घिमिरे किक बक्सिङको विश्व विजेता, फ्रान्सका मार्काेनीलाई एक मुक्कामै ढाल्न सफल
काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उनी फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन् । बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिएका थिए । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका हुन्। इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिए । ‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुन् । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउण्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेशनल किक बक्सिङ’को उपाधि चुमेका हुन् । हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चार पटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए । उनले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुई वटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नक आउट गर्न सफल भएका थिए । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् । जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन्। कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।
वीरगञ्जको क्रिकेट मैदानको स्तरोन्नति सुरु, अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने दाबी
वीरगञ्ज । पर्साको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदानको स्तरोन्नति सुरु गरिएको छ । वर्षाैंदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो । नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो । एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको जानकारी दिए । ‘वीरगञ्ज क्रिकेट मैदान लामो समयदेखि अलपत्र हुँदै आइरहेको थियो । एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण थालनी गरेका छौं,’ उनले भने, ‘मङ्सिरको दोस्रो सातासम्म क्रिकेट मैदानको पिच र अन्य संरचना निर्माण हुन्छ ।’ नेपाल क्रिकेट सङ्घमा आवद्ध बङ्गलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा पिच तयार पार्ने काम भइरहेको छ । ‘मैदानमा १८ इन्चको गहिरो बनाएर पिच निर्माण भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म पिचको फाउण्डेसन तयार भइसकेको छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने छ ।’ क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सिंहले पिच तयारसहित स्तरोन्नति गर्न मजदूरको ज्यालाबाहेक रु आठ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । मैदान चार बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको छ । अध्यक्ष सिंहले क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावका कारण संरक्षण गर्न नसकिएको गुनासो गरे । ‘चार कठ्ठा जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदान संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘मुआब्जाका लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ ।’ मधेश प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले मधेश क्रिकेटको उर्वरभूमि भए पनि पूर्वाधार कमजोर रहेको बताए । उनले राज्यले मधेश प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित
काठमाडौं । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकाको डलासमा आइतबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो । जितसँगै नेपालले शृङ्खलामा २-० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकामाथि १७ रनको जीत हासिल गरेको थियो । नेपालले अमेरिकालाई जीतका लागि एक सय ७१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७० रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए । त्यसपछि नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले तीन रन बनाउँदै सुपर ओभरमार्फत नेपाललाई जीत दिलाए । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याचसमेत बने । त्यस्तै, अनिलकुमार शाहले २५, गुल्शन झाले १७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई-दुई विकेट लिए भने सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए । अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए भने साइटेजा मुक्कामल्लले ४७ रनको योगदान गरे । नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिएका । नेपालले अमेरिकाविरुद्धको तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ ।