काम सन्तोषजनक नभएका २१ कम्पनी कालोसूचीमा सूचीकृत
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार ३ कम्पनीलाई दुई वर्षका लागि र १९ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । कार्यालयका अनुसार काम सन्तोषजनक नभएका कम्पनीहरूलाई नियमअनुसार कालोसूचीमा राख्ने गरिएको छ। कालोसूचीमा परेका कम्पनीहरूले सो अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाइएको छ ।
पूर्वाञ्चल ल्युव आयलको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । पूर्वाञ्चल ल्युव आयलले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको करसहित १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २३ गते मोरङमा २६औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयन गर्ने, सञ्चालक समितिको भत्ता, प्रबन्ध निर्देशकहरूको पारिश्रमिक सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
कर्जाको साँवा–ब्याज भुक्तानीको समय सीमा थप गर्न राष्ट्र बैंकलाई महासंघको सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा-ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा।नीलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो । महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको साँवा-ब्याजको किस्ता बुझाउने समय नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेकोले क्षतिले ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकोले साँवा-ब्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए । उनले यो समयमा भएका यी घटना बाहेक नेपालीहरूको महान चाड दशैंको कारण लामो समय सार्वजनिक बिदा पर्न गएको र ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघ-संस्थाहरूबाट समेत अनुरोध भइआएकोले राष्ट्र बैंकसमक्ष सो आग्रह गरिएको बताउनु भयो । सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।