एसवाई बजार फुटसल प्रतियोगितामा जय बहुमुखी क्याम्पस बन्यो विजेता

काठमाडौं । एसवाई बजार कम्पनीले आयोजना गरेको इन्टरकलेज फुटसल टुर्नामेन्टमा जय बहुमुखी क्याम्पस विजयी भएको छ । जेठ १८ र १९ गते ललितपुरको राष्ट्रिय खेलकुद केन्द्र च्यासलमा सम्पन्न प्रतियोगितामा सो क्याम्पस विजयी भएको हो । प्रतियोगिताको दोस्रो विजेता पाटन बहुमुखी क्याम्पस र तेस्रो विजेता विनायक सिद्ध कलेज भएको छ । सो फुटसल प्रतियोगितामा ३२ भन्दा बढी निजी तथा सरकारी कलेजका विद्यार्थीहरू सहभागी रहेको एसवाई बजारका निर्देशक बिमलराज गोसाईले बताए । प्रतियाेगतामा प्रथम हुने टिमले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र, पदक र ट्रफी पुरस्कार प्रदान गरिएकाे थियाे । कम्पनीले सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता ५/५ हजार रूपैयाँ नगर सहित पुरस्कृत पनि गरेको छ ।

सिप्रदीयन सहायता संस्थाद्वारा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान गरेको छ । सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दल बहादुर कुँवरलाई तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ महिलातर्फ प्रथम र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा सम्मान स्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको छ । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्तव संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरु धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रम माझ सम्मान स्वरुप नगद पुरस्कार हस्तानतरण गरेको छ । म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरुप ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो भने पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएका दल बहादुर कुँवरलाई ५० हजार प्रदान गरिएको थियो । कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहल, उपाध्यक्ष राजन बावु श्रेष्ठ, महासचिव राजेश प्रसाद गिरी र कोषाध्यक्ष सौरभ राज थापालियाले विजेताहरुलाई बधाई दिदै नगद पुरस्कार प्रदान गरेका थिए । खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरु आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ । अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरि प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहलका अनुसार, ‘आज हामी यहाँ खेलाडी विजेताहरुको साथै उनीहरुलाई प्रत्यक्ष रुपमा दैनिक प्रशिक्षणमा योगदान पुर्याउने गिनिज बूक अफ वल्र्ड रेकर्ड होल्डर हरी बहादुर रोकायालाई पनि परिश्रम र समर्पणको लागि धन्यवाद दिन चाहन्छौँ । प्रशिक्षकको अथक प्रयास, खेलाडिहरुको कठोर मेहनतमा आर्थिक सहयोग गरेर आज यो जितसंग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छाै‌ र भविष्यमा पनि सिप्रदीयन सहायता संस्थाले जेहिन्दर र मेहनती खेलाडीहरुको हितमा काम गर्नेमा म विश्वस्त छु ।’

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग, श्रृङखला २ को आयोजना

काठमाडौं । महालक्ष्मी विकास बैंकको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यहि जेठ २० गते शनिबार देखि २२ गते सोमबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र बैंकका साहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले जर्सी सार्वजनिक गरेका थिए । क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द« गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पार्नुका साथै समुह विभाजन गरेका थिए । उक्त सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए । लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलिलाई ४ वटा समुहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युटृयुब च्यानल मार्फत हुनेछ ।