अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा हुने
काठमाडौं । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरुको वर्तमान अवस्था झल्काउनु र उनीहरुको व्यापार प्रवद्र्घन गर्न सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ मेला आयोजना हुँदैछ । मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिँहले जानकारी दिएका छन् । प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने बताइएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा २५० वटा स्टल रहने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने प्रदर्शनीको सह–आयोजकको रुपमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार अन्तरगत उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायत विभिन्न सरकारी निकाय तथा विभिन्न उद्योग, बैंक तथा व्यवसायिक संघसंस्थासँगको सहकार्यमा मेला आयोजना हुने महासंघले जनाएको छ ।
‘एक जिल्ला एक उद्योग’ कार्यक्रमका लागि बजेट अभाव
कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि बजेट अपुग भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ‘एक जिल्ला एक उद्योग’ सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण उक्त कार्यक्रम कार्यान्वयनमा कठिन भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशालयले जनाएको छ । निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेशका नौवटै जिल्लामा सो कार्यक्रमका लागि ५ लाख रुपैयाँमात्र बजेट विनियोजन गरेको छ । उक्त बजेट अत्यन्तै न्यून रहेको जनाइएको छ । प्रदेश सरकारले उद्योग कार्यक्रममा लागि न्यून बजेट विनियोजन गरेका कारण कार्यान्वयनमा कठिनाइ भएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका सूचना अधिकारी यशोदा बोहराले बताइन् । उनले उद्योग दर्ता गरी उद्योग सञ्चालन गरिरहेका उद्योगीहरूलाई कार्यक्रमका लागि कार्यालयले सूचना जारी गरी प्रदेशका सबै जिल्लाबाट आवेदन संकलनको काम गरिरहेको बताइन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सो कार्यक्रम कार्यान्वयनका लागि संकलन भएका आवेदनबाट अनुदानका लागि छनोट गर्ने जनाएको छ । ‘एक जिल्ला एक उद्योग’ कार्यक्रमअन्तर्गत अहिले प्रस्ताव आह्वान गरी निवेदन संकलनको काम भइरहेकाले छनोटमा परेका उद्योगका लागि चाहिने आवश्यक सामग्री खरिदमा अनुदान दिइने सूचना अधिकारी बोहराको भनाइ छ । विगत तीन आर्थिक वर्षमा उद्योगीले प्रविधि तथा अन्य अनुदानप्राप्त नगरेका उद्योगीलाई प्रविधि खरिदमा अनुदान दिइने कार्यालयले जनाएको छ । ५ लाख रुपैयाँलाई नौ भागमा बाँड्नुपर्ने भएकाले छनोट भएका उद्योगीलाई दामासाहीले रकम बाँडफाँट गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । उद्योगीले प्रविधि खरिदमा २० र प्रदेश सरकारको ८० प्रतिशत लागत साझेदारीमा अनुदान दिइनेछ । अनुदानका लागि छनोट भएका उद्योगका सञ्चालकसँग सम्झौता गर्ने काम अघि बढाई कार्यान्वनमा ल्याइनेछ । निर्देशनालयमा अनुदानका लागि पेस भएका प्रस्तावमा ६० प्रतिशतभन्दा कम आएमा छनोट नहुने र छनोटका लागि ६० प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान छ । निर्देशनालयको कार्यविधिअनुसार ‘एक जिल्ला एक उद्योग’ कार्यक्रमका लागि अनुदान प्राप्त गर्न कार्यालयमा कम्तीमा तीनवटा प्रस्ताव पेस हुनुपर्नेछ । कार्यक्रमका लागि बढी प्रस्ताव पेस भएमा निर्देशनालयले छनोट गरी प्रतिउद्योगीलाई सो रकमबाट बाँडफाँट गरेर अनुदान दिइने कार्यालयको कार्यविधिमा उल्लेख गरिएको छ । घरेलु कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगलाई प्रविधि खरिदका लागि अनुदानस्वरुप रकम उपलब्ध गराइने निर्देशनालयले जनाएको छ । यसैगरी, निर्देशनालयले प्रदेशमा प्रशोधन तथा उद्योग स्थापनाका लागि प्रोत्साहन कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको जनाएको छ । उक्त कार्यक्रमका लागि निर्देशनालयले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । प्रदेशमा सञ्चालित ठूला तथा मझौला उद्योग प्रोत्साहन कार्यक्रमका लागि ३ करोड रुपैयाँ बजेट विनयोजन गरिएको छ । उक्त कार्यक्रमका लागि प्रदेशमा सञ्चालित ३० वटा उद्योगलाई छनोट गरी अनुदान दिइने सूचना अधिकारी बोहराले जानकारी दिइन् । उक्त कार्यक्रम सञ्चालनका लागि ५० लाख पुँजी भएका ठूला तथा १० देखि २५ लाख पुँजी भएका मझौला उद्योगले प्रस्ताव पेस गर्ने प्रावधान छ । प्रदेश सरकारले निर्देशनालयका लागि चालु आव २०८०/८१ मा कार्यक्रम कार्यान्वयन गर्न जम्मा ६ करोड रुपैयाँ बजेट विनियोज गरेको जनाइएको छ ।
महासंघ अध्यक्ष ढकालको युएई र मंगोलियाका राजदूतसँग भेट, नेपालमा लगानी गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँग भेटवार्ता गरेका छन् । बुधबार युएईका राजदूत अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मंगोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भएको उक्त भेटवार्तामा अध्यक्ष ढकालले नेपालमा लगानी प्रवर्धन गर्न आग्रह गरे । उनीहरूबीच नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यही वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे । युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताको लागि धन्यवाद दिए । उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराए । भेटमा राजदूत अब्दुल्ला अल शम्सीले नेपाल र युएईबीच द्विपक्षीय लगानी सम्झौता को सम्भावनाका बारेमा पनि कुरा राखे । त्यसैगरी मंगोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा कुराकानी गरेका थिए । अध्यक्ष ढकालले नेपालमा जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए । उनले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराए ।