बढी रोजगारी दिने १० ठूला कम्पनी, को हुन् मालिक ?
काठमाडौं । नेपालमा रोजगारी सिर्जना हुन सकेन भनेर बेला बखत ठूलो बहस हुन्छ । देशमा युवाले रोजगारी नपाएर विदेसिन बाध्य भए भन्ने धारणाले स्थान पाउँछ । ठूला उद्योग तथा कम्पनी नभएकै कारण देशमा रोजगारी गर्ने वातावरण भएन भन्ने गुनासो पनि प्रयाप्त सुनिन्छ । तर, नेपालमा हजारौंलाई रोजगारी दिने कम्पनीहरु पनि छन् । जसले हजारौंलाई रोजगारी दिएका छन्, लाखौंलाई निर्भर बनाएका छन् । आज यो समाचार सामग्रीमा देशका सबैभन्दा बढी रोजगारी दिने कम्पनीको विषयमा चर्चा गर्दैछौं । भाटभटेनी सुपरमार्केट भाटभटेनी सुपर मार्केटको नाम नसुन्ने प्रायः कमै होलान् । तपाईं सहरमा बस्नुहुन्छ भने भाटभटेनीको नाम सुनेकै हुनुपर्छ । सन् १९८४ स्थापना भएको यस कम्पनीका मालिक मीनबहादुर गुरुङ हुन् । यसको मुख्य कार्यालय काठमाडौंको टंगालमा छ भने २७ वटा आउटलेटमार्फत् सेवा दिइरहेको छ । रोजगारी सिर्जनाका हिसाबले देशकै ठूलो यो सुपरमार्केटलाई गुरुङले ४० वर्षअघि ३५ हजार रुपैयाँ लगानीमा खोलेका थिए । हाल भाटभटेनी सुपर मार्केटले खुद्रा व्यापारमा देशव्यापी सञ्जाल बनाएको छ । काठमाडौं उपत्यकामा मात्रै १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा यसका शाखा छन् । काठमाडौं उपत्यकामा टंगाल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, कृष्णगल्ली, सातदोबाटो, सानागाउँ र थिमिमा भाटभटेनीका शाखा सञ्चालनमा छन् । त्यस्तै, काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा र बिर्तामोडमा चलिरहेका छन् । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल झण्डै १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसले वार्षिकरूपमा ३२ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै आइरहेको छ । भाटभटेनीमा खाद्यान्न, लुगाकपडासहित खेलकुदका सामग्री, सिनेमा हलदेखि रेस्टुरेन्ट लगायतको सुविधा उपलब्ध छ । भाटभटेनीले अबको पाँच वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ । यसमा ६० प्रतिशत हिस्सा मीनबहादुर र ४० प्रतिशत उनकी श्रीमती सावित्रा घले गुरुङको रहेको छ । भाटभटेनीमा करिब सवा २ अर्बको लगानी छ । हाल मुख्य कार्यालय टंगालकामा रहेको भाटभटेनीको नयाँ स्वरूपमा निर्माण कार्य चलिरहेको छ । उक्त भाटभटेनीको भवन डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको छ । गरुड सेक्युरिटी गरुड सेक्युरिटी नेपालको सबैभन्दा ठूलो रोजगारी दिने अर्को ठूलो कम्पनी हो । कर्मचारीको संख्याको हिसाबले यो कम्पनी दोस्रो स्थानमा छ । जसको नेतृत्व सबलचन्द्र शाहले गरिरहेका छन् । विसं २०६२ सालमा स्थापना भएको यो कम्पनीको केन्द्रीय कार्यालय बाँसबारी, काठमाडौंमा छ । यस कम्पनीले सुरक्षा क्षेत्रमा विगत १९ वर्षदेखि सेवा गर्दै आइरहेको छ । यो कम्पनी सुरक्षा क्षेत्रका लागि परिचित छ । यसको मुख्य उद्देश्य ग्राहकहरूलाई कम्पनीमा उपलब्ध उत्कृष्ट सुरक्षा सेवाहरू प्रदान गर्नु रहेको छ । साथै यस कम्पनीले चालक, हाउसकिपिङ र क्लीनरहरू, आतिथ्यता, प्राविधिक र मर्मतसम्भार, कार्यालय सहयोगी कर्मचारीहरू र अन्य सुविधा व्यवस्थापन सेवाहरूको बोर्ड तयार गरी सेवा प्रदान गरिरहेको छ । दुई दशकको अवधिमा गरुड सेक्युरेटी देशको नम्बर वान सेक्युरेटी कम्पनी बनेको छ । विभिन्न अर्धसरकारी, व्यावसायिक प्रतिस्ठान, संस्थान, बैंक तथा वित्तीय संस्था, अस्पताल तथा ठूल्ठूला कन्सर्ट तथा कार्यक्रममा सुरक्षा प्रदान गर्नका लागि यो कम्पनीले सुरक्षाकर्मी उपलब्धत गराउँछ । शाहका अनुसार कम्पनीका काठमाडौं उपत्यकाभित्र २ वटा तथा देशैभरमा १० वटा शाखाहरू रहेका छन् । यस कम्पनीले झण्डै ६ हजारलाई रोजगारी दिएको छ । यस कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५८ करोड ८३ लाख ७२ हजार ६ सय ५५ रुपैयाँ कारोबार गरेको थियो । यस्तै, आव २०७९/८० मा १ अर्ब ७२ करोड १७ लाख ४२ हजार ४ सय ७० रुपैयाँ कारोबार गरेको छ । यो कम्पनी सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल सरकारबाट बढी रोजगारी दिएको कम्पनीका रुपमा समेत सम्मानित समेत भएको थियो । सूर्य नेपाल बढी रोजगारी दिने कम्पनीमा सूर्य नेपाल पनि पर्छ । वि.सं २०४३ सालमा स्थापना भएको सूर्य नेपालका अध्यक्ष अध्यक्ष सञ्जीव पूरी हुन् । यसको मुख्य कार्यालय काठमाडौंको कान्तिपथमा छ । यो कम्पनी नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने सूचीको अग्रस्थानमा रहदै आएको छ । सूर्य नेपालको प्रमुख उत्पादन चुरोट हो । त्यसबाहेक यसले अगरबत्ती र सलाई पनि उत्पादन गर्छ । त्यस्तै, कम्पनीले होटल व्यवसायमा पनि लगानी गरेको छ । काठमाडौंको बुढानीलकण्ठमा ७२ रोपनी जग्गामा पाँचतारे होटल निर्माणाधीन छ । उक्त कम्पनीको देशभरि १ सयभन्दा बढी थोक वितरक रहेका छन् । यस कम्पनीले ५ हजार जनालाई रोजगारी दिएको छ । सरकारले यस कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा बर्सेनि सम्मानसमेत गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा २८ अर्ब ९९ करोड करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो । यस्तै, सन् २०२२ मा कम्पनीले २७ अर्ब १ करोड ४० लाख रुपैयाँको चुरोट व्यापार गरेको थियो । यस्तै, सन् २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २४ अर्ब ४७ करोड, सन् २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो । जी फोर एस सेक्युरिटी सर्भिसेज जी फोर एस सेक्युरिटी सर्भिसेज नेपाल रोजगारदाता कम्पनी हो । यसको स्थापना वि.सं २०२७ सालमा भएको थियो । यसका मालिक सुन्दरप्रताप राना हुन् । यसको मुख्य कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ । यो देशको सबैभन्दा ठूलो सुरक्षासम्बन्धी मल्टिनेशनल कम्पनी हो । उसो त जी फोर एस नेपाल विश्वकै नम्बर एक सेक्युरिटी कम्पनी हो । जसको सुरुआत बेलायतबाट भएको थियो । त्यसपछि यो विश्वभर विस्तार भएको हो । यस कम्पनीले सुरक्षा सेवा प्रदान गर्दै आएको छ । यस्तै, कम्पनीले विगत २८ वर्षदेखि ४ हजारभन्दा बढी अनुभवी तालिमप्राप्त सुरक्षाकर्मी तथा सरसफाइ श्रमिकमार्फत विभिन्न विदेशी राजदूतावास, कुटनीतिक नियोग, प्रतिष्ठित बहुराष्ट्रिय प्रतिष्ठान, बैंक, प्रतिष्ठित होटल, अस्पताल, कलकारखानामा आफ्नो सेवा दिँदै आएको छ । हाल यस बहुराष्ट्रिय कम्पनीले सुरक्षा गार्ड सेवा, सुरक्षा प्रणाली र अन्य सुरक्षा समाधानहरूको क्षेत्रमा ठूलो प्रभाव पु¥याएको छ । हाल यस कम्पनीमा देशभरमा ४ हजार ७ सय जनाले रोजगारी पाएका छन् । रिलायन्स स्पिनिङ मिल्स रिलायन्स स्पिनिङ मिल्स देशकै ठूलो निर्यातकर्ता र रोजगारदाता भएको अर्को कम्पनी हो । कम्पनीको कार्यालय काठमाडौंमै छ भने कारखाना सुनसरीमा छ । वि.सं २०५१ सालमा स्थापना भएको यो कम्पनीको मुख्य सेयरधनी पवन गोल्यान, शशिकान्त अग्रवाल र अक्षय गोल्यान हुन् । यस कम्पनीले धागोको उत्पादन वि.सं २०५४ सालदेखि सुरु गरेको हो । २ करोड ६० लाख पूँजीमा स्थापना भएको यो कम्पनीले अहिले वार्षिक १२ अर्ब रुपैयाँको कारोबार गर्छ । कम्पनीले ५ हजार जनालाई रोजगारी दिएको छ । हाल उद्योगभित्रै २८० परिवार बसोबास गर्ने यो कम्पनीले कामदारको स्वास्थ्य उपचार पनि कारखानाभित्रै गर्ने व्यवस्था गरेको छ । यो कम्पनीले बर्सेनि अर्बौं मूल्यको धागो उत्पादन गरी देशमा आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न योगदान दिँदै आएको छ । यसको अधिकृत पुँजी दुई अर्ब ६० करोड, जारी पुँजी एक अर्ब ९० करोड र चुक्ता पुँजी एक अर्ब ७१ करोड रहेको छ । करिब ६ अर्बभन्दा धेरै निर्यात आय गर्दै आएको रिलायन्स स्पिनिङले विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्दै आएको छ । अहिले पनि कम्पनीको विस्तार गर्ने काम भइरहेको अध्यक्ष पवन गोल्यानले बताए । एनसेल एनसेल नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी हो । यो नेपालमा बढी रोजगारदाता भएको ठूलो कम्पनी पनि हो । यसको स्थापना विसं २०६१ सालमा भएको थियो । कम्पनीले २००५ देखि आफ्नो सेवा सुरु गरेको थियो । यसका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ हुन् । यसको मुख्य कार्यालय काठमाडौंको लौनचौरमा रहेको छ । यस कम्पनीले सन् २००५ को सेप्टेम्बर १७ बाट आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । यो कम्पनीको स्थापना हुँदा ‘मेरो मोबाइल’ नाम राखिएको थियो । सन् २००८ मा स्विडेनको कम्पनी टेलिया सोनेरा ग्रुपले खरिद गरी सन् २०१० पछि मेरो मोबाइलको नाम फेरेर एनसेल बनाइएको थियो । फेरि सन् २०१६ मा टेलिया सोनेरासँग मलेसियाको आजियटा ग्रुपले एनसेलको सेयर किन्यो । ७ वर्षपछि ‘नेपालमा लगानीको वातावरण नभएको’ विज्ञप्ति निकाल्दै आजियटा बाहिरियो । सन् २०२० मा एनसेल प्रालिबाट पब्लिक लिमिटेड बनेको छ । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ । अहिले यसको मुख्य लगानीकर्ता शतिसलाल आचार्य छन् । सन् २०१० मै थ्रीजी सेवा विस्तार गरेको एनसेलले २०१७ मा फोरजी सेवा दिएको थियो । हाल देशको करिब ९० प्रतिशत क्षेत्रफलमा फोरजी सेवा पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई हाइस्पिड डेटा र भिडियो कन्टेन्ट प्रयोग गर्न सजिलो भएको छ । हाल १ करोड ३० लाखभन्दा धेरैले एनसेलको सिम प्रयोग गर्छन् । हाल बजार निरन्तर घट्दो क्रममा रहेकाले एनसेललाई डिजिटल बनाई डेटा बाहेकका नयाँनयाँ सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार एनसेलले विगतका १९ वर्षमा १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको छ । साथै यसले स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्बभन्दा बढीको योगदान गरेको छ । एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने दाबी गरेको छ । यो कम्पनी नेपालको एक ठूलो करदाताको रूपमा पनि परिचित छ । गत आर्थिक वर्ष २०८०/८१ सम्म विभिन्न शीर्षकमा यसले सरकारलाई ३ खर्ब २० अर्बभन्दा बढी राजस्व बुझाइसकेको जानकारी दिएको छ । हाल कम्पनीमा प्रतयक्ष तथा अप्रत्यक्ष गरि २५ हजारले रोजगारी पाएका छन् । यस कम्पनीको वार्षिक आम्दानी ३४ अर्ब रहेको बताइएको छ । एनसेल हरेक वर्ष सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा पनि सम्मानित हुँदै आएको छ । अरिहान्त मल्टीफाइबर ग्रुप अरिहान्त मल्टीफाइबर ग्रुपको स्थापना सन् १९९३ भएको थियो । यसको कार्यालय विराटनगरमा छ भने यस कम्पनीका प्रबन्ध निर्देशक राजकुमार (आरके) गोल्छा हुन् । आरके गोल्छा ग्रुपका अरिहान्त इन्फ्रास्ट्रक्चर लिमिटेड, अरिहान्त स्टिल एण्ड एलोय कास्टिङ प्रालि र अरिहान्त रियल स्टेट डेभलपर कम्पनी सञ्चालनमा छन् । यस कम्पनीले झोला र बोराजस्ता पर्यावरणमैत्री उत्पादनहरू उत्पादन गर्ने गर्दछ । यो नेपालको अग्रणी जुट उत्पादक हो । यस कम्पनीले वार्षिक रूपमा २५ हजार मेट्रिक टन जुट प्रशोधन गर्दछ । यस्तै, अरिहान्त ग्रुपमा देशभर विभिन्न २२ वटा व्यापारिक क्षेत्र ‘बिजनेस युनिट’ मा छन् । अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उद्याेग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट हुन् । ग्राहकको आवश्यकता र अपेक्षालाई पुरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने अरिहान्त ग्रुपको उद्देश्य हो । यस कम्पनीले ४ हजार ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको बताएको छ भने अप्रत्यक्ष जोड्दला १० हजार पुग्ने कम्पनीको दाबी छ । कान्तिपुर सेक्युरिटी सर्भिस कान्तिपुर सेक्युरिटी सर्भिस कम्पनी नेपालको प्रमुख सुरक्षा सेवा प्रदायकहरू कम्पनीमध्ये एक हो । यसको स्थापना विसं २०५५ सालमा भएको थियो । कम्पनीका प्रबन्ध निर्देशक खेमराज भण्डारी हुन् । यसको मुख्य कार्यालय काठमाडौंको चावहिलमा छ । कम्पनीले देशभर नेपाल बैंक, दूरसञ्चार, विद्युत प्राधिकरण लगायत ९० भन्दा बढी राज्यका महत्त्वपूर्ण निकाय, संस्था तथा प्रतिष्ठान, घरहरू, व्यापारिक संस्थाहरू र अन्य संस्थागत स्थानहरूमा सुरक्षा सुनिश्चित गर्नका लागि ठूलो संख्यामा सुरक्षा गार्ड, सवारी चालक, प्राविधिक लगायतका जनशक्ति उत्पादन गरी विभिन्न क्षेत्रमा खटाउँदै आएको छ । यस्तै, कम्पनीले ७ वटै प्रदेश र ७७ वटै जिल्लामा माग अनुसारको सेवा दिन जति बेला पनि तत्पर रहेको दाबी गरेको छ । यस कम्पनीका विराटनगर, हेटौँडा, पोखरा, बुटवल तथा धनगढीमा शाखा कार्यालयहरू रहेका छन् । देशभर कम्पनीमा हाल ४ हजार जनाले रोजगारी पाएका छन् । यस कम्पनीले सुरक्षा गार्डहरू, प्रहरी सेवा र अन्य सुरक्षा समाधान गर्दै आएको छ । यस कम्पनीको प्रमुख उद्देश्य भनेको जोखिम र सुरक्षा उल्लंघनहरू न्यून गर्न प्रभावकारी सुरक्षा समाधानहरू पेश गर्नु रहेको छ । त्रिवेणी स्पिनिङ मिल्स त्रिवेणी स्पेनिङ मिल्स प्रालि नेपालको एक प्रमुख रोजगारी दिने कम्पनी हो । जसले कपडा र धागो उत्पादन गर्ने काम गर्दछ । वि.सं २०५२ सालमा संघाई परिवारले त्रिवेणी स्पिनिङ मिल्सको स्थापना गरेका हुन् । यस कम्पनीका अध्यक्ष रामचन्द्र संघाई हुन् । यसको कार्यालय बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा रहेको छ । कम्पनीले धागो उत्पादन गर्ने, पोलिस्टर, भिस्कोस र यार्लिक ब्लेन्डेड यार्न उत्पादन गर्दै आएको छ । जसमा नेपाली स्पिनिङको धागो स्वदेशलगायत भारत र टर्कीमा निर्यात हुने गरेको छ । कम्पनीले विभिन्न प्रकारका सिंथेटिक धागोहरू विभिन्न प्रकारका मिश्रणहरूमा उत्पादन गर्दछ र सबै प्रकारका बुनाई र बुनाईका लागि गणना गर्ने गर्दछ । त्रिवेणीको वार्षिक धागो उत्पादन क्षमता १४ हजार ६ सय ८९ टन रहेको छ । उद्योगले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । त्रिवेणी ग्रुपको बैंक, बिमा, उत्पादन र व्यापारमा लगानी रहेको छ । यस कम्पनीमा हाल झण्डै २ हजार जनाले रोजगारी पाएका छन् । बुद्ध एयर नेपालको आन्तरिक उडानमा रहेका ९ वटा वायुसेवामध्ये बुद्ध एयर सर्वाधिक जहाज भएको कम्पनी हो । यसको स्थापना वि.