उद्योगमा दैनिक ९ घण्टासम्म लोडसेडिङ, प्राधिकरण भन्छ- भए पो दिनु
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङको ‘परफरमेन्स जोगाउन’ खोज्दा औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ हुन थालेको छ । प्राधिकरणले भारतबाट विद्युत खरिद गरेर ल्याउने गरेको र सोही विद्युत नेपालका उद्योगहरुलाई दिने गरिएको थियो । तर, पछिल्ला दिनहरुमा भारतीय बजारमा नै विद्युतको मूल्य उच्च भएका कारण प्राधिकरणले आयात नगर्दा नेपालका उद्योगले विद्युत पाउन सकेका छैनन् । प्राधिकरणले भारतबाट विडिङ मार्फत विद्युत खरिद गर्ने गरेको थियो । नेपाल विद्युत प्राधिकरणले पिक आवरमा नै विद्युत कटौती गर्न थालेको व्यवसायीले बताएका छन् । भारतबाट विडिङ मार्फत खरिद गर्दा पर्याप्त मात्रामा बिद्युत नपाइएको भन्दै प्राधिकरणले सूचना नै जारी गर्दै विद्युत कटौती गर्न थालेको उनीहरुको भनाई छ । प्राधिकरणले विडिङ मार्फत विद्युत नपाएको भन्दै शनिबार र आईतबार साँझ ६ बजेदेखि बिहान ३ बजेसम्म सूचना नै जारी गरेर विद्युत कटौती गरेको थियो । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले उद्योगीले गत मंगलबारदेखि नै पर्याप्त विद्युत नपाएको बताए । ‘गत मंगलबार र बुधबार प्राधिकरणले बिनाजानकारी विद्युत कटौती गरेको थियो, हामीले गुनासो गरेपछि अहिले समस्या उस्तै हो, तर विद्युत कटौती हुनुपूर्व जानकारी आएको छ’, अध्यक्ष गुप्ताले भने । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्वल कसजु रुपन्देही क्षेत्रका उद्योगले विद्युत नपाएको र आएको समयमा पनि कम क्षमताको आएकोले समस्या उत्पन्न भएको बताए । ‘अहिले विद्युत ट्रिपिङको समस्या व्यापक छ, यहाँ धेरै प्लास्टिक उद्योगहरु छन्, एक पटक मेसिन सञ्चालन गर्याे तात्न नपाउँदै विद्युत जान्छ, विद्युत आउँदासम्म मेसिन सेलाइसक्छ, बिना जानकारी विद्युत कटौती हुँदा मेसिनमा रहेको प्लास्टिक निकाल्दै १ डेढ घण्टा लाग्छ,’ अध्यक्ष कसजुले भने । उनले साँझको समयमा भन्दा बिहान दिउँसो विद्युत ट्रिपिङको समस्या रुपेन्देही क्षेत्रमा धेरै रहेको बताए । ‘साँझको पिक आवरमा बरु खासै समस्या छैन, यता बिहान र दिउँसो समस्या धेरै छ,’ उनले थपे । कसजुका अनुसार प्राधिकरणले बिना जानकारी आफुखुशी विद्युत कटौती गर्दा रुपन्देही क्षेत्रका उद्योगीलाई धेरै समस्या हुने गरेको छ । सिद्धार्थ नगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्मप्रसाद न्यौपाने भने प्राधिकरणले रातभर उद्योग नचालउन मौखिक जानकारी गराएको बताउँछन् । ‘प्राधिकरणबाट लिखित रुपमा भनिएको त होइन तर, मौखिक रुपमा बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म ११ र ३३ केभीए प्रसारण लाइनको उद्योग नचलाउनु भन्ने अनुरोध आएको छ, हामीले पनि चलाएका छैनौं,’ अध्यक्ष न्यौपानेले भने । संघले भैरहवा क्षेत्रका उद्योगहरुलाई