श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आज भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतका दरले ३ लाख ९ हजार ९३८ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
वैशाखदेखि बन्द रहेको हेटौंडा सिमेन्टको पुनः उत्पादन सुरु
काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगका मेसिनहरू मर्मत सम्भार सकिएपछि आजदेखि उत्पादन सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहले बताए । मेसिनमा समस्या देखिएपछि गत वैशाखदेखि उद्योग बन्द भएको थियो । मेसिन मर्मत गरी कोइला व्यवस्थापन भएपछि उत्पादन सुरु गरिएको निमित्त महाप्रबन्धक साहले जानकारी दिए । ‘उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो । सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने सर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौँ । ‘कोइलाको व्यवस्थापनसँगै हामीले उत्पादन सुरु गरेका छौँ,’ उनले भने । विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायत कारण उद्योग बन्द हुने खुल्ने क्रम चलिरहेको छ । यसअघि गत वैशाख दोस्रो सातादेखि उद्योग सञ्चालन गरी करिब एक लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । उद्योगसँग धादिङको जोगीमारा तथा मकवानपुरको ओख्रे, मजुवा र भैँसे गरी चार ठाउँमा चुन ढुङ्गा खानी छ । पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसार कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजारलगायत समस्याका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको निमित्त महाप्रबन्धक साहको भनाइ छ ।
करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा विस्तार
काठमाडौं । करेन्ट नुडल्सका उत्पादक यसोदा फुड्स प्रालिले लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ। बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटले पाएको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, यसोदा फुड्सले हरितालिका तीजको अवसर पारेर नयाँ शाखा सुरु गरेको हो । नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकार उपलब्ध हुनेछन् । विशेषगरी नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिज पकेट जस्ता नयाँ र आकर्षक परिकारको स्वाद लिन सकिने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसार मसला र स्वाद रोज्न सक्ने सुविधा पनि पाउनेछन् । उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले करेन्ट पोइन्टले बुटवल र अनामनगरमा पाएको अपार माया र सफलताले आफूहरूलाई काठमाडौंमा थप विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, 'काठमाडौंका नुडल्स पारखी, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेका लागि शंखमूललाई नयाँ गन्तव्य बनाउन हाम्रो लक्ष्य हो । यो नयाँ यात्राले उपभोक्ताको स्वादलाई अझ उचाइमा पुर्याउने अपेक्षा राखेका छौं ।' त्यस्तै, यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्सबारे विस्तृत जानकारी प्रस्तुत गरे ।