माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा कर्पोरेट सुपर सिक्सेस ‘सेसन-६’ टुर्नामेन्ट आयोजना हुने

काठमाडौँ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा कर्पोरेट सुपर सिक्सेस ‘सेसन-६’ टुर्नामेन्ट आयोजना हुने भएको छ । कार्यक्रम प्रायोजन सम्बन्धी बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच मंगलबार सम्झौाता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि यो वर्षको कर्पोरेट सुपर सिक्सेस टुर्नामेन्ट को नाम माछापुच्छ्रे कर्पोरेट सिक्सेस ‘सेसन ६’ टुर्नामेन्ट रहने छ । टुर्नामेन्ट बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य भएको र कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्येनजर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको हो । बङ्गलादेशमा हुने सेन्ट्रल जोन आगामी कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ भने साग मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ । नेपाली टोलीले थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै सातभन्दा बढी अभ्यास खेल खेल्ने नेपाल भलिबल सङ्घले जनाएको छ । नेपाली टोलीमा अरुणा शाही (कप्तान) कमला पुन, प्रतिभा माली, सरस्वती चौधरी, सङ्गम महतो, निरुता ठगुन्ना, रेश्मा भण्डारी, जानकी भण्डारी, उषा भण्डारी, लक्ष्मी (सोफिया) पुन, हिरा केसी, उषा विष्ट र शान्ति थारु छन् । त्यसैगरी, पुनम चन्द, सुनिता खड्का, शान्ति तामाङ, सलिना श्रेष्ठ र आरती सुवेदी छिन् । टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट छन् भने प्रशिक्षक, सलिना श्रेष्ठ र भरत यादव तथा टिम व्यवस्थापकमा रीता कोइराला रहेका छन् । रासस

पारस खड्काले दिए राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजिनामा

काठमाडाैं । पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान छाडेका छन्। मंगलबार नेपाली क्रिकेट टिमका मिडिया व्यवस्थापक सुरज शाक्यले पारसले जारी गरेको विज्ञप्ति पठाउँदै सो कुराको पुष्टि गरेका हुन्। खड्काले विज्ञप्तिमा भनेका छन् – नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुशी छु र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रो गरोस् भन्ने कामना गर्दछु। अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु। नयाँ शुरुवात नयाँ तरिकाबाट हो र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस् भन्ने चाहन्छु। यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, साथीहरु, ग्राउन्ड म्यान तथा मेरा परिवारलागि धन्यवाद व्यक्त गर्छु। जय नेपाल। सन् २००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी(ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । खड्काले कप्तान पद छाडेपनि राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।