रातको समयमा नचलाउन प्राधिकरणबाट अनुरोध आएको जानकारी गराएको छ । उनले महंगोमा विद्युत खरिद गरेर भएपनि उद्योगलाई पर्याप्त मात्रामा विद्युत दिनुपर्ने बताए । प्राधिकरणका प्रवक्ता सुरेशवहादुर भट्टराईले भारतबाट विडिङबाट पर्याप्त मात्रामा विद्युत नपाउँदा उद्योगीले मागेजति दिन समस्या भएको बताए । ‘विडिङबाट बिजुली पाएको अवस्थामा उद्योगलाई बिजुली दिने हो, एकै समयमा धेरैले बिडिङ गर्दा अहिले नपाउने समस्या भएको छ, विडिङबाट बिजुली नपाउँदा उद्योगलाई आवश्यकता अनुसार बिजुली दिन समस्या भयो,’ भट्टराईले भने । उनले प्राधिकरणले समय नै तोकेर विद्युत कटौती नगरेको दाबी गरे । केही स्थानमा काटौती भए पनि धेरै ठाउँमा विद्युत सुचारु भएको उनले भनाई छ । प्राधिकरणले यसअघि भारतबाट महंगो शुल्कमा विद्युत खरिद गरेर भएपनि उद्योगीलाई विद्युत दिने घोषणा गरेको थियो । प्राधिकरणले नेपालमा अब लोडसेडिङ नहुने तथा विद्युतको खपत बढाउनु पर्ने तर्क गरिरहेको थियो । उद्योगले विद्युत नपाएको गुनासो गरेपछि गत बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै सोही साँझदेखि नै औद्योगिक क्षेत्रले नियमित विद्युत पाउने दाबी गरेका थिए । उनले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा विद्युत खरिद गरेर भएपनि बिहीबारसाँझदेखि नियमित रुपमा विद्युत आपूर्ति हुने बताएका थिए । प्राधिकरणले यस्तो दाबी गरेपनि आफूहरुले पर्याप्त मात्रामा विद्युत नपाएको उद्योगीको गुनासो छ । भारतबाट सस्तो मूल्यमा पाउँदा मात्रै विद्युत उपलब्ध गराउने र केही महंगो हुने वित्तिकै आपूर्ति रोकेर प्राधिकरणले गैरजिम्मेवार काम गरेको एक उद्योगीले बताए । ‘प्राधिकरणका कार्यकारी निर्देशकले प्रतियुनिट ३८ रुपैयाँमा किनेर उद्योगलाई ९ रुपैयाँमा विद्युत दिइरहेका छौं भनेर पत्रकार सम्मेलन नै गर्नुभयो, तर उद्योगले विजुली पाएका छैनन्, प्रतियुनिट ४÷५ रुपैयाँमा विद्युत पाउँदा हामीलाई बढी खपत गर भन्ने, जति पनि दिन्छौं भनेर हामीसँग सम्झौता नै गर्ने तर केही महंगो हुने वित्तिकै लोडसेडिङ गर्ने ? यो त सम्झौताको उल्लघन हो, विद्युत प्राधिकरणले अहिले गरे जस्तै व्यवहार आयाल निगमले गर्ने हो भने त नेपालमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास नै नपाइने रहेछ,’ एक उद्योगीले भने । उनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको परफरमेन्स जोगाउन प्राधिकरणले उद्योगलाई विजुली नदिएको आरोप पनि लगाए । ‘प्राधिकरणलाई यति अर्ब नाफामा लग्यौं भनेर उहाँहरुलाई देखाउने रहर होला त्यसैले अलिकति महंगो हुने वित्तिकै विद्युत आयात बन्द गरिदिनु हुन्छ, विद्युत भएन भने उद्योग चलाउन सकिदैन, विद्युत आयात रोकिदा नेपालमा चल्ने उद्योग बन्द हुने भए, उद्योग बन्द गरेर आयात बढाउने र व्यापार घाटा अझै बढाउने प्राधिकरणको भूमिका हुनुहुदैन,’ ती उद्योगीले थपे । अर्का एक उद्योगीले आफूहरुसँग पीपीए गरेभन्दा बढी विद्युत उपलब्ध भएपनि प्राधिकरणले खरिद नगरेको आरोप लगाए । निजी क्षेत्रका उर्जा उत्पादकहरुसँग अहिले कम्तिमा पनि १ करोड युनिट विद्युत थप उत्पादन गर्न सक्ने क्षमता भएकोले प्राधिकरणले त्यसको उपयोग गर्नुपर्ने उनको भनाई छ । ‘अहिले निजी क्षेत्रका उर्जा उत्पादकसँग पीपीएबाहेकको कम्तिमा पनि १ करोड युनिट विद्युत छ, यो वर्ष चाढै गर्मी लागेकोले हिउ पग्लिएर बढी उत्पादन हुन सक्ने अवस्था सिर्जना भएको हो, प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँमा खरिद गर्छु भन्ने वित्तकै थप १ करोड युनिट विद्युत पाउने अवस्था छ, यस्तो अवस्था स्वदेशमै भएको बेलामा भारतबाट प्रतियुनिट ३८ रुपैयाँ तिरेर विद्युत ल्याउनै पर्दैनथ्यो,’ ती उद्योेगीले भने । उनले १ करोड युनिट विद्युत आयातमा प्राधिकरणलाई २९ करोड रुपैयाँ लाभ हुने अवस्था भएपनि प्राधिकरणले त्यसरी विद्युत खरिद नगरेको बताए । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भने यो कुरा मान्न तयार छैनन् । निजी क्षेत्रका उर्जा उत्पादकसँग विद्युत खरिद गर्ने जिम्मेवारी आफ्नै विभागको भएको भन्दै उनले थप विद्युत दिन सक्ने उद्योगीले आफूसँग सम्पर्क गर्न आग्रह गरे । ‘कुनै उत्पादकसँग थप विद्युत छ भने मलाई नै आएर भन्नुहोस्, मैले नै खरिद गर्ने हो, खरिद गर्छु, सस्तो लोकप्रियताको मिडियामा भन्दै हिडेर हुँदैन, भारतमा प्रतियुनिट ३८ रुपैयाँले विद्युत खरिद गरिरहेका छौं भने नेपालमा त्योभन्दा सस्तो दरमा विद्युत नपाउने भन्ने कुरा नै हुँदैन,’ भट्टराईले भने ।
अमेरिकासहित ६ देशमा जस्तापाता निर्यात गर्दै जगदम्बा स्टिल्स
काठमाडौं । जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देश निर्यातको सुरुवात गरेको छ । कम्पनीले पहिलो पटक स्टिल तेस्रो देश निर्यात सुरु गरेका हो । कम्पनीले हाल उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात सुरु गरेको हो । सो देशहरुमा कम्पनीका उत्पादनको उच्च माग रहेको जनाइएको छ । जगदम्बा स्टिल्सले केही समय अगाडिमात्रै ‘सीआर सिट एंड कोइल्सहरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो । कम्पनीले ग्याल्भा प्लसमा एन्टी कोरोजन प्रविधिसहित निर्माण गरिएको भन्दै खिया नलाग्ने, पाताको प्रारम्भिक क्षति रोक्ने र लामो समयसम्म टिकाउ हुने जनाएको छ । ग्याल्भामा एल्युमिनियम जिंक कोटिङ गरिएका कारण भारी वर्षा, उच्च आद्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता रहेको छ । साथै, सामान्य उत्पादनले गर्मीमा धेरै गर्मी र चिसोमा धेरै चिसो तापक्रम दिने गर्छ तर, नयाँ उत्पादनले उक्त ताप नियन्त्रण पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जगदम्बा ग्याल्भा प्लसमा अलोय कोटिङ गरिएको छ । जसमा तौलको हिसाबले ५५ प्रतिशत