सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल च्याम्पियन बने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन् । बिहीबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेयर प्रो सेक्युरिटिजले एसियन सेक्युरिटिजलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै, महिला फाइनलमा एनएमबी क्यापिटलले सेबोनलाई पेनाल्टी शुटआउटमा २–१ ले हराएर च्याम्पियन बन्न सफल भएको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि महिलाको फाइनल पेनाल्टी शुटआउटमा पुगेको थियो । यस प्रतियोगितामा धितोपत्र बजारसँग आबद्ध संस्थाका लागि पुरुषतर्फ ३१ र महिलातर्फ ९ टिमको सहभागिता रहेको थियो । शनिबार हुने भनिएको फाइनल भारी वर्षाका कारण रोकिएको थियो । पुरुष विजेताले १ लाख र उपविजेताले ६० हजार, जबकि महिला विजेताले ६० हजार र उपविजेताले ४० हजार पुरस्कार प्राप्त गरेका छन् । व्यक्तिगत विधाका पुरस्कारमा महिलातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता सेबोनकी निशा थापा र उत्कृष्ट गोलरक्षक एनएमबी क्यापिटलकी निशा देवकोटा चुनिएका छन् । पुरुषतर्फ सेयर प्रो सेक्युरिटिजका अर्घ रेग्मी उत्कृष्ट खेलाडी, एसबीआई बैंकका पुजन खड्का सर्वाधिक गोलकर्ता, र एसियन सेक्युरिटीजका प्रबिन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिएका छन् । बिजेता खेलाडीलाई राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथु र आयोजक युनियनका अध्यक्ष अजय ढुंगानाले पुरस्कार प्रदान गरेका थिए ।
एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने
काठमाडौं । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले गरे । साधारण सभाबाट वार्षिक प्रतिवेदन र आगामी वर्षको नीति, कार्यक्रम पारित भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । साधारण सभामा आगामी वर्ष उमेर समूहका प्रतियोगिता, फारवेस्टर्न प्रिमियर लिग, फारवेस्टर्न क्रिकेट एकेडेमी सञ्चालन गर्ने, भौतिक पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा पनि छलफल भएको छ । साधारण सभामा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चन्दले सरकार भौतिक संरचना निर्माणका लागि अग्रसर भएको उल्लेख गर्दै थप सहयोग आवश्यक रहेको बताए । ‘क्रिकेटको माध्यमबाट नेपाल विश्वसामु चिनिएको छ । पूर्वाधार निर्माणमा सरकार गम्भीर बनेको छ । आगामी पाँच वर्षमा देशका विभिन्न स्थानमा पाँच क्रिकेट रङ्गशाला बन्नेछन् । जसले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ,’ उनले भने, ‘पछिल्लो समय क्रिकेट खेलको विकासका लागि सरकारले सहयोग गरिरहेको छ । यसमा सबै राजनीतिक दलको पनि सकारात्मक समन्वय छ ।’ सुदूरपश्चिम सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार र प्रतियोगिता सञ्चालनका लागि बजेटको व्यवस्था गरेकामा धन्यवाद दिँदै अध्यक्ष चन्दले स्थानीय तहहरूले पनि क्रिकेट प्रतियोगिता सञ्चालनमा ध्यान दिन आवश्यक रहेको औँल्याए । खेल क्षेत्रमा राजनीति गर्न नहुने भन्दै उनले राजनीतिलाई खेलकुदको संस्थागत विकासका लागि केन्द्रित गर्नुपर्ने बताए । ‘खेलाडी छनोट पारदर्शी हुनुपर्छ । यसमा दायाँबायाँ हुँदैन । खेलाडी छनोट र राम्रो प्रदर्शन गरेका खेलाडीले उचित स्थान र पारिश्रमिक पाएका छन्,’ उनले भने । एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने जानकारी गराउँदै अध्यक्ष चन्दले जिल्ला र प्रदेशमा उमेर समूहका प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौँ । यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ । क्यानले गर्ने सहयोगमा कमी हुँदैन,’ उनले भने ।
पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता पोखरामा हुँदै
काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालमै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिताको आयोजना गर्ने भएकाे छ । प्रतियाेगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ । प्रतियोगितामा नेपालका १६ जना राष्ट्रियस्तरका बाइक रेसिङ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयाेजकले जनाएकाे छ । समाज सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टसजस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिताले राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पुग्ने छ। असोज ४ गते प्राक्टिस राउन्डको आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुने आयाेजकले जनाएकाे छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई कप र नगद पुरस्कार प्रदान गरिनुका साथै प्रतियोगितामा सहभागी सबै खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्। प्रतियाेगिताका चार उत्कृष्ट खेलाडीहरूले विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाउन मौका पाउने आयाेजकले जनाएकाे छ । खेलकुद मन्त्रालयसँगको सहकार्यमा याे प्रतियोगितामा हुन लागेकाे हाे ।