धुलो दूध र नौनीले भरिएपछि बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
चितवन । चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो । आजबाट उद्योग सरसफाइ गरेर सञ्चालन गरिने उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताए । बीस हजार लिटर दूध आइसकेको छ । उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ । धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको उनले जानकारी दिए। उद्योगले दूध प्रशोधन गरेर उत्पादन हुने धुलो दूध र बटर लैजान भनेको छ । प्रशोधन गरेबापत उद्योगले शुल्क लिने गर्दछ । यसअघि नै डेरी एशोएिएसन, सहकारी, निजी डेरी, फार्महरूलाई उद्योगले पत्र पठाएर आजबाट उद्योग सञ्चालन हुने जानकारी गराएको थियो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फार्महरूको दूध भाडामा प्रशोधन गर्दै आएको छ । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएसँगै राख्ने ठाउँको अभावमा उद्योग बन्द भएको थियो । प्रबन्धक पराजुलीका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०–५० टनका तीनवटा चिस्यान केन्द्र तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिनुभयो । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग विसं २०७२को विनाशकारी भूकम्पपछि बन्द भएको थियो । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू ९बटर० को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । एकतीसवटा डेरी उद्योग, निजी फार्म र सहकारीको दूध भण्डारण भएर बसेको छ । अब दूध ल्याउनेले सामग्री तयार भएसँगै तुरुन्तै लैजाने शर्तमा काम गर्न थालिएको हो । पछिल्लो समय दूधको खपत नहुँदा किसान समस्यामा परेका छन् । उद्योग सञ्चालन भएसँगै केही हदसम्म किसान लाभान्वित हुनेछन् । रासस
निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ : उपप्रधानमन्त्री महासेठ
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’ उनले मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताए । यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनले बताए । ‘निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,’ मन्त्री भण्डारीले भने । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। उहाँले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ भने । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोशाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सुझाव दिए । उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं सङ्घका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोशाक रहेको उल्लेख गर्दै निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । उनले निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव पनि दिए । प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै निकासी प्रवद्र्धनमा ध्यान दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रूपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गरे । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन थप सहयोग आवश्यक भएको उनले बताए । नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सुझाव दिए । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरे । नेपाल तयारी पोशाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक उद्योगलाई प्रवद्र्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिए । सन् १९८७ मा स्थापना भएको सङ्घमा एक सयभन्दा बढी तयारी पोशाक उद्योगी आबद्ध छन् । तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको सङ्घले जनाएको छ । गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब रु नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको सङ्घले जनाएको छ । तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छ । गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिए । त्यस अवसरमा उपप्रधानमन्त्री महासेठले सन् २०२२/२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान प्रदान गरेका थिए । सो अवधिमा ट्राई क्रट इन्डस्ट्रिजले रु एक अर्ब १७ करोड, नेपाल फेसन प्रालिले रु ६६ करोड र पल्स फेसन सोलुसन प्रालिले रु ४३ करोडको तयारी पोशाक निर्यात गरेको थियो । सङ्घको कार्यसमितिमा १० वर्षभन्दा बढी समय सेवा गरेका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियोभने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साधारणसभाको सफलताको कामना गर्दै पठाएको शुभकामना सन्देश सुनाइएको थियो ।
अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक नभइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए । उनले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए । उनले चैत्र २८ गतेको महासंघको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेको बताए । निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने उनको भनाइ छ । ‘हामी आग्रह गर्दछौँ कमसेकम इकोनोमिक एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ, इकोनोमिक एजेन्डामा यहाँहरू एक ठाउँमा आउनुभयो भने देशको समृद्धि सहजै सम्भव छ,’ उनले भने, ‘व्यावसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्शन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भन्ने हुन्छ, त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला ।’ उनले चैत्र २८ गतेको महासंघको साधारणसभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेको बताए । उनले निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने बताए । सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेन्ट छिटो पास गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ ।