न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको हो । न्युजिल्यान्डका इलाइजा जस्टले खेलको सातौँ मिनेटमै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि इरानले खेलको ३२औँ मिनेटमा रेजाइयानको उत्कृष्ट गोलमार्फत खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफको ५४औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल न्युजिल्यान्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४औँ मिनेटमा इरानका मोहम्मद मोहब्बीले हेडमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
दुई वन कर्मचारीविरुद्ध मुद्दा दर्ता, १० जना रिहा
काठमाडौं । कैलालीमा वनका कर्मचारीले टेम्पो भिरबाट खसालेको घटनामा दुई कर्मचारीविरुद्ध मुद्दा चलेको छ। प्रहरीले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा चलाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले उनीहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सार्वजनिक स्थानमा शान्ति भंग गरेको कसुरमा मुद्दा चलाउन अनुमति दिएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरूद्ध मुद्दा दर्ता गरी बाँकी १० जनालाई रिहा गरिएको जानकारी दिए । पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको उनको भनाइ छ । गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए । धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाईमारे डाँडाको सडक किनारमा टेम्पो राखी पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायतका वस्तु बिक्री गर्दै आएकी थिइन्। सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको टेम्पो भिरबाट खसालिदिएका थिए । उक्त घटनाको सामाजिक सञ्जालहरूमा आलोचनासमेत भएको थियो। त्यसपछि प्रहरीले टेम्पोधनी महिलासँग सोधपुछ पनि गरेको थियो । भीरबाट खसालेको टेम्पोको वास्तविकता के हो ?
३० हजार साउदी रियाल दुबई लैजाँदै गर्दा विमानस्थलबाट मगर पक्राउ
काठमाडौं । ३० हजार रियालसहित एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । काठमाडौंबाट दुबई जान लागेको अवस्थामा साउदी रियालसहित १९ वर्षीय समीरबहादुर मगरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालका प्रमुख वसन्त रजौरेले जानकारी दिए । शनिबार ७ बजेर ५५ मिनेटमा हिमालय एयरलाइन्सको उडान नम्बर एचनाइन ०७६५ द्वारा उनी दुबई जान लागेका थिए । विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्दा विदेशी मुद्रासहित पक्राउ मगर परेका हुन् । नेपाली १२ लाख १४ हजार रुपैयाँ बराबरको साउदी रियाल उनले दुबई लैजान लागेका थिए । उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।