सं २०५४ सालमा भएको हो । यसका मालिक बिरेन्द्र बस्नेत हुन् । बुद्ध एयरको स्थापनाको २६ वर्षमा २ करोड यात्रुलाई सेवा दिएको थियो । बुद्ध एयर हाल नेपालको आन्तरिक उडानमा पहिलो नम्बरमा छ । नेपालमा मात्रै हैन, एसियामै सर्वाधिक एटीआर विमान उडाउनेमा बुद्ध एयरको नाम अग्रपंक्तिमा आउँछ । पछिल्लो तथ्यांकअनुसार बुद्धले दैनिक ओहोरदोहोर गर्दा अधिकतम देशभर १ सय ४८ वटा उडान भर्छ । २०५४ असोज २५ देखि व्यावसायिक उडान सुरु बुद्ध एयरमा हाल झन्डै १५ सय जनाले रोजगारी पाएका छन् । बुद्धले दैनिक ७ देखि ८ हजार यात्रुलाई सेवा दिँदै आइरहेको छ । भित्री उपत्यकामा पर्ने सुर्खेत र तुम्लिङटारदेखि तराईका समेत गरी १५ वटा गन्तव्यका ४३ वटा हवाई रुटमा बुद्धका जहाज बिहान ६ देखि राति १२ बजेसम्म उडान गर्दै आइरहेका छन् । यस्तै, बुद्धले विराटनगर, भैरहवा, पोखरा, भरतपुरमा जहाज राखेर बिहानै त्यहाँबाट संघीय राजधानीमा उडान भर्दै आइरहेको छ । कोभिड चल्दा चल्दै दुइटा एटीआर जहाज थपेको बुद्धले हालसम्म ६ वटा जहाज थपिसकेको छ । यसले अब पोखराबाट भारतको नयाँ दिल्लीमा जेट विमानबाट उडान गर्ने लक्ष्य राखेको छ । उक्त एयर स्थापना भएदेखि नेपालमा ४० वटा वायुसेवा कम्पनी बन्द भइसकेका छन् । तर, यो बुद्ध एयर निरन्तर व्यावसायिक विस्तारमा छ । वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको बुद्धले भने दैनिक ४ करोड रुपैयाँ हाराहारीमा टिकट र कार्गोबाट आम्दानी गर्ने गर्दछ । बुद्धले एक दिन उडान बन्द गर्नुपरेमा नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने गरेको जनाइएको छ । यसले लोडरदेखि पाइलटसम्मलाई वार्षिक साढे २ अर्ब रुपैयाँ तलबमा मात्रै खर्च गर्छ । जसमा न्यूनतम ५० हजारदेखि ३ लाख रुपैयाँसम्म र औसत तलब डेढ लाख हाराहारीमा दिने गरेको छ । बुद्ध एयर जहाज संख्या, लगानी, बजार हिस्सालगायत विविध पाटोबाट नेपालकै सर्वाधिक ठूलो आन्तरिक वायुसेवा कम्पनीका रूपमा परिचित छ । बुद्धसँग हाल १७ थान जहाज सञ्चालनमा छन्, र ती सबै एटीआर जहाज हुन् । एटीआरमा पनि दुईथरी जहाज छन् । एउटा एटीआर ४२ सिरिजको छ, जसमा ४७ सिट हुन्छ । त्यस्तै, अर्को एटीआर ७२ सिरिजको छ, जसमा ७२ सिट हुन्छ । बुद्धसँग ४२ सिटे जहाज तीनवटा र ७२ सिटे जहाज १४ वटा छन् । बुद्धले एयरले हाल भद्रपुर, विराटनगर, तुम्लिङटार, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढी तथा पर्वतीय उडान गर्दै आएको छ। त्यसबाहेक काठमाडौंबाट भारतको बनारसका लागि हप्तामा दुई उडानसमेत गर्दै आएको जनाएको छ । बुद्धको वर्तमान बजार हिस्सा ६५ प्रतिशत रहेको ५ भने स्थापनादेखि बुद्धले हालसम्म २ करोडभन्दा बढी यात्रुलाई सकुशल गन्तव्य पुर्याएको बताएको छ। तिनमा ९० प्रतिशत नेपाली यात्रु छन् भने १० प्रतिशत विदेशी अथवा भारतीय रहेको एयरले जनाएको छ। हाल यसमा झण्डै २ हजार जनाले रोजगारी पाएका छन् भने वार्षिक ७ अर्ब बढी सञ्चालन आम्दानी गर्दै आएको छ ।
वास्तविक ‘विकास नायक’
देश विकासको विषयमा बहस हुँदा प्रायः सबैको सोच, विचार र अभिव्यक्ति सरकारमा केन्द्रित हुन्छ । धेरैलाई लाग्छ, देश विकासको सबै जिम्मेवारी सरकार वा राजनीतिक नेतृत्वको मात्र हो । सरकारले राम्रो गरेन, नेताहरू असफल भए त्यसैले देश विकास भएन भन्ने सोच अधिकांशमा पाइन्छ । तर, सत्य यति मात्र होइन । देश विकास बहुआयामिक प्रक्रिया हो, जसमा सरकार, निजी क्षेत्र र नागरिक सबैको भूमिका हुन्छ । सरकारको प्रमुख काम नीति निर्माण, सुरक्षा, न्याय, र प्रशासन हो । नेपालजस्तो देशमा सडक, पुल, नहर, रेलमार्ग, सुरुङमार्ग र विमानस्थलजस्ता पूर्वाधार निर्माणमा सरकारको निर्णायक भूमिका रहन्छ । यो भूमिका पनि जनताबाट सङ्कलित करमा आधारित हुन्छ । जलविद्युत्सहितको स्वच्छ ऊर्जा उत्पादन, यातायात, सञ्चार, शहरी विकास र पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी उल्लेखनीय रूपमा बढ्दै गएको छ, जसले आधुनिक विकासलाई गति दिएको छ । वस्तु र सेवाको उत्पादन तथा व्यापार आर्थिक विकासको मेरुदण्ड हो । यसमा आम नागरिक सम्लग्न हुन्छन् । निजी क्षेत्रले ठूलो लगानी गरेको छ, जसले रोजगारी सिर्जना गरेको छ, राजस्व वृद्धि गरेको छ र उपभोक्तालाई मूल्य र गुणस्तरमा छनोटको अवसर प्रदान गरेको छ । बैङ्किङ, बीमा, पुँजी बजार, सञ्चार, प्रविधि, शिक्षा, स्वास्थ्य र पर्यटनजस्ता सेवाका क्षेत्रहरूमा निजी क्षेत्रको प्रभाव निर्णायक देखिन्छ । सार्वजनिक यातायातमा सरकारको भूमिका नगन्य छ । तर, निजी सवारी किन्दा नागरिकले अत्यधिक कर तिर्नुपर्ने बाध्यता छ । उद्योग क्षेत्रमा पनि निजी क्षेत्रको योगदान महत्वपूर्ण छ । सिमेन्ट, डण्डी, चाउचाउ, बिस्कुट, चुरोट, रक्सीदेखि औषधि उत्पादनसम्म निजी क्षेत्रले नेतृत्व गरिरहेको छ । कृषि क्षेत्रमा सरकारको थोरै मात्र उपस्थिति छ, रासायनिक मलमा केही अनुदान र सिँचाइमा सामान्य लगानीले । तर, समग्रमा कृषि उत्पादनमा सरकारको भूमिका सीमित छ । संवैधानिक र कानूनी रुपमा हरेक नागरिकको गाँस, बास र कपासका साथै शिक्षा र स्वास्थ्यसम्म सरकारले जिम्मेवारी लिएको छ । तर, आमरुपमा नेपालीको छाक टार्ने काममा सरकारको उपस्थिति छैन । आम मानिसको घर बनाउने काममा सरकारको सहभागिता छैन । र, आम मानिसलाई कपडा उपलब्ध गराउने काममा पनि सरकारको सहभागी छैन । सार्वजनिक यातायातको क्षेत्रमा सरकारको उपस्थिति शून्य छ भने निजी सवारी किन्दा नागरिकले सरकारलाई १०० कडा २४० प्रतिशतसम्म कर तिर्नुपर्ने बाध्यता छ । शिक्षा र स्वास्थ्यमा सरकारको उपस्थिति गुणस्तरहीन छ । ११ कक्षादेखि माथिको शिक्षाका लागि र गुणस्तरीय स्वास्थ्य सेवाका लागि नागरिकले चर्को मूल्य तिर्नुपर्छ । सरकारको प्रशासन, न्याय र सुरक्षाजस्ता क्षेत्रमा पनि सामान्य उपभोक्ताले सेवा पाउन मुस्किल छ । घुसबिना सेवा पाउन कठिन छ । सरकारी निकायहरूको वार्षिक प्रतिवेदनले बेथिति, अनियमितता र विभेदलाई ऐनाजस्तो स्पष्ट पार्छ । इतिहासले राजा, नेता वा साहित्यकारलाई मात्र नायक मानेको छ । देश विकासका नायकहरू हरेक क्षेत्रमा छन् । उनीहरूको खोजी र सम्मान निरन्तर गर्नुपर्छ । देश विकासका लागि केवल भौतिक पूर्वाधार र आर्थिक प्रगति पर्याप्त होइन । उद्योगको सङ्ख्यामा वृद्धि हुनु र प्रतिव्यक्ति आय बढ्नु मात्रै विकास होइन । भाषा, सभ्यता, संस्कृति, कला र मनोरञ्जनका क्षेत्रहरूको विकासले मात्र देशको पहिचान मजबुत हुन्छ । स्मार्टफोन र टिभीले मात्रै प्रगतिको सूचक निर्धारण गर्दैन । फिल्म, खेलकुद, साहित्य र कलामा पनि लगानी आवश्यक छ । खेलकुद क्षेत्रको विकासमा पनि सरकारले भन्दा निजी क्षेत्रले नै ठूलो लगानी गरिरहेको छ । देशको विकास सरकारबाट मात्रै सम्भव छैन । यसका लागि कर्मठ नागरिक, उद्यमी र उच्च व्यवस्थापकको भूमिका महत्वपूर्ण छ । उनीहरुलाई विश्वस्त हुने किसिमको वातावरण सिर्जना सरकारले गर्न सक्नुपर्छ । चन्द्रप्रसाद ढकाल, डा. सन्दुक रुइत, कुलमान घिसिङको योगदान प्रधानमन्त्री वा मन्त्रीहरूको तुलनामा कम छैन । इतिहासले राजा, नेता वा साहित्यकारलाई मात्र नायक मानेको छ । तर, विविध क्षेत्रमा सक्रिय पात्रहरूको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । देश विकासका नायकहरू हरेक क्षेत्रमा छन् । उनीहरूको खोजी, सम्मान र योगदानको चर्चा निरन्तर गर्नुपर्छ । त्यो प्रयास हामीले थालेका हौं । तिनै विकास नायकको सम्मानमा देश विकासको यो विशेषाङ्क तयार गरिएको छ । सबैलाई एकै अङ्कमा समेट्न सकिँदैन । यस्ता विकास नायकको खोजी गर्ने र सम्मान गर्ने क्रम निरन्तर रहनेछ । यो शुरुवात हो, अन्तिम होइन ।
देशको निर्माण क्षेत्र हाँकिरहेका १० ठूला व्यवसायी : अर्बौंको कारोबार, कामको भ्याइनभ्याई
काठमाडौं । निर्माण क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । पूर्वाधारको विकासमार्फत् निर्माण कम्पनीले अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छन् । देशभरका २४ हजार बढी निर्माण कम्पनीले आर्थिक गतिविधमा ठूलो योगदान पुर्याएका छन् । वार्षिक लाखको कारोबारदेखि अर्बौं रुपैयाँको कारोबार गर्ने कम्पनी पनि देशमा छन् । सडक, हाउजिङ, भवन, पुल, सिँचाइ, पर्यटकीय क्षेत्र र जलविद्युत लगायत क्षेत्रको पूर्वाधारको विकास गरेर अर्थतन्त्रमा निर्माण कम्पनीले ठूलो जिम्मेवारी बहन गरेका छन् । आज हामीले देशका ठूला १० निर्माण कम्पनी र ती कम्पनीको नेतृत्व गर्ने व्यवसायीको विषयमा यो सामग्री तयार गरेका छौं । कालिका कन्स्ट्रक्सन विक्रम पाण्डे कालिका कन्स्ट्रक्सन नेपालको सबैभन्दा ठूलो निर्माण कम्पनी हो । जसको नेतृत्व विक्रम पाण्डेले गरिरहेका छन् । विसं २०६३ सालमा स्थापना भएको यो कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा छ । यो कम्पनी नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी हो । भवन, सडक, पुल, खानेपानी तथा सिँचाइ र जलविद्युत परियोजना निर्माण गर्ने कालिका कन्स्ट्रक्सनले १४ वटा पुल, ११ वटा खानेपानी आयोजना, ६५ वटा राजमार्ग, ३ हाइड्रोपावर, ७ वटा सिँचाइ परियोजना एक अन्तर्राष्ट्रिय गरी कुल १०१ परियोजनाहरूको निर्माण कार्य सम्पन्न गरिसकेको छ । बहुचर्चित कोशी पुल, मदन भण्डारी राजमार्ग र दरौदी हाइड्रोपावर लगायतका निर्माण आयोजना यस कम्पनीले निर्माण गरेको हो । सिक्टा सिँचाइ आयोजना पनि यो कम्पनीले निर्माण गरिरहेको छ । कालिका ग्रुपका अध्यक्ष पाण्डे राजनीतिमा पनि सक्रिय छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । कालिका कन्स्ट्रक्सनको व्यवसाय पनि पछिल्लो तीन आर्थिक वर्षमा निरन्तर बढ्दो छ । यस कम्पनीले २०८० मा ४ अर्ब २८ करोड १० लाख, २०७९ मा ३ अर्ब ६३ करोड ३० लाख र २०७८ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ । यो तीन वर्षको अवधिमा यस निर्माण कम्पनीको व्यवसाय ५० प्रतिशतले बढेको तथ्यांकबाट प्रष्ट हुन्छ । यो निर्माण कम्पनीको १५ अर्ब बढी ऋण लिन सक्ने ल्याकत छ । शर्मा कन्स्ट्रक्सन शर्मा कन्स्ट्रक्सन प्रालि पनि नेपालको ठूलोमध्येको एक निर्माण कम्पनी हो । विसं २०२३ सालमा स्थापना भएको यस निर्माण कम्पनीको नेतृत्व रमेश शर्माले गरिरहेका छन् । सीतापाइला काठमाडौंमा मुख्य कार्यालय रहेको यस कम्पनीमा एक हजार बढी कर्मचारी कार्यरत छन् । रमेश शर्मा । कम्पनीका चिप म्यानेजर उपेन्द्र श्रेष्ठकाअनुसार यस कम्पनीले देशका ठूल्ठूला परियोजना निर्माण गर्दै आएको छ । भवन, सडक र पुल निर्माण, खानेपानी आपूर्ति, सिँचाइ, एयरपोर्ट, सीवेज (सीडी) निर्माण लगायतका कार्यहरूमा यो कम्पनी संग्लन छ । यसले भवनमा आवासीय र व्यावसायिक भवन निर्माणका साथै अपार्टमेन्ट र अन्य संरचनाहरूको निर्माण गर्दै आइरहेको छ । यस कम्पनीले राष्ट्रपति भवन, राष्ट्रिय वाणिज्य बैंकको भवन, नागरिक लगानी कोषको कार्यालय, मेडिसिडी अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयको भवन, वीर अस्पतालको नयाँ भवन लगायत अन्य ठूला आयोजना सफलताका साथ काम सम्पन्न गरिसकेको छ । ए वर्गको यस निर्माण कम्पनीले २०८० मा ३ अर्ब ६२ करोड ५० लाख, २०७९ मा २ अर्ब ४७ करोड ६० लाख र २०७८ मा १ अर्ब ८९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । यस कम्पनीले करिब ११ अर्बको ऋणका लागि रेटिङ पनि गराएको छ । अध्यक्ष शर्मा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत हुन् । शर्मालाई सरकारले २०८० चैतमा किर्गिजस्तानका अवैतनिक महावाणिज्यदूतमा पनि नियुक्त गरेको थियो । अहिले कम्पनीले धेरै परियोजनाहरू निर्माण गरिरहेको छ । हाल ४ वटा परियोजनाको काम निर्माणधीनको चरणमा रहेको कम्पनीका चिप म्यानेजर श्रेष्ठले बताए । गुणस्तर र प्राविधिक दक्षता भएको कम्पनीले समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने र नवीनतम प्रविधिको प्रयोगमा ध्यान दिने कम्पनीको भनाइ छ । यो कम्पनी ठूलो पुँजी भएको कम्पनी हो । तुन्डी कन्स्ट्रक्सन ऋषी प्रसाद सुवेदी । तुन्डी कन्स्ट्रक्सन प्रालि नेपालको अर्को ठूलो निर्माण कम्पनी हो । विसं २०४१ सालमा भएको यो कम्पनीको नेतृत्व ऋषिप्रसाद सुवेदीले गरिरहेका छन् । यस कम्पनीले करिब दुई सय बढी ठूला निर्माण परियोजनाहरू सम्पन्न गरिसकेको जानकारी दिएको छ । यो कम्पनीले आवासीय र व्यावसायिक भवनहरू, सडक र पुल निर्माण, हाइड्रो, इन्फ्रास्ट्रक्चर प्रोजेक्ट, मर्मत र पुनर्निर्माण र अन्य निर्माणजन्य काम गर्दै आएको छ । उच्च गुणस्तरीय निर्माण कार्य र ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गर्न आधुनिक प्रविधि र दक्ष मजदुरको प्रयोग गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण परियोजनाको समग्र व्यवस्थापन, डिजाइन, र कार्यान्वयनमा बढी जोड दिने गरेको बताएको छ । यस कम्पनीले अहिले संसीय संसद भवनको निर्माणको काम गरिरहेको छ भने राष्ट्रपति भवन, काठमाडौं विश्वविद्यालय, नारायणी सिमेन्ट उद्योग, त्रिभुव विश्वविद्यालयको भवन, धनगढी विमानस्थल, चमेलिया दार्चुला सडक, पूर्व-पश्चिम राजमार्गको बेलबारी सडक खण्ड, भालुवाङ–प्युठान सडकलगायत ठूला परियोजना निर्माण सम्पन्न गरेको छ । ठूला रकमको कारोबार गर्ने यो निर्माण कम्पनीले यसअघि १३ अर्ब रुपैयाँको ऋणका लागि रेटिङ गराएको थियो भने वार्षिक ६ अर्ब रुपैयाँ बढीको कारोबार गर्ने गरेको छ । अनक कन्स्ट्रक्सन श्रीराम मर्हजन । अनक कन्स्ट्रक्सन प्रालि नेपालको अर्को ठूलो निर्माण कम्पनी हो । विसं २०४२ सालमा स्थापना भएको यो निर्माण कम्पनीको नेतृत्व श्रीराम मर्हजनले गरिरहेका छन् । रविभवन काठमाडौंमा मुख्य कार्यालय रहेको यस कम्पनीले पनि देशका ठूला गौरव गर्न लायक पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको भवन, कर्मचारी सञ्चय कोष भवन, नेपाल पर्यटन