एल्मुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित गरिएको छ । कम्पनीले अन्य उत्पादनको तुलनामा जगदम्बा ग्याल्भा १० गुण बढी टिकाउ रहेको दाबी गरेको छ । टिकाउपन बढे पनि मूल्यमा भने परिवर्तन हुनेछैन । जगदम्बा स्टिल्सका सेल्स म्यानेजर भानु भट्टराई भन्छन्,’हामीले गुणास्तर वृद्धि गरेपछि आम उपभोक्तालाई मूल्य पनि बढ्ला भन्ने लाग्न सक्छ तर, मुल्य तत्काल बढ्दैन ।’ यस्तैगरी जगदम्बा सुपर शाइन प्रिमियर रंगद्धारा कोटिङ गरिएका पाताहरुले उत्कृष्ट रंग प्रविधि प्रयोग गरिएको छ । जसले पेन्ट फुट्न र चर्किनबाट रोक्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले हाल एक लाख ३२ हजार टन ग्याल्भा प्लस र एक लाख १० हजार टन सुपर शाइन उत्पादन गर्दै आएको छ । नेपालमा दुवै उत्पादन गरेर दुई लाख ५० हजार मेट्रिक टन खरिद गरिरहेको कम्पनीले जनाएको छ । उद्योगको कुल उत्पादन क्षमताको ४० प्रतिशत उत्पादन निर्यात गर्ने गरी काम गरिरहेको जनाएको छ । वाषिर्क ठूलो व्यापार घाटा खेपिरहेको नेपालका लागि स्टिलजन्य वस्तु निर्यात खुसीको कुरा भएको जगदम्बा ग्रुपले जनाएको छ । कम्पनीले निर्यातका लागि भारतबाट जनशक्ति ल्याएर छुट्टै निर्यात युनिट खडा गरेर काम गरिरहेको छ । शंकर ग्रुप अन्तरर्गत जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो । सो कम्पनीले वार्षिक रुपमा ३ हजार मेट्रिक टन फलामे छड उत्पादन गर्दै आएको छ । जगदम्बा स्टिल रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी हो ।
कुलमानलाई प्रश्न : जानकारी नै नदिई लाइन काट्दा प्राधिकरणले क्षतिपूर्ति तिर्नु पर्दैन ? (भिडियोसहित)
काठमाडौं । मंगलबार नेपाल विद्युत प्राधिकरणले एक्कासी विभिन्न औद्योगिक करिडोरको विद्युतको लाइन कटौती गर्यो । बिना जानकारी प्राधिकरणले बिद्युत कटौती गरेको भन्दै उद्योगीहरु प्राधिकरणको विरोध गरिरहेका छन् । उनीहरुले पूर्व जानकारी नदिई बिद्युत कटौती गर्दा दैनिक ५० करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको गुनासो गरिरहेका छन् । विद्युत लाइन कटौती गर्नुको कारण बताउन बिहीबार प्राधिकरणले पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले मूल्य बढाएकोले केही दिन विद्युत कटौती गर्नु परेको र आज १२ बजेदेखि निरन्तर विद्युत आपूर्ति हुने बताए । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले उनलाई प्रश्न गरेका छन् । भारतले प्रतियुनिट बिजुलीको मूल्य ३८ रुपैयाँ लिएको छ, नेपालमा पनि मूल्य बढ्ने भएको हो ? उद्योगीहरु तपाईंहरुले भनेको मूल्य तिर्न तयार छन् कि छैनन् ? भारतले प्रतियुनिट बिजुलीको मूल्य २० भारतीय रुपैयाँमा लिन्छ । यो भनेको नेपाली ३१ रुपैयाँ हो । त्यसमा पुनः ६ रुपैयाँ अतिरिक्त शुल्क लाग्छ । समग्रमा हामीले प्रतियुनिटको ३८ रुपैयाँ तिर्नु पर्ने हुन्छ । हामीले