काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई वटा सिरिज खेल्ने खेलाडीको नाम घाेषणा गरेकाे छ । क्यानले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको छ भने टी-२० का लागि दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टीम घोषणा गरेको छ ।
आईसीसी विश्वकप लिग २ मा रोहितसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् । खेलका लागि हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई रिजर्भमा राखिएका छन् ।
नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुनेछ । शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन दुई–दुई पटक आपसमा भिड्ने तालिका छ ।
यस्तै, यूएईसँगको दुई खेलको टी–२० सिरिजका लागि क्यानले ठूलो फेरबदल गरेको छ । यो सिरिजलाई कप्तान रोहित परेका छैनन् । दीपेन्द्रले याे खेलकाे नेतृत्व गर्नेछन् ।
सो खेलका लागि दीपेन्द्रसँगै सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्शन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउँद, हेमन्त धामी, साहव आलम र शेर मल्ल परेका छन् । खेलको रिजर्भमा प्रतिश जिसी, नारायण जोशी र रसिद खान परेका छन् ।
नेपालले २० र २१ अप्रिलमा यूएईसँग दुई खेलको टी-२० सिरिज खेल्दैछ । उक्त खेल फ्लडलाइटमा हुने क्यानले जनाएको छ ।
क्यानले अब एक दिवसिय र टी-२० काे छुट्टै टिम बनाएर खेलाउने तयारी गरेको बुझिन्छ ।