नेपालले इङ्ल्याण्डलाई ६ विकेटले हरायो

काठमाडौं । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले ४‍.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव ५ ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक-एक विकेट लिए । नेपालले भोलि अष्ट्रेलियासँग खेल्नेछ ।

साफ महिला च्याम्पियनसिप : भरिभराउ रंगाशाला, ठाउँ-ठाउँमा प्रत्यक्ष प्रसारण

काठमाडौं । अहिले नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंखेल भइरहेको । अहिले खलको पहिलो हाफ सकिएको छ भने दोस्रो हाफ केही समयपछि सुरु हुनेछ । खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका छन् । रंगशालामा आज साँझ साढे ६ बजेदेखि खेल सुरू भएको हो।त्यस्तै, दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रंगशाला पुगेका छन् । दर्शकहरुले रंगशाला भरिभराउ छ भने काठमाडौं लगायतका विभिन्न सहरमा प्रत्यक्ष प्रसारण पनि भइरहेको छ । पोखराको पृथ्वीचोकमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आज नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको प्रत्यक्ष प्रसारण हेर्दै सर्वसाधारण । तस्बिर :जमुनावर्षा शर्मा/रासस खेल हेर्नका लागि टिकट नपाएका सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण देखाएकाे छ । महानगरले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिरहेकाे छ ।

साफ वुमेन्स च्याम्पियनसिप : सडकमा लाइन लगाएर टिकट बिक्री, वालेटलाई नकाट्न उर्दी

काठमाडौं । नेपाल र बंगलादेशबीच साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल खेल हेर्न नेपाली खेलप्रेमी तथा शुभचिन्तकहरू तम्तयार छन् । साफ वुमन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न सकेकाे छैन । यो पटक उपाधि उचाल्ने दाउमा नेपाल छ । फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेर उपाधि हात पारेर नेपाली दर्शकलाई खुसी दिलाउने रणनीतिमा नेपाली फुटबल टिम छ । यसअघि नेपाल र बंगलादेशबीच १२ खेल भएका छन् । जसमध्ये ६ खेल नेपाल र १ खेलमा बंगलादेशले जितेकाे छ भने ५ खेल बराबरी भएको छ । नेपाली टिमलाई साथ दिनका लागि खेलप्रेमीहरू बिहानैदेखि लाइन लागेर टिकट काटिरहेका छन् । बेलुका साढे ६ बजेदेखि सुरु हुने भए पनि टिकटका लागि भने बिहानैदेखि सर्वसाधारण लाइनमा छन् । यसअघि नेपाल र भारतबीच सेमिफाइनलमा रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री भएपछि फाइनलको टिकट भने एन्फा आफैले बिक्री गरिरहेको छ । तर, त्यसको चौतर्फी विरोध भइरहेको छ । फाइनल खेलमा कम टिकट काटेर दर्शक कम हुने वातावरण सिर्जना गरिरहेको आरोप सामाजिक सञ्जालमा छ । सूचना प्रविधिको युगमा लाइन लगाएर टिकट काट्न लगाउनु उचित नभएको भन्दै सामाजिक सञ्जाल एन्फाको विरोध भइरहेको छ । यसअघि टिकट बिक्रीका लागि जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स् एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै एन्फाले आफै टिकट बिक्री गरिरहेको हो । जावलाखेल खेल मैदान, एन्फा मुख्यालय सातदोबाटो र भद्रकालीस्थित आर्मी अफिसर्स केन्द्रमा टिकट बिक्री केन्द्र राखिएको छ । माउन्ट एभरेस्टले ८० लाख रुपैयाँमा टिकट बिक्री अधिकार प्राप्त गरेको थियो । एन्फाले साधारणतर्फ ११ हजार र भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गर्ने बताएको छ । रंगशालाको क्षमता १५ हजार मात्रै भए पनि त्यो दिन करिब २० हजार दर्शक थिए । एन्फाले वालेट कम्पनीलाई पनि टिकट नकाट्न उर्दी गरेको बुझिएको छ । यसअघि वालेट कम्पनी खल्तीले टिकट काट्दै आएको थियो । साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । खेल हेर्नका लागि टिकट नपाएका सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण देखाउने भएको छ । महानगरले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो ।