क्यान निर्वाचनको नयाँ मिति तय, असोज १० र ११ गते हुने
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो । यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र ४ गतेका लागि केन्द्रीय निर्वाचनको मिति तोकेको थियो । तर, त्यसमा राखेपले असहमति जनाएपछि चुनाव हुने/नहुनेबारे अन्यौल भएको थियो । राखेप सदस्यसचिव सिलवालले निर्वाचनको मिति तय, निर्वाचनलाई कसरी स्वतन्त्र पारदर्शी बनाउने र आइसिसीको बैठकमा क्यानको निलम्बनलाई कसरी फुकुवा गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिएका छन् । उनले अब बस्ने आइसिसीको बैठकमा क्यानको निलम्बन फुकुवा हुनेमा आफू आशावादी रहेको बताए । त्यस्तै नेपालमा क्रिकेट पूर्वाधारका साथै प्रतियोगिता आयोजना र खेलाडीको प्रशिक्षणलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा आइसिसी सकारात्मक रहेको सदस्यसचिव सिलवालको भनाइ थियो । त्यसैगरी, आइसिसीका प्रतिनिधि इमरान ख्वाजाले नेपाली क्रिकेटमा विद्यमान विवाद समाधानको अन्तिम चरणमा रहेको बताएका छन् । उनले निर्वाचन भएपछि औपचारिक रुपमा क्रिकेटमा नयाँ नेतृत्व आउने र त्यसपछि आइसिसीको आगामी बैठकमा क्यानको निलम्बन फुकुवाका लागि पहल गर्ने जानकारी दिए ।
जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि धीरबहादुर र राममायालाई
खलङ्गा । जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले प्रथम भइ प्राप्त गरेका छन् । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् भने त्रिभुवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ । क्लबका अध्यक्ष सरोज शाहीका अनुसार बुढाले जुम्लादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घण्टा १३ मिनेट ३९ सेकेण्डमा पूरा गरेका छन् । यस्तै दोस्रो स्थान हासिल गरेका भण्डारीले पाँच घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित समय पूरा गरे भने त्रिभुवन आर्मी क्लबका महताराले पाँच घण्टा २४ मिनेटमा पूरा गरेका हुन् । यस्तै महिलातर्फको प्रतियोगितामा कर्णाली स्पोट्स क्लब जुम्लाकी राममाया बुढाले उपाधि प्राप्त गरेकी छिन् । क्लबकै मञ्जु रावत दोस्रो र २४ नम्बर बाहिनी जुम्लाकी रोजिना भण्डारीले तेस्रो स्थान हासिल गरिन् । मुगुको रारा तालबाट अध्यक्ष शाहीले प्रथम स्थान हासिल गरेकी बुढाले छ घण्टा ४६ मिनेट ३५ सेकेण्डमा निर्धारित समय पूरा गरेको बताए । यसैगरी, रावतले छ घण्टा ४६ मिनेट ४० सेकेण्डमा र भण्डारीले छ घण्टा ४६ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । सो प्रतिष्पर्धामा रहेका ६३ जना मध्ये ६१ जनाले दुरी पार गरे । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा पहिलो पाँच जना विदेशी खेलाडीले समेत सहभागिता जनाएका थिए । म्याराथनका प्राविधिक संयोजक तथा एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जुम्ला–रारा अल्ट्रा म्याराथनको पुरुष र महिलातर्फ उत्कृष्ट छ जना नेपाल टेल रेस सिरिजको फाइनलमा प्रवेश गरेको बताएका छन् । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही रु ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ । रासस
‘टिभिएस दशैं दौड’ भव्य, सबै पुरस्कार नेपाल सेनाका खेलाडीकाे पाेल्टामा
काठमाडौं । ‘टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड’काठमाडौंमा सम्पन्न भएको छ । उक्त रमाइलो दौडको प्रथम स्थानमा नेपाल आर्मीका हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दिपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीका गजेन्द्र राई विजयी भएका हुन् । रमाइलो दौड विहान ८ बजे नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो । दौडको प्रारम्भ गर्दैं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले भने छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको छ । चर्चित कलाकार निखिल उप्रेती र प्रदिप खड्का सहभागि रहेको उक्त दौडमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । रमाइलो दौड प्रतियोगितामा सहाभगी भएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरिदमा एक हजार रुपैयाँ नगद छुट दिइने उपहार प्रदान गरिएको थियो भनें प्रथम, द्वितीय र तृतीय स्थानहासिल गरेका प्रतियोगीहरुलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । साे कार्यक्रममा बोल्दै शंकर ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने जगदम्बा मोटर्सले पहिलो पटक आयोजना गरेको रमाइलो दौडलाई सफल बनाउनमा उपस्थिति सबैमा कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनका लागि थप हौसला प्रदान गर्दैं ग्राहकहरुसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै अगाडी बढ्ने बताएका छन् । यस्तो भयो टिभिएसको 'दशैंको दौड' यस्तो भयो टिभिएसको 'दशैंको दौड' Publiée par Bikashnews.com sur Samedi 14 septembre 2019