चितवनका दग्धु किसानले पाएनन् ७४ करोड भुक्तानी

चितवन । चितवनका दुग्ध उत्पादक किसानले ७४ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाएका छैनन् । फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोड रुपैयाँभन्दा बढी भुक्तानी रोकिएको छ । जिल्लाका १ सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो । भुक्तानी माग गर्दै संघले विभिन्न निकायमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत भुक्तानी नपाएको बगाले बताउँछन् । जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये १ लाख ५१ हजार लिटर दूध जिल्ला बाहिर जाने गर्दछ । बगालेका अनुसार काठमाडौं, पोखरा, मकवानपुर, भक्तपुर, ललितपुर लगायतका जिल्लामा यहाँबाट दूध जाने गरेको छ । दूधको भुक्तानी समयमा नहुँदा यसको प्रभाव प्रत्यक्ष रूपमा किसानमा परेको छ । डेरी उद्योगले दूध बिक्री नभएपछि पाउडर र नौनी बनाएर राखेका छन् । ती सामग्री बिक्री नहुँदा भुक्तानी गर्न नसकेको उद्योगहरुले जनाउँदै आएका छन् । यद्यपि, बिक्री भएकाहरूले पनि भुक्तानी नगरेको किसानको गुनासो छ । यता गर्मी मौसमसँगै दूधको खपत बढेपछि यहाँको चितवन मिल्क उद्योगमा प्रशोधन गर्न दूध नपाउँदा उद्योग बन्द अवस्थामा छ । उद्योगले सहकारी र निजी फार्मबाट आएको दूध शुल्क लिएर प्रशोधन गरी पठाउने गरेको थियो । धुलो दूध र नौनी बिक्री नभएपछि उद्योगका गोदाम दुग्धजन्य पदार्थले भरिएका थिए । ती सामग्री घट्दै गएको भए पनि उद्योग भने सञ्चालन हुन सकेको छैन । उद्योगका प्रबन्धक दुर्गा पराजुलीले पाँच महिनादेखि उद्योग बन्द भएको बताए । दूध नपाएपछि गएको वैशाखबाट उद्योग बन्द भएको हो । विभिन्न संघ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको उनले बताए । एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ । सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको उनले बताए । गएको वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था नआएको पराजुली बताउँछन् । उद्योगमा ३३ जना कर्मचारी रहेका छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक १५ लाख रुपैयाँ खर्च हुने पराजुली बताउँछन् । गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नु परेको थियो । केही दिनअघि उद्योगले २० हजार लिटर दूध खरिद गरेर मेसिन सञ्चालन गरेको थियो । मेसिन लामो समय बन्द रहँदा बिग्रने भएकाले दूध आफै किनेर समय समयमा सञ्चालन गरिँदै आएको छ । पराजुलीले भने, ‘हामीले दूध किन्छौं भन्दा पनि पाएका छैनौं, आउँदो हप्ता सर्लाहीमा एउटा संस्थाले दिन्छु भनेको छ ।’ विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको १ सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । उद्योग भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको छ ।

स्थानीयको अवरोधले विद्युत आपूर्तिमा समस्या, पेपर इण्डष्ट्रिजले सुरु गर्न सकेन उत्पादन

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकामा दुई अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजले विद्युतकाे अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा दुई अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक रहेको छ । अहिलेसम्म मिलमा विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए । विसं २०७८ देखि निर्माण थालिएको यस पेपर मिलले गत जेठ १ गतेदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो । त्यसका लागि मिलमा करोडौं मूल्यका ठूलाठूला मेसिन, औजार पनि जडान गरिसकिएको छ । विद्युत् नहुँदा अहिलेसम्म उत्पादन सुरु हुन नसकेको निर्देशक भण्डारीले बताए । वैशाखको अन्तिममै मिलसम्म विद्युत् पुर्‍याइसक्नेगरी विद्युत् प्राधिकरणसँग ७५ प्रतिशत मिलको लगानी र २५ प्रतिशत विद्युत् प्राधिकरणको लगानीमा सम्झौता भएर मिलले विद्युत् जडानका लागि एक करोड ४१ लाख ५९ हजार दुई सय ७० रुपैयाँ विद्युतका ठेकेदार कम्पनी प्रिन्स कन्स्ट्रक्सनलाई बुझाइसकेको भए पनि आजसम्म मिलमा विद्युत् जडान हुन नसकेको उनले बताए । पेपर मिलमा १२ किमी टाढा रहेको पूर्व–पश्चिम राजमार्गस्थित विद्युत् स्टेशनबाट लाइन ल्याउनुपर्नेमा छ किलोमिटरसम्म लाइन आइसकेको तर बाँकीको छ किलोमिटरसम्म ल्याउन स्थानीयले अवरोध खडा गरेपछि पेपर मिलसम्म लाइन आउन नसकेको मिलका व्यवस्थापन निर्देशक गोविन्द सर्राफले बताए । उनले यस मिलमा स्टेशनदेखि लाइन ल्याउँदा गौशाला रोड, सशस्त्र क्याम्प, सुर्ती विकास चोक हुँदै इँटाटारसम्म आउनुपर्ने हो । गौशाला–१ मै रहेको रामनगर गाउँका बासिन्दाले मापदण्डबमोजिम विद्युत्का खम्बा गाड्न नदिएका कारण लाइन अहिलेसम्म आउन नसकेको उनले बताए । रामनगरका स्थानीय बासिन्दाले ३३ हजार केभिएको लाइन आफ्नो गाउँबस्तीबाट लगिएमा बस्ती जोखिमका पर्ने, कति घरपरिवारको घरभित्रैसम्म खम्बा गाड्नुपर्दा उठिबास हुने, आगलागी र करेन्ट लागेर मृत्युजस्ता दुर्घटना बढ्ने, विद्युतकाे विकीरणले गर्भवतीलाई असर गर्ने र अपाङ्ग बालबालिका जन्मिनेजस्ता कारण सिर्जना गर्ने भन्दै बस्तीबाट लाइन जान नदिएपछि पेपर मिल सञ्चालनमा आउन सकेको छैन । स्थानीय बासिन्दाले गठन गरेको सङ्घर्ष समितिका अध्यक्ष नरेश महतोको नेतृत्वमा पटक पटक स्थानीयले आन्दोलन, चक्काजामजस्ता कार्यक्रम गरेर पेपर मिलसम्म लाइन जानमा रोक लगाउँदै आएका छन् । यता अर्बौंको लगानी लगाएर पनि पेपर उत्पादन सुरु गर्न नसकेको पेपर मिलले सहमति र सहकार्यका लागि नगरपालिका, विद्युत् प्राधिकरण र स्थानीय बासिन्दासित विभिन्न प्रयास गरे पनि ठोस निर्णयमा पुग्न नसक्दा दिनदिनै लाखौंको क्षति भइरहेको जनाइएको छ । आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले २०७८ सालकाे साउन ११ गते नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको शिलान्यास गरेका ‍थिए । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । रासस

तनहुँमा ७ सय ७० साना उद्योग थपिए

फाइल तस्बिर । तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा ६६ लाख चार हजार दुई सय राजस्व सङ्कलन गरेको यो कार्यालयले आव २०८०/८१ मा रु ५१ लाख चार हजार आठ सय राजस्व सङ्कलन गरेको जनाएको छ । ‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ, आव २०८०/८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्,’ कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने । त्यसैगरी, २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् । चालु आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।