भारतसँग महँगो मूल्यमा विद्युत खरिद गरेपछि उपभोक्ता र उद्योगलाई बढ्छ भन्ने अनुमान होला, तर कसैलाई पनि मूल्य बढ्दैन । हामीले उद्योगीहरुलाई केही मूल्य सेयरिङ गर्न सकिन्छ की भनेर बोलाएका थियौं । तर, उहाँहरुको सहमति बिना मूल्य बढाउन सम्भव छैन । हामी एकतर्फी रुपमा मूल्य घटाउँदैनौं । भोलि प्राधिकरणले आयात गरेको बिजुलीको पैसा तिर्न सकेन भने सरकार तिर्न तयार छ की छैन ? यो समस्या लामो समय रह्यो भने डेढ महिना रहन्छ । हामीले अर्थमन्त्रालयसँग आग्रह पनि गरेका छौं । यो केही निश्चित समयका लागि महंगो हो । केही समय अगाडि त हामीले सस्तोमै दिएका छौं । यसले हामीलाई धेरै ठूलो असर गर्दैन । यो भनेको सरकारको पनि दायित्व हो । प्राधिकरण भनेको सरकारको एउटा अंग हो । यो समस्या धेरै माथि जाँदैन भन्ने हामीलाई थाहा छ । अन्तर्राष्ट्रिय रुपमा सबै वस्तुको मूल्य बढिरहेको छ, अझै मूल्य बढ्यो भने हामी धान्न सक्ने अवस्थामा छौं कि छैनौं ? यो सरकार हो, धान्न नसक्ने भन्ने कुरा हुँदैन । हामीलाई धेरै ठूलो उर्जा आयात गर्नु पर्ने अवस्था छैन । थोरै समयमा प्राइस एडजस्टमेन्ट गर्ने हो । प्राधिकरणले उद्योगीहरुले बिजुलीको बिल ढिला तिर्दा विद्युत् कटौती गर्छ अर्थात कारवाही गर्छ । तर, प्राधिकरणले जानकारी नदिई उद्योगको विद्युत् काटेको छ, यसमा प्राधिकरण किन जिम्मेवार नदेखिएको ? तपाईंहरुले क्षतिपूर्ति किन नतिर्ने ? हामी जिम्मेवार नै छौं । जिम्मेवार भएर नै ३८ रुपैयाँमा किनेको बिजुली ९ रुपैयाँमा बेच्दैछौं । प्राधिकरण जिम्मेवार भएर नै भारु २० रुपैयाँमा खरिद गरेको विद्युत ९ रुपैयाँमा बिक्री गरेको हो । हामी जिम्मेवारी नभएको भए दैनिक ५/६ घण्टा उद्योग बन्द गर्न भन्न सकिन्थ्यो नि । हामी जिम्मेवारी भएर नै नेपालमा उद्योग खोल्नुपर्छ भनेर नै घाटा खाएर विद्युत दिन लागेका हौं । हामीले एभरेज रुपमा उपभोक्तालाई ९ रुपैयाँ ९० पैसा र उद्योगलाई ९ रुपैयाँमा बिजुली दिने गरेका छौं । अहिले हामीले केही समयका लागि महँगोमा बिजुली दिन खोजेका हौं । लामो समयको कुरा होइन ७ दिनदेखि १५ दिनको समयका लागि हुन सक्छ । हामीले घाटा खाएर नै कम मूल्यमा बेचिरहेका छौं । अझै पनि ४ महिना विद्युत् आयात गर्नुपर्ने अवस्था छ । तर, प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) किन रोकेको ? हामीले पीपीए रोकेका छैनौं । हामीले पीपीए रोकेका होइनौं, बिजुली थपिएकै छन् । नयाँ कम्पनी आइरहेका छन् । ६ हजार मेगावाट निर्माणाधीन छन् । असारसम्म ३ सय मेगावाट थप हुन्छ । बिद्युत उत्पादन बढिरहेको छ । हामीले हाम्रो कोटाको पीपीए रोकेका छैनौं । बर्खायाम सुरु हुन लाग्यो हामीले निर्यात गर्न सक्छौं, कसैलाई पनि लोडसेडिङ हुँदैन, हामी हुन दिँदैनौं । अहिले अचानक आएको संकट हो, बेला बेला भै’राख्छ । तर हामी लोडसेडिङ हुन दिँदैनौं । हामी म्यानेज गर्छौं ।