क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाईकल उपहार
काठमाडौं, २७, मंसिर । भीजी अटोमोबाइल्सले क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी मोटरसाइकल उपहार प्रदान गरी सम्मान गरेको छ । असोज ८ देखि १७ गतेसम्म किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज विजेता कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरी सम्मान गरिएको हो । अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले त्रिपुरेश्वरस्थित भीजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजिक कार्यक्रममा कामीलाई मोटरसाईकल प्रदान गरेका थिए ।
एसिया कप क्रिकेट-नेपाली टोलीको घोषणा
काठमाडौं, २० मंसिर । एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मंसिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक चार खेलाडी छन् । कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका छन् । त्यस्तै छनोट हुने खेलाडीहरुमा अभिनाश कर्ण, असिफ शेख, दीपेन्द्रसिंह ऐरी र सन्दीप सुनार छन् । त्यसैगरी रवीन्द्रजङ्ग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहव आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापा छनोटमा परेका छन् । अन्तरर्राष्ट्रि«य क्रिकेट परिषद्को एसिया क्षेत्रका अधिकृत वेंकटपथी राजु मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दासको छनोट समितिले उक्त टोलीको घोषणा गरेको हो । रासस
एसिया कप क्रिकेट- नेपालले थाइल्यान्डसंग सामना गर्ने, खेल बिहीबार हुँदै
काठमाडौं, १५ मंसिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भोलि बिहीबार हुने खेलमा नेपाल थाइल्यान्डसंग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले थाइल्यान्डलाई पराजित गरेपनि यसअघिको लगातारको हारले गर्दा अन्तिम प्रतिस्पर्धामा पुग्ने सम्भावना भने समाप्त भएको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहारेको थियो । त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो । यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो । त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो । लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा पनि सन्तोषजनक नतिजा हात पार्न सकेन । प्रतियोगितामा आयोजक थाइल्यान्डबाहेक नेपालको सबै प्रतिद्वन्द्वी पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन् । रासस