आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्वमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग भेट गरेको छ । उक्त भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए । ‘महासंघको आग्रहमानया चरणको सुधारकालागिआयोग गठन हुनु सकारात्मक छ’, उनले भने । यसैगरी निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्यालसमक्ष अध्यक्ष ढकालले आग्रह गरे । यसैगरी सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउन पनि आवश्यक रहेको उनले औँल्याए । निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुनहरु बनेकोतर्फ अध्यक्ष ढकालले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरे । भेटमा मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटोछिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउनेसम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे । महासंघ कार्यसमितिले सोमबार मुख्य सचिवअर्यालसंग भेट गरेको हो ।

कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिव प्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै, संघको उपाध्यक्षमा विजय कुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओम प्रकाश अग्रवाल र सदस्यहरुमा क्रमशः केशव कुमार कार्की, विनोद कुमार अग्रवाल, दिलिप कुमार अग्रवाल, मोहित कुमार जैन र प्रशान्त अग्रवाल निर्वाचित भएका छन् । देशभर छरिएर रहेका कत्था उत्पादकहरुको छाता संस्थाको रुपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरु आबद्ध रहेका छन् । वस्तु निकासीमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौलाई रोजगारी प्रदान गरिरहेको छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालबाट २ अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कूल निकासी व्यापारमा यस क्षेत्रको १.४ प्रतिशत योगदान रहेको छ । स्वदेशी कत्था उद्योगहरुले भारत, बंगलादेश, पाकिस्तान लगाएतका छिमेकी मुलुकहरुमा उत्पादन निर्यात गर्दै आइरहेका छन् । शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकोले यसको सम्बर्द्धन र प्रवर्द्धनमा राज्यको अहम भूमीका रहने संघका नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।

त्यसपछि सुरु भयो हिमाली अल्लो तथा सुती कपडा उद्योग…

काठमाडौं । सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन् । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू सङ्खुवासभाबाट चितवन आएका हुन् । चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उनका श्रीमान् देवेन्द्र कुलुङले चितवन आउने निधो गरेका हुन् । मनकलाले भनिन्, ‘हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रणा गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।’ सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्थिन् । त्यसैको जगमा उनी आज एक व्यवसायी बन्न सफल भएकि छिन् । उनले सुनाइन्, ‘म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।’ पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आइन् । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गर्थे । जब उनीहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उनीहरु सदरमुकाम खाँदबारीतर्फ लागे । सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उनका श्रीमानको साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ । कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउँछिन् । उनी भन्छिन्, ‘कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।’ अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ । कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उनीहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौं हो । मनकलाले भनिन्, ‘फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।’ कुनैबेला आफैँ कामदार रहेकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उनी बताउँछिन् । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाइन् । ‘आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो,’ उनले भनिन् । श्रीमानकोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताइन् । देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको भन्दै सुनाए ‘सबै योजना उनकै (मनकला) हो ।’ उद्योगबाट ठूलो सपना नबोक्नुभएका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उनीहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत छन् भने छोरा विद्यालयस्तरमा अध्ययनरत छन् । चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउँछन् । देवेन्द्रले भने, ‘धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ ।’ ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा खुसी लागेको उनले बताए । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।