बोर्ड र दोलखा जिल्ला अस्पताल लगायत ठुल्ठूला भवन तथा सडकहरु निर्माण सम्पन्न गरेको छ । यो कम्पनी आवासीय, व्यावसायिक र सार्वजनिक संरचनाहरूको निर्माणमा संलग्न छ । पुल, भवन, राजमार्ग, सिँचाई, जलविद्युत सडकलगायत अन्य गरी जम्मा ७३ ठूला वटा प्रोजेक्ट यस कम्पनीले सम्पन्न गरेको छ भने ३ वटा आयोजना निर्माणाधीनको चरणमा रहेका कम्पनीका सञ्चालक कविन महर्जनले बताए । उनका अनुसार यस कम्पनीले आवासीय निर्माणमा घर, अपार्टमेन्ट, फ्ल्याट र अन्य आवासीय परियोजनाहरू, व्यावसायिक निर्माणमा कार्यालय भवन, सपिङ मल, होटल, व्यावसायिक केन्द्रहरू जस्ता संरचनाहरूको निर्माण र मर्मत गर्दै आएको छ । आफ्ना निर्माण परियोजनामा सस्तो र टिकाउ समाधानको साथसाथै उच्च सुरक्षा मानकहरू पालना गर्दै काम गर्न सुनिश्चित गर्ने गरेको कम्पनीले दाबी गरेको छ ।यो कम्पनीले पनि कारोबार बढाउँदै गएको छ । कम्पनीले वार्षिक अर्ब बढीको कारोबार गर्दै आएको छ । समानान्तर निर्माण सेवा अच्युतप्रसाद खरेल । समानान्तर कन्स्ट्रक्सन प्रालि पनि ठूलो निर्माण कम्पनी हो । विसं २०५० सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व अच्युतप्रसाद खरेलले गरिरहेका छन् । पुरानो बानेश्वर, काठमाडौंमा कार्यालय रहेको यस कम्पनीले घर, अपार्टमेन्ट, फ्ल्याट, कार्यालय भवन, शपिङ मल, होटललगायत विभिन्न आयोजनाहरूको निर्माण गर्दै आइरहेको छ । यस कम्पनीले हालसम्म जम्मा ५४ वटा निर्माण परियोजनाहरूमध्ये ४७ वटा सम्पन्न गरिसकेको छ भने ७ वटा निर्माणकै चरणमा रहेका छन् । गुणस्तरीय निर्माण, नवीनतम प्रविधीहरूको प्रयोग र समयमै परियोजनाहरूको पूरा गर्ने लक्ष्य राखेको समानान्तर कम्पनीले जनाएको छ । यस कम्पनीले पनि २०७८ मा ३ अर्ब १३ करोड ९० लाख, २०७९ मा ३ अर्ब १९ करोड ९० लाख र २०८० मा २ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । वार्षिक एक अर्ब बढी कारोबार गर्ने कम्पनीको सूचिमा यो निर्माण कम्पनी पनि पर्दछ । समानान्तरले सर्वोच्च अदालत र भक्तपुर जिल्लाको नयाँ भवन, काठमाडौंमा बनिरहेका मुख्य सरकारी भवनहरु, नेपाल आयल निगमको कर्पोरट भवन, नेपाल प्रहरीको बहुउद्देश्यीय हल, भैंसेपाटीमा बनेका प्रदेशका मुख्यमन्त्रीका लागि बनेका भवन, गंगालाल राष्ट्रिय हृहदयरोग केन्द्र, बालाजु औद्योगिक क्षेत्र र त्रिपुरेश्वरस्थित पासपोर्ट विभागको भवन निर्माण गरेको हो । कतिपय परियोजना अहिले पनि निर्माण गरिरहेको छ । स्वच्छन्द निर्माण सेवा जयराम लामिछाने । स्वच्छन्द निर्माण प्रालि पनि नेपालको ठूलो मध्येको निर्माण कम्पनी हो । जसको नेतृत्व नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका जयराम लामिछानेले गरिरहेका छन् । कंलकी, काठमाडौंमा कार्यालय रहेको यस कम्पनीको स्थापना विसं २०४४ सालमा भएको हो । आवासीय, व्यावसायिक र सार्वजनिक संरचनाहरूको निर्माणमा यो कम्पनी संलग्न छ । घर, फ्ल्याट, अपार्टमेन्ट, भवन, शपिङ मल, होटल, सडक, पुल, ढल, पानी आपूर्तिलगायत गरी जम्मा ३२ वटा प्रयोजनाहरू निर्माण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, दोलखा सिंगटी सडक, सिन्धुली सडक, कालिमाटी-बल्खु रोड, संखमुल गौशाला रोड, डाउनटाउन अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, दुधकोशी, सुनकोशी र धेरी पुल लगायको निर्माण तथा डिजाइन गरेको यो निर्माण कम्पनी देशको प्रख्यात कम्पनी हो । अहिले बहुचर्चित नागढुङ्गा सुरुङमार्ग निर्माण, पोखरा खानीपानी आपूर्ति परियोजना यही कम्पनीले निर्माण गरिरहेको छ । उत्कृष्ट काम गरेबापत यो कम्पनी धेरै पटक सम्मानित भइसकेको छ । यस निर्माण कम्पनीले २०८० मा ६४ करोड ६० लाख, २०७९ मा ७४ करोड र २०७८ मा ८० करोड बढीको कारोबार गरेको थियो । आशीष निर्माण सेवा ऋषिकेश गौली । आशीष निर्माण सेवा पनि ठूलो मध्येको एक निर्माण कम्पनी हो । विसं २०४१ सालमा स्थापना भएको यो कम्पनीको नेतृत्व ऋषिकेश गौलीले गरिरहेका छन् । भरतपुर, चितवनमा कार्यालय रहेको यस कम्पनी पूर्वाधार निर्माणको क्षेत्रमा परिचित नाम हो । यस निर्माण कम्पनीले ठूला ८० वटा परियोजनाहरूको निर्माणको काम सम्पन्न गरिसकेको छ । १५ सय बढी कर्मचारी रहेको यस कम्पनीले आवासीय निर्माण, घर, फ्ल्याट, अपार्टमेन्ट र विलासिता आवासहरूको निर्माण, कार्यालय भवन, सपिङ मल, पुल, सडक, खानेपानी, होटल लगायतका ठूला परियोजना निर्माण गर्दै आएको छ । कम्पनीले इन्जिनियरिङतर्फ निर्माणको प्राविधिक पक्षको योजनाबद्धता, डिजाइन र कार्यान्वयन, जस्तै संरचनात्मक, सिभिल र विद्युतीय इन्जिनियरिङको क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । कम्पनीले आफ्नो काममा गुणस्तरीय सामग्री र आधुनिक प्रविधिको प्रयोग गर्दै उच्च स्तरको निर्माण कार्य सुनिश्चित गर्दै आइरहेको दाबी गरेको छ । यस कम्पनीको वार्षिक कारोबार पनि बढ्दै गएको छ । गत वर्ष यस कम्पनीले ६अर्ब रुपैयाँको कारोबार गरेको थियो भने अघिल्लो वर्ष ५ अर्ब रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले १० अर्ब रुपैयाँ बढीको ऋणका लागि रेटिङ पनि गरेको थियो । यस निर्माण कम्पनीले कर्णाली प्रदेशको प्रादेशिक अस्पताल, काठमाडौं–तराई फाष्ट ट्र्याक, जनकपुर-धल्केवरको सडक, धरान खानेपानी, नेपाल इन्टरमोडल यातायात विकास बोर्डको भवन, भन्सार विभागको भवन, बीपी आँखा कान अस्पताल भक्तपुरको भवन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन, दमकको भ्यू टावर लगायत ठूला परियोजनाको काम गरिसकेको छ । हाल यस निर्माण कम्पनीले रानी विराटनगर सडक र कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट–रामपुर सडक पनि निर्माण गरिरहेको छ । कुमार श्रेष्ठ कन्स्ट्रक्सन ऋषिकेश गौली । निर्माण क्षेत्रमा आफ्नो पृथक परिचय स्थापित कम्पनी हो- कुमार श्रेष्ठ कन्स्ट्रक्सन । विसं २०३४ सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व प्रेमकुमार श्रेष्ठले गरिरहेका छन् । यो कम्पनीले आवासीय र व्यावसायिक भवनहरू, सडक र पुल निर्माण, इन्फ्रास्ट्रक्चरका परियोजना निर्माण गरिरहेको छ । हाल यसले जम्मा गरी १३ वटा ठूला परियोजनाहरू सम्पन्न गरेको छ भने ८ वटा निर्माणाधीन चरणमै रहेका छन् । कैलालीको गेटा मेडिकल कलेज, किर्तिपुर क्रिकेट मैदान, लमही-कोइलाबास सडक, धनखोला-शिवखोला सडक, टनकपुर लाइन सडक लगायतका ठूला परियोजना निर्माण सम्पन्न गरिसकेको छ । यस कम्पनीले हाल महाकाली पुल, सहजपुर-बोकटान सडक खण्ड लगायत परियोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ मा करिब ४ अर्ब र २०७८ मा साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको थियो । यस कम्पनीले आफ्नो काममा दक्षता, इन्जिनियरिङ प्राविधिकता र आधुनिक प्रविधिहरूको प्रयोगलाई प्राथमिकता जोड दिएको बताएको छ । लामा कन्स्ट्रक्सन जिबछिरिङ लामा । लामा कन्स्ट्रक्सन प्रालि पनि नेपालको पूरानो मध्येको एक ठूलो निर्माण कम्पनी हो । विसं २०३२ सालमा स्थापना भएको यस कम्पनीको नेतृत्व जिबछिरिङ लामाले गरिरहेका छन् । साढे चार दशकको समयावधिमा कम्पनीले ५० बढी ठूला परियोजना सम्पन्न गरिसकेको छ । कम्पनीका सुपरभाइजर गणेश चौहानका अनुसार कम्पनीले संरचना निर्माण, इन्जिनियरिङ र परियोजना व्यवस्थापनजस्ता सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीले भवन निर्माणमा आवासीय, व्यावसायिक र औद्योगिक भवन निर्माण गर्दै आएको छ भने सार्वजनिक संरचना अन्तर्गत सडक, पुल, स्कूल, अस्पताल जस्ता पूर्वाधार निर्माण गरिरहेको छ । पुर्ननिर्माण तथा मर्मतको काम पनि कम्पनीले गर्दै आएको छ । कम्पनीले खानेपानी, जलविद्युत र सञ्चार नेटवर्क स्थापना गर्ने परियोजना पनि निर्माण गर्दै आएको चौहानले बताए । उनका अनुसार सोलार प्यानल इन्स्टलेसन, हरित भवन निर्माण लगायत आयोजनाहरूमा पनि यो कम्पनीले निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ मा करिब एक अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा २०७८ मा साढे एक अर्ब र २०७७ मा १ अर्ब बढी रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । २०७९ मा यस निर्माण कम्पनीले साढे चार अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको थियो । रसुवा कन्स्ट्रक्सन अनन्तप्रसाद आचार्य । रसुवा कन्स्ट्रक्सन पनि नेपालको ठूलो मध्येको एक निर्माण कम्पनी हो । कम्पनीको नेतृत्व अनन्तप्रसाद आचार्यले गरिरहेका छन् । कम्पनीले नेपालमा विभिन्न प्रकारका निर्माण परियोजनाहरूमा काम गर्दै आएको छ । आवासीय घर, फ्ल्याट, अपार्टमेन्ट र अन्य आवासीय संरचनाहरूको निर्माण गर्दै आएको छ । कम्पनीले कार्यालय भवन, व्यापारिक केन्द्र र अन्य व्यावसायिक संरचनाहरूको निर्माण गर्दै आएको छ भने सडक, पुल, ढल र सार्वजनिक संरचनाहरूको निर्माण गर्दै आइरहेको छ । यस निर्माण कम्पनीले पूराना भवनहरूको पुर्ननिर्माण तथा मर्मत, खानेपान र जलविद्युत परियोजनाको निर्माण पनि गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षमा साढे एक अर्ब, २०८० मा साढे दुई अर्ब, २०७९ मा साढे तीन अर्ब, २०७८ मा साढे चार अर्ब रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले करिब १० अर्ब रुपैयाँको ऋणका लागि पनि रेटिङ गराएको छ ।