काठमाडौं । करिब १५ दिनको अवधिमा उद्योगीले दुई पटकसम्म सिमेन्टको मूल्य बढाएका छन् । गत फागुन अन्तिम साता प्रतिबोरा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म मूल्य बढाएका उद्योगीहरुले पुनः मूल्य बढाएका हुन् ।
करिब १५ दिनपछि उद्योगीले पुनः ३५ देखि ४० रुपैयाँसम्म मूल्य बढाएको बताएका छन् । निर्माण सामग्री व्यापार संघ काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले सिमेन्टको मूल्य बढेको बताए ।
उनका अनुसार केही उद्योगीले प्रतिबोरा ४० रुपैयाँसम्म मूल्य बढाइसकेका छन् भने केहीले मूल्य बढाउने तयारी गरेका छन् ।
‘केही दिन अघिमात्र मूल्य बढाएका सिमेन्ट उद्योगीले पुनः मूल्य बढाएका छन्, उनीहरुले आफूखुशी १५ दिनको अवधिमा २ पटकसम्म मूल्य बढाउँदा उपभोक्ता मारमा परे’, उनले भने, ‘सिमेन्ट उद्योगी पनि छड उद्योगीको देखासिकीमा लागे ।’
यसअघि करिब १ महिनाको अवधिमा छड उद्योगीले अन्तर्राष्ट्रिय बजारमा छडको मूल्य बढेको भन्दै नेपालमा मूल्य बढाएका थिए । छड उद्योगीले आफूखुशी मूल्य बढाएपछि त्यसको सिकोमा सिमेन्ट उद्योगी लागेको उनको भनाइ छ ।
‘अहिले अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ, उद्योगीले विभिन्न बहाना बनाउँदै मूल्य बढाएका छन्, नियमनको जिम्मा पाएका सरकारी कार्यालयले मूल्य बढ्दा पनि कुनै ध्यान दिएका छैनन्,’ उनले भने ।
उनले उद्योग मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको बाहानामा व्यवसायीलाई मात्र दुःख दिने गरेको बताए । ‘मूल्य बढाउने हामीले हैन, उद्योगीले आफूखुशी मूल्य बढाउँछन्, त्यसको असर हामीलाई कार्बाही हुन्छ’, उनले भने ।
यसअघि कम्पनी अनुसार ७०० रुपैयाँदेखि ८०० रुपैयाँ रहेको ओपीसी सिमेन्ट हाल ८५० रुपैयाँ पुगेको छ । त्यस्तै, ६८० रुपैयाँदेखि ७०० रुपैयाँ रहेको पीपीसी सिमेन्टको मूल्य हाल ७५० रुपैयाँ पुगेको छ । ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा १०० फरक परेको उनको भनाइ छ ।
यस्तै, हाल बजारमा छडको मूल्य प्रतिकिलो १३० रुपैयाँदेखि १४० रुपैयाँसम्म पुगेको छ । उद्योगीले फ्याक्ट्रिबाटै भ्याससहित प्रतिकिलो ११६ रुपैयाँ तोक्ने गरेको व्यवसायीहरुले बताएका छन् ।
निर्माण सामग्री वितरकहरुले उद्योगीले मूल्य बढ्नुको कारणसहित मूल्य बढाउनुपर्ने माग राख्दै आए पनि बिना जानकारी उद्योगीले आफूखुशी मूल्य बढाउने गरेको आरोप लगाए ।
बजार अनुगमनको नियमनकारी निकायको रुपमा रहेको वाणिज्य विभागले छडको मूल्य अत्यधिक बढेको भन्दै उद्योगीसँग मूल्य बढ्नुको कारण माग गरेको छ । केही दिन अघि उद्योगीसँग विभागमा छलफल गरी मूल्य बढ्नुको लिखित जानकारी माग गरेको थियो ।
विभागका निर्देशक हरि पंगेनी केही सिमेन्ट उद्योगले मूल्य बढाएको गुनासो आएको बताए । ‘हामीकहाँ केही उद्योगले मूल्य बढाएको भन्ने गुनासो आएको छ, आएको गुनासो अनुसार सिमेन्ट उद्योग रहेको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन गर्न निर्देशन दिइसकेका छौँ, उहाँहरुबाट अनुगमनको रिपोर्ट आइसकेको छैन’, उनले भने ।
विभागले बजार अनुगमनका लागि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिँदै आएको छ ।