वित्तीय क्षेत्रका खम्बा
गभर्नर महाप्रसाद अधिकारीलाई वित्तीय क्षेत्रमा सक्रिय रूपमा काम गरेको चार दशक भइसकेको छ । नेपाल राष्ट्र बैंकमा निर्देशक तथा कार्यकारी निर्देशकको भूमिकामा होस् वा डेपुटी गभर्नर र अहिले गभर्नरको रूपमा पनि उनले वित्तीय क्षेत्र सुधारमा उल्लेखनीय काम गरेका छन् । आगामी चैतमा गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल सकिँदैछ । अधिकांश समय नियामक निकायमा र करिव ४ वर्ष लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)भएर काम गर्दा अधिकारीले आफूलाई कुशल व्यवस्थापक र प्रशासकको रूपमा उभ्याएका छन् । मर्जरमा सफलता अधिकारी डेपुटी गभर्नर हुँदै नेपाल राष्ट्र बैंकले अगाडि सारेको बैंक मर्जरको नीतिलाई सहज रूपमा प्रभावकारी बनाउन उनले प्रशंसनीय भूमिका खेलेका छन् । २०६७/६८ सालमा ३२ वटा रहेका वाणिज्य बैंक अहिले २० मा सीमित छन् । त्यतिबेला ८९ वटा विकास बैंक रहेकोमा अहिले १७ वटा भएका छन् । त्यतिबेला ७९ वटा फाइनान्स कम्पनीहरू रहेकोमा अहिले १७ वटामा सीमित भएका छन् । नेपाल राष्ट्र बैंकमा अनुसार २०६७ पुस मसान्तमा बैंक तथा फाइनान्स कम्पनीको संख्या २७७ वटा थिए । पछि मर्जर हुँदै अहिले जम्मा १०७ वटा बैंक तथा वित्तीय संस्था भएका छन् । संख्याका आधारमा बैंक तथा वित्तीय संस्थाको संख्या ६१ प्रतिशतले घटेका छन् । यसलाई उनले आफ्नो सफलताका चित्रण गर्ने गरेका छन् । ‘हामी फोर्स मर्जरमा गएनौं, स्वेच्छिक रूपमा बैंकलाई मर्जर हुन प्रोत्साहन गर्यौं, परिणामस्वरूप अहिले बैंक तथा वित्तीय संस्थाको संख्या कम भएको छ । पुँजीका हिसाबले बैंकहरू बलियो बनेका छन्,’ अधिकारी भन्छन्, ‘यसलाई हामीले नीतिगत सफलताका रूपमा लिएका छौं ।’ २०६७ सालपछि पनि जिल्लास्तरीय विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरू धेरै खुलेका थिए । वित्तीय पहुँच विस्तारका लागि भन्दै गभर्नर चिरञ्जीवी नेपालको पालामा ग्रामीण क्षेत्रमा बैकिङ सेवा दिन चाहनेलाई लाइसेन्स पनि वितरण भएका थिए । महाप्रसाद गभर्नर भएपछि कुनै पनि बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स वितरणको काम राष्ट्र बैंकले गरेन । पछिल्लो समय वित्तीय क्षेत्रमा नयाँ प्रकृतिमा समस्याहरू देखिएका छन् । आर्थिक मन्दी ऋणीहरूको व्यावसायिक असफलतासँगै बैंक तथा वित्तीय संस्थामा खराब कर्जा अनुपात बढेर गएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाका नेतृत्वले दवाव महसुस गरिरहेका छन् । गभर्नर अधिकारी भन्छन्, ‘एक दशकअघिको तुलनामा बैंक तथा वित्तीय संस्था धेरै बलिया भएको छन् । जोखिम बहन गर्न सक्ने सामर्थ्य वृद्धि भएको छ । यदि राष्ट्र बैंकले समयमा नै मर्जरको नीति लिएको थिएन र त्यसको सफल कार्यान्वयन भएको थिएन भने यतिबेलाको समस्या समाल्नै नसक्ने तहमा पुग्न सक्थ्यो ।’ डिजिटल कारोबारमा छलाङ अधिकारीले आफ्नो कार्यकालमा सबैभन्दा प्रभावकारी रूपमा अगाडि बढाएको एजेण्डा हो डिजिटल बैंकिङ । उनी राष्ट्र बैंकको गभर्नर बनेपछिको पहिलो मौद्रिक नीतिमै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने अगाडि सारे । अहिले देश डिजिटल बैंकिङमा अगाडि बढिरहेको छ । एउटा सामान्य किराना पसलदेखि ठूल्ठूला कर्पोरेट हाउस तथा मार्टहरूमा क्यूआर कोडमात्रै भेटिन्छ । उनी मोबाइल, इन्टरनेट तथा डिजिटल बैंकिङ र क्यूआर कोड प्रोत्साहन गर्न आफै बजारमा निस्किए । ठाउँ–ठाउँमा तरकारी तथा फलफूल पसलमा गएर क्यूआर कोड सञ्चालन गरे । अधिकारी गभर्नरका रूपमा नियुक्त भएको वर्ष २०७७ कात्तिक महिनामा २० खर्ब ५८ अर्ब रुपैयाँ डिजिटल भुक्तानी भएको थियो । २०८१ कात्तिक महिनामा ९४ खर्ब ८६ अर्ब रुपैयाँ डिजिटल भुक्तानी भएको छ । यो भनेको ३७५ प्रतिशत वृद्धि हो । डिजिटल भुक्तानीमा यो किसिमको गतिको श्रेय उनैलाई जान्छ । ‘यो अवधिमा हामीले डिजिटाइजेसनका कुरालाई एग्रेसेभ्ली अगाडि बढायौं, बैंक तथा वित्तीय संस्थासँगै प्रत्येक नागरिकलाई डिजिटल भुक्तानीका कुरा सिकायौं, आज देश डिजिटल भुक्तानीमा आश्रित छ,’ उनी भन्छन्, ‘अहिले राष्ट्र बैंक डिजिटल करेन्सीको विषयमा काम गरिरहेको छ, त्यसमा पनि सफलता पाउने विश्वास छ ।’ विदेशी मुद्रा सञ्चिति वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या हो । वैदेशिक व्यापार विदेशी मुद्रामा हुन्छ । देशको व्यापार घाटा बढ्दै जाँदा सरकारको ढुकुटीको विदेशी मुद्रा सकिँदै जान्छ । नेपाल राष्ट्र बैंकको लागि सबैभन्दा ठूलो टाउको दुःखाइको विषय हो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्नु । यही विषयले अधिकारीलाई सर्वाधिक तनावमा पुर्यायो । विदेशी मुद्रा सञ्चिति सकिएपछि छिमेकी देश श्रीलंका टाट पल्टियो सन् २०२३ जुलाईमा । पाकिस्तान, अफगानिस्थान, बंगलादेशमा पनि विदेशी मुद्राको भण्डारण सकिँदै गएको थियो । २०७७ साल माघमा नेपालसँग झण्डै १२ महिनाका लागि विदेशबाट वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्राको मौज्दात थियो । ढुकुटीमा विदेशी मुद्राको सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलरको हाराहारीमा थियो । २०७८ सालको माघमा ढुकुटीमा ९ अर्ब ७४ करोड अमेरिकी डलर बचत थियो । एक वर्षमा देशको कुल विदेशी मुद्रा सञ्चितिको २२ प्रतिशत घट्यो । डलर सञ्चिति २२ प्रतिशत घटेपनि विदेशी वस्तु तथा सेवा आयात धान्ने क्षमतामा ५० प्रतिशतले कमी आएको थियो । २०७७ पुसमा १२ महिनालाई वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेकामा २०७८ मा ६ महिना १८ दिन मात्र धान्न पुग्ने अवस्थामा झर्यो । यसरी विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा नेपाल श्रीलंका झंै टाट पल्टन्छ कि कि भन्ने चिन्ता विज्ञ र व्यवसायीमा मात्र होइन, सर्वसाधारणको तहमा पुगिसकेको थियो । व्यवसायी जगतले चर्को आलोचना गरे पनि, सरकारले निलम्बन गरे पनि गभर्नर अधिकारी अविचलित रहे । वित्तीय क्षेत्रको सुदृढिकरण, डिजिटल कारोबारमा वृद्धि, विदेशी मुद्रा सञ्चिति बचाउन लिएको कडा नीति र त्यसको सफलतासँगै गभर्नर अधिकारी वित्तीय क्षेत्रको दरिलो खम्बाका रूपमा स्थापित भएका छन् । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले २०७७ पुस ५ मा १८ प्रकारका वस्तु आयात गर्दा बैंकमा शतप्रतिशत नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्यो । त्यसपछि लगत्तै माघ २६ गते ४५ भन्सार कोडका करीब २ हजार ७०० वस्तुको आयातमा ७० प्रतिशतसम्म रकम व्यवसायी आफैले नगद हाल्नुपर्ने व्यवस्था गर्यो । २०७९ वैशाखमा राष्ट्र बैंकको सुझावमा सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर महँगा सवारीसाधन, महँगा मोबाइलसहित १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । यसरी आयातमा अंकुश लगाउँदा आयात व्यापारमा संलग्न व्यवसायीहरूले सार्वजनिक मञ्चबाटै गभर्नरको चर्को आलोचना गरे । देशभित्रका व्यवसायी मात्रै होइन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन लगायतले असन्तुष्टि व्यक्त गरे । यहीबेला गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच विवाद बढ्दै गयो । व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै सरकारले उनलाई निलम्बन गर्यो । सरकारले गभर्नरलाई हटाउन गोप्य सूचना चूहाएको आरोप पनि लगायो । गभर्नर अधिकारी सरकारी निर्णयविरुद्ध अदालत गए । अदालतको आदेशमा उनी फेरि जिम्मेवारीमा फर्किए । उनले आफ्ना नीतिमा निरन्तरता दिए । परिणाम गत कार्तिक मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति १६ अर्ब ७० करोड अमेरिकी डलर अर्थात २२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ, जुन २ वर्षअघिको तुलनमा ७१.४५ प्रतिशतले बढी हो । यस सञ्चिति १५ महिनाभन्दा बढी वस्तु तथा सेवा आयात गर्न सकिने नेपाल राष्ट्र बैंकको भनाइ छ । अधिकारी गभर्नर बन्नुअघि १० खर्ब ३८ अर्ब रुपैयाँ रहेको कुल विदेशी मुद्राको सञ्चिति अहिले २२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा ११७ प्रतिशतको विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशी मुद्रा सञ्चिति पर्याप्त भएकैले देशको रेटिङ रिपोर्ट पनि राम्रो आएको छ । राष्ट्र बैंकप्रतिको आकर्षण वृद्धि विगतमा खासै चासोका रूपमा नलिइने मौद्रिक नीति गभर्नरमा अधिकारीको आगमनपछि भने सबैको बहस र प्रतीक्षाको विषय बन्न पुगेको छ । खासगरी व्यावसायिक जगतकोे ध्यान संघीय सरकारको बजेटभन्दा राष्ट्र बैंकको मौद्रिक नीतिमा बढी केन्द्रीत हुन थालेको छ । कोरोनाको महामारीमा थला परेको अर्थतन्त्रलाई पुर्नजीवित पार्न राष्ट्र बैंकले लिएको नीतिले यसमा ठूलो भूमिका निभायो । कोरोनाको समयमा बजेटबाट केही नपाएका व्यवसायीले मौद्रिक नीतिबाट भरपुर राहत पाए । त्यसपछि मौद्रिक नीतिले वाहीवाही पायो । व्यवसायीले मागेकोभन्दा बढी सुविधा उनले मौद्रिक नीतिबाट दिए । जुन विषयको चौतर्फी तारिफ भयो । ‘हामीले गर्न सकेको गर्यौं, कोरोना महामारीबाट प्रभावित भएका व्यवसायीलाई दिन सक्ने राहत दियौं, मुद्रा कोष, विश्व बैंकजस्ता संस्थाले अहिले के गर्न सकिन्छ मुठ्ठी खोलेर सहयोग गर भनेर सबै केन्द्रीय बैंकहरूलाई आग्रह नै गरेको थियो, सोही किसिमले हामीले पनि काम गर्यौं, त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव नै पर्यो,’ उनले भने । बिर्सिन चाहेको ‘त्यो घटना’ मान्छेको जीवनमा धेरै घटना आइलाग्छन् । कतिपय जीवनभर अविस्मरणीय बनिदिन्छन्, कतिपय चाहेर पनि बिर्सिन सकिँदैन । अधिकारीको जीवनमा पनि यस्तो घटना छ, जुन उनी सम्झिन पनि चाहन्नन् । त्यो विषय हो उनको निलक्बन । उनी विसं २०७८ चैतमा सरकारको निलम्बनमा परे । निलम्बन गर्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने अर्थमन्त्री थिए जनार्दन शर्मा । निलम्बनपछि उनी अदालत गए । अदालतको आदेशमा गभर्नरको जिम्मेवारीमा उनी पुनः काममा फर्के । ‘काम गर्दै गर्दा कहिलेकाहीं कानूनी झन्झटको सामना गर्नुपर्ने रहेछ, मैले यसलाई स्वाभाविक रूपमा लिएको छु,’ उनी भन्छन्, ‘म यो घटनालाई बिर्सिन चाहन्छु, यस विषयमा धेरै नबोलौं ।’ अधिकारी सरकारसँग लडे । त्यसले उनको पद मात्र जोगाएन, राष्ट्र बैंकको स्वायत्तता बचाउनका लागि पनि दरिलो टेवा दिएको छ, जसरी पूर्वगभर्नर तीलक रावलले दिएका थिए । राजनीतिक अदूरदर्शिता र अस्थिरताको सिकारले सबै सार्वजनिक संस्थाहरू ध्वास्त हुँदै गरेको बेलामा तत्कालीन गभर्नर रावल र वर्तमान गभर्नर अधिकारीले लिएको अदालतको सहायताले राष्ट्र बैंकको स्थायित्वमा दूरगामी महत्व राख्नेछ । देश विकासको बाधा अधिकारी पछिल्लो समय विदेशिरहेका युवाहरूको संख्याप्रति चिन्तित छन् । युवाहरू दिनहुँ विदेश पलायन भइरहेको बेला उनी भने आफ्ना छोराछोरी स्वदेशमै काम गर्ने बताउँछन् । ‘नेपालमा पनि विस्तारै सेवा सुविधा राम्रो भइरहेको छ, मेरा पनि छोराछोरी नेपालमै छन्, विदेश गइहाले पनि केही सिकेर स्वदेशमै फर्किनुपर्छ,’ उनले भने, ‘नेपालमा सरकारी सेवा लिन झन्झटिलो हुने, रोजगार अभाव लगायतले युवाहरूमा निराशा छ, विदेसिने क्रम बढ्दो छ, यो सुधार गर्न सकिने विषय हो ।’ नेपाल ठूलो सम्भावना र अवसर भएको देश हो । ‘कतिपय देशमा समुन्द्र पुरेर घर बनेको हुन्छ,’ अधिकारी भन्छन्, ‘तर, हाम्रो देशमा योजनाबद्ध हिसाबले देशमै भएका स्रोतसाधनको सदुपयोग गर्न सक्यो भने नेपालको अर्थतन्त्र छिट्टै विकसित देशको जत्तिकै मजबुत हुन सक्छ, त्यसतर्फ हामी सबैले ध्यान दिन आवश्यक छ ।’ देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको अधिकारी बताउँछन् । ‘योजना तथा कार्यक्रमको कार्यान्वयन गर्न केही न केही स्थायित्व चाहिन्छ, नेपालमा बारम्बार सरकार फेरिनु, मन्त्री फेरिने प्रवृत्ति पनि विकासको बाधक हो,’ उनी भन्छन्, ‘हामीले यो प्रवृत्ति सच्याउनुपर्छ ।’ खोटाङदेखि गभर्नरसम्म खोटाङको गाउँबेसीमा उकाली गर्दैगर्दा अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्छु भन्ने विषय ‘आकाशको फल’ थियो । जसलाई सजिलो हेर्न सकिन्थ्यो तर टिप्न असम्भव । त्यो असम्भवतालाई उनले कसरी सम्भव तुल्याए ? यही जिज्ञासा हामीले उनैलाई सोध्यौं । उनले जवाफमा भने, ‘नेपालमा गभर्नरको एउटा मात्रै पद हुन्छ, म त्यहीं बन्छु भन्ने लागेको थिएन । तर, सबै कुरा समयले बनायो, मैले मिहिनेत मात्रै गरेको हुँ ।’ उनले थप्दै भने, ‘जसले म यो बन्छु भनेर सपना बुन्छ, उसले त्यहीअनुसार मिहिनेत पनि गरेको हुन्छ, मिहिनेतअनुसार फल नपाइरहेको पनि हुन्छ । आफ्नो तर्फबाट गर्नुपर्ने काम निरन्तर जारी राख्नुपर्छ । तर, महत्वाकांक्षा राखियो तर भोलि गएर प्राप्त गर्न सकिएन भने व्यक्तिगत रूपमा पनि त्यसले राम्रो गर्दैन ।’ विसं २०२१ सालमा खोटाङमा जन्मिएका अधिकारीको स्कुले जीवन गाउँमै बित्यो । बिहान साँझ घरमा आमाबुवालाई सहयोग गर्ने उनी दिउँसो विद्यालय जान्थे । २०३९ सालमा उनले गाउँबाटै एसएलसी (हालको एसईई) पास गरे । गाउँमा हुँदा उनले शिक्षण पेसा गरे । उनले बुझेको पहिलो तलब २ सय ९० रुपैयाँ थियो । त्यसपछि उनी २०४० सालमा बाँकी अध्ययनको लागि काठमाडौं छिरे । काठमाडौं प्रवेश गरेसँगै सुरु भयो उनको पढाइसँगैको जागिरे जीवन । अधिकारीले काठमाडौंमा आइकमको पढाइसँगै खाद्य संस्थानमा काम थाले । ‘मलाई म काम गर्दै जाँदा संस्थाको लागि इमान्दारीपूर्वक गरेँ, धेरै पछिसम्म पनि म राष्ट्र बैंकको चिफ नै हुन्छु भन्ने सोचेको थिइनँ । निरन्तर काम गर्दै गएँ कार्यकारी निर्देशक (ईडी) बनेँ, डेपुटी गभर्नर भएँ, डेपुटी भइसकेपछि चाहिँ स्वाभाविकै रूपमा गभर्नर हुनुपर्छ भन्ने लाग्यो,’ उनले आफ्नो ६ दशक लामो जीवन यात्रा संक्षेपमा सुनाए । अधिकारीले २०४२ सालमा प्रतिस्पर्धात्मक परीक्षामा नाम निकालेर सरकारी जागिरको यात्रा तय गरेका हुन् । २०४२ सालमा राष्ट्र बैंकको सहायक स्तरको पदमा जागिर सुरु गरेपछि उनलाई अब यही क्षेत्रमा मैले अझै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने लाग्यो । उनी २०५१ सालमा राष्ट्र बैंकको उप–निर्देशक पदमा स्तरोन्नति भए । २०५६ मा निर्देशक पदमा बढुवा भए । निर्देशकमा ९ वर्ष ६ महिना काम गरेका उनी २०६५ सालमा कार्यकारी निर्देशकमा बढुवा भए । कार्यकारी निर्देशकमा बढुवा भएको दुई वर्ष तीन महिनापछि अर्थात् २०६७ सालमा सरकारले उनलाई राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त गर्यो । कनिष्ट कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर नियुक्त भएको भन्दै त्यतिबेला राष्ट्र बैंकभित्र खैलाबैला नै भयो । राष्ट्र बैंकको डेपुटी गभर्नर भएको ४ वर्षपछि अधिकारीले गभर्नरका लागि आवेदन दिएका थिए । तर, उनी सर्टलिष्टमै सीमित बने । त्यतिखरे डा. चिरञ्जीवी नेपाल गभर्नर बनेका थिए । डेपुटी गर्भनरको ५ वर्षेकाल सकेर उनी राष्ट्र बैंकबाट विदा भए । तर उनको सरकारी सेवाको यात्रा यही अन्त्य भएन । २०७३ साल असारमा लगानी बोर्डको सीईओ बने । चार वर्षका लागि सीईओ नसकिँदै उनी राष्ट्र बैंकको गभर्नरमा नियुक्त भए । राष्ट्र बैंकमा विभिन्न पदमा गरी तीन दशक बढी समय बिताएका अधिकारी २०७६ चैत २४ गते गभर्नरका रूपमा नियुक्त भएका थिए । उनी जुन संस्थाबाट सामान्य कर्मचारीको रूपमा प्रवेश गरेका थिए, त्यही संस्थाको सर्वोच्च पदमा पुग्दा अचम्म मान्दैनन् । बरु उनलाई काम गर्दैजाँदा अझै मिहिनेत गर्न जाँगर चल्छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) गरेका छन् । गभर्नर अधिकारी मिहिनेत र सपनाले मान्छेलाई कल्पना नगरेको ठाउँमा पुर्याउने बताउँछन् । उनी विद्यार्थीलाई पनि ठूलो महत्वाकांक्षा नराखी मिहिनेत गर्न सल्लाह दिन्छन् । ‘म यही बन्छु, तिमी भोलि गएर यही बन भन्नुभन्दा पनि म मिहिनेत गर्छु र केही गर्छु भन्ने साेंच्दा राम्रो हुन्छ,’ उनी भन्छन्, ‘यसो गरे भोलि तनाव पनि लिनु पर्दैन ।’ गभर्नर अधिकारीलाई म नेपालको गभर्नर हुन्छु भन्ने कल्पनासमेत थिएन । तर, अहिले तपाईं हामीले चलाउने पैसामा उनको हस्ताक्षर चल्छ । देशको आर्थिक नीति कस्तो हुनुपर्छ ? देशको आर्थिक विकासका लागि कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा उनको महत्वपूर्ण भूमिका हुन्छ । यसो भनिरहँदा लक्ष्य र उद्देश्य नबोकेर हिँडनुपर्छ भनेको हैन, मिहिनेत र कडा परिश्रमले समयसँगै जिम्मेवारीमा पुगिन्छ ।
सुरक्षाका सारथी सबलचन्द्र शाह {भिडियो स्टोरी}
काठमाडौं । खेलकुदप्रति चासो राख्नेले शरदचन्द्र शाहको नाम बिरलै बिर्सिन्छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)को चौथो सदस्यसचिवका रूपमा काम गरेका शाहको प्रशंसा गर्ने पात्रहरू अहिले पनि बजारमा प्रशस्त भेटिन्छन् । विसं. २०३४ सालदेखि २०४५ सालसम्म परिषदको सदस्य सचिव रहेर उनले जति काम गरे, जस्तो काम गरे त्यसको तारिफ परिषदभित्र अहिलेसम्म हुन्छ । हालसम्म परिषदको सदस्यसचिव दर्जनौं व्यक्ति भए । तर, स्व. शाहले साढे तीन दशकअघि गरेको कामको वाहीवाही अहिले पनि राखेपभित्र हुन्छ । शाहकै नेतृत्वमा तत्कालीन ७५ वटै जिल्लामा कबर्ड हल र तत्कालीन पाँच विकास क्षेत्रमा रंगशाला निर्माण भएकाले खेलकुद पूर्वाधारमा उनलाई धेरैले अझै सम्झन्छन् । देशभित्र पनि बृहत राष्ट्रिय खेलकुद प्रतियोगितादेखि दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ पनि उनैको पालामा भएका थिए । राजदरबारसँगको उनको सामीप्यताको विषयले पनि बेलाबखत चर्चा पाउँथ्यो । पूर्वराजा ज्ञानेन्द्रले शाहलाई आफ्नो सल्लाहकार पनि बनाएका थिए । उनै शाहका छोरा हुन् सबलचन्द्र शाह । शाह अहिले देशको नम्बर वान सेक्युरेटी कम्पनी ‘गरुड सेक्युरेटी’का प्रबध सञ्चालक हुन् । नेपालको अन्तिम ‘फिल्ड मार्सल’ नेपाली सेना सुरेन्द्रबहादुर शाहका नाति हुन् उनी । तत्कालीन राजपरिवारसँग निकट सम्बन्धसँगै सेनाको पृष्ठभूमि भएको शाह परिवारका सबलचन्द्र भने सेक्युरेटी व्यवसायमा लागे । उनको यो व्यवसायमा प्रवेशको फेहरिस्त भने गज्जबको छ । पुख्र्यौली घर सल्यान जिल्लामा भए पनि शाहको जन्म विसं २०३६ सालमा काठमाडौंमै भयो । जतिखेर उनका बुबा राखेपको सदस्यसचिव थिए । नेपालमै केही वर्ष स्कुले तहको पढाइ पढेपछि उनी थप अध्ययनका लागि दिदीसँगै अष्ट्रेलिया गए । उनले अष्ट्रेलियाको कार्टिन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक पास गरे । त्यहाँ कलेजमा पर्यटन विषय पनि पढेको उनी सुनाउँछन् । पढाइपछि उनले अष्ट्रेलियामै तीन वर्ष काम गरे । अष्ट्रेलियाबाट नेपाल फर्किएर व्यवसाय गर्छुु भन्ने सोचेका पनि थिएनन् शाहले । बरु पारिवारिक पृष्ठभूमि सेनाको भएकोले सेनामा जागिर गर्ने उनको रुचि थियो । विगत स्मरण गर्दै उनी भन्छन्, ‘बाल्यकालमा व्यवसाय गर्छु, व्यवसायी बन्छु भन्ने साेंचेको पनि थिइनँ, बरु सेना बन्ने रुति थियो ।’ त्यसपछि जन्मियो गरुड सेक्युरेटी अष्ट्रेलियामा पढिरहेका शाह १२ वर्षपछि अर्थात विसं २०५९ सालमा नेपाल फर्किए । नेपालमा दशैं-तिहार मनाएर उतै फर्किहाल्ने उनको योजना थियो । अष्ट्रेलियाबाट नेपाल आएको उनलाई अहिले २२ वर्ष भइसक्यो तर, उनी त्यसपछि अष्ट्रेलिया फर्किएनन् । विसं २०६० सालमा उनको दिदीको विवाह भयो । उनको भिनाजु नेवार समुदायका थिए । भिनाजुले नेपालमै व्यवसाय गर्न उनलाई सुझाव दिए । व्यवसाय सुरु गर्दाका सुरुवाती दिनहरू स्मरण गर्दै उनी भन्छन्, ‘म सेक्युरेटी व्यवसायमा लाग्छु भन्ने सोंचेकै थिइनँ । तर, भिनाजुले नेपालमै व्यवसाय गर्न सकिन्छ भनेर प्रस्ताव गर्नुभयो, उहाँसँगै बसेर धेरै कुरा सिकियो,’ उनी सुनाउँछन्, ‘भिनाजुकै प्रेरणाले नेपालमै बसेँ, अहिले म जुन स्थानमा छु, भिनाजुकै कारणले नै हो ।’ विडम्वना, शाहका भिनाजुको स्वर्गवास भइसकेको छ । तर, उनी आफ्नो भिनाजुलाई धेरै सम्झिन्छन् । आफ्नो व्यवसायको जन्मदाताको रूपमा उनलाई स्मरण गर्छन् । देशमा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । एकातिर बेरोजगारीको प्रभावले राज्यविरुद्ध सशस्त्र विद्रोहमा युवा होमिने क्रम बढ्दो थियो । अर्कोतिर कर्पोरेट हाउस र निजी सम्पत्तिको सुरक्षा चिन्ताको विषय बन्दै गएको थियो । सेना बन्छु भनेर सपना बुनेका शाह त्यस परिवेशमा व्यवसायतर्फ मोडिए । परिवारको व्यावसायिक पृष्ठभूमि थिएन । तर पनि उनले आँट गरे । विसं २०६१ सालमा उनले गरुड सेक्युरेटीको स्थापना गरे । ‘म लडाइँ लड्छु, हतियार बोक्छु भन्ने मान्छे व्यवसायमा लागेँ, भिनाजुले युवाले नै केही गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सल्लाह दिएपछि कम्पनी खोलेँ,’ उनी भन्छन्, ‘त्यतिखेर आउट सोर्सिङ सेक्युुरेटीको माग पनि धेरै थियो ।’ यो २० वर्षको अवधिमा शाहले धेरै आरोह-अवरोहहरू सामना गरे । त्यसलाई उनले सिकाइका रूपमा लिएका छन् । यो अवधिमा कम्पनीले सशस्त्र द्वन्द्वकाल, कोरोना भाइरसको महामारी, विनाशकारी भूकम्प, बाढीपहिरो र आर्थिक मन्दी लगायतका ठूल्ठूला चुनौतीहरू बेहोर्नुप¥यो । एकताका फस्टाएको चोरी–चाकरी, अपराध र गुण्डागर्दीलाई पनि गरुड सेक्यूरिटीजले नजिकबाट नियालेको छ । जसले निजी क्षेत्रकै सबैभन्दा ठूलो सुरक्षा संयन्त्र निर्माण ग¥यो । पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी ७७ वटै जिल्लामा सार्वजनिक संस्थान, उद्योग, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिको सुरक्षामा टेवा दिइरहेको छ । ‘यो २० वर्षको अवधिमा देशमा धेरै परिवर्तन भयो, सबैभन्दा ठूलो कुरा मान्छेको सोंच बदलिएको छ, हामीलाई पनि एउटा सिकाइ र अनुभव मिल्यो, थप परिपक्व बन्ने अवसर प्रदान भयो,’ उनी भन्छन्, ‘त्यसैले त आज प्राउडका साथ नम्बर वान कम्पनी भनेर हिँड्न पाइएको छ ।’ शून्यबाट सुरु भएको कम्पनी आज यो अवस्थामा पुग्नु ठूलो उपलब्धि भएको शाहको भनाइ छ । ‘देशमा सबैले माया गरेर काम गर्न सकियो भने देश बन्छ, विदेशमा सफल हुनु भयो भने तपाईं मात्रै हुनुहुन्छ तर नेपालमा काम गरेर सफल हुनु भयो भने देश नै सफल हुन्छ,’ उनी भन्छन्, ‘नेपालमा पनि अपार सम्भावना छ ।’ गरुड सेक्युरेटीको सेवा दुई दशकको अवधिमा गरुड सेक्युरेटी देशको नम्बर वान सेक्युरेटी कम्पनी बनेको छ । विभिन्न अर्धसरकारी, व्यावसायिक प्रतिष्ठान, संस्थान, बैंक तथा वित्तीय संस्था, अस्पताल तथा ठूल्ठूला कन्सर्ट तथा कार्यक्रममा सुरक्षा प्रदान गर्नका लागि यो कम्पनीले सुरक्षाकर्मी उपलब्ध गराउँछ । सुरक्षा परामर्श, नगद र मूल्यवान वस्तुको ढुवानी, इलेक्ट्रोनिक सुरक्षा लगायत सुरक्षाहरू प्रदान गर्दै आएको गरुड सेक्युरेटी कम्पनी अहिले देशमा हुने ठूल्ठूला इभेन्टको सुरक्षा व्यवस्थापन गर्नेमा अग्रपंक्तिमा आउँछ । हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल), भारतीय सुपरस्टार सोनु निगमको कन्सर्टको सुरक्षा व्यवस्थापनको नेतृत्व यही कम्पनीले गरेको हो । त्यसअघि पनि नेपालमा भएका ब्रायन एडम्स लाइभ कन्सर्ट, अतिफ असलम कन्सर्ट, प्रशान्त तामाङ कन्सर्ट, साफ च्याम्पियनसिप, मिका हाकिनेनसँगको जोनी वाकर सेफ ड्राइभिङ क्याम्पेन, टुँडिखेलमा आयोजित एमएलटीआर कन्सर्ट, दरबारमार्गमा भएको स्ट्रिट फेस्टिभल, ट्याटु महोत्सव लगायत ठूला कार्यक्रमको सुरक्षा व्यवस्थापनको काम पनि यही कम्पनीले गर्दै आएको छ । देशमा हुने ठूल्ठला कार्यक्रमको सुरक्षा दिने काम गरुड सेक्युरेटीले नै गर्ने गरेको शाह बताउँछन् । उनका अनुसार नगद तथा मूल्यवान वस्तुको ढुवानी सेवाका लागि कम्पनीले विशेष प्रकारका सवारीसाधन प्रयोग गर्ने गरेको छ । गाडीमै क्यामेरा, इनबिल्ट भल्ट, र ड्युल लकिङ सिस्टम रहेको सवारीसाधन कम्पनीले प्रयोग गर्ने गरेको हो । यी सवारीसाधनलाई जीपीएसमार्फत् ट्र्याक गरिने अभ्यास छ । यसले चोरी डकैती तथा लुटपाटको सम्भावना न्यून हुने र त्यस्तो स्थितिमा गाडीको इन्धन आपूर्ति रोक्ने र सवारीलाई नियन्त्रण कक्षबाट रोक्न सक्ने सुविधा पनि छ । कम्पनीको नियन्त्रण कक्ष र क्विक रिएक्शन टिमले २४ घण्टा नै काम गरिरहेको हुन्छ । शाहका अनुसार बैंक तथा वित्तीय संस्था, अस्पताल, डिपार्टमेन्टल स्टोर र ज्वेलरी पसलहरूलाई पनि कम्पनीले सुरक्षा सेवा प्रदान गर्दै आएको छ । ‘तपाईंको जुन व्यवसायमा विज्ञता छ, तपाईं त्यसमै केन्द्रित हुनुहोस्, तपाईंको सम्पत्तिको सुरक्षा दिने काम हामी गर्छौं, व्यवसाय गर्नेहरूले अरूमा अल्झिएर पनि बस्नु हुँदैन,’ उनी भन्छन्, ‘हाम्रो सुरक्षाको कारणले नै सयौं कम्पनीको चुहावट रोकिएको छ, निजी क्षेत्रको सम्पत्तिको सुरक्षा भएको छ ।’ प्रबन्ध निर्देशक शाह गरुड सेक्युरेटीले सुरक्षासम्बन्धी मात्र होइन, आगो नियन्त्रण, प्राकृतिक प्रकोप सुरक्षा, प्राथमिक उपचारलगायत विषयमा पनि तालिम दिँदै आएको बताउँछन् । व्यवसायीको मुख्य काम व्यवसाय गर्ने भएको र त्यसमा आफूहरूले सर्पोटको भूमिका खेल्दै आएको उनले बताए । २ अर्बको कारोबार, ५ हजारलाई रोजगारी शून्य अवस्थाबाट सुरु भएको गरुड सेक्युरेटीले आज कम्पनीमा ५ हजार बढी सुरक्षाकर्मीलाई संलग्न गराएको छ । आउट सोर्सिङ सुरक्षा प्रदान गर्नेमा गरुड नम्बर वान कम्पनी बनेको छ । ‘कम्पनीको पृथक इज्जत छ, यही बजारमा विदेशी कम्पनी पनि छन् । तर, विदेशी कम्पनीलाई पछि पार्दै हामी नम्बर वान बनेका छौं,’ शाह भन्छन्, ‘सामाजिक सुरक्षा कोषले सबैभन्दा धेरै योगदानकर्ता रहेको कम्पनीको रूपमा हामीलाई सम्मान गरेको छ । नेपाली भएर नेपालीलाई नै काममा राखेर सेवा गरिरहेका छौं, योभन्दा ठूलो सन्तुष्टि के होला ?’ सेनामा जागिर खाएका थिए भने शाह यतिबेला सैन्य नेतृत्वमा पुग्थे होलान् । तर उनले व्यवसाय गरे । निजी क्षेत्रको सुरक्षातर्फ सबैभन्दा ठूलो कम्पनी र नेटवर्क बनाए र त्यसको कमाण्ड सम्हालिरहेका छन्, उनको यात्रा अझै जारी छ । शाहका अनुसार गरुड सेक्यूरिटिजले वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्छ । गरुड ग्रुप अफ कम्पनिज अन्तर्गतका अर्को कम्पनी ‘गरुड सर्पोट सर्भिस’ पनि उनले नै सञ्चालन गरिरहेका छन् । जसको नेतृत्व उनको श्रीमती श्रेया राज्यलक्ष्मी राणाले गरिरहेकी छन् । उक्त कम्पनीले पनि हाउस किपिङ, हस्पिटालिटी, ड्राइभर, टेक्निकल एण्ड मेकानिकल लगायत सेवामा आउट सर्भिस सेवा प्रदान गर्दै आएको छ । शाहका अनुसार सो कम्पनीले पनि २ हजार बढीलाई रोजगारी दिएको छ । गरुड सेक्यूरिटिज र गरुड सर्पोट सर्भिस अन्तरगत करिब ७ हजार मानिसले काम गरिरहेका हुन्छन् । कम्पनीको वार्षिक कारोबार करिब ३ अर्ब रुपैयाँ बराबर छ । दुइटै कम्पनीले वार्षिक ३ अर्ब रुपैयाँबराबरको कारोबार गर्ने गरेको जानकारी शाहले दिए । गरुड ग्रुप अफ कम्पनिजका यी दुइटै कम्पनीले धेरै योगदानकर्ता जोड्ने कम्पनीका रूपमा सामाजिक सुरक्षा कोषबाट पनि सम्मान पाइसकेको छ । यसले पनि कम्पनीले आफ्ना कर्मचारीको सुविधा तथा सुरक्षाप्रतिको प्रतिवद्धतालाई झल्काएको बुझ्न सकिन्छ । ‘हामीले रोजगारी दिएका होइनौं, हाम्रो रोजगारदाता भनेको सेवाग्राही हो, उहाँहरूले लगानी गर्नु भएको छ । त्यसको सुरक्षाका लागि आउट सोर्सिङ मात्रै गरेका हौं । उद्योगी तथा व्यवसायीले लगानी गरेकै कारण आज हामीले यो अवसर पाएका हौं, उनीहरूको सम्पूर्ण सम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी हामीले लिएका हौं,’ उनले भने । शाहका अनुसार भूतपूर्व सेना, आर्मी, प्रहरीहरूलगायत युवा पनि कम्पनीमा संलग्न छन् । ‘यहाँ विभिन्न किसिमका कर्मचारी तथा सुरक्षा गार्ड हुनुहुन्छ, कतिपय सेवाग्राहीले अंग्रेजी जान्नेहरू खोज्छन्, त्यसका लागि पनि हाम्रो आफ्नै ट्रेनिङ सेन्टर छ, तालिमका लागि उहाँहरूको १० दिनको कोर्स हुन्छ, हामीले सर्टिफाइड गरेपछि मात्र उहाँहरूको काम सुरु हुन्छ,’ उनले भने । काठमाडौं उपत्यका र उपत्यका बाहिरको अवस्था फरक रहेको शाहले सुनाए । ‘उपत्यका बाहिरकाले लामो समयसम्म काम गर्नुहुन्छ । तर, उपत्यकाभित्र कोठा भाडामा बस्ने हुँदा कर्मचारीको टर्नओभर धेरै हुन्छ, तालिम लिएपछि विदेश जाने पनि बढी छन्,’ उनी भन्छन्, ‘५८ वर्षमा अनिवार्य अवकाशको व्यवस्था हामीले गरेका छौं ।’ शाहले कम्पनीले श्रम ऐनलाई पूर्ण रूपमा लागू गरेको जानकारी दिए । सोही ऐनअनुसार तलब सुविधा कम्पनीले प्रदान गर्ने गरेको छ । विगतको तुलनामा अहिले सेक्युरिटी क्षेत्र केही सहज भएको उनको बुझाइ छ । ‘गरुड सेक्युरेटीले दिनरात, हावापानी, विपत केही भन्दैन, कर्मचारीहरूले सही किसिमले ड्युटी गरेकै कारण आज हामी यहाँ पुगेका हौं । हाम्रो प्रडक्ट नै मान्छे हो, उनीहरूमा भएको कम्पनी र कामप्रतिको मायाले हामी आज नम्बर वान कम्पनी बनेका हौं,’ शाह भन्छन्, ‘अझै पनि आउट सोर्सिङ व्यवसायको सम्भावना छ ।’ देशमा छाएको आर्थिक मन्दीसँगै निजी क्षेत्रले सुरक्षा क्षेत्रमा खर्च कटौती गर्दा केही समस्या भएको शाहको भनाइ छ । ‘बैंकको शाखामा पहिले पाँच जना सुरक्षाकर्मी हुन्थे भने अहिले १ जनामा सीमित छ, प्राइभेट सेक्युरिटी घटेको छ,’ उनले भने । तर, आउट सोर्सिङको माग भने बढेको शाहले बताए । ‘निजी क्षेत्रले घटाउँदा पनि हामीले पूर्ति गरिरहेका छौं । अहिले भनेको सर्भाइभ गर्ने हो । निजी क्षेत्रलाई आर्थिक मन्दीले पिरोलिरहेको छ,’ उनी भन्छन्, ‘आगामी एक÷दुई वर्ष सर्भाइभ नै गर्ने हो ।’ लाभांशको पनि लगानी शाहका अनुसार गरुड सेक्युरेटीले सुरुवाती ८ वर्ष लाभांश नै वितरण गर्न सकेन । कम्पनीका लागि सुरुवाती वर्षहरू संघर्षपूर्ण नै रहे । ८ वर्ष बितेपछि भने कम्पनीले लाभांश दिइरहेको उनले बताए । तर, लाभांशलाई पनि कम्पनीमै ‘रिइन्भेष्ट’ गरिरहेको छ । ‘हामी जति बढ्दै गयौं त्यसलाई रिइन्भेस्टिङ गरिरहेका छौं । अहिले देशभर ३०/४० वटा गाडी छन् । मोटरसाइकल पनि धेरै छन्, पेट्रोलियम पदार्थका सवारीलाई विद्युतीयमा रूपान्तरण गरिरहेका छौं । यो वर्षको अन्तिमसम्म हाम्रो सबै सवारीसाधन विद्युतीय हुन्छन्,’ शाह भन्छन्, ‘यसले इन्धन खर्च पनि बच्ने, वातावरणलाई पनि सहयोग पुग्ने ।’ कम्पनीको काठमाडौंमा तीनवटासहित धनगढी, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा, चितवन, हेटौंडा, वीरगञ्ज, ढल्केवर र इटहरीमा शाखा छन् । उनका अनुसार देशका सबै जिल्लामा गरुड सेक्युरेटीको सेवा पुगेको छ । कम्पनीको बलियो पक्ष बनेको सेवाग्राही र कर्मचारीको प्रतिक्रिया हो । कम्पनी, कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध प्रगाढ हुनुपर्छ । त्यो सम्बन्धलाई थप प्रगाढ बनाउन शाहले त्रैमासिक तथा वार्षिकरूपमा सेवाग्राही र कर्मचारीको प्रतिक्रिया लिने प्रणाली विकास गरेका छन् । ‘हामीलाई बनाउने भनेको नै क्लाइन्ट र कर्मचारीले हो, उहाँहरूको योगदानले नै हामी एक नम्बर बनेको हो, उहाँहरू धन्यवादको पात्र हुनुहन्छ, हामी सबैको समान उद्देश्य भनेको नतिजा हो, त्यो नतिजा राम्रो दिन पाउँदा गरुडलाई गर्व लाग्छ,’ उनले खुसी हुँदै भने । सम्भावना र चुनौती शाहले यो क्षेत्रमा जति सम्भावना र अवसर देखेका छन् त्यति नै चुनौती पनि बेहोरेका छन् । दक्ष जनशक्तिको अभाव र भएका जनशक्तिको पनि पलायनले उनलाई चुनौती थपिरहेको छ । निजी क्षेत्रको खर्च कटौती तथा मूल्य संवेदनशीलता र अस्वस्थ प्रतिस्पर्धालाई पनि उनले चुनौतीका रूपमा लिएका छन् । यसको समाधान खोजिरहेका छन् उनी । ‘हामी आवश्यक जनशक्ति आपूर्ति गर्न सकिरहेका छैनौं, भएका दक्ष जनशक्ति पनि पलायन भइरहेका छन्, नेपाली बजारमा यो ठूलो समस्याका रूपमा देखा परेको छ,’ उनले भने । यस्तै, निजी सुरक्षा ऐनको अभावका कारण पनि कम्पनीहरूलाई चुनौती थपिएको छ । विभिन्न सरकारी निकायमा धाउनु पर्ने बाध्यता अझै हटेको छैन । ‘श्रम मन्त्रालय, गृह मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयमा धाउनु पर्ने समस्या अझै छ,’ शाह भन्छन्, ‘यो समस्याको समाधानका लागि निजी सुरक्षा ऐनको आवश्यकता छ ।’ बजारमा ठूलो उपस्थिति, बलियो ब्राण्ड, सेवामा विविधिकरण, नयाँ भर्ती तथा प्रशिक्षण प्रणाली र अन्तर्राष्ट्रिय बजारमा प्रवेशलगायत विषय यो कम्पनीका सबल पक्ष हुन् । कम्पनीले आफ्नो ब्राण्डिङ तथा पहिचानलाई थप परिष्कृत बनाउँदै गएको छ । कम्पनीले पूर्वाधार विकासमा सुधार गर्नुका साथ प्रतिस्पर्धात्मक क्षमता पनि बढाउँदै गएको छ ।
रविभक्त श्रेष्ठ : सर्वस्वहरणपछि निरन्तर व्यावसायिक सफलता {भिडियो स्टोरी}
काठमाडौं । काठमाडौंको इन्द्रचोकमा एउटा सामान्य कपडा पसल सञ्चालन गरेर आज देशकै गर्व गर्न लायक व्यावसायिक समूह हो– आईजे ग्रुप । विगतमा एनई ग्रुपको नामले परिचित यो व्यावसायिक समूहले व्यवसायको पाँच पुस्ता पार गरिसकेको छ । आफ्नो पाँच पुस्ताले बेहोरेका विभिन्न आरोह-अवरोह र अनुभवहरूलाई आत्मसात गर्दै आईजे ग्रुपको व्यावसायिक नेतृत्व गरिरहेका छन्- रविभक्त श्रेष्ठ । रविभक्त आईजे ग्रुपको चौथो पुस्ताको व्यावसायिक नेतृत्वकर्ता हुन् । परिवारले अगाडि बढाएको व्यवसायलाई उनले मलजल गर्दै देशको एक प्रतिष्ठित र स्थापित व्यावसायिक घरानाका रूपमा आईजे ग्रुपलाई अगाडि बढाइरहेका छन् । नेपाली व्यवसायीमाझ पृथक किसिमको पहिचान स्थापित गरेका श्रेष्ठको हजुरबुबा (हरिभक्त श्रेष्ठ)को आमाले सुरु गरेको व्यवसाय उनको हजुरबुबा, बुबा र उनी हुँदै उनका छोरा रविन्द्रभक्तको काँधमा आईजे ग्रुपको व्यावसायिक जिम्मेवारी आइपुगेको छ । शताब्दीऔंदेखिको व्यावसायिक अनुभवले रविभक्तलाई थप परिपक्व भएर अगाडि बढ्न प्रेरित गरिरहेको छ । आईजे समूहको जग रविभक्तका बुबा स्व. इन्द्रभक्तले राखेपनि यो परिवारको व्यावसायिक जरा भने अझै गहिरो छ । आईजे ग्रुपका अध्यक्ष श्रेष्ठका अनुसार उनको पारिवारिक व्यवसायको जन्मदाता उनको हजुरबुबाको आमा हुन् । ‘मेरो हजुरबुबाको आमा अशिक्षित भए पनि व्यापार गर्नुपर्छ भन्ने मानसिकताको हुनुहुँदो रहेछ, हजुरबुबालाई पनि व्यवसाय गर्न उत्प्रेरित गर्नु हुँदो रहेछ,’ पारिवारिक व्यावसायिक इतिहास स्मरण गर्दै श्रेष्ठ भन्छन्, ‘इन्द्रचोकमा घरकै तल सानो कपडा पसल थियो, त्यहीबाट परिवारको गुजारा चल्थ्यो, त्यही कपडा पसलबाट व्यवसाय विस्तार हुँदै आज आईजे ग्रुप देशको अग्रणी व्यावसायिक ग्रुप बनेको हो ।’ व्यवसायप्रति हजुरबुबाको कम रुचि भएका बुबा इन्द्रभक्तले सानो उमेरमै व्यवसाय सम्हालेको रविभक्त सुनाउँछन् । उनले बुबाले नै हो आईजी ग्रुप (तत्कालीन एनई ग्रुप) बिस्तार गरेको । एउटा सामान्य कपडा पसलदेखि बहुराष्ट्रिय कम्पनीलाई नेपाल भित्र्याउने पहिलो साहसी र क्षमतावान व्यवसायीको पहिचान उनै इन्द्रभक्तले बनाए । उनले त्यसअघि भारतबाट चिया आयात गरेर बिक्री गर्ने काम पनि गरिरहेका थिए । उनको चिया व्यापारले हिन्दुस्तान लिभरलाई नेपाल ल्याउन ठूलो भूमिका खेल्यो । ‘मेरो बुबा खासै नपढेको भएपनि धेरै दूरदर्शी हुनुहुन्थ्यो । कपडा र चिया लगायत वस्तु आयात गरेर बिक्री गर्नेमध्येको त्यतिखेरको प्रमुख व्यवसायी उहाँ नै हो । बिस्तारै विभिन्न देशसँग सम्बन्ध बनाएर व्यापार सुरु गर्नुभयो । जापान, कोरिया, भारतलगायत देशबाट सामान आयात गर्नुहुन्थ्यो, त्यतिखेर सरकारको नजरमा पनि उहाँ एक अनुशासित र मिहिनेती व्यवसायी हुनुहुन्थ्यो,’ आफ्नो बुबालाई स्मरण गर्दै श्रेष्ठ भन्छन् । वर्षौंसम्म कपडाको व्यापार गरेपछि श्रेष्ठका बुबाले उद्योग सुरु गर्ने योजना बनाए । उनले हेटौंडा औद्योगिक क्षेत्रभित्रको एउटा बन्द सिन्थेटिक फ्याक्ट्री किनेर पुनः सञ्चालनमा ल्याए । त्यहींबाट कपडाको उत्पादन सुरु गरे । विराटनगरमा गणपति कपास उद्योग पनि सुरु गरे । त्यो पनि पछि बन्द भयो । आइरन उद्योग खोले त्यसमा पनि सफलता मिलेन । श्रेष्ठका अनुसार अनौपचारिक अध्ययनमा माहिर थिए इन्द्रभक्त । ‘विभिन्न पत्रपत्रिका र किताबहरू अध्ययन गर्नमा उहाँ धेरै अगाडि हुनुहुन्थ्यो, देश विदेशका घटनाक्रमबारे जानकारी लिइरहनु हुन्थ्यो,’ उनी भन्छन्, ‘नेपालमा युनिलिभरको आगमन उहाँको अध्ययनले नै सार्थक बनेको हो ।’ एकदिन श्रेष्ठका बुबा पत्रिका पढ्दै थिए । उनले हिन्दुस्तान लिभर (यूनिलिभर) को विज्ञापन देखे । यसलाई नेपाल किन ल्याउन सकिँदैन भन्ने सोंचे, त्यसैको खोजीमा लागे । हिन्दुस्तान लिभरका अधिकारीहरूसँग भेटे । सुरुमा उनीहरूले नेपालको बजार अध्ययन गरेर मात्रै नेपालमा आउन सकिने बताएपछि उनी नेपाल फर्किए । उनीहरूले नेपालको बजार हेरे, सम्भावना देखेपछि युनिलिभरको प्रडक्ट नेपाल पठाउन र नेपालमै उत्पादन गर्न सहमत भए तर सरकारले नेपालमा उत्पादनको स्वीकृत दिएन । ‘आर्थिक विकास, रोजगारी र राजस्वको हिसाबले नेपालमा ठूलो सम्भावना थियो । तर, नेपाल सरकारले त्यतिबेला स्वीकृति दिएन, सरकारले रेड कार्पेट बिछ्याउनुपर्ने बेला उल्टै वास्तै गरेन । निजी क्षेत्रहरूका व्यवसायीले पनि नेपालमा यो उद्योग आउनु हुन्न भनेर विरोध गर्नतर्र्फ लागे,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘त्यतिखरे खुला अर्थतन्त्रको नीति पनि आइसकेको थिएन ।’ विसं २०४७ सालपछि नेपाल सरकारले उदारवादी अर्थतन्त्रको नीति अवलम्बन ग¥यो । निजी क्षेत्रले विभिन्न क्षेत्रमा प्रवेश गर्ने अवसर पायो । त्यतिखरे अर्थमन्त्री महेश आचार्य बनिसकेका थिए । विभिन्न निकायमा धाएपछि सरकारले दुई वर्षपछि अर्थात २०४९ सालमा नेपाल लिभर लिमिटेडको नाममा उद्योग दर्ताको प्रमाणपत्र प्रदान ग¥यो । बहुराष्ट्रिय कम्पनी युनिलिभरलाई नेपालमा ल्याएर उत्पादन सुरु गर्ने पहिलो नेपाली व्यवसायी नै इन्द्रभक्त बने । उनले २०३५ देखि २०३८ सालसम्म नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पनि गरेका थिए भने चार कार्यकालसम्म नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष भएर समेत काम गरिसकेका थिए । सुरुमा नेपाल लिभरबाट स्थापना भएको कम्पनी २०६२ सालमा यूनिलिभरको नाममा रूपान्तरण भयो । नेपालमा १० मध्ये ८ घरपरिवारले दैनिक रूपमा यूनिलिभरका प्रडक्टहरू प्रयोग गर्ने श्रेष्ठको दाबी छ । उनका अनसार यूनिलिभरले हेयर केयर, स्किन केयर, ओरल केयर होम केयरका प्रडक्टहरू उत्पादन गर्दै आएको छ । यूनिलिभरले प्रत्येक वर्ष लगभग २७ हजार मेट्रिक टन उत्पादन गर्दै आएको उनले बताए । अहिले यूनिलिभर नेपालको पुँजीबजारमा ‘ब्लु चिप’ कम्पनी बनेको छ । लगानीकर्ताको नजर यही कम्पनीमा छ, जुन बजारमा प्रतिकित्ता ५ हजार ८०५ रुपैयाँसम्ममा कारोबार भएको छ । यो नै नेपालको सबैभन्दा महँगो सेयर हो । कम्पनीले वार्षिक १७१४ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । यस कम्पनीमा श्रेष्ठ परिवारको ५ प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र भारतीय लगानीकर्ताको ८० प्रतिशत सेयर स्वामित्व छ । श्रेष्ठ परिवारले पहिलो पटक बहुराष्ट्रिय कम्पनीलाई नेपाल भित्र्याएकै कारण आज नेपालमा अन्य बहुराष्ट्रिय कम्पनी पनि धमाधम भित्रिरहेका छन् । श्रेष्ठ परिवारको सर्वस्व हरण इन्द्रभक्त श्रेष्ठका तीन जना दाजुभाइ थिए । जेठा इन्द्रभक्त व्यवसायमा, माइला राजनीतिमा थिए भने कान्छा परराष्ट्रमा जागिरे थिए । इन्द्रभक्तलाई व्यवसायबाहेकमा रुचि थिएन । माइला नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । देशमा जहानियाँ राणाशासन थियो । त्यहीबेला नेपाली कांग्रेस लगायतका दलहरू राणाशासनको विरोधमा थिए । इन्द्रचोकमा घर भएका इन्द्रभक्तका माइला भाइले इन्द्रचोकमै कार्यक्रम राखेर जोडतोडले राणाविरुद्ध भाषण गरे । त्यही कसुरमा उनी पक्राउ परे । उनलाई राणाहरूले सजाय दिए । पुरै परिवार सर्वस्व हरणमा प¥यो । ‘माइला काकाले परिवारको कुरा पनि सुन्नु भएन । भाषण गरेकै आधारमा राणाहरूले काकालाई गोलघरमा थुन्यो । हामी संयुक्त परिवारमा थियौं । काकासँगै हामी पनि सर्वश्व हरणमा परेका रहेछौं, ’ उनले भने । श्रेष्ठका अनुसार त्यसपछि उनको परिवारले फेरि सुरुवातदेखि व्यवसाय थाल्यो । उनका बुबाको मिहिनेतकै कारण व्यवसायले फेरि एउटा लय समात्यो । भारतबाट सुतीको कपडा र चिया ल्याएर नेपालमा बिक्री गर्ने काममा इन्द्रभक्त सक्रिय बने । ‘बुबाले भारत र कोरियाबाट सुतीको कपडा ल्याउनु हुन्थ्यो, त्यतिबेलाको सरकारले आयातको जिम्मा पनि बुबालाई मात्र दिएको थियो । उहाँ धेरैको प्रिय पात्र हुनुहुन्थ्यो, तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले बुबालाई नै विश्वास गरेर आयातको जिम्मेवारी दिएको बुबाले सुनाउनुहुन्थ्यो,’ श्रेष्ठले पुरानो कुरा स्मरण गर्दै भने । अमेरिकामा पढाइ, नेपालमा व्यवसाय विसं. २०१२ सालमा जन्मिएका रविभक्त श्रेष्ठले बुबाबाट धेरै व्यावसायिक कुरा सिके । उनी पनि व्यवसायमा लागेको लामो समय भइसकेको छ । ६९ वर्षीय रविभक्त अझै पनि आफूमा युवापन रहेको सुनाउँछन् । ‘जोस, जाँगर र काम गर्ने हुटहुटी अहिले पनि छ, मेरो मनबाट म पनि युवा नै हो, म योङ्ग नै छु,’ उनी भन्छन्, ‘अझै पनि सबै काम गर्न सक्छु ।’ श्रेष्ठले एनई ग्रुपलाई परिवर्तन गरेर आमाबुबाकै नामबाट आईजे ग्रुप बनाए । अहिले उनको व्यावसायिक समूहको नाम आई (इन्द्रभक्त) जे (जवाहर देवी) अर्थात आईजे ग्रुप राखेका छन् । उनले आफ्नो छोरा रविन्द्रभक्त श्रेष्ठको सल्लाहमै नाम परिवर्तन गरेको सुनाए । श्रेष्ठको स्कुले जीवन काठमाडौंमै भयो । उनी कक्षा चारसम्म जेपी हाई स्कूलमा पढे । त्यसपछि त्रिभुवन आदर्श विद्यालय हुँदै लेबोरेटरी स्कूलबाट एसएलसी (हालको एसईई) पास गरे । उनले त्रिचन्द्र कलेजबाट व्यवसाय प्रशासनमा स्नातक गरे । श्रेष्ठका अनुसार उनकी आमाले आफ्ना छोराछोरीको राम्रो शिक्षामा संधै जोड दिन्थिन् । त्यसकारण उनी दाजुसँगै उच्च शिक्षा पढ्न अमेरिका गए । उनले अमेरिकाको न्यूयोर्क बिजनेस स्कूलमा व्यवस्थापन पढे । त्यहाँको पढाइसकेपछि उनी नेपाल फर्किए । तर, विडम्वना उनको दाजु अमेरिकाबाट नेपाल फर्किएनन् । उनी भने नेपाल फर्किएर बुबालाई व्यवसायमा सहयोग गरे । जसले व्यापक अवरोधका बीच नेपालमा पहिलो पटक बहुराष्ट्रिय कम्पनी यूनिलिभर साझेदारीमा भित्र्यायो र अरू व्यवसायीलाई पनि बहुराष्ट्रिय कम्पनीसँग साझेदारीको सम्भावना देखायो । अमेरिबाट फर्किएपछि श्रेष्ठले विवाह गरे । विवाहअघिको प्रेम प्रसंग पनि गज्जव छ उनको । पद्मकन्या कलेजमा आफ्नी बहिनीलाई छोड्न जानु उनको दैनिकी थियो । त्यहाँ जाँदा उनले एउटा युवतीलाई मन पराए । घरमा कुरा राखे । केटाकेटीको घरमा कुराकानी भयो । ‘सुरुमा उनलाई म मन परिनँ । तर, म उनको पछि लागिरहेँ, अन्ततः प्रेम बुझाउन सफल भएँ, त्यसपछि दुई परिवारबीच भेटघाट भयो र विवाह तय भयो,’ श्रेष्ठ विगत सम्झिँदै भन्छन्, ‘त्यसपछि त विवाह भैहाल्यो नि ।’ अहिले उनकी श्रीमती कान्ता श्रेष्ठको एक छोरा र एक छोरी छन् । छोरा रविन्द्रभक्त पनि आईजे ग्रुपकै निर्देशकका रूपमा काम गरिरहेका छन् । व्यापारबाट उद्योगमा, ठूला कम्पनी साझेदारीमा एउटा कपडा पसलबाट सुरु भएको आईजे ग्रुपको व्यावसायिक यात्रा अहिले उत्पादन, बैंकिङ, बीमा, डिस्ट्रिब्युसन, अन्तर्राष्ट्रिय व्यापार, परामर्श सेवा तथा परियोजना विकासमा बिस्तार भएको छ । यूनिलिभर, सोल्टी होटल, समिट होटल, हिमालय बैंक, युनाइटेड अजोड इन्स्योरेन्स, नेशनल आइसक्रिम जस्ता कहलिएका व्यापारिक प्रतिष्ठानमा आईजे ग्रुपको लगानी छ । उपभोग्य वस्तुमा यूनिलिभरका प्रडक्ट र नेशनल आइसक्रिममा यस ग्रुपको लगानी छ भने हस्पिटालिटीमा भिभान्ता होटल, समिट होटल, सोल्टी क्राउन प्लाजा र सोल्टी वेष्टेन्ड प्रिमियर लगायतमा साझेदारीमा यस समूहको लगानी छ । श्रेष्ठका अनुसार अहिले सोल्टीले उपत्यका बाहिर पनि विभिन्न होटलको व्यवस्थापनको जिम्मा लिएको छ । सोल्टी ब्राण्डकै होटल काठमाडौं बाहिर पनि खोल्ने योजनाका साथ नेपालगञ्जमा होटल सञ्चालन भइसकेको छ भने पोखरामा जग्गा खरिदको काम भइसकेको उनको भनाइ छ । पाँचतारे होटल सोल्टीमा ओवराय ग्रुपको लगानी थियो । ओवरायले सोल्टीबाट बाहिरिने निर्णय गरेपछि त्यसको सेयर आईजी ग्रुपले खरिद गरेको थियो । विसं २०६७ सालमा सोल्टी होटलको सेयर खरिद गरेर यो व्यावसायिक समूहले हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हो । त्यसको चार वर्षपछि अर्थात विसं २०७१ सालमा समिट होटलमा लगानी ग¥यो भने २०७५ सालमा सोल्टी वेष्टेन्डमा लगानी ग¥यो । विसं २०७६ सालमा भिभान्ता होटलमा प्रवेश गरेको यो व्यावसायिक समूहले अहिले चौधरी र अन्य व्यावसायिक साझेदारसँग मिलेर कान्तिपथमा ८ रोपनी जग्गामा ‘१९०५ टावर’ निर्माण गर्ने योजना बनाएको छ । जसमा होटल तथा व्यावसायिक कम्पलेक्स हुनेछन् । ‘मन मिल्ने ग्रुपसँग साझेदार हुने हो, त्यसपछि मात्रै सफलता पाउन सकिन्छ, हामीले सोही ढंगले दुई÷तीन व्यावसायिक ग्रुपसँग साझेदारीमा काम गरिरहेका छौं,’ श्रेष्ठले भने । उनको ग्रुपको हिमालयन बैंक र युनाइटेड अजोड इन्स्योरेन्समा पनि लगानी छ । उनी तत्कालीन युनाइटेड इन्स्योरेन्सको धेरै समय अध्यक्ष रहेका थिए । यस्तै, श्रेष्ठले घरजग्गामा पनि लगानी गरेका छन् भने श्री इन्टरप्राइजेज, सिबक्रिम होल्डिङ्स, प्रेसटेलर भेन्चर, आईजे क्यापिटल पार्टनरमा लगानी गरेर ती कम्पनीलाई अगाडि बढाइरहेका छन् । यस्तै, उनले आईजे ग्रुपको सहायक कम्पनी एसआरआई डाइग्नोस्टिक्समा पनि लगानी गरेर स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका छन् । श्रेष्ठका अनुसार आईजे ग्रुपले एक हजार बढी मानिसलाई रोजगारी दिएको छ । पछिल्लो समय अस्वस्थ्य अभ्यासले व्यवसाय गर्न कठिन भएको सुनाउँदै वस्तु व्यापारबाट आफूहरूले हात झिकेको उनले बताए । ‘पछिल्लो समय व्यापारमा प्रतिस्पर्धा गर्न नसकेकै हो, पुराना तथा इथिकल व्यवसाय गर्नेभन्दा पनि नयाँ अनुहारले व्यवसायमा गति लिएको देखिन्छ, उनीहरू कसरी अगाडि बढे त्यो प्रष्ट छ,’ उनले भने । नेपालमा नीतिगत कारण नै व्यवसायको बाधक रहेको श्रेष्ठले सुनाए । ‘नेपालमा नीतिगत र राजनीतिक अस्थिरता छ, पर्यटनमा ठूलो सम्भावना छ तर नेपाल ईयूको कालोसूचीमा छ । यो समस्या समाधानका लागि कुनै प्रयास गरिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेतर्फ सरकारको चासो छैन । होटललाई पनि उद्योगको सरह मान्यता दिनुपर्छ भनेर हामीले लामो समयदेखि भनिरहेका छौं तर यसतर्फ पनि सरकारको ध्यान छैन,’ उनी प्रश्न गर्छन् ‘अनि कसरी हुन्छ देश विकास ?’ नेपालको प्रशासनिक झन्झट, आर्थिक नीति र कानुनकै कारण प्रत्यक्ष वैदेशिक लगानी चुनौतीपूर्ण रहेको उनको भनाइ छ । ‘वैदेशिक लगानीकर्तालाई जुन किसिमको महत्व दिनुपथ्र्यो त्यो भएको छैन, विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आउँदा बजार हेर्छन् । सुरक्षा, प्रतिफल र लगानीमैत्री वातावरण हेर्छन्, ती सबै कुरामा कन्भिन्स भएपछि मात्रै नेपालमा आउँछन् । यी सबै कुरा नभेट्टाएपछि उनीहरू आउँदैनन्, अहिले भएकै यही हो,’ उनले भने । श्रेष्ठले प्रोफेशनल बहुराष्ट्रिय कम्पनीहरू नेपालमा आउन नमानेको धारणा राखे । ‘यूनिलिभर प्रोफेशनल कम्पनी हो, संसारभर परिचित ब्राण्ड छ, यसका प्रडक्टसँग सबै परिचित छन, कम्पनीमा कानूनीरूपमा काम हुन्छ । बेस्ट ब्रेन भएका जनशक्ति छन्, उनीहरूले नेपालमा लगानीमैत्री वातावरण देखेनन् भने थप लगानी गर्न नसक्ने अवस्था हुन्छ, अरूलाई पनि लगानी नगर्नका लागि सुझाव दिन सक्छन्, सरकारले यसतर्फ पनि ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘बहुराष्ट्रिय कम्पनी नेपालमा पूर्णरूपमा सन्तुष्ट छैनन् ।’ श्रेष्ठले तयारी बस्तु र कच्चा पदार्थको भन्सारदर उस्तै हुँदा नेपालमा बनेका वस्तुले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको धारणा राखे । कच्चा पदार्थको भन्सारदर तयारी वस्तुको भन्दा एक तह कम हुनुपर्ने उद्यमीहरूको माग मान्न सरकार तयार नहुँदा नेपालमा उद्योग फस्टाउन नसकेको, व्यापार मात्र फस्टाएको उनी बताउँछन् । ‘सरकार र ब्यूरोक्रेसीबाट व्यवसायीलाई हेर्ने दृष्टिकोण सहयोगी छैन । हामीले सरकारी निकायमा गएर दिएका सुझावहरू कार्यान्वयन नै भएका छैनन् । बहुराष्ट्रिय कम्पनीबाट गएका सुझाव सरकारले कार्यान्वयन ग¥यो भने पनि देशलाई धेरै टेवा पुग्छ,’ उनी भन्छन्, ‘नेपाली उद्योगको उत्पादनको १० रुपैयाँ पर्छ भने आयात गर्दा ८ रुपैयाँ पर्छ अनि कसरी प्रतिस्पर्धा गर्न सकिन्छ ?’ विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको समयपछि पर्यटन क्षेत्रलाई चलायनमा बनाउनका लागि अधिकांश देशले फ्री भिसाको नीति अगाडि सारे । त्यसले ती देशहरूलाई फाइदा नै ग¥यो । तर, व्यवसायीले नेपाल सरकारलाई पर्यटकका लागि फ्री भिसाको व्यवस्था गर्न माग गरेपनि वास्ता नगरेको गुनासो उनले गरे । सरकारले भिसा फ्री गरेको खण्डमा राजस्व १० अर्ब बढ्ने अनुमान उनको छ । बुबाछोरा नै महासंघको नेतृत्वमा रविभक्तले आफ्नो बुबाको पदचाप पछ्याइरहे । उनका बुबा विसं २०३५ सालमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बने, जतिखेर उनी २३ वर्षका थिए । एकदिन उनी बुबासँगै महासंघमा पुगे अनि ‘म पनि भविष्यमा यही कुर्सीमा बस्छु’ भन्ने प्रण गरे । विगत स्मरण गर्दै उनी भन्छन्, ‘बुबा महासंघको अध्यक्ष हुँदा मेरो भर्खर विवाह भएको थियो, बुबा अध्यक्ष भएपछि एकदिन महासंघको कार्यालय पुगेँ, त्यहाँ पुगेपछि एकदिन म पनि अध्यक्ष बन्छु भन्ने प्रण गरेँ ।’ बुबासँगै उनको व्यावसायिक यात्रा अगाडि बढ्दै गयो । उनको बुबापछि महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्म ज्योति, आनन्दराज मुल्मी र प्रदिपकुमार श्रेष्ठ महासंघको अध्यक्ष बने । पद्म ज्योति अध्यक्ष भएको समितिमा उनी कार्यसमिति सदस्यमा निर्वाचित भए । विसं २०५४ साल अर्थात आनन्दराज मुल्मी अध्यक्ष रहेको कार्यसमितिको तृतीय उपाध्यक्ष बने र २०५६ अर्थात प्रदिपकुमार श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिको प्रथम उपाध्यक्ष बने । विसं २०५८ सालमा उनी महासंघको अध्यक्षमा निर्वाचित भए । महासंघमा आवद्ध भएको ८ वर्षमै उनले महासंघको नेतृत्व गर्ने अवसर पाए । आफ्नो बुबाकै पदचापमा हिँडेको कारण आफू सफल भएको उनी बताउँछन् । ‘कार्यसमितिमा पुगेपछि सबैभन्दा छोटो समयमा अध्यक्ष बन्ने मै हुँ । महासंघमा बाबुछोरा नै अध्यक्ष बन्ने मौका पनि मिल्यो,’ उनले खुसी साटे । ‘म अध्यक्ष हुँदा उद्योगी व्यवसायीलाई समाज र ब्यूरोक्रेसीले हेर्ने नजर पृथक थियो, व्यवसायी फटाहा हुन् भन्ने दृष्टिकोण थियो । म अध्यक्ष भएपछि ‘कर्पोरेट इथिक्स फोरम’ बनाएँ, ‘बिजनेस कोड अफ कन्डक्ट’ बनाएँ, सबैसँग छलफल गएर सरकारलाई बुझायौं,’ श्रेष्ठ भन्छन्, ‘मोरल बिजनेस अगाडि बढाउन मैले ठूलो पहल गरेँ ।’ विगतमा प्रधानमन्त्री तथा मन्त्रीहरूले खासै चासो नराख्ने महासंघमा आफू अध्यक्ष बनेपछि सबैको चासो बढेको दाबी गर्छन् । ‘विगतमा केही माग राख्नु प¥यो र केही भन्नुपर्यो भने प्रधानमन्त्री तथा मन्त्रीकहाँ जानु पथ्र्यो तर मैले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेर महासंघमै आउने वातावरण सिर्जना गरेँ, त्यसपछि मन्त्री तथा अन्य राजनीतिक दलका नेताहरू पनि महासंघमै आएर छलफल गर्ने अभ्यास सुरु भयो,’ ‘उनी भन्छन्, ‘त्यसपछि धेरै नेताहरूले हामी पनि महासंघमा आएर तपाईंहरूसँग छलफल गर्छौं भन्ने प्रस्ताव गर्नुभयो, महासंघलाई ‘रेपुटेड’ संस्था बनाउन ठूलो पहल गरेँ ।’ श्रेष्ठले विसं २०५८ देखि २०६० सालसम्म महासंघको नेतृत्व गरे । महासंघको अध्यक्ष हुँदा पर्यटनलाई उद्योगको रूपमा मान्यता दिन ठूलो प्रयास गरेपनि त्यसले अहिलेसम्म साथर्कता नपाएको उनको गुनासो छ । उनी महासंघको अध्यक्ष हुँदा पर्यटन सहायक मन्त्रीसमेत बन्ने अवसर पाए । त्यतिखेर राजा ज्ञानेन्द्र थिए भने प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द्र थिए । ‘म सहायकमन्त्री भएपनि मन्त्रीसरह अधिकार दिइएको थियो, राजा र प्रधानमन्त्रीसँग नियमित छलफल हुन्थ्यो, सात महिनाको अवधिमा पनि धेरै काम गरेँ, मलेसियाको क्वालम्पुर जाँदा त्यहाँको उपप्रधानमन्त्रीले स्वागत गर्नु भएको थियो,’ उनी विगत स्मरण गर्दै भन्छन्, ‘नेपाल वायुसेवा निगमको पीपीपी मोडलमा लैजाने प्रतिवेदन पनि मेरै पालामा बनेको हो ।’ तर, उनी सहायक मन्त्रीबाट बाहिरिएपछि त्यो प्रतिवदेनले सार्थकता पाएन । अहिलेसम्म निगम वित्तीयरूपमा समस्यामा परिरहेको छ । त्यतिबेलै सरकारी–निजी मोडलमा निगमलाई लिन सकेको भए अहिले यो हाल देख्न नपर्ने उनको भनाइ छ । श्रेष्ठ व्यवसायीले बढी नाफा गरे, नाफाखोर भए भन्ने आरोप स्वाभाविक नभएको तर्क गर्छन् । उनी सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा हेर्नुपर्ने धारणा राख्छन् । ‘सरकारले पूर्वाधार निर्माण गर्नुपर्छ, सरकारलाई साझेदारका रूपमा अगाडि बढाउनुपर्छ, आर्थिक विकासका काममा निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्छ,’ उनी भन्छन्, ‘सरकारले निजी क्षेत्रलाई प्रतिस्पर्धीको दृष्टिकोणले हुर्नु हुँदैन ।’ व्यवसाय र औद्योगिक क्षेत्रमा दिएको योगदानका लागि श्रेष्ठले प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु (दोस्रो), गोर्खा दक्षिण बाहु (तेस्रो), र वीरेन्द्र–ऐश्वर्य पदकलगायत विभिन्न पुरस्कारहरू पाएका छन् । नेपालमा पहिलो पटक बहुराष्ट्रिय कम्पनी भित्र्याएको श्रेय मात्रै होइन, उनको परिवारले नेपाली अर्थतन्त्रमा पु¥याएको योगदानको समग्र निजी क्षेत्र र सरकारले पनि प्रशंसा गर्दै आएको छ ।