एनपीएल : क्रिकेटमा छिरे ठूला व्यवसायी, सुस्ताएकाे अर्थतन्त्र चलायमान हुने विश्वास
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ गतेदेखि आयोजना गर्ने नेपाल प्रिमियम लिग (एनपीएल)को माहोलले यतिखेर देश तातेको छ । नेपालीहरूको महान पर्व दशैंसँगै क्रिकेटको पर्वले पनि खेलाडी, खेलप्रेमी र खेल शुभचिन्तकहरूमा एक किसिमको तंरग सिर्जना गरेको छ । आइतबार भएको एनपीएल अक्सनले धेरैलाई उत्साह मात्रै थपेको छैन, इण्डियन प्रिमियर लिग (आईपीएल)को झल्कोसमेत दिएको छ । कुनै बेला पारिश्रमिकको लागि तड्पिने नेपाली खेलाडीहरू अहिले बोलकबोलमा बिक्री भइरहेका छन् । खेलाडीहरू एकपछि अर्को खेलमा व्यस्त भइरहेका छन् । मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलले देशभर क्रिकेटमयको धुन गुञ्जायमान गरिरहेको छ । कुनैबेला कसैको नजरमा नपर्ने क्रिकेट यतिखेर ठूल्ठला उद्योगी व्यवसायीको नजरमा छ । आइतबार भएको एनपीएलको अक्सनमा ८ वटा टिमका लागि ८० खेलाडी बिक्री भए । अक्सनमार्फत् ८ वटै टोलीले १०/१० खेलाडी अनुबन्ध गरे । अक्सनमा १२ खेलाडी उच्च मूल्य १५ लाख रुपैयाँमा बिक्री भए । मार्की खेलाडीसहित सबै टिममा खेलाडीको संख्या ११ पुगेको छ । खेलाडी र टीम किन्न २२ करोड खर्च आइतबार भएको एनपिएलको अक्सनमा फ्रेन्चाइज टोलीले करिब ६करोड रुपैयाँ खेलाडी खरिद गर्न खर्च गरे । ८० खेलाडी खरिद गर्दा ८ वटा टिमले करिब ६ करोड रुपैयाँ खर्च गरेका हुन् । ५ करोड ८२ लाख रुपैयाा खर्च गरेको छ । टिम मालिक टिम खरिदका लागि पनि १६ करोड ८७ लाख रुपैयाँ खर्च गरेका छन् । लुम्बिनी लायन्स अक्सनमा सबैभन्दा महँगो टोली लुम्बिनी लायन्स बनेको छ । यस टिमले खेलाडी खरिद गर्नका लागि ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । जसको मार्की प्लेयर कप्तान रोहित पौडेल हुन् । खेलाडीको अक्सनका लागि हरेक टोलीलाई ९० लाख रुपैयाँको सिमा तोकिएको थियो । यस टिमले सूर्य तामाङ, सन्दिप जोरा र विवेक यादवलाई १५/१५ लाखमा खरिद गरेको छ भने आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १०/१० लाखमा किनेको छ । लुम्बिनीले, दुर्गेश गुप्तालाई ८ लाख, अर्जुन साउदलाई ५ लाख, दिनेश अधिकारीलाई २ लाख ७५ हजार तथा विकास आग्री र अभिषेक गौतमलाई २/२ लाखमा अनुबन्ध गरेको छ । लुम्बिनी लायन्सको स्वामित्व फोर्चुना हेल्थ केयरमा रहेको छ । यो टिमको मूल्य १ करोड ८६ लाख रुपैयाँ हो । यो टिमको टिम मालिक ईश्वर जिसी हुन् । जिसीले अनुबन्ध कार्यक्रममा क्रिकेट त देशलाई माया गर्ने एउटा आधार भएको बताएका छन् । उनले लुम्बिनीलाई लुम्बिनी गौतम बुद्धको घरमात्र नभएर क्रिकेटको पनि एउटा घर हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार क्रिकेटसँगै पर्यटन, रोजगारको पनि प्रयास हुनेछ । पोखरा एभेन्जर्स एनपीएलको अक्सनमा दोस्रो महँगो टोली पोखरा एभेन्जर्स बनेको छ । जसले १० खेलाडीका लागि ८० लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । यो टिमको मार्की प्लेयर कुशल भुर्तेल हुन् । पोखराले ए ग्रेडका खेलाडी सागर ढकाललाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने पोखराले आकाश चन्दलाई ११ लाख ५० हजार, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलीप नाथलाई १०/१० लाख तथा तृतराज दास र सुनम गौतमलाई समान ५ लाख तथा दिनेश खरेल र अमृत गुरुङलाई २/२ लाखमा अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी-२० प्रालिमा छ । जसले ३ करोड ५७ लाखमा खरिद गरेको हो । यसको टिम मालिक सुबोध त्रिपाठी र मनोबल श्रेष्ठ हुन् । जनकपुर बोल्ट्स आइतबार भएको अक्सनमा जनकपुर बोल्ट्स तेस्रो महँगो टिम बनेको छ । जसले १० वटा खेलाडी खरिद गर्नका लागि ७९ लाख २५ हजार खर्च गरेको छ । यस टिमको मार्की खेलाडी आसिफ शेख हुन् । यस टिमले अनिल कुमार साह र ललितनारायण राजवंशीलाई १५/१५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । जनकपुरले रूपेश सिंह, आकाश त्रिपाठी र किशोर महतोलाई १०/१० लाख रुपैयाँमा खरिद गरेको छ भने शुभ कंसकार, शेर मल्ल र हेमन्त धामीलाई ५/५ लाख तथा अरनिकोप्रसाद यादवलाई साढे २ लाख र तुलबहादुर थापालाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । जनकपुर बोल्ट्सको स्वामित्व ड्रिम स्पोर्ट्समा छ । यस टिमको मुल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ । यस टिमको मालिक अमित श्रेष्ठ हुन् । चितवन राइनोज चितवन राइनोजले १० वटा खेलाडी खरिद गर्नका लागि ५३ लाख रुपैयाँ खर्च गरेको छ । यस टिमको मार्की प्लेयर कुशल मल्ल हुन् । चितवन राइनोजले अक्सनमार्फत १५ लाख रुपैयाँमा कुनै पनि खेलाडी भित्र्याउन सकेन । चितवनले रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषवाकरलाई १०/१० लाख रुपैयाँमा अनुबन्ध गरेको छ । चितवनले विपिन रावललाई ८ लाख, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह राउटेला र दीपक बोहरालाई ५/५ लाख तथा रञ्जित कुमारलाई ३ लाख र गौतम केसीलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेजमा छ । जसको मालिकको रुपमा हरिशचन्द्र न्यौपाने, आयुश न्यौपाने रहेका छन् । उनीहरुले अक्सनमा १ करोड ७६ लाख रुपैयाँमा खरिद गरेका हुन् । चितवन राइनोजका मालिक आयुश न्यौपानेले अक्सन कार्यक्रममा आफूहरू स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व रहेकोले खेलकुद र स्वास्थ्य एकअर्काका परिपूरक रहेको बताएका छन् । विराटनगर किङ्स विराटनगर किङ्सले खेलाडी खरिद गर्न ६६ लाख रुपैयाँ खर्च गरेको छ । यस टिमको मार्की प्लेयर सन्दिप लामिछाने हुन् । यस टिमले प्रतिस जिसी र लोकेश बमलाई १५/१५ लाख रुपैयाँमा खरिद गरेको छ । विराटनगरले राजेश पुलामी मगर र बसिर अहमदलाई १०/१० लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने जितेन्द्र मुखिया, अनिल खरेल र दीपक बोहरालाई ५/५ लाख रुपैयाँमा खरिद गरेको छ । विराटनगरले सुभाष भण्डारीलाई साढे २ लाख, नरेन भट्ट र मिर्नल गुरुङलाई २/२ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । विराटनगर किङ्सको स्वामित्व एमएडी ड्रिम स्पोर्ट्समा छ । जसको मालिक पारस लुनिया हुन् । यस टिमले १ करोड ५१ लख रुपैयाँमा खरिद गरेको हो । लुनियाले देशमा क्रिकेको विकासका लागि आफूले लगानी गरेको बताएका छन् । सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्सले खेलाडी खरिद गर्न ७४ लाख रुपैयाँ खर्च गरेको छ । जसको मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले अक्सनबाट आरिफ शेखलाई सर्वाधिक १५ लाख रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ । सुदूरपश्चिमले अविनाश बोहरालाई १२ लाख, विनोद भण्डारीलाई १० लाख, ईशान पाण्डेलाई साढे ९ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने अर्जुन कुमाललाई साढे ७ लाख र खडक बोहरा तथा नरेश बुढा ऐरलाई ५/५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले भोजराज भट्टलाई साढे ४ लाख, अमित श्रेष्ठलाई ३ लाख ५० हजार तथा नरेन साउदलाई २ लाख रुपैयाँमा खरिद गरेको छ । सुदूरपश्चिम रोयलसको स्वामित्व इम्पायर स्पोर्ट्समा रहेको छ । जसले १ करोड ६८ लाख रुपैयाँमा खरिद गरेको हो । जसको मालिक स्वतन्त्रप्रताप शाह हुन् । अक्सन कार्यक्रममा बोल्दै शाहले क्रिकेटलाई पेसा बनाउँछु भन्ने सोच भएकालाई राम्रो प्लेटफर्म रहेको धारणा राखे । शाहले एउटा टिमले एनपीएलमा १५ देखि २० करोड रुपैयाँसम्म खर्च गर्ने बताएका छन् । यो आधारमा कर्णाली याक्स कर्णाली याक्सले पनि ७४ लाख रुपैयाँ खर्च गरेर खेलाडी खरिद गरेको छ । सोमपाल कामी मार्की प्लेयर रहेको कर्णालीले अक्सनमा गुल्सन कुमार झालाइै सर्वाधिक १५ लाख रुपैयाँमा खरिद गर्यो । गुल्सनका लागि ८ वटै टिमबीच प्रतिस्पर्धा भएको थियो । कर्णालीले नन्दन यादवलाई ११ लाख, मौसम ढकाल, अर्जुन घर्ती र देव खनाललाई १०/१० लाख, रित गौतम र भुवन कार्कीलाई ५/५ लाख तथा दीपेन्द्र रावत र दीपक डुम्रेलाई समान तीन लाख र युनिसविक्रम सिंहलाई २ लाख रुपैयाँमा खरिद गरेको छ । कर्णाली याक्सको मालिक हिमालयन बिल्डर्स इन्जिनियर्स हो । जसको नेतृत्व झनक दत्त खनाल र गृहेन्द्र घिमिरेले गरेका छन् । यो टिमको अक्सन मूल्य १ करोड ११ लाख रुपैयाँ हो । यस टिमका मालिक गृहेन्द्र घिमिरेले क्रिकेटमा आफूहरूले सम्भावना देखेर लगानी गरेको धारणा राखेका छन् । ‘हामी निर्माण क्षेत्रमा काम गरिरहेकाहरू क्रिकेटमा किन भनेर प्रश्न पनि उठ्न सक्छ । तर, जबसम्म निजी क्षेत्रले खेलकुद व्यावसायिक पार्न मद्दत गर्न सक्दैन, त्यो खेलले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन,’ उनले भनेका छन् । काठमाडौं गुर्खाज काठमाडौं गुर्खाजले ७० लाख ५० हजारमा खेलाडी खरिद गरेको छ । करण केसी मार्की प्लेयर रहेको काठमाडौं गुर्खाजले अक्सनमार्फत् साहब आलम र भीम सार्कीलाई सर्वाधिक १५/१५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । काठमाडौंले राशिद खानलाई १० लाख, शंकर रानालाई साढे ९ लाख, दीपेश कँडेल, सुमित महर्जन र कृष्ण कार्कीलाई ५÷५ लाख रुपैयाँमा खरिद गरेको छ । यस्तै, राजु रिजाल, विवेक केसी, र प्रतीक श्रेष्ठलाई काठमाडौंले २/२ लाख रुपैयाँमा खरिद गरेको छ । काठमाडौं गुर्खाजको मालिक कान्तिपुर मिडिया ग्रुप हो । काठमाडौं गुर्खाज मालिक टिमको नेतृत्व कैशाश सिरोहा, उपेन्द्र महतो र अरुण सरार्फले गरेका छन् । कान्तिपुरले टिम अक्सनमा खर्चेको ३ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । टिम अक्सनमा बोल्दै काठमाडौं गुर्खाजका मालिक उपेन्द्र महतोले अब नेपाली क्रिकेट व्यावसायिक रूपमा अगाडि बढेको बताएका थिए । उनले आजका दिनसम्म नेपाली क्रिकेट लगानीको अभावमा रहेको बताउँदै अबदेखि व्यवसायीहरू पनि क्रिकेटमा लगानी गर्न तयार रहेको धारणा राखेका थिए । क्यानका सचिव भन्छन् : विश्वको ध्यान नेपालमा छ नेपाल क्रिकेट संघका सचिव पारस खड्काले अहिले विश्वको ध्यान नेपाली क्रिकेटमा रहेको बताएका छन् । उनले एनपीएलले अब नेपालका खेलाडीले आफ्नो क्षमता देखाएर विश्वको ध्यान तान्न सफल हुनेमा विश्वास व्यक्त गरे । उनका अनुसार एनपीएलले ‘रेभिन्यू जेनरेट’मा पनि ठूलो भूमिका खेल्ने बताए । ‘एनपीएलले अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्नेछ, देशलाई खेलकुदबाट एकिकृत गर्नका लागि पनि एनपीएलले महत्वपूर्ण भूमिका खेल्नेछ, खेलाडीले खेलमा आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गर्नका लागि पनि एनपीएलले भूमिका खेल्नेछ,’ उनले भने । उनले एनपीएल महान पर्व भएको धारणा राखे । उनले सबै खेलप्रेमी र खेलका शुभचिन्तकलाई पनि खेलमा सहभागी भएर साथ दिन आग्रह गरे । पछिल्लो समय देशको अर्थतन्त्र त्यति सन्तोषजनक छैन । यो समयमा एनपीएल हुनुले देशको अर्थतन्त्र केही हदमा भएपनि चलायमान हुने विश्वास गरिएको छ । नेपाली खेलाडीको अक्सनबाट टुङ्गो लागि सकेपनि विदेशी खेलाडीलाई भने खेलमा अनुबन्ध गर्न बाँकी नै छ । विदेशबाट पनि तीन दर्जन बढी विदेशी खेलाडी आईपीएल खेल्न आउने छन् । अब टिमहरूले विदेशी खेलाडीलाई भित्र्याउने पनि तयारी थालेका छन् । एउटा टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने नियम क्यानले बनाएको छ । यसले पनि नेपालको पर्यटनमा थप टेवा पुग्नेछ ।
वालेटले ओगट्छन् अर्बौ बचत, जोखिममा प्रयोगकर्ता
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी वालेटहरूले ४३ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ करोड ४२ लाख ५७ हजार ६५६ जनाले वालेटबाट ३ करोड ८ लाख ७८ हजार ९४० पटक कारोबार गरेका हुन् । गत असारसम्म २ करोड ३४ लाख ६१ हजार १०७ जनाले ३८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । त्यस समयमा ३ करोड २१ लाख ५ हजार ९१७ पटक कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार २०७९ असारमा १ करोड ६२ लाख ६ हजार ३५६ पटक १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । तीन वर्षअघि वालेट प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थिए । गत वर्ष (२०८० असार) मा २ करोड ८ लाख २२ हजार ८६१ पटक २० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वालेट प्रयोगकर्ता संख्या बढेर १ करोड ८९ लाख ४१ हजार ७९१ जना थिए । भुक्तानी वा कारोबारमा काम गरिरहेका डिजिटल वालेटको प्रयोग निरन्तर उकालो लागेको छ भने कारोबार रकम पनि बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । पाँच वर्षको अवधिमा वालेट प्रयोगकर्तासँगै कारोबार रकम पनि उच्च वृद्धि भएको छ । पाँच वर्षअघि २०७७ साउनसम्म वालेट प्रयोगकर्ता ६२ लाख ७४ हजार १२९ जना थिए । तर, ५ वर्षमा प्रयोगकर्ताको संख्या २८६.६२ प्रतिशत बढेर २ करोड ४२ लाख ५७ हजार ६५६ जना पुगेका छन् । यस्तै, कारोबार रकम पनि ४७६.५६ प्रतिशत बढेको छ । ५ वर्षअघि वालेटबाट ७ अर्ब ५७ करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । कति छ वालेटमा बचत ? कुन वालेट कम्पनीमा कति बचत छ भनेर सार्वजनिक तथ्याङ्क छैन । सर्वसाधारणको अर्बाैं रुपैयाँ रहेको वालेट कम्पनीमा राष्ट्र बैंकले पनि सार्वजनिक गर्न मान्दैन । तर, वालेट कम्पनीका सीईओहरूसँगको अनौपचारिक कुराकानीका आधारमा दैनिक अर्बाैं रुपैयाँ वालेटमा बचत रहन्छ । वालेट कम्पनीहरूमा सबैभन्दा धेरै प्रयोगकर्ता (युजर) ईसेवामा छन् । ईसेवा १ करोड बढीले डाउनलोड गरेको भएपनि वास्तविक प्रयोगकर्ता भने ६० लाख हाराहारीमा मात्रै रहेको कम्पनी स्रोतको भनाइ छ । स्रोतका अनुसार दैनिक कारोबार गर्दा पनि दैनिक २ देखि ३ अर्ब रुपैयाँ ईसेवामा बचत रहन्छ । यस्तै, खल्ती र आइएमई पेका प्रयोगकर्ताको संख्या पनि उच्च छन् । खल्तीका २४ लाख प्रयोगकर्ता छन् भने आइएमई पेको पनि सोही हाराहारीमा प्रयोगकर्ता रहेका छन् । स्रोतका अनुसार यी दुई वालेटमा प्रयोगकर्ताको बचत १ अर्ब बढी नै हुने गरेको छ । यस्तै, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभभित्र पर्छन् । जसमध्ये माइ पेका १० लाख, प्रभु पेका ९ लाख र नमस्ते पेका ७ लाख प्रयोगकर्ता छन् । स्रोतका अनुसार यी वालेटको पनि दैनिक बचत ५० करोडभन्दा बढी हुने गरेको छ । अन्य कम्पनीको प्रयोगकर्ता कम भए पनि सर्बसाधारणको बचत रकम करोडौंमा रहेको छ । सजिलो पेका प्रयोगकर्ता २ लाख ८० हजार छन् भने पे वेलका ४ लाख बढी प्रयोगकर्ता छन् । स्रोतका अनुसार पेवेलको बचत १७ करोडभन्दा बढी रहेको थियो । त्यसैले २६ वटै वालेट कम्पनीको तथ्याङ्कलाई जोड्दा अर्बाैं रूपैयाँ हुने देखिन्छ । अप्ठ्याराेमा वालेट कम्पनी राष्ट्र बैंकको तथ्याङ्कअनुसार २६ वटा वालेट कम्पनी सञ्चालनमा छन् । कम्पनीका कर्मचारीहरू र नियामक नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग कुरा गर्दा अहिले अधिकांश वालेट कम्पनीहरू घाटामा सञ्चालन भइरहेका छन् । सर्वसाधारणको अर्बौं रूपैयाँ होल्ड गरेर व्यवसाय सञ्चालन गरिरहेका वालेट कम्पनीहरू घाटामा जाँदा सर्वसाधारणको वालेटमा रहेको रकम पनि जोखिममा छ । लामो समयदेखि वालेट सञ्चालनमा रहेपनि उल्लेख्य नाफा भने गर्न सकेका छैनन् । अहिले सञ्चालनमा रहेको ईसेवा मात्रै नाफामा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हालसम्म खल्ती र आइएमई पे वालेटले लागत मात्रै उठाउन सकेका छन् भने अन्य वालेट कम्पनीलाई लागत पनि उठाउन सकस परिरहेको राष्ट्र बैंकको भुक्तानी विभागका एक कर्मचारीले बताए । वालेटमा कमाइ भन्दा धेरै खर्च हुने गरेको ती कर्मचारीको भनाइ छ । खल्ती गत वर्षदेखि नाफा आर्जन गर्ने योजनाका साथ काम गरिरहेको थियो । तर, विभिन्न कारणले कम्पनी नाफामा जान नसकेको बताइएको छ । चालु आर्थिक वर्षदेखि भने नाफा गर्ने लक्ष्यमा रहेको खल्तीका एक कर्मचारीको भनाइ छ । ‘डिजिटल कारोबारको भविष्य राम्राे रहेकाले अहिले लगानीमा जोड दिइरहेका छन्, बैंकहरूले पनि डिजिटलमा लगानी मात्रै गरिरहेका छन्, त्यति धेरै नाफा गर्न सकेका छैनन्,’ एक वालेट कम्पनीका सीईओले भने, ‘वालेटमा दीर्घकालीन लगानी गरेका छौं, अब काम गर्दै जाँदा केही समय लाग्न सक्छ, अहिले नाफाभन्दा पनि एउटा आधार बनाउन लागिरहेका छौं ।’ वालेटले मागे ब्याज वालेट कम्पनीले निक्षेप जम्माको काम गर्न पाउँदैनन् । त्यसैले सेटलमेन्ट बैंकमा रकम राख्नुपर्ने हुन्छ । दैनिक अर्बाैं रुपैयाँ बचत रहने भएकाले सो बापतको ब्याज पाउनुपर्ने वालेट कम्पनीहरूले माग गर्दै आएका छन् । हाल वालेट कम्पनी घाटामा चलिरहेको र आम्दानीको स्रोत हुने भएकाले दैनिक बचतअनुसारको ब्याज सेटलमेन्ट बैंकले दिनुपर्ने माग गरिरहेका छन् । ‘वालेटको रकम सेटलमेन्ट बैंकमा जम्मा हुन्छ । त्यो रकम वालेटमा देखिने मात्रै हो, भर्चुअल पैसा जस्तै हो, राष्ट्र बैंकले दैनिक वालेटको छुट्टै र सेटलमेन्ट बैंकको छुट्टै रिपोर्टिङ गरिरहेको हुन्छ,’ एक वालेट कम्पनीका सीईओले भने, ‘जस्तो कुनै वालेटले १७ करोड रुपैयाँ राखेको छ भने त्यो सेटलमेन्ट बैंकको कम देखिएमा राष्ट्र बैंकले तत्काल एक्सन लिन्छ, वालेटको ब्यालेन्स र सेटलमेन्ट बैंकको खातामा बराबर रकम हुनुपर्छ ।’ वालेट कम्पनीलाई कल डिपोजिटमा भएको रकममा ब्याज दिने गरिएको छ । तर, सो ब्याजदर न्यून भएकाले बचत खातामा सरह ब्याज दिनुपर्ने माग वालेट कम्पनीको छ । समस्यामा प्रयोगकर्ता अर्बाैंको कारोबार हुने गरेको वालेट प्लेटफर्ममा प्रयोगकर्ताको गोपनीयतासँगै रकम पनि जोखिममा रहेको छ । राष्ट्र बैंकले गत जेठदेखि पेवेल नेपाल र सजिलो पेको सबै बैंक खाता रोक्का गरेको छ । यी दुईको बैंक खाता रोक्का भएसँगै प्रयोगकर्ताले कारोबार गर्न पाएका छैनन् । यी दुई कम्पनीको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । तर, ५ महिनासम्म पनि प्रयोगकर्ताको बचत सो वालेटमा रहँदा न ब्याज पाउँछन् न कारोबार नै गर्न पाएका छन् । अहिले अर्को एक अग्रणी वालेट कम्पनी पनि ठूलो समस्यामा रहेको बुझिएको छ । सो वालेट कम्पनीको विषयमा नियामक नेपाल राष्ट्र बैंकमा पनि सेवाग्राहीको गुनासो गएको छ । अहिले सहकारीमा झै वालेट कम्पनीहरुमा समस्या देखिएमा त्यसले बैकहरुलाई पनि नराम्ररी असर गर्न सक्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।
बैंकिङ क्षेत्रमा यस कारण भएन कर्जाको माग
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलता पर्याप्त छ । ब्याजदर निरन्तर घट्दो क्रममा छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव विस्तारै कम हुँदैछ । देशमा दुई ठूला राजनीतिक दल सम्मिलित सरकार बनेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुकुलो नीति अंगिकार गरेको छ । पछिल्लो दुई/तीन महिनाको अवधिमा देशमा पूर्वाधार सम्मेलन भयो । नाडा अटो शो आयोजना भयो । बैंकहरूले सस्तो ब्याजमा आकर्षक कर्जाका स्कीमहरू सार्वजनिक गरिरहेका छन् । यो वातावरणमा पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह किन भइरहेको छैन ? कुनै बेला ऋण पाएनौं भनेर पुर्पुरोमा हात लगाउने व्यवसायीहरू अहिले किन कर्जाको माग गरिरहेका छैनन् ? कर्जामा महँगो ब्याज भयो भनेर गुनासो गर्ने व्यवसायीहरू सस्तो ब्याजदर हुँदा किन ऋण लिइरहेका छैनन् ? आज हामीले बैंकमा कर्जा माग नहुनुका केही कारणहरू खोजेका छौं । ऋण दिनका लागि तयार रहेका बैंकरहरू व्यवसायीसँगको छलफलमा के कस्ता गुनासो सुन्छन् ? व्यवसायीहरूले उनीहरूसँग ऋण नलिनुका के कारण भन्छन् ? यही जिज्ञासा हामीले राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी निर्देशक (डीईओ) पवन रेग्मीसँग राख्यौं । हामीले उनले भनेको कुरालाई जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । पवन रेग्मी । अर्थतन्त्र चलायमान बनाउन सरकार, बैंक तथा वित्तीय संस्था र नागरिक (जो ऋण लिन इच्छा व्यक्त गर्छन्न्) को भूमिका हन्छ । सरकारको दायित्व पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउनु हो । र, काम सम्पन्न भएपछि भुक्तानी दिनु हो । यदि समयमा काम गरेको भुक्तानी प्राप्त गर्याे भने लगानीकर्ताको मनोबल बढ्छ । तर, अहिले सरकारले चाहेर पनि भुक्तानी दिन सकेको छैन । किनभने लक्ष्यअनुसारको राजस्व संकलन भइरहेको छैन । विभिन्न कारणले सरकार आफै अप्ठ्याराे स्थितिमा चलिरहेको छ । बैंकहरूसँग पर्याप्त मात्रामा तरलता छ । बैंकहरू ९० प्रतिशतसम्म सीडी रेसियोमा जान सक्छन् । पुँजीका हिसाबले पनि बैंकहरू लगानी गर्न सक्षम छन् । राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रवाह हुने गरी दुई/तीन वटा काम गरिरहेको छ । बैंकले ग्राहकलाई सस्तोमा कर्जा दिन आधार दर घटाउने काम गरिहरको छ । ब्याजदर घटेपछि लागत पनि घट्छ । त्यसैले ब्याजदर कम गर्न आधार दर घटाइरहेको छ । र, प्रिमियम शुल्क पनि घटाइरहेको छ । कर्जाको माग बढाउन सकियो भने अर्थतन्त्र पनि चलायमान गर्न सकिन्छ । सरकारको आम्दानी बढेपछि भुक्तानी गर्ने क्षमता बढ्छ । तर, कर्जाको माग आएन भनेर हामी चुप लागेर बस्दैनौं । ग्राहकलाई शिक्षित गर्नुपर्ने बैंकको दायित्व पनि हो । बैंकले कर्जा दिन्छ तर, ग्राहकलाई यस विषयमा जानकारी नहुन पनि सक्छ । कर्जाका लागि बैंकमा के–के कागजात आवश्यक पर्छन् भनेर ग्राहकलाई जानकारी नहुन सक्छ । यी सबै विषय ग्राहकलाई जानकारी गराउने काम बैंकले गरिरहेको छ । बैंकले साना किसानलाई मध्यनजर गरेर एक प्रदेश एक विशेष प्रडक्ट ल्याएको छ । केन्द्रीय बैंकले कर्जाको माग बढाउन विभिन्न किसिमका प्रयत्न गरिरहेको छ । जस्तो सेयर कर्जामा संस्थागत लगानीकर्तालाई खुला गरिएको छ । केही बैंकलाई पुँजीकोषको दबाब थियो । त्यसलाई पनि केन्द्रीय बैंकले खुकुलो गरेर क्यापिटल चार्जलाई खुला गरेको छ । राष्ट्र बैंकले पनि धेरै हदसम्म नीतिगत सहज वातावरण बनाइदिएको छ । तर, व्यवसायीमा मनोबल बढ्न सकेको छैन । साथै बैंकको एनपीए बढेपछि प्रोभिजन गर्नुपर्ने हुन्छ । जसले गर्दा क्यापिटल चार्जमा हिट भएको हुनसक्छ । एनपीए रिकभर गर्न सकियो भने कर्जा प्रवाह गर्न सहज हुनसक्छ । बैंकर रेग्मीको भनाइलाई संक्षेपमा बुझ्दा अहिले व्यवसायीमा मनोबलमा कमी छ । अर्थात् उनीहरूमा अझै पनि कर्जा लिने वा नलिने विषयमा दुविधा छ । विगतमा सरकार तथा नियामकले देखाएको अस्थिर नीतिले उद्योगी व्यवसायी त्रसित छन् । सरकारले आज खुकुलो नीति अवलम्बन गरेर भोलि कडाइ गर्ने हो कि भन्ने आशंका उनीहरूमा छ । सरकारले उनीहरूको मनोबल बढ्ने किसिमको नीति ल्याउन सकेको छैन । मौखिकरूपमा व्यवसायीमैत्री नीति भएको भन्ने वक्तव्यबाजी तथा भाषण गरेपनि व्यवहारमा भने देखिँदैन । अहिले अर्को समस्या भनेको बैंकमा भएको खराब कर्जाको हो । बैंकरहरू खराब कर्जाको व्यवस्थापन गर्न सकेका छैनन् । उद्योगी व्यवसायी तथा ऋणीको सम्पत्तिलाई धितोमा सकारेका बैंकरहरूले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा थप कर्जा प्रवाह गर्न पनि आँट गर्न सकिरहेका छैनन् भने आफ्नो सम्पत्ति लिलाम भएका व्यवसायी तथा ऋणीहरूले थप ऋण माग गर्ने हिम्मत गरिरहेका छैनन् । यस्तै, एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) गोविन्द घिमिरेले पनि बैंकर रेग्मीकै जस्तो धारणा राखेका छन् । उनको भनाइलाई पनि हामीले यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । तरलता पर्याप्त हुँदा पनि किन बैंकबाट कर्जा प्रवाह हुन सकेको छैन ? भन्ने हाम्रो जिज्ञासामा उनले यस्तो धारणा राखे । गोविन्द घिमिरे । कोरोना महामारीपछि तरलता संकटका कारणले घरजग्गा बजार, सेयर बजार, एसएमई क्षेत्रसहित समग्र अर्थतन्मा ठूलो असर गर्याे । एसएमई क्षेत्रमा साना व्यवसायीहरू हुन्छन् । साना व्यवसायीहरूलाई एकचोटि समस्यामा परेपछि रिभाइभ हुन धेरै गाह्रो हुन्छ । कर्पाेरेट क्षेत्रमा जस्तो एसएमईमा रिभाइवलको सम्भावना कम हुन्छ । अर्थतन्त्रमा बेलाबखत खपतको माग साह्रै कमजोर हुन्छ । अहिले पनि बजारमा वस्तु तथा सेवाको माग नै अपेक्षित रूपमा सुधार हुन सकेको छैन । पछिल्लो समय नयाँ व्यवसाय सिर्जना भएर तत्कालै कर्जाको वृृद्धि हुने अवस्था छैन । हाल सञ्चालन भइरहेका व्यवसायलाई वर्किङ क्यापिटलका आधारमा थपथाप गरेर काम भइरहेको छ । केही बैंकहरू टीयर वान क्यापिटलका कारण दबाबमा परेका हुन् । ती बैंकलाई अफ्ठेरो परेको भएर सबै बैंकको कर्जा वृद्धि ठप्प भएको पनि होइन । केही कर्जा वृद्धि भइरहेको पनि छ । अपेक्षित रूपमा कर्जा वृद्धि हुन टीयर वान र टीयर टू क्यापिटलले ठूलो प्रभाव भन्ने हुँदैन । तथापि केही बैंकलाई अप्ठ्याराे परेको हो । त्यसका लागि बण्डको सुविधा दिएर सहजीकरण गर्न सकिन्छ । समग्र अर्थतन्त्रमा तत्कालै ठूलो सुधार हुने अवस्था छैन । त्यसैले बैंकहरू पनि नयाँ प्रडक्ट ल्याउन होडबाजी गरिरहेका छैनन् । किनभने बजारमा भएका प्रडक्टमा कर्जाको माग छ । कर्जाको माग नभएसम्म नयाँ प्रडक्ट ल्याउने अवस्था हुँदैन । विगतमा दशैंतिहारको समयमा नयाँ योजना ल्याउँथे । तर, अहिले त्यस्तो छैन । यसपटक विगतको जस्तो एलसी बढेको पनि छैन । पछिल्लो समय बैंकहरू अनुशासित भएर अगाडि बढ्नपर्छ भन्ने किसिमले महसुस गरिरहेका छन् । विगत तीन/चार वर्षको अवधिलाई हेर्ने हो भने बैंकहरूलाई रियलाइजेशन (महसुस) भएर उत्पादनशील क्षेत्र, वास्तविक अर्थतन्त्र, अर्थतन्त्रमा सघाउ पुग्ने क्षेत्र, रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरिरहेका छन् । अब यी क्षेत्रमा बैंकको लगानी डाइभर्ट भइरहेको छ । त्यसैले गर्दा दीर्घकालमा सघाउ पुग्ने देखिन्छ । बैंकर घिमिरले अहिले बैंकलाई पुँजी कोषको कारणले कर्जा लगानी सक्ने अवस्था नभएको परिदृश्य देखाए । उनले विगतका केही अस्वस्थ प्रतिस्पर्धालाई मनन गर्दै बैंकरहरू सही ट्र्याकमा जाने खोजेको धारणा राखे । वर्तमान सकसको समयमा सरकारले बैंक तथा उद्योगी व्यवसायीलाई दिनुपर्ने रिल्याक्सेसन तथा पर्याप्त बण्डहरू नल्याउँदा पनि कर्जाको माग नभएको हुन सक्ने बुझाइ उनको छ । अनुप मास्के । हिमालयन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनुप मास्के पनि धारणा पनि त्यस्तै छ । उनले पनि कर्जाको माग हुन नसक्नुका केही कारण तथा तर्कहरू राखेका छन् । उनले भनेका छन्- चलायमान भइरहेको अर्थतन्त्रमा दुई वर्षसम्म मन्दी आयो । त्यो मन्दीमा फसेका मान्छेहरू फेरि लगानी गर्न आँट गरिरहेका छैनन् । जसको असर निर्माण क्षेत्रमा परेको छ । त्यसको प्रभाव सिमेन्ट, डण्डी उद्योगमा परेको देखिन्छ । २० प्रतिशत सिलिङमा काम गरिरहेका छन् । बजारबाट अधिकांशको पैसा उठ्न बाँकी छ । सुधार हुन समय लाग्छ । जबसम्म निर्माण क्षेत्र माथि उठ्दैन तबसम्म त्यसले ठूलो प्रभाव पारिरहनेछ । निजी निर्माणका काम ठप्प छ । । रिटेल गइरहेको छैन । पुँजी कोषको दबाबले पनि बैंकको कर्जा नगएको हुनसक्छ । किनभने बैंकले प्रोभिजन राख्नुपर्ने हुँदा त्यहाँ पुँजी धेरै खान्छ । जबकसम्म रिकभरी हुँदैन तबसम्म सहज हुन अझै समय लाग्छ । वर्किङ क्यापिटल गाइडलाइन आउनुअघि सहज थियो । जग्गा, सेयर बजारमा लगानी गइरहेको थियो । जसकारण अर्थतन्त्र चलायमान भइरहेको थियो । जब वर्किङ क्यापिटल गाइडलाइन आयाे तब कर्जा लगानी गर्न असहज भइरहेको छ । देशमा उद्योगहरूको अवस्था राम्रो छैन । निरन्तर हुनुपर्ने निर्माण कार्य रोकिएको छ । सरकारले भुक्तानी दिन सकेको छैन । युवा विद्यार्थीहरू सबै विदेश पलयान भइरहेका छन् । अधिकांशको व्यापार व्यवसाय अप्ठ्याराे स्थितिमा चलिरहेको छ । जसकारण आर्थिक गतिविधि चलायमान हुन सकिरहेको छैन । अप्ठ्याराे स्थितिमा सञ्चालन भइरहेका व्यवसायीहरूलाई कर्जा दिन पनि बैंकहरू हच्किरहेका छन् । बैंकर मास्केले पनि नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा गाइडलाइन, निर्माण क्षेत्रमा देखिएको सुस्सता र विदेश पलायन कर्जा प्रवाह नहुनुको मुख्य कारण रहेको सुनाएका छन् । उनले वर्तमान अर्थतन्त्रमा देखिएको सुस्सताले व्यवसायीमा मनोबल नबढ्नु पनि अर्को महत्त्वपूर्ण कारण रहेको धारणा राखे । उनका अनुसार बजारमा वस्तु तथा सेवामा देखिएको सुस्तताले पनि कर्जाको माग हुन सकिरहेको छैन । विभिन्न बैंकर तथा विज्ञहरूसँग कर्जा प्रवाह नहुनका कारणहरू खोज्दा समान कारणहरू सुनिए । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसले पारेको नकारात्मक प्रभावले अहिलेसम्म उद्योग व्यवसायले लय समात्न सकेका छैनन् । उपभोक्ताले खुलेर खर्च गर्न सक्ने अवस्था छैन । सरकारले पनि वर्तमान समस्या समाधानका लागि पर्याप्त नीतिगत व्यवस्था गर्न सकेको छैन भने गरेका नीतिगत व्यवस्था पनि कार्यान्वयन हुन सकेका छैनन् । यस कारण पनि बैंक तथा वित्तीय क्षेत्रबाट कर्जाको माग हुन सकेको छैन । आर्थिक क्षेत्रका विज्ञ तथा बैंकरहरूसँग कुरा गर्दा हामीले कर्जा प्रवाह हुन नसक्नुका केही कारणहरू संक्षेपमा प्रस्तुत गरेका छौं । विश्वास तथा मनोबलको कमी अहिले सबैभन्दा ठूलो समस्या भनेको मनोबलको हो । धेरै बैंकर तथा विज्ञहरूले उद्योगी व्यवसायी, उपभोक्ता तथा बैंकरमा पनि विश्वास र मनोबलको अभाव रहेको सुनाए । अर्थतन्त्रको चक्र विश्वासले चल्ने गर्छ । तर, अहिले वित्तीय बजारमा एकले अर्कालाई विश्वास नगर्ने अवस्थाको सिर्जना भएको छ । बैंकहरूले ब्याजदर घटाए पनि फेरि अर्को महिना बढाउने हो कि भन्ने शंका ऋणीमा छ । यो अवस्थाको सिर्जना बैंकरले नै गरेका हुन् । किनकि ब्याजदरको अस्थिर नीतिले ऋणीहरू आजित छन् । ७ प्रतिशत ब्याजमा लिएको ऋण १४ प्रतिशतसम्म पुगेका अनुभवहरू व्यवसायीमा पर्याप्त छन् । त्यसैले पनि अहिले व्यवसायीले जोखिम लिन चाहिरहेका छैनन् । नियामकको अस्थिर नीति पनि यसको एउटा महत्त्वपूर्ण कारण हो । ऋणको भारी व्यवसायीहरूलाई अहिले समस्या भनेको ऋणको छ । विगतमा लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न ऋणीहरूलाई समस्या भइरहेको छ । नियमित किस्ता भुक्तानी गर्न समस्या भइरहेको बेला ऋणीले थप ऋण लिन चाहिरहेका छैनन् । अर्को समस्या भनेको ऋणीले लिएको ऋण तिर्न नसक्दा धितो लिलाम भएको छ । आफूसँग पर्याप्त सम्पत्ति तथा धितो नभएकोले पनि व्यवसायीहरूले व्यवसाय विस्तार तथा नयाँ व्यवसायका लागि ऋण लिन सकिरहेका छैनन् । यो अवस्थामा घट्दो वा बढ्दो ब्याजदरले ऋणीलाई कुनै महत्त्व राख्दैन । व्यापार व्यवसायमा कमी अहिले बजारमा नयाँ व्यवसाय थालनी भएको तथा उद्योगीले नयाँ उद्योग खोलेको समाचार तथा सूचना बिरलै सुनिन्छन् । जब बजारमा नयाँ लगानीकर्ता भित्रिन्छन्, उनीहरूले लिने भनेको बैंकबाट ऋण नै हो । बैंकबाट ऋण लिएर नै व्यवसाय सुरु गर्छन् । तर, अहिले बजारमा नयाँ व्यवसाय आउन सकेका छैनन् । लगानीका लागि अवसरहरू पनि सीमित छन् । सरकारले लगानी सम्मेलन र पूर्वाधार सम्मेलन गरेपनि त्यसले एउटा निचोड निकाल्न सकेको छैन । विदेशी लगानीकर्ताहरू भित्रिन सकेका छैनन् । देशमा भएका विदेशी लगानीकर्तालाई पनि अनेक किसिमबाट दुःख दिने काम भइरहेको व्यवसायीहरूले गुनासो गरेका छन् । त्यसकारण पनि नयाँ व्यवसायी बजारमा छिर्ने हिम्मत गर्न सकिरहेका छैनन् । सरकारले लगानीका लागि नयाँ क्षेत्रहरू पनि पहिचान गर्न सकेको छैन । जब देशमा नयाँ लगानीका क्षेत्रहरू पहिचान हुँदैनन्, व्यवसायीले पनि कुन क्षेत्रमा लगानी गर्ने भनेर भेउ पाउँदैनन् र बैंकबाट कर्जा पनि प्रवाह हुन सक्दैन । लगानीको जोखिम वर्तमान अर्थतन्त्रको सकस समाधान हुन सकेको छैन । यो समयमा नयाँ व्यापार व्यवसाय सुरु गर्ने आँट व्यवसायीमा देखिँदैन । व्यवसाय सञ्चालन गरिरहेका उद्योगी व्यवसायीले पनि सोचेअनुरूप प्रतिफल पाउन सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाले पनि सेयरधनीलाई लाभांश दिन सकेका छैनन् । प्रतिफल नपाउने डरले पनि व्यवसायीले नयाँ व्यवसाय गर्ने तथा व्यवसाय विस्तार गर्न सकिरहेका छैनन् । अधिकांश ठूला व्यवसायीको लगानी सेयर बजारमा पनि छ । अहिले सेयर बजार पनि घटिरहेको छ । सेयर बजार घट्दा लगानीकर्ताले लगानी गुमाइरहेका छन् । त्यसले पुँजी निर्माणमा असर गरिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्रमा पर्दा आर्थिक गतिविधि चलायमान हुन नसकेका हुन् । नीतिगत अस्थिरता नेपाली वित्तीय बजारको महत्त्वपूर्ण समस्या भनेको नीतिगत अस्थिरता हो । राजनीतिक अस्थिरताले नेपालमा नीतिगत अस्थिरताको समस्या सिर्जना गरिरहेको छ । विभिन्न समय व्यक्तिपिच्छे तथा राजनीतिक दलपिच्छे बन्ने नीतिगत व्यवस्थाले उद्योगी व्यवसायीलाई मारमा पारिरहेको छ । एक महिना अगाडि बन्ने नीति एक महिनापछि परिवर्तन हुन्छ । यसले व्यापार व्यवसायमा ठूलो असर गर्छ । नीतिगत अस्थिरताको डरले अहिले व्यवसायीहरूले कर्जाको माग गर्न छोडेको व्यवसायीहरू बताउँछन् । विदेशी लगानीकर्तालाई नीतिगत अस्थिरताले थप नकरात्मक असर पर्ने गर्छ । बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक पनि पछिल्लो समय नीतिगत अस्थिरतामा रुमल्लिरहेकाे छ । तीन महिनाअघि मौद्रिक नीतिमा गरेको व्यवस्था पहिलो त्रैमासिक समीक्षामार्फत परिवर्तन गर्छ । यसले बैंकर मात्रै होइन, व्यवसायीलाई पनि ठूलो असर गर्ने गरेको छ । यिनै कारणले पछिल्लो समय कर्जाको माग हुन छोडेको व्यवसायीहरू बताउँछन् । नेपाल चेम्बर अफ कमर्सको निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि अहिले अहिले व्यवसायीमा मनोबलको कमी, युवाको विदेश पलायन, पुरानै कर्जाको व्यवस्थापन र अस्थिर नीति लगायतका कारणले बैंकबाट व्यवसायीले कर्जाको माग नगरेको धारणा राखे । राजेन्द्र मल्ल । ‘अहिले आन्तरिक अर्थतन्त्र संकुचित बनेको छ, बजारमा वस्तु तथा सेवाको माग घटेको छ, ब्याजदर सिंगल डिजिटमा भएपनि कहिले यसको दोब्बर पुग्छ ठेगान नै हुँदैन, दैनिक २१ सय युवा विदेश गइरहेका छन्, यसले गर्दा व्यवसायीमा मबोबल उच्च राखेर काम गर्ने वातावरण छैन,’ उनले भने, ‘त्यसकारण पनि कर्जाको माग घटेको हुन सक्छ ।’ निवर्तमान अध्यक्ष मल्लका अनुसार सरकारले यस्तो अवस्था स्थिर नीति ल्याउन आवश्यक छ । ‘सरकारले अस्थिर नीति ल्याउँछ, समयमै सुनुवाइमै पनि हुँदैन, विकास बजेट खर्च हुन सकेको छैन । विकास बजेटको अधिकांश रकम चालु खर्चमै सकिरहेको छ, अब सरकारले व्यवसायीको मनोबल बढाउन आवश्यक छ,’ उनले भने, अब दुई ठूला राजनीतिक दल सम्मिलित सरकारले श्वेतपत्र जारी गर्नुपर्छ ।’ नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५२ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असारदेखि हालसम्म वाणिज्य बैंकको कुल ६५ अर्ब रुपैयाँ कर्जा बढेको देखिन्छ । गत असारमा बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । वाणिज्य बैंकको ऋण प्रवाह मात्रै ४६ खर्ब ३१ रुपैयाँ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेल पनि सबै सहज हुँदा पनि कर्जा प्रवाह किन हुन सकेको छैन भन्ने विषयमा आफू पनि अनभिज्ञ नै भएको धारणा राख्छन् । ‘अहिले सबै विषय सहज छ, अर्थतन्त्र सुधारको दिशामा छ, ब्याजदर घटेको घट्यै छ, बैंकमा पर्याप्त तरलता छ । राष्ट्र बैंकले पनि खुकुलो नीति अंगिकार गरेको छ । तर, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन सकेको छैन,’ अब सबैले समस्या के हो पहिचान गर्नुपर्छ, ’ उनले भने । उनले अब चाडपर्व पनि लागेको र निर्माण क्षेत्रको ठेक्कापट्टाको समय पनि आएकोले अर्थतन्त्र चलायमान हुन सक्ने विश्वास व्यक्त गरे ।