कैलाली उद्योग वाणिज्य संघको नेतृत्व पुष्कर ओझालाई, रोचक प्रतिस्पर्धामा ६१ मतको जित

काठमाडौं । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदमा पुष्कर ओझा विजयी भएका छन् । कुल १ हजार ९४० मत खसेकोमा ओझाले ९५० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतको झिनो अन्तरले पराजित गरे । स्वाँरले ८८९ मत ल्याए ।  चुनावको प्रारम्भदेखि नै ओझा र स्वाँरबीच कडा टक्कर चलेको थियो ।  अन्तिमसम्म पनि अग्रता परिवर्तन भइरहेकै अवस्थामा ओझाले निर्णायक मत ल्याउँदै अध्यक्ष पद प्राप्त गरेका हुन् । यो निर्वाचनमा दुवै उम्मेदवार आफ्ना-आफ्ना प्यानलसहित चुनावी मैदानमा होमिएका थिए। निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिका निभाएका ओझाको नेतृत्वमा प्रस्तुत प्यानलका अधिकांश सदस्यहरू विजयी भएका छन् । यस जितसँगै ओझाले आगामी कार्यकालमा कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । संघभित्र आर्थिक, व्यापारिक र नीतिगत सुधारका अपेक्षा बढिरहेका बेला नयाँ नेतृत्वबाट सदस्यहरू आशावादी छन् । ओझा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्षसमेत हुन् । 

श्रीनगर एग्रीटेकको आईपीओ बिक्री खुला, १० हजार कित्ता आवेदन दिन मिल्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आज असोज २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री पश्चात् आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोष र १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीलाई बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँको २५ लाख १० हजार ४९३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए कात्तिक ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । 

चेम्बरको आग्रह– उद्योगहरू निरुत्साहित नबनाउन निर्यात अनुदान निरन्तर राख्नुपर्छ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुदान बन्द नगर्न सरकारसमक्ष आग्रह गरेको छ ।  शुक्रबार सिंहदरबारमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालसहित पदाधिकारी र कार्यसमितिको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष भेटवार्ता गर्दै निर्यातमा दिँदै आइएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो। आन्तरिक उत्पादनहरूको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको, उत्पादन लागत उच्च भएको अवस्थामा सरकारको पछिल्लो निर्णयले निर्यात निरुत्साहित हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्दै लगानीकर्ताको मनोबल उकास्ने गरी नीतिगत सहजता गर्न चेम्बरले उद्योगमन्त्री सिन्हासमक्ष आग्रह गरेको छ । वर्तमान परिस्थितिमा औद्योगिक तथा व्यावसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न चेम्बरले आग्रह गरेको हो । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग साझेदारी गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने आजको आवश्यकता छ ।’  जेनजीद्वारा गरिएको प्रदर्शनबाट गम्भीर रूपमा प्रभावित उद्योग तथा व्यवसायलाई कर्जाको पुनर्तालिकीकरण, सहुुलियत दरमा कर्जा उपलब्धता एवं पुनर्निर्माणका क्रममा उद्यमी, व्यवसायीले आयात गर्ने सामानमा ५० प्रतिशत भन्सार छुट, अन्तशुल्क छुटको व्यवस्था तथा द्रुतगतिमा बिमा दाबी फर्स्याैट गर्ने नीतिगत व्यवस्थाहरूको चेम्बरले स्वागत गरेको छ ।  यस्तै, मूल्याङ्कनका आधार कारोबार मूल्य हुनुपर्ने, ‘सन्दर्भ पुस्तिका’  हटाइनुपर्ने चेम्बरले लामो समयदेखि उठाउँदै आएको मागलाई हाल सम्बोधन गरिएको, विराटनगर भन्सार कार्यालयबाट अनलाइन मूल्याङ्कन प्रणालीको सुुरुआत गरिएकामा चेम्बरले स्वागत गरेको छ । चेम्बरले ऐन, कानुनमा स्पष्टताको अभावले दबाबमूलक ढङ्गबाट कर उठाउने प्रवृत्तिको अन्त्य गर्न सरकारसमक्ष आग्रह गरेको छ ।  जेनजी प्रदर्शनको मर्मअनुसार युवा उद्यमीहरूलाई छिटो र सजिलो कर्जाको पहुँच दिन तथा सीपमा आधारित व्यवसायलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा चेम्बरले जोड दिएको छ । यस्तै, व्यवसाय दर्ता, कर तथा अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी प्रक्रियालाई पारदर्शी, डिजिटलमैत्री र सरल बनाउन चेम्बरले सुझाव दिएको छ।  मुलुकमा ५० प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको भन्दै चेम्बरका अध्यक्ष अग्रवालले युवालाई रोजगारीको मूलप्रवाहमा ल्याएर आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नुपर्नेमा जोड दिए । चेम्बरका पदाधिकारीसँगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले निजी क्षेत्रमा सुरक्षाको प्रत्याभूतिसहित लगानीमैत्री वातावरण सृजना गरेर अर्थतन्त्रलाई निकास दिन आफूहरू प्रयासरत रहेको बताए । औद्योगिक तथा व्यावसायिक क्षेत्रको सुरक्षाका लागि चेम्बरले राखेको एकीकृत सुरक्षा प्रणालीको अवधारणा उपयुक्त हुने उनको भनाइ छ ।