मुक्तिनाथ विकास बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । महासंघमा आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्‍याउने उद्देश्यसहित सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एक कार्यक्रमबीच भएको उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको तर्फबाट महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताअनुसार अगामी दिनमा महासंघमा आबद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासका लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्ने बताइएको छ । महासंघका अध्यक्ष सिंहले अगामी दिनमा झन सहज तरिकाबाट उद्योगीहरूले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यावसायिक साक्षारतामा बैंकको सहकार्य हुनेमा विश्वास व्यक्त गरे । साथै, बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र

काठमाडौं । नवप्रवर्तनमा आधारित उद्योग सेवा तथा व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको सो कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ । सो कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहज वातावरण मात्रै बनाएको छैन, रोजगारी र लगानीको थप क्षेत्रसमेत पहिचान गरेको छ । सरकारले गत साउन ३० गते मात्रै उक्त कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधि अनुसार रु पाँच लाखदेखि २० लाखसम्मको कर्जा परियोजना नै धितो राखेर पाइन्छ । त्यसमा तीन प्रतिशत मात्रै ब्याज लाग्नेछ । पछिल्ला दिनमा यसप्र्रकारको व्यावसायिक अवधारणाका बारेमा सरकार र निजी क्षेत्रले साझा छलफल मात्रै अगाडि बढाएका छैनन् । त्यसका लागि मिलेर काम गर्ने सङ्कल्पसमेत गरेका छन् । सोही क्रममा आज ‘स्टार्टअप नेसन २०३०’ विषयक कार्यक्रम  आयोजना गरियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सानासाना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आम्दानीका अवसर खोज्नसक्ने मात्र बताउनुभएन, नवप्रवर्तनमा आधारित व्यवसायमा लाग्न युवा पुस्तालाई आह्वानसमेत गरे । सोही कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि स्टार्टअप ‘बिजनेस’ लाई अघि बढाउन सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने दृढता व्यक्त गरे । सिर्जनशील युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गर्दै अर्थमन्त्रीले देशभित्र भविष्य खोज्न र राष्ट्र निर्माणको वाहक बनेर योगदान गर्न आग्रह गरे । अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा सुरुमा सफलताभन्दा असफलता बढी हुने भन्दै नआत्तिनसमेत अनुरोध गरे । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्टार्टअपलाई सरकारले आकर्षक कार्यक्रमका रुपमा अगाडि बढाएको जानकारी दिए । उनले भने, ‘स्टार्टअपलाई कहिले राष्ट्रिय योजना आयोग र अन्य निकायबाट सञ्चालन गर्ने प्रयत्न गरिएको थियो, पछि मात्रै उद्योग मन्त्रालयमा पठाइयो । अब यो कार्यक्रम सघन रुपमा कार्यान्वयनमा जान्छ ।’ रु २५ करोडबाट सुरु भएको स्टार्टअप कोष अहिले रु एक अर्ब बराबर पुगेको मन्त्री भण्डारीले उल्लेख गरे । वस्तु–सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवं सिर्जनशील सोचको प्रयोगगरी व्यवसायका रूपमा सञ्चालन भएका र स्तरोन्नतिको सम्भावना रहेको उद्यमलाई स्टार्टअपका रूपमा लिइन्छ । सूचना प्रविधिको उपयोग एवं सिर्जनशील सोच नै यस्तो व्यवसायको खास मर्म रहने गरेको छ । सरकारले कार्यान्वयनमा ल्याएको कार्यविधिमा उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगका रुपमा दर्ता भएको, व्यवसाय स्थापना भएपछि कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार रु १५ करोड ननाघेको हुनुपर्नेछ । नवीन सिर्जनशील सोचलाई उद्यम व्यवसायका रुपमा रुपान्तरणगरी तीव्र वृद्धिको सम्भावना पनि हुनुपर्ने स्टार्टअप उद्यमको योग्यताका रूपमा चित्रण गरिएको छ । यी हुन् स्टार्टअप उद्यमका क्षेत्र सरकारले सार्वजनिक गरेको कार्यविधिअनुसार विभिन्न १९ वटा क्षेत्रलाई स्टार्टअप उद्यमका क्षेत्रका रूपमा निर्धारण गरेको छ । त्यसमा कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम, उत्पादनमूलक उद्यम, वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्योग व्यवसाय समावेश छ । यस्तै पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित क्षेत्र, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम पनि यसैमा समावेश छ । मानव स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्र, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित क्षेत्र, विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित उद्यम स्टार्टअपमा समावेश छ । परम्परागत तथा ग्रामीण प्रविधि, स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम, सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम, खानी तथा खनिजको अनुसन्धान र विकाससँग सम्बन्धित उद्यम पनि त्यसमा उल्लेख छ । घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका कार्यसँग सम्बन्धित उद्यम, वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम, परम्परागत पेसा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित उद्यम तथा फोहरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यमलाई सरकारले स्टार्टअपमा समावेश गरी आवश्यक प्रक्रिया अगाडि बढाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने बताउँछन् । महासङ्घको पहलमा रु १० अर्ब बराबरको लगानीमा लगानी कम्पनी स्थापना भएको छ । यो स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्नसक्ने ढकालको भनाइ छ । महासङ्घले प्रदेश सरकारसँगको सहकार्यमा आवश्यक केन्द्र स्थापना गर्ने तयारी गरेको छ । महासङ्घको केन्द्रीय कार्यालयमा पनि केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । स्टार्टअप कार्यक्रमका लागि एक दशकअघि बजेट विनियोजन गर्न थालिएको भएपनि पछिल्ला दिनहरूमा मात्रै यसले औपचारिक रुपमा परिभाषित भएको महासङ्घको बुझाइ छ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चार महिनाअघि लगानी सम्मेलनमा परिमार्जन गरेका आठ ऐनमध्ये एउटा औद्योगिक व्यवसाय ऐनमा स्टार्टअपको कानुनी परिभाषा समावेश थियो । त्यसपछि मात्रै स्टार्टअप नीति पारित भएको थियो । स्टार्टअप र नयाँ उद्यमीलाई सहज बनाउन युवालाई सहयोग गर्न ‘इन्क्युवेशन र इनोभेसन सेन्टर’ हरू स्थापना गर्नुपर्ने माग पनि उस्तै रूपमा उठेको छ । प्रारम्भिक चरणका रूपमा नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा इन्क्युवेशन सेन्टर स्थापनाको प्रक्रिया अघि बढाएको छ । कार्यविधिअनुसार, उद्यमीले उद्देश्यबमोजिम कर्जा रकमको प्रयोग गर्ने, सम्झौताबमोजिम कर्जाको साँवा र व्याज भुक्तानी गर्ने, नियामक निकाय वा बैंकबाट हुने अनुगमनका क्रममा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउने, आफ्नो स्टार्टअप उद्यमको प्रगति प्रतिवेदन चौमासिक रूपमा कर्जा प्रवाह गर्ने बैंकमा पेस गर्नुपर्नेछ । यस प्रकारको अवधारणामा  ‘परियोजना’ धितो राखेर तीन प्रतिशत व्याजदरमा रु पाँच लाखदेखि रु २० लाखसम्म कर्जा पाउने प्रबन्ध गरिएकाले पनि नयाँ उद्यम गर्न चाहने युवालाई सहज हुने विश्वास गर्न सकिन्छ । बैंकले कर्जा प्रवाह गर्दा रु पाँच लाखसम्मको कर्जा एक किस्तामा, रु १५ लाखसम्मका लागि दुई किस्ता र सोभन्दा माथिको हकमा तीन किस्तामा कर्जा उपलब्ध गराउने व्यवस्था छ । स्टार्टअप कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । परियोजनाले दोस्रो वर्षदेखि साँवा र ब्याजबापतको रकम तिर्न सुरु गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । हालसम्म एक सय ६७ परियोजनाले स्टार्टअप कर्जा लिएका छन् । नेपाल औद्योगिक प्रतिष्ठानका अनुसार, हालसम्म रु १७ करोड बराबर कर्जा वितरण भइसकेको छ ।

धनुषामा ३७७ उद्योग बन्द, ९ हजार बढी कामदार बेरोजगार

जनकपुरधाम । धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा ३ सय ७७ वटा उद्योग बन्द भएका छन् । गत आवमा वाणिज्यतर्फ २५९ तथा उद्योगतर्फ ११८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए । उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब ९ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन् । कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ १ हजार १२ उद्योग दर्ता, २ हजार ५९ उद्योग नवीकरण, पूजीवृद्धितर्फ १६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपी २२५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन् । त्यसैगरी उद्योगतर्फ नयाँ दर्ता ८०५, नवीकरणतर्फ ९७८, पूजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी पाँच, प्रतिलिपीतर्फ १०६, फर्मको नाम परिर्वतन ४३ तथा उद्देश्य थप १२ वटा रहेको सो कार्यालयले जनाएको छ । सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नवीकरण बापत ५७ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख यादवले बताए । गत आर्थिक वर्षमा उद्योग तथा पसल बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करीब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए । हाल धनुषामा साना उद्योग ५३६, लघु उद्योग ५५१ तथा घरेलु उद्योग १ हजार ५८ सञ्चालनमा रहेका छन् । ती उद्योमा महिला र पुरुष गरी करिब सात हजार कामदार प्रत्यक्षरूपमा लाभान्वित हँदै आएका कार्यालय प्रमुख यादवले बताए ।