सागको ओलम्पिक टर्च र्याली आजबाट शुरू, सातै प्रदेशमा हुने

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक टर्च र्याली स्वयम्भूबाट शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज स्वयम्भूमा ओलम्पिक टर्च प्रज्वलन गरी ओलम्पियन समूहलाई हस्तान्तरण गरेका हुन् । सागको महत्वबारे देश भरी फैल्याउने उद्देश्यले टर्च र्यालीलाई सातै प्रदेशको मुख्य शहरमा पुर्याउने कार्यक्रम रहेको छ । ओलम्पिक टर्च काठमाडौँबाट आजै प्रदेश नं १ को राजधानी विराटनगरमा पुर्याइने कार्यक्रम रहेको छ । त्यसैगरी दोस्रो दिन प्रदेश नं २ को जनकपुर, तेस्रो दिन प्रदेश नं ३ को हेटौँडा र चितवन, चौथो दिन प्रदेश नं ५ को लुम्बिनी र बुटवल, पाँचौँ दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को नेपालगञ्ज, छैटौँ दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौँ दिन गण्डकी प्रदेशको पोखरा लगिने कार्यक्रम छ । आठौँ दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौँ ल्याइने छ । नवौँ दिन काठमाडौँको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दीप प्रज्वलन गरिने कार्यक्रम छ । र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका बैकुण्ठ मान्नधर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी सङ्घका अध्यक्ष एवं करातेका दीपक श्रेष्ठ सहभागी छन् । साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा हुँदैछ । रासस

‘राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा’ ६ गतेदेखि शुरू, २०४ जना सहभागी हुने

काठमाडौं । काठमाडौंबाट सुरु हुने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको तयारी पुरा भएको छ । उक्त साइकलयात्राको उद्घाटन शुक्रबार पशुपतिनाथ मन्दिर परिषरबाट पर्यटनमन्त्री योगेश भट्टराईले गर्ने भएका छन् । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष उल्लेख्य सहभागिता हुने भएको छ । राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १६७ जना साइकलयात्री सहभागी हुने भएका छन् । त्यसमा पुरुष १ सय ४८ जना र महिला १८ जना हुनेछन् । यात्रामा सहयोगीसहित २ सय ४ जना सहभागी हुनेछन् । यस वर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिएका छन् । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार वर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्द सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तराष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो । संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद विरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको हो । यस वर्ष मंसिर ९ गते (नोभेम्बर २५) देखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ । पहिलो वर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई वर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस वर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भव्य स्वागत गर्ने तयारी गरेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । त्यहाँ भव्य सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ । त्यहाँ प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुली गढी पुगेर त्यहाँका सम्पदाको अवलोकन गर्नेछन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकलयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने छन् । अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग र २ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भावनात्मक रुपले जोड्ने छ, साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने । तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना रहेकाे छ ।

राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सम्मानित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सोमबार एक कार्यक्रमका बीच सम्मानित भएको छ । उक्त टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुँदा बैंकले सो टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको हाे । बैंकले हालै बंगलादेशमा सम्पन्न भएको ‘एशियन सेन्ट्रल जोन सिनिएर वोमेन भलिबल’ प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएकाेमा उक्त टिमलाई सम्मान गरेकाे हाे । कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताएका छन् । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउँदै यस्तो कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच आरबीबी-एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्षदेखि रहँदै आएको छ । ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंक भित्र क्रियाशिल युनियनका अध्यक्षहरु, मुख्य प्रशिक्षक जगदीश भट्ट, विजयी टिमका खेलाडीहरु, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।