स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने, अन्तर्राष्ट्रिय बजारमा समेत अब्बल रहेको दाबी
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका-२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् । रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताए । यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिए । ‘यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छन् । प्रविधि र प्रशोधनको व्यवस्था हुने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ,’ उनले भने । रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो । सभाबाट पारित भएको ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । स्थानीयवासीले ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित भएका छन् । उनलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनित गरेका हुन् । निरक केसीको १८ महिने कार्यकाल सकिएपछि उनको स्थानमा आचार्य मनोनित भएका हुन् । आचार्यले महासंघको उद्योग समिति सभापतिको रुपमा काम गरिसकेका छन् । साथै उनले रोजगारदाता परिषदको सहसभापति तथा स्थायी समिति सदस्यसमेत भइसकेका छन् । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।
उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख रहेको बताएका छन् । मेरो अटोले बुधबार आयोजना गरेको अटोमोटिभ कनक्लेभ–२०८१ को उद्घाटन सत्रमा उनले आर्थिक सुधारका पक्षमा सरकार दृढताका साथ लागिपरेको उल्लेख गर्दै त्यसले उद्योग क्षेत्रलाई समृद्धिको बाटोमा ल्याइरहेको बताएका हुन् । सरकारले निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित रहेको उल्लेख गरे । नयाँ बजेटको छलफल शुभारम्भ भएको जनाउँदै उनले उद्योग मन्त्रालयको नीतिगत सुधारका लागि र निजी क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयबाट बजेट माग गरिने बताए । मन्त्री भण्डारीले निजी क्षेत्रको समग्र विकासका लागि नीतिगत तथा अन्य विषयमा सुझावका लागि आह्वान गरे । अहिलेका ऐन खण्डीत नहुने गरेर नीतिगत सुधारका लागि उनले सुझाव माग गरे । आफू उद्योगमन्त्रीका रुपमा रहँदासम्म उद्योग क्षेत्रको सुधारका क्षेत्रमा जतिसुकै नकारात्मक आलोचना गरिए पनि बिना कुनै स्वार्थ लागिपर्ने उनले प्रतिबद्धता जनाए । नेपालका उद्योगी तथा व्यवसायीले विभिन्न प्रहार झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । स्वदेशी वस्तु उपभोगको विषय दोहोर्याउँदै उनले नेपाली उत्पादनको प्रयोग नगर्ने प्रवृत्तिले यहाँका उद्योग धराशायी बन्नुपरेको बताए ।