा रहेका उद्योगहरु पुनः सञ्चालन गर्ने योजना बनाएको बताएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँग कुरा गर्दै उनल गोरखकाली टायर लगायत बन्द अवस्थामा रहेका उद्योगहरु पुनः सञ्चालन गरिने गरी योजना बनिरहेको बताएका हुन् । उनले त्यसका लागि तयारी भइरहेको पनि बताएका छन् । गोरखकाली टायर लगायत दुई÷तीन वटा उद्योगलाई कुन मोडालिटीमा पुनः सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । त्यसका लागि बजेटमा पनि केही विषय उल्लेख हुनेछ,’ अर्थमन्त्री वाग्लेले भने । यस्तै, उनले सरकार तामझामका साथ मान्छेलाई थुन्नेमा नलाग्ने पनि बताएका छन् । ‘वर्षौंदेखि अनुसन्धान भएर दर्ता भएर रोकिएका मुद्दा लाई अगाडि बढाइएको हो । ग्रे लिस्टबाट निस्किनका लागि सरकार सक्रिय भएको लागिरहेको छ,’ उनले भने । उनले सरकारको एक्सन जेठ १५ मा आउने पनि बताएका छन् । जेठ १५ गते आर्थिक आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । उनले निजी क्षेत्रलाई चलायमान हुने गरि सहज बनाउने बताउँदै तर सबैले कानुन पालना गर्नुपर्ने उल्लेख गरे । गोरखकाली टायर उद्योग २०७२ सालदेखि पूर्णरुपमा उत्पादन बन्द भएको थियो । गोरखाको गोरखा नगरपालिका वडा नम्बर १३ स्थित मझुवा देउरालीमा यसको उद्योग छ । हाल उद्योग परिसर झाडीमा परिणत भइसहेको छ । गोरखकाली टायर उद्योगको शिलान्यास पञ्चायती शासनकालमै भएको थियो । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा यो उद्योगको शिलान्यास गरेका थिए । २०४९ सालदेखि यो उद्योगले व्यावसायिक रूपमा उत्पादन थालेको थियो । चार सय बढी कर्मचारी यस उद्योगमा कार्यरत थिए भने पछि उद्योग बन्द भएसँगै सबै बेरोजगार बनेका थिए । उद्योगले टायर उत्पादन थालेसँगै राम्रो बजार पाएको थियो । यो बिचमा गठन भएका सरकारले गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने नीति अगाडि सारे पनि कार्यान्वयन भने कुनै पनि सरकारले गरेनन् । अहिले बालेन शाह नेतृत्वको सरकारले भने यो उद्योगलाई प्राथमिकताका साथ हेरेको बुझिएको छ ।
चन्द्र ढकाल–हेमराज टीमबाट ४ वटा प्रदेश अध्यक्ष निर्वाचित, अन्य प्रदेशमा पनि पकड जमाउँदै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट ४ जना प्रदेश अध्यक्षहरू निर्वाचित भएका छन् । महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशनमध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन् । जस अनुरुप गण्डकीमा उक्त समुहका नरेश कँडेल सर्वसम्मतीमा अध्यक्ष भएका हुन् । उक्त प्रदेशको शुक्रबार अधिवेशन सम्पन्न भएको थियो । यसैगरी मधेशबाट विजय शाह र कर्णालीबाट धनबहादुर ओली सर्वसम्मतीमा निर्वाचित भएका हुन् । यसैगरी आइतबार सम्पन्न कोशी प्रदेशको निर्वाचनमा पनि चन्द्र–हेमराज ढकाल समुहबाट राजेन्द्र बहादुर राउत भारी मतान्तरले विजयी भएका छन् । उनी खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ प्रदेश अध्यक्षहरुको भुमिका महत्वपूर्ण हुन्छ । हालसम्म ५ वटा प्रदेशको अध्यक्ष चयन भएकोमा ३ प्रदेशको अध्यक्ष चन्द्र–हेमराज समुहबाट हुँदा त्यसले आगामी निर्वाचनमा ठूलो महत्व राख्नेछ ।
गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर राजबहादुरले किने, प्रिमियम मूल्यमा कारोबार
काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीको १५ प्रतिशत सेयर उद्योगी राजबहादुर शाहले खरिद गरेका छन् । गोर्खा ब्रुअरी र जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका सञ्चालक शाहबीच १५ प्रतिशत सेयर खरिद बिक्रीको सहमति भएको हो । गोर्खा ब्रुअरीमा हाल करिव एक अर्ब ३० करोड रुपैयाँ सेयर पुँजी रहेको छ । त्यसको शाहले १५ प्रतिशतसम्म सेयर खरिद गर्ने सहमति भएको हो । सो सेयर प्रिमियम मूल्यमा खरिदबिक्री गर्ने सहमति भएको उच्च स्रोतले बतायो । तर कति प्रिमियम मूल्य थपेको भन्ने विषय स्रोतले खुलाएन । बहुराष्ट्रिय कम्पनी काल्सवर्ग समूहको हाल सतप्रतिशत लगानी रहेको गोर्खा ब्रुअरीमा अब नेपाली व्यवसायी शाह पनि संलग्न भएका छन् । ‘गोर्खा ब्रुअरी आफैमा ब्राण्डेड छ । नेपाली उद्योगमा स्थापित जावलाखेल ग्रुप पनि त्यसमा आवद्ध भएपछि अब एकअर्काको परिपूरकका हिसाबले कम्पनी अगाडि बढ्नेछ,’ स्रोतले भन्यो । गोर्खा ब्रुअरीले बियर मात्र उत्पादन गर्दछ । यसका उत्पादन काल्सवर्ग र टुर्बाेग नेपालमा सर्वाधिक रूचाइने वियर हुन् । जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजका विस्की, भोड्कासहित विभिन्न ब्राण्ड नेपाली बजारमा अग्रणी स्थानमा छन् । राजबहादुर शाह परिवारको लगानीमा सञ्चालित जाउलाखेल ग्रुप अफ डिस्ट्रिलरी अन्तर्गत हाल विभिन्न २१ ब्राण्डमा मदिरा उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ । व्यक्तिगत तर्फबाट सबैभन्दा बढी आय कर तिरेका जनाउँदै उनी र उनको बुबा विजय बहादुर शाहलाई नेपाल सरकारले पटक पटक उच्च करदाता सम्मान दिएको छ । गोर्खा ब्रुअरीको स्थापना काल्सवर्ग र खेतान समूहको संयुक्त लगानीमा भएको थियो । सुरुमा यस कम्पनीको व्यस्थापन खेतान समूहकै नेतृत्वमा थियो । पछि खेतान समूहले यसको सेयर बेचेर घटाउँदै लगेको थियो । २०८१ साउनमा खेतान ग्रुपको स्वामित्वमा बाँकी रहेको ९.९४ प्रतिशत सेयर पनि कार्लसबर्ग ग्रुपले खरिद गरेको थियो । खेतान समूहले सो सेयर काल्सवर्गलाई नै बिक्री गरेपछि सतप्रतिशत स्वामित्व काल्सवर्गको रहेको